site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हात्ती
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पश्चिम ४ नं. पल्लो नुवाकोटमा जिल्लाभर रविविनोद पाध्या भनेपछि नचिन्ने को ? एक्काइस हल गोरु, गोठभरि गाई, भैसी, बाख्रा, पाठाको त के लेखो ।

ठूलो खेती, ठूलो लहनतहन थियो उनीहरूको । एकपटक गया श्राद्ध गर्न जाँदा सातओटा डोके भरिया त गयासम्म साथसाथ पुगेका थिए ।

रविविनोदलाई उनका गाउँलेहरू माहिला बाजे भन्थे । माहिला बाजेले पाँच पाथी रुपियाँ तामाको गाग्रीमा हालेर मैनखामामुनि गाडेका छन् भनेर आफूआफूमा कानेखुसी गर्थे । ती जहान घिउ, दूध खान्थे खूब तर लाउँथे कोरा खाँडी ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

माहिला बाजेकी आमा, साठी वर्ष नाघिसकेकी बूढी, कपाल आधा मात्र फुलेका, दाँत झरेको थिएन, मकै चपाउँदै थिइन् । जुनेली रातमा पनि पिँढीमा बसेर चामल आफैँ केलाउँथिन्– बुहारी, नातिनीबुहारी घरभरि हुँदा पनि ।

गर्जन बाघको जस्तो थियो, निद्रा कुकुरको जस्तो । ढुकुटीको, भण्डारको साँचोतालो आफ्नै घाँटीमा झुन्डाएकी थिइन्– वैष्णव सम्प्रदायका भक्तहरूले तुलसीको कण्ठा झुन्डाएको जस्तो ।

Royal Enfield Island Ad

आश्चर्यको कुरा, त्यो उमेर, त्यो अवस्थासम्म उनी एकपटक पनि खास नेपाल राजधानीमा आएकी थिइनन् । मर्नुभन्दा अगाडि एकपटक नेपाल आउने र सतबीउ छर्ने, पशुपतिनाथको दर्शन गर्ने उनको इच्छा थियो ।

अझ त्योभन्दा ठूलो अभिलाषा त हात्ती हेर्ने थियो । उनले गाउँघरमा हात्तीको बयान यस्तो सुनेकी थिइन्—
हात्ती, घरजत्रो अग्लो एउटा अजंगको जन्तु हुन्छ । त्यसका कान नाङ्लाजत्रा हुन्छन्, पाइला जाँताजत्रा, पुच्छर दुईतिर हुन्छ । नरसिङ्गाजत्रा दाह्रा हुन्छन् । बिरालोजस्तो चाल नपाइने गरेर हिँड्छ । सिस्नो खान्छ ।

राजधानीमा आएर आफ्नो गाउँमा फर्केको जो मानिसलाई पनि उनी “हात्ती देखिस् ?” भनेर सोध्थिन् । उसले देखिनँ भन्यो भने “के काठमाडौँ गइस् त ?” भन्थिन् । देखेँ भन्यो भने कस्तो रहेछ भनेर विस्तृत वर्णन सुन्थिन् ।

सुनाउनेहरू वास्तविक हात्ती जस्तो थियो, त्यसको चार गुना कुरा बढाएर सुनाउँथे । अनि, उनीलाई हात्ती हेर्नाको झन् प्रबल इच्छा हुन्थ्यो ।

धेरै वर्षअगाडिदेखि उनको काठमाडौं आउने, मुख्यतया हात्ती हेर्ने, इच्छा थियो । तर, कामले जहिले पनि चापाचाप, फुर्सद मिल्दैनथ्यो ।

वर्षा लाग्यो खेती गर्ने हतपत, हिउँद लाग्यो बाली भित्र्याउने हतपत, काठमाडौं आउने मौका कहिल्यै जुर्दैनथ्यो ।

साठी वर्ष नाघिसकेँ । मर्नु आज हो कि भोलि हो । जेजति काम अलपत्र भए पनि यो साल त सदर काठमाडौं गइछोड्छु । हात्ती पनि हेर्छु, सतबीउ पनि छर्छु, पशुपतिनाथको दर्शन पनि गर्छु, भन्ने दृढ निश्चय उनले गरिन् ।
०००
तल्लो ओठसम्म छोपिएका घोप्टे जुँगा, हरियो गलबन्दीको फेटा, लौरो टेकेका माहिला बाजे अगाडि, एउटा डोकोमा बूढी बज्यै ।

