विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नेतृत्वमा युवापंक्तिमा नेताले दाबी प्रस्तुत गरेका छन् । उनीहरूले चुनावी अभियानलाईसमेत तीव्रता दिएका छन् । विगतमा पार्टीका विभिन्न संगठन बसेर सफल नेतृत्व प्रदान गरेका युवा नेताहरू महानगर सभापतिको दौडमा छन् ।
विराटनगरलाई राजनीतिक आन्दोलनको केन्द्र मान्ने गरिएकोले पनि यो पटक महानगरको नेतृत्वमा जान युवापंक्ति अग्रसर देखिएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशनको तयारीअनुसार साउन १६ गते महानगर समितिको नेतृत्व चयन हुन्छ । महानगरमा कांग्रेसका करिब ८ हजार क्रियाशील सदस्यहरूले प्रत्यक्ष निर्वाचन पद्धतिमार्फत नेतृत्व चयन गर्नेछन् ।
यो पटक दीपक चापागाईं, कृष्ण कार्की, अरुण न्यौपाने र सन्तोष न्यौपानेले सभापतिमा आफू उम्मेदवार रहने घोषणा गरी चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
यसअघिको निर्वाचनमा भीम पराजुलीले चापागाईंलाई पराजित गरेका थिए । केन्द्रीय नेताहरू डा. शेखर कोइराला, महेश आचार्य र अमृत अर्यालको साथ अनि समर्थनमा उम्मेदवार बन्ने दौडमा रहेका उम्मेदवारहरूले आ–आफ्नो ढंगले प्रचार भने गरिरहेका छन् । तर, केन्द्रीय महाधिवेशनको गठजोडको टुंगो नलागेसम्म महानगर, जिल्ला तथा प्रदेश तहमासमेत प्यानल बन्न समय लाग्ने देखिएको छ ।
नेता चापागाईंले डा. शेखर कोइरालाको समर्थनमा उम्मेदवार बन्न लागेको बताउँदै युवा नेतृत्व र पार्टीलाई गतिशील बनाई विधि पद्धतिअनुसार चल्न आफू उम्मेदवार बन्ने बताए । “गतिशील नेतृत्वको र पार्टी चलायमान बनाउने मेरो उम्मेदवारी हुनेछ,” उनले भने ।
न्यौपाने र कार्कीलाई केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य अमृत अर्यालको समर्थन लिएर उठ्ने दौडमा रहेका छन् । प्रत्यासी अरुण न्यौपाने कृष्ण सिटौला समूहको साथमा उठ्ने बताइएपनि यसबारे उनले खुलाएका छैनन् । न्यौपानेले वर्तमान सभापति तथा विराटनगरका मेयर भीम पराजुलीले साथ रहेको छ । न्यौपाने आफू महानगरको उपसभापति भई सफल कार्यकाल पूरा गरेकाले पनि सभापति पदमा उठ्ने तयारीमा लागेको बताउँछन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री कृष्ण कार्की युवाहरूको प्रतिनिधित्व गर्दै पार्टीर्लाइ नवीन ढंगले सञ्चालन गर्ने क्षमता आफूमा रहेको बताउँदै भन्छन,“महानगर सभापतिको लागि मैले उम्मेदवारी दिने तयारी थालेको छु ।”
न्यौपानले नेपाल तरुण दल विराटनगरको नगर सभापति भई सफल नेतृत्व प्रदान गरेका छन् । चापागाईं लोकतान्त्रिक आन्दोलनका सक्रिय नेता हुन् । उनी ऐतिहासिक गुराँस पुस्तकालय बरगाछीका अध्यक्षसमेत हुन् । सुशील कोइराला फाउन्डेसनमा पनि महासचिवको सक्रिय छन् ।