काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्यायी कमिटी बैठकले नेपालको आजको परिवर्तन ल्याउन माओवादी केन्द्रले मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमविरोधी संघर्षलाई अघि बढाएर आजको परिवर्तन ल्याउन माओवादी केन्द्रले मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“अध्यक्ष कम्रेड (पुष्पकमल दाहाल) कै नेतृत्वमा हाम्रो पार्टी के निष्कर्ष निकाल्यो भने– हाम्रो पार्टी नै त्यो मुख्य शक्ति हो, जसले नेपालको आजको परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको छ । हाम्रो पार्टी नै त्यो पार्टीको जसले प्रतिगमनविरोधी संघर्षलाई अगाडि बढाउन र मोर्चा बनाउन पनि पहल गर्यो,” उनले भने ।
माओवादी केन्द्र देशको शक्तिशाली पार्टी हुने क्षमता राख्ने उनको दाबी छ । "हाम्रो पार्टी नै अहिलेको आवश्यकता अनुसार संविधान र लोकतन्त्रको रक्षा गर्दै, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवाद निर्माण गर्ने वैचारिक रूपले प्रष्ट र शक्तिशाली पार्टी हुने क्षमता राख्दछ," उनले भने ।
बैठकले नेपालका कम्युनिस्ट पार्टीहरूको एकता लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।