त्यसपछि अर्को डोकोमा उनको कान्छो नाति अनि अरू डोकेहरू–ओढ्ने, ओछ्याउने, भाँडाकुँडा, खानपिनका सामान बोकेका– करिब पाँच बजेको समयमा सदर राजधानीनिर बालाज्यू आइपुगे र त्यहीँ एउटा इष्टमित्रको घरमा बसे ।

डोकोबाट ओर्लेको एक छिनपछि बूढीले सोधिन्—
“खास नेपाल राजधानी यही हो ?” 
“हो, यही हो ।”  
“लौ न त मलाई हात्ती देखाइदेओ न ।” 
“यत्रो बाटो, थाकेर आउनुभएको छ, अहिले केको हतपत त ? भोलि जाऔँला, देखाऔँला ।”
मनले ‘नाइँ हुन्न’ भने तापनि मुखले त बूढी बज्यैले ‘हुन्छ’ भनिन् । आफ्नो छोरोको वचन उनले विवश भएर मानिन् ।

रातभर पनि उनको मनमा यही कुरा खेलिरहेको थियो—
‘कस्तो जन्तु होला त ए, त्यो । नाङ्लाजत्रा त कान रे । घरजत्रो अग्लो रे । दुवैतिर मुख, दुवैतिर पुच्छर भएको रे । जाँताजत्रा पाइला, नरसिङ्गाजत्रा दाह्रा रे । ओहो !’

भोलिपल्ट बिहान खानपिन सकेर, मंसिर महिनाको घाम ताप्दैताप्दै माहिला बाजे, उनको कान्छो छोरो, बूढी बज्यै, दुइटा भरिया, बिस्तारबिस्तार हिँडेर हात्ती हेर्न आए ।

पहाडमा आफ्नो घरसँगै घर भएको माहिला बाजेको भतिजो हरिविनोद, स्रेस्ता पाठशालामा पढेर निजामती पास दिन दुई वर्षअघिदेखि राजधानीमा बसेको थियो ।

आफ्ना काका, बूढी आमा घरबाट आएका छन् रे भन्ने सुनेर भेट्नलाई ऊ जाँदै थियो बाटोमा ठिक, ती दुवै थरीको भेट भयो । ढोगभेट, आरामबिराम सोधपुछ गरेपछि माहिला बाजेले सोधे—
“यहाँ हात्ती राख्ने कहाँ हो ?” 
बूढीले नातिको मुखतिर हेरिन् । 
“हात्तीसारमा । किन ?”
“यो कान्छो हात्ती हेर्छु भन्छ, यसलाई हात्ती देखाइदिनुपर्यो ।” माहिला बाजेले चलाकीसाथ भने ।
“आजकाल हात्ती छैन । मधेस लगिसके ।”
“हैन, हो र ? साँच्चै हो र ?” बूढी बज्यैले आँखाको पुतली फैलाएर सोधिन् ।
“हो त नि ।” 
“हैन, तँलाई राम्रो थाहा छ ?” माहिला बाजेले पनि सोधे । 
“थाहा छैन होला ।” बूढीबज्यैले भनिन् ।
“मलाई राम्रै थाहा छ । हात्ती राख्ने हात्तीसारमा, मेरो डेरा नक्सालमा नजिकै । रातदिन त्यही बाटो हिँड्नुपर्छ । एक महिनाजति भयो लगेको ।”
“ज्या !” माहिला बाजेले आफ्नी आमाको मुखतिर हेरेर भने ।

उसको यस्तो कुरा सुनेपछि बूढी बज्यै छाँगाबाट खसेकी जस्ती भइन् । उनको आँखा अलिना भए, जे हेरे पनि फिक्का । उनका कान चर्का भए, जे सुने पनि चरक्क । उनको मुटु अमिलिएर आयो । कलेजा त कताकता पिरोले पोलेको जस्तो भयो । जिभ्रो तीतो र टर्रो, केही खानै मन लागेन, पिउनै मन लागेन ।

