
काठमाडौं । वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा. सुषमा आचार्यको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गुठीबाट प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ ।
कोरोना महामारी सिर्जित विषम परिस्थितिका कारण समयमा प्रदान गर्न नसिकएका दुई वर्षको पुरस्कारको निर्णय गुठीले गरेको हो । जसअनुसार २०७६ सालको हास्यव्यंग्य चित्रकलातर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, २०७७ सालको हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार हास्य अभिनेता किरण केसी ‘रातामकै’लाई प्रदान गर्ने निर्णय गरिएको छ । दुवै पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।
घोषित पुरस्कारहरू आउँदो भदौ महिनाभित्रै अनुकूल समयमा प्रदान गरिने गुठीले जानकारी गराएको छ ।