काठमाडौं । कोरोनाका कारण बन्द भएको जय नेपाल सिनेमा हल फेरि खुल्ने सम्भावना रहेको सञ्चालक निर्मल प्रधानले बताएका छन् । कोरोना संक्रमणको त्रास सकिएपछि अवस्था सहज बन्दै गएको खण्डमा सोही ठाउँका हल सञ्चालन गर्ने सम्भावना रहेको प्रधानले बताएका हुन् ।
“समय र परिस्थितिले साथ दियो भने जय नेपाल हल भएको ठाउँमा महल बनाएर टपमा सिनेमा हल बनाउने हाम्रो योजना छ,” उनी भन्छन्, “समयले साथ दियो भने पब्लिकमा लगेर दुई–चार अर्ब खर्च गरेर सुपरमार्केट र सिनेमा हल बनाउने योजना छ ।”
काठमाडौंको मुटु दरबारमार्गमा ६० आना जग्गामा रहेको सिनेमा हल केही महिनाअगाडि सधैँका लागि बन्द भएको थियो ।
५० जना कर्मचारी रहेको हलमा महिनाको ३० लाख रुपैयाँ सञ्चालन खर्च रहेको थियो । तर, लामो समयसम्म बन्द गर्दा खर्च बढ्दै जाने भएपछि उक्त हल बन्द भएको थियो ।
जय नेपाल सिनेमा हलमा दैनिक चार शो चलाएर हाउसफुल हुँदा दैनिक १२ लाखसम्म पैसा कलेक्सन हुने गरेको निर्मल बताउँछन् ।