धरहरा हेरिन्, घण्टाघर बजेको सुनिन्, हलवाई पसलको मिठाई खाइन्, तर केहीमा पनि दिल लागेन, स्वाद आएन । हात्ती, आफ्नो राजधानीमा आउनाको मुख्य उद्देश्य, उनले हेर्न पाइनन् ।
०००
बिहानको तोप पड्केको पनि थिएन । बूढी बज्यै, माहिला बाजेलगायत सबले स्युःस्युः र स्याउःस्याउः गरेर वाग्मती नुहाए । त्यताबाट ती सब पशुपतिको वनतिर लागे– हातमा सतबीउको रुमाल झुन्डाएर ।

सारा वनवन सतबीउ छरेर बिहान राम्रै उज्यालो भइसकेपछि विश्वरूपनिरका ‘बहिरा गणेश’मा ती सब आइपुगेर गणेशलाई डगडग–डगडग हल्लाएर–कराएर माहिला बाजे र ती भरियाहरूले भने, “ल है गणेश बा । हाम्रा बाजेजिजुलाई भन्दिनू, हामी आएथ्यौँ, सतबीउ छर्याथ्यौँ ।”

सतबीउ छर्ने काम सकिएपछि ती सब पशुपतिनाथको दर्शन गर्न आए । त्यताबाट तिनीहरू कैलाशतिर उक्ले– दही चिउरा खान जहाँ अपार घुइँचो, पहाडिया भजन गाउने र नाच्नेहरूको जमघट थियो ।

कैलाशमा खाँदाखाँदै माहिला बाजेको र बूढी बज्यैको वार्तालाप हुन लाग्यो—
बूढी बज्यै– अब घर कहिले जाने त ? 
माहिला बाजे– पाँचसात दिन बसाँै न, नेपालको रमिता हेरौँ अनि जाऔँला । 
बढी बज्यै– त्यतिका दिन किन बस्ने ? भोलि नै हिँडे हुँदैन र ! जानु परिहाल्छ । 
माहिला बाजे– त्यत्रो बाटो हिँडेर आइयो । भोलि नै के बित्दो छ र ? 
बूढी बज्यै– दाइँ गर्ने बेला, बाली भित्र्याउने बेला, व्यर्थै यहाँ किन बस्नु ?

हात्ती देख्न नपाएको हुनाले, आफ्नो मनोरथ सिद्ध नभएको हुनाले, बूढी बज्यैलाई नेपालमा छिनभर पनि टिक्न मन लागेन । यो साल किन आइछु, व्यर्थ आइछु भन्ने भित्र मनमा लागिराख्यो ।

साँच्ची भनौँ भने दिन बिताए रात कसरी कटाऔँ, रात कटाए दिन कसरी बिताऔँजस्तो भयो । हमेसा घरै जाऔँ, घरै जाऔँको घोकना गर्न लागिन् ।

माहिला बाजेको केही लागेन र अन्त्यमा केटाकेटीलाई अलिकति मालताल, नसड्ने, नगनाउने छाँटका केही मिठाई किनेर बालाचतुर्दशीको पर्सिपल्ट नै ती पश्चिम आफ्ना घरको बाटो लागे ।

स्रेस्ता पाठशालामा पढ्न बसेको माहिला बाजेको त्यो भतिजो विद्यार्थी पनि उनीहरूलाई पुर्याउन ‘पाँचमाने’ सम्म गयो । हिँड्दाखेरि बाटोभरि बूढी बज्यैले त्यसलाई “अब हात्ती कैले आउँछ ?” भनेर दुईपटक सोधिन् ।

बिदाबारी हुने बेलामा, छुट्टिने बेलामा, उनले त्यो विद्यार्थी नातिलाई फेरि भनिन्न्, “हात्ती आउनासाथ हामीलाई चिठी लेख्नू ।” 
बीचैमा कुरा काटेर माहिला बाजे बोले, “हात्ती हेर्न कान्छोले रहर गरेको छ र ।” 
यसपछि तिनीहरू गए । हरिविनोद फर्कियो ।
०००
एक वर्षपछि—
राजधानीमा राजपरिवारमा विवाह पर्यो । फेरि हात्ती ल्याए । तर, हरिविनोदले भने हात्ती आएको सूचनाको चिठी वहाँ पठाएन– सायद बिस्र्यो, सायद कान्छोलाई फुल्याउनलाई ठट्टा गरेको भनिठान्यो ।

उतापट्टि बूढी बज्यै भने राजधानीबाट चिठी आउला भन्ने आशा गरिरहेकी थिइन् । हात्ती देख्न नपाएको हुनाले सदासर्वदा उनको हृदयमा केही कुराको अभाव भएको जस्तो उनलाई अनुभव भइरहन्थ्यो ।

विद्यार्थीको नाममा पहाडबाट एउटा चिठी आयो जसमा “राजधानीमा हात्ती आयो कि आएन ?” भन्ने सोधिएको थियो ।

विद्यार्थीले हात्ती आएको छ भन्ने जबाफ भोलिपल्टै पठायो । त्यो चिठी पहाडमा यस्तो मौकामा पुग्यो, जब धमाधम दाइँ चलिरहेको थियो । 
बूढी बज्यै भन्थिन्, “भोलिपर्सि नै काठमाडौँ जाऔँ ।”
माहिला बाजे भन्थे, “तैतै दाइँ सकेर जाऔँ ।”

बूढी बज्यैले बसिखानु गरिनन्– आजै जाऔँ, अहिले जाऔँ, भरे जाऔँ । आखिर माहिला बाजेको केही लागेन । धमाधम चलिरहेको दाइँ अर्काको भरमा यसै छोडेर उनी राजधानीतिर लागे–आमाको उत्कट इच्छाको अधीन भएर ।

आफू पैदल, आमा र कान्छो छोरो डोकामा, अरू दुईओटा भरिया । यसपालिको उनीहरूको यात्रा ज्यादै छोटकरीको थियो । त्यहाँका गाउँलेहरूले केही रहस्य बुझ्न सकेनन् यो मध्यमंसिर, दाइँ नसक्दै काठमाडौं जानुपर्ने कारण के ?
०००
बाकसमाथि डिबिया बलेको, माहिला बाजेको भतिजो हरिविनोद ‘अदालती बन्दोबस्त’ घोक्न लागिरहेको थियो ।

राति एक तोप पड्कने बेलामा अचानक ‘हो, हो, यही घर हो’ भन्दै उसैको कोठाभित्र पसे– बूढी बज्यै, माहिला बाजे, कान्छो र भरियाहरू ।
ढोगभेट सकिनासाथ बूढी बज्यैले आफ्नो नातिलाई सोधिन् कुम्लोमा अडेसा लागेर, “हात्ती छ ? कहाँ छ ?”
“छ, हात्तीसारमा छ ।”
“अलिकति लत्ताकपडा किनमेल पनि गरूँ, यो कान्छोलाई हात्ती पनि देखाइदिऊँ भनेर आएका” माहिला बाजे बडो बाठो भएर बोले ।

‘छ’ भनेको सुन्नासाथ बूढी बज्यैले चाहिँ ‘भला’ भन्ने ठानेर लामो सास फेरिन् । उमेर यो छ, मर्नु अवश्य छ !! हात्ती नदेखिकन मर्छ कि भन्ने उनलाई खोप थियो । अब त्यो नरहने भयो ।

त्यो रात उनले सपनापर्यन्त हात्तीकै देखिन्– टाटेपाटे बाघजस्तो अजंगको जन्तु हुरुरुरु उडेर आएको, उनीचाहिँ डरले भित्तामा लिपिस्स टाँसिएकी । अरूहरूचाहिँ ‘हात्ती भनेको त्यही हो’ भन्दा रहेछन् ।
०००
भोलिपल्ट बिहान—
करिब एघार बजेजति खाइपिइ सकेर हात्ती हेर्न ती सब निस्के । पुसको दिन, आकाश बादलले छाए तापनि बूढी बज्यैको दिलमा त खुसीयालीको घाम छर्लंग लागेको थियो । हात्तीसारभित्र पसेर हरिविनोदले भन्यो, “यही हो हात्तीसार ।”
“यही हो हात्तीसार ?” बूढी बज्यैले सोधिन् । 
“यही हो ।” 
“हात्ती खै त ?” 
“चराउन बाहिर लगेका होलान् ।” 
“ऐले ल्याउँछन् ?” 
“ल्याउँछन् ।”

हात्ती बाँध्ने खमारीको वरिपरि ती सब थुप्रे । हरिविनोदले ती सबलाई चिनायो, “हात्ती बाँध्ने कीलो यही हो । यसैमा हात्ती बाँध्छन् ।”
“ए !” बूढी बज्यैले भनिन्, “पानी परेको बेलाँ सार्नुपर्दो रहेनछ हगि ?”

कान्छोले भएभरको खमारी गन्न लाग्यो । बूढी बज्यैले मनमनै विचार गरिन् र भित्रभित्रै चकित परिन्, “एक हातको कीलोमा त त्यत्रो अर्ना भैँसी बाँधिन्छ भने यो त कीलो नै यत्रो बडोमा ! जीवात् कत्रो होला !”

त्यहीँको एउटा मानिसलाई हरिविनोदले “हात्ती कैले ल्याउँछन् ?” भनेर सोध्यो । उसले डढेको भाँडा माझ्दै माझ्दै जबाफ दियो, “के ठेकान कैले ल्याउँछन् कैले ।”
“भरे तीनचार बजेसम्ममा ल्याइपुर्याउँदैनन् ?”
“ए ! के ल्याउँथे ! मधेस लगिसके ।” 
“कैले ?” 
“आज बिहान सबेरै ।” 
“होइन, साँचो हो कि कसो हो ?” 
“ढाँटेर म के पाउँछु र ?”
ती दुईजनाको कथोपकथन सुन्नासाथ बूढी बज्यैलाई हुप पसेको जस्तो भयो । उनी झस्स झस्किन् । उनलाई नैराश्यले ढाक्यो, अन्धकारले छोप्यो । तुरुन्तै घाँटी सुकेर आयो । केही बोलिनन् । यसै लत्रङ परेर त्यहाँ थचक्क बसिन् ।

घाम लागेको हो कि, बादल लागेको हो कि उनलाई केही होस भएन । माहिला बाजेचाहिँ आफ्नो भतिजोसित निक्कै रिसाए । तर, कसूर त भतिजाको पनि केही थिएन ।
०००
कैयन डाँडाकाँडा, खोलानाला, पहरोभञ्ज्याङ, वन पार गरेर बल्ल उनीहरू पन्ध्र दिनमा आफ्नो घर पुगे । त्यस बखत बूढी बज्यै आधा गलिसकेकी थिइन् । बाहिर देख्ता रोग केही थिएन । तर, भित्र शोक थियो– हात्ती हेर्नु कर्ममा लेखेको रहेनछ भन्ने ।

उनी आजभन्दा भोलि, भोलिभन्दा पर्सि दुब्लाउँदै गइन् । अन्त्यमा भात खानलाई भान्छासम्म जान पनि उनलाई गाउँबाट बेसी गएको तुल्य भयो ।

गाउँले वैद्य आएर उनको नाडी छाम्थे, रोग केही ठम्याउँदैनथे । यस्ता प्रकारले उनी दिनको एक कचौरा दूधको भरमा मात्र डेढ महिनासम्म जिइन् ।

पछि हुँदाहुँदा, कमजोरी बढ्दाबढ्दा, हात पनि चलाउन नसक्ने, खुट्टा पनि चलाउन नसक्ने, ओर्कनफर्कन पनि नसक्ने भइन् ।

चैतको महिना, वनभरि गुराँस, आँगनअगाडि कोइरालो फुलेको थियो । प्रकृतिले आफ्नो रङ बदलिरहेकी थिइन्– मोहनलाल डाँफेले प्वाँख बदलेझैँ ।

यही बेला, करिब तीन घडी दिन चढ्दाको समय “राम ! राम ! कृष्ण ! कृष्ण !” भन्दै बूढी बज्यैलाई चारजनाले बिछ्यौनासहित बोकेर ल्याएर तुलसीको मठनजिकै राखे ।

उनको प्राणवायु क्रमशः क्रमशः माथिमाथि सर्दो थियो । तर, उनीमा होस भने पूरापूरा थियो । गाउँलेहरू सब वरिपरि भेला भए ।

माहिला बाजेले उनको काननिर गएर सोधे, “आमै ! तपाईंको कसैसित लिनुदिनु केही छ ?” 
बूढी बज्यैले थाहा नपाइँदोसँग मन्टो हल्लाइन् । त्यो माहिला बाजेले मात्र देखे ।

“हामीलाई भन्नुपर्ने केही छ त ? मनमा केही कुरा लागेको छ ?” उनले फेरि सोधे । 
बूढी बज्यैले ज्यादै सुस्त स्वरले भनिन्, त्यो माहिला बाजेले मात्र सुने, “अरू त केही छैन, हात्ती देख्न पाइनँ !”

(‘भीमनिधि तिवारीका प्रतिनिधि कथाहरू’बाट । विशेष आभार : डा. बेञ्जु शर्मा ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro