site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कभर पेज
SkywellSkywell

“ओ रञ्जना, म बरबाद भएँ ।”

म फेरि राइटिङ टेबलमा आफ्नो अधुरो उपन्यासको कभर पेजमा रहेकी रञ्जनासँग रुञ्चे आवाजमा बिलौना गर्न थालेँ ।

कभर पेजमा एक्रेलिक प्यालेट नाइफ पेन्टिङ थियो र पेन्टिङमा रञ्जनाको ब्युटिबोनसम्म देखिने सुन्दर र शालिन अनुहारको पोटे«ट पनि । सम्मोहनयुक्त जिज्ञासु आँखा र केही बोलूँ नबोलूँको दोधारमा थर्थराइरहेझैँ लाग्ने ओठमा रञ्जना मन्दमन्द मुस्कुराइरहेकी थिई ।

KFC Island Ad
NIC Asia

उसको आत्मविश्वास पोतिएको अनुहारमा चरम गुरुत्वाकर्षण थियो । जिन्दगीका यावत् प्रश्नहरू सुल्झिसकेझैँ चिन्तारहित चिल्लो थियो निधार, उज्यालो चेहरालाई आत्मसम्मानका साथ उचालेर बसेको थियो चिउँडो । उसको सौम्य अनुहारपछाडिको हल्का छायामा उसको जिन्दगीको सिम्बोलात्मक पीडाहरू झल्किन्थे ।

मेरो हातमा रित्तिनलागेको ह्विस्की गिलास थियो । उद्वेलित मनस्थितिमा कति गिलास ह्विस्की पिइसकेको थिएँ, पत्तो थिएन । टेबलको एक कुनामा आधा बाँकी रहेको ह्विस्की बोतल थियो, जसमा कालो पृष्ठभूमिमा सेतो अक्षरले ज्याक ड्यानियल, ओल्ड नं. ७, टेनेसी ह्विस्की लेखिएको स्पष्ट देखिन्थ्यो ।

Royal Enfield Island Ad

म ह्विस्कीको स्वादमा त रमाउथेँ रमाउथेँ, उसको पोटे«ट बनेर आएपछि उसलाई हेरेर रमाउन थालेँ । झन् उसँग दोहोरो संवाद गर्न थालेपछि त मलार्ई सम्पूर्ण ब्रम्हाण्डियन खुसी मिलेको जस्तो लाग्न थालेको थियो । फेरि, अचानक्ली परेको बज्रपातमा म निराश भएँ, हतास भएँ र आफ्नो बैराग्य बुझ्ने ऊभन्दा अर्को कोही बाँकी रहेनन् ।

मैले बोतलबाट रित्तिएको गिलास फेरि भरेँ, मुखभरिको एक घुट्को निलेँ र रञ्जनासँग संवाद जारी राखेँ, “अन्तिम च्याप्टर बाँकी थियो तिम्रोबारेमा लेख्न । दुई सय पचास पेज पुगिसकेको थियो, तिम्रा यावत् जीवनका घटनाहरूलाई समेटेको । कैयौँ रातदिनको दुःख बेकार भयो । जब कभर पेजमा तिम्रो मुहार हेर्छु, मोहनी लाग्छ । फेरि, लेख्न मनलाग्छ तिम्रो जीवनगाथा, सेवागाथा, तिम्रा जीवनका उतारचढाव । तिम्रो औपन्यासिक घटनामा आफू पनि छिर्न मन लाग्छ । रहर लाग्छ तिमीसँगै हिँड्न । तिमी हाँस्दा सँगै हाँसुझैँ लाग्छ, तिमी रुँदा तिमी सँगै रोऊँझैँ लाग्छ ।”

उसँग गफिँदै गएको एक छिनमा थाहा पाएँ, घरबाहिरको अँध्यारो कोठाभित्र पनि पसिसकेछ । बत्ती बालेँ र संवाद जारी राखेँ, “म घरिघरि तिमीले दैवी आवाजमा गाएको गीत सुन्छु तिम्रो धोकेबाज प्रेमीलाई सम्झेर, जो जान्न भन्दाभन्दै तिमीलार्र्ई छोडेर गयो र आउँछु भन्दाभन्दै पनि कहिले फर्केर आएन । 


नसम्झेको दिन तिमीलार्र्ई कहाँ छ
सम्झिँदाको पीडा मलार्ई नै थाहा छ 
तिम्रो सुरिलो वेदनायुक्त भाका मेरो मनमा गुिञ्जरहन्छ । तिमीलार्र्ई लेख्न छोडेर तिमीसँग संवाद गर्न थालेपछि त झन् बढी आशक्त भएको छु, तिमीप्रति । झलझली तिमीले आफ्नो बरन्डाको गमलामा लगाएको फूल देख्छु र आफ्नो गमलामा हेर्न जान्छु । तिमीले गमलामा पानी दिँदा त्यसबाट आउने सुवास पनि ठम्याउँछु । गमला र सुवासको प्रसंग सम्झिनेबित्तिकै सरर्र मादक सुवास आइहाल्छ र निकै बेर मलाई अँगालो हाल्छ ।

कभर पेजमा तिमीलार्र्ई हेर्नेबित्तिकै तिमी सजीव छ्यौजस्तै लाग्छ । तिमी मेरो उपन्यासको पात्र मात्र होइनौ, जीवनकै अभिन्न अंग हौजस्तो लाग्छ । पहिलापहिला तिमी रंगिन तस्बिर मात्रै हुन्थ्यौ, सजीव हुन समय लगाउँथ्यौ । अहिले त म तिमीलार्र्ई हरदम सजीव देख्छु । हेर्नेबित्तिकै सजीव ।”

ढोकामा रिङ्गबेलले रञ्जनासँगको संवाद बिच्कियो । 
ढोका खोलेर हेरेँ । खाली रहेको तलको फ्ल्याटको बारेमा बार्गेनिङ गर्न आएका जोडी रहेछन् ।
केटोले भन्यो, “फ्ल्याट त हेरिसकेको हो अस्ति, भाडा अलि कम गर्नुप¥यो ।”  
झर्किँदै भनेँ, “पहिल्यै भनिसकँे, बस्ने भए बस्नुस्, नबस्ने भए नबस्नुस् । जत्ति भनेँ, भाडा त्यत्ति हो, किचकिच गरी नराख्नुस् । फुल फर्निस्ड फ्ल्याट छ, बरु त्यसै बसोस् ।”
केटी पनि केही भन्न खोज्दै थिई, मैले सनक्क सन्किएर ढोका बन्द गरिदिएँ, “तपाईंलाई दिँदै नदिने, ल अब नआउनुस् ।”

फेरि, राइटिङ टेबलमा बसेँ । रञ्जना अधैर्यपूर्वक मलार्ई पर्खेर बसेकी थिई । 
भनेँ, “तिमी के भन्दै थियौ ?” 
“म होइन तपाईं भन्दै हुनुहुन्थ्यो,” उसले भनी ।
“अँ, तिमीलार्र्ई हेर्नेबित्तिकै सजीव हुन्छ्यौ । तिमीसँग कुरा गरिरहँदा समय बितेको पत्तै हुँदैन ।”
“मेरो फाइन आर्टिस्ट साथीलाई मेरो तिमीसँगको सामीप्यता सुनाएको, उसले पटक्कै पत्याएन । बरु, मेरो सिर्जनशील दिमागलाई भद्दा गाली ग¥यो । भन्दै थियो— अनिद्रा र अत्यधिक रक्सीको कारणले म बिग्रिएँ रे ! म भ्रमको सिकार छु रे, घरिघरि हलुसिनेसनमा जान्छु रे । नभएको कुरा देख्न थालेको छु रे । नभनेको कुरा सुन्न थालेको छु रे । नआएको बास्ना सुँघ्न थालेको छु रे । तिमीसँग संवाद गर्नु पनि हलुसिनेसन नै हो रे । आफ्नो उपन्यासको सिध्याइसकेको काम हराएपछि त म झन् डेन्जरात्मक अवस्थामा छु रे । अब मैले लेख्न छोडेर मनोचिकित्सककहाँ गएर उपचार गराउनु रे । रक्सीको बानी छुटाउन पुनःस्थापना केन्द्रतिर जानु रे । रिह्याबको जरुरी छ रे मलार्ई ।”

“त्यही मेरो पोट्रेट बनाउने आर्टिस्ट ?”
“हो उही । तिम्रो कस्तो पोट्रेट बनाउने भनेर ह्विस्की खुवाइखुवाइ बयान गरेको मैले । तिम्रो जिन्दगीको सम्पूर्ण कथा सुनाएँ उसलाई । उसको काम मेकानिकल थियो, मेरो ब्रिफिङ इमोसनल । भनेजत्ति पैसा तिरेर बनाएको हुँ तिमीलार्र्ई । तिमी मेरै मष्तिष्कको उपज हौ । अब त तिमी तस्बिर होइनौ, मेरो अन्तरंग भावना हौ, मेरै मनको प्रतिरूप हौ, जोसँग म टेलिप्याथीमा यसरी दोहोरो संवाद गर्न सक्छु ।”

मलार्ई थाहा थियो, ममाथि परेको बज्रपात सुनेपछि ऊ पनि स्तब्ध हुनेछे । मेरो निराशा र हताशाको कारण जतिपटक सुने पनि ऊ आफैँ भाग्यले ठगिएको महसुस गरेर भित्रभित्रै गल्नेछे, मभन्दा बढी । मभित्र चलिरहेको बैराग्यको चक्रबेरीमा ऊ पनि विचलित हुनेछे, मभन्दा बढी ।

तर, यसपालि त्यस्तो भएन । ऊ विचलित भइन । स्तब्ध पनि भइन । बरु, शान्त भएर बोली, “लेख्नुस् न त, सिध्याउनुस् । कि मै लेखिदिऊँ ? मलार्ई पनि, तपाईंलाई पनि ?” उसको प्रश्नमा एउटा अद्भूतनेस थियो । मलार्ई मेरो मष्तिष्क बाउँडिएलाजस्तो भयो र सोधेँ, “कसरी लैख्छ्यौ आफैँलाई ? कसरी लेख्छ्यौ मलार्ई ?” 
“जसरी तपाईंले लेख्नुभयो ।”
“तिमी मेरी पात्र हौ । पात्रले लेख्दैन, लेखिन्छ ।”
संवाद जति चल्दै गयो मन उति नै हलुंगो महसुस हुँदै गयो । 
०००
मध्यरातमा आँखा खुल्दा म राइटिङ टेबलमै घोप्टिएको थिएँ । टेबलघडीमा रातिको सवा एक बजेको थियो । संवादकै बीचमा कतिखेर निदाएछु–निदाएछु !

पानीको प्यासले मुख प्याकप्याक सुकेको थियो । किचेनमा गएर फ्रिजबाट चिसो पानी ल्याएँ र आँतै चिसिने गरी पेटभरि पानी खाएँ ।

दराजबाट काजु, चिज र ड्राइमिट निकालेँ र फेरि राइटिङ टेबलमा बसेँ । गिलासमा अलिकति बाँकी रहेछ ह्विस्की, त्यसैमा अलिकति फेरि थपेँ । काजु, चिज र ड्राइमिटको साथमा सम्मोहक ज्याक ड्यानियलको रुमानी सिप लिँदै रञ्जनालाई हेरेँ । उसले भनी, “न सुत्ने ठेगान छ, न उठ्ने ! न खाने ठेगान छ, न पिउने ! सधैँ कभर पेज लिएर बस्ने, लेख्नचाहिँ कहिले नसिध्याउने ?” 

“सिध्याउँछु भन्छु, जतिपटक बसे पनि मुड आइरहेको छैन । दुई सय पचास पेज सकिइसकेको थियो । अन्तिम च्याटर बाँकी थियो, सब बरबाद भयो । लेख्छु भनेर बस्नेबित्तिकै झर्को लाग्छ ।”
“कसरी बरबाद भयो रे ?”
“मलार्ई नेपाली टाइप आउँदैन । सधैँ हातैले ए फोर साइजको कागजमा कालो पाइलट पेनले लेख्ने हो । लेखिसकेपछि बाहिर साइबरमा टाइप गर्न दिएको थिएँ । घरबाहिर अलि पर भगवती मन्दिरछेउमा एउटा घर छ । त्यो घरको तल्लो तल्लामा दुईचारवटा कम्प्युटर राखेर साइबर चलाउँथ्यो एउटा केटो । घरमाथि उसका परिवार बस्थे । केही स्टेसनरी सामान पनि राखेको थियो साइबरमा ।

केटाकेटीहरू कचाककुचुक केही गरिरहेका हुन्थे कम्प्युटरमा । पहिलेदेखि नै मेरा सबै सानोठूलो लेखोटहरू त्यसैले टाइप गर्थ्यो । काम छिटो गर्थ्यो र मेरो किरिङमिरिङ अक्षर राम्रैसँग चिन्थ्यो । लेख्दै जान्थेँ, उसलाई दिँदै जान्थेँ । ऊ फुर्सदमा टाइप गर्दै जान्थ्यो । उसले सकिने म्याद दिएको दिन म त्यहाँ जान्थेँ । कहिले कम्प्युटरमा, कहिले प्रिन्ट गरेर ऊ आपूmले गरेको काम देखाउँथ्यो । म त्यहीँ बसेर हेर्थेँ, सच्याउने ठाउँ देखाइदिन्थेँ । मन लागेको थप्न पनि लगाउँथेँ । थुप्रैपटक प्रिन्ट बोकेर आउँथेँ, केरकार गरेर सच्याउँथेँ र फेरि उसको टाइपमा सच्याउँन लगाउथेँ । फाइनल ड्राफ्ट तयार भएपछ एक सेट प्रिन्टकपि र त्यसको सफ्टकपि आफ्नो पेनड्राइभमा लिन्थेँ । त्यसपछि ऊ टाइप गरेको फाइल गोप्यताको लागि कम्प्युटरबाट डिलिट गर्थ्यो । सुरुदेखि मेरो काम गरेकोले भरोसाको मान्छे थियो । उसको तर्फबाट कहिले कन्सेप्टको मिसयुज होला भनेर चिन्ता गर्नु परेन ।

उपन्यासको अन्तिम च्यापटर लेख्न बाँकी थियो । सत्र च्याप्टर लेखेर, सच्याएर, फाइनल भै’सकेको थियो । अब अन्तिम च्याप्टर लेख्नुअघि पहिलेका सबै च्याप्टरहरू प्रिन्टेड फर्म्याटमा पढ्छु, कप्लेक्स स्टोरीलाई दोहो¥याएर बुझुछु अनि फाइनल च्याप्टर सकाउँछु भनेर पेनड्राइभसहित साइबरमा गएँ । साइबर बन्द थियो ।”

“अनि ?” उसले सोधी । 
“अनि फर्केँ । भोलिपल्ट फेरि गएँ, बन्द थियो । पर्सिपल्ट गएँ, बन्द थियो । सात दिनपछि जाँदा पनि बन्द थियो । अनि, पसलपछाडि चोकतिरबाट घरमा छिर्ने ढोकापिट्ट गएँ । ढोका खुल्ला थियो । साइबर चलाउने केटो र बन्द पसलको बारेमा सोधेँ । उसको बाको मुखबाट समाचार सुनेर खङ्ग्रङ भएँ । घरमा जुठो परेको रहेछ, त्यही केटोको ।

ऊ त सात दिनअघि नै मरेछ । सायद, मलाई काम सकियो, भोलि लैजानुस् भनेको भोलिपल्ट । उसको मृत्युमा सहानुभूति जनाएँ । आफ्नो महत्वाकांक्षी उपन्यासको मृत्युको कुरा बुझ्ने कोही थिएन त्यहाँ । जेजति बुझ्ने मान्छे थियो, ऊ मरिसकेको थियो । आफ्नो समस्याभन्दा पार लाग्ला कि भनेर घरका मान्छेलाई सुनाएँ । दिन्छु भन्थ्यो, कुनै प्रिन्ट छ कि घरमा ? पेनड्राइभ पनि भेटियो कि उसको खल्तीमा भनेर सोधेँ । घरका मान्छेहरूले केही खोजेजस्तो गरे, तर केही भेटिएन । साइबर पन्ध्र दिनपछि मात्र खोलिने र त्यही बेला त्यहाँ केही छ भने खोजिदिने कुरा गरे । जुठो परेको घर, मलार्ई धेरै कुरा गर्नु उचित लागेन र हताश मनस्थितिमा घर फर्किएँ ।

पन्ध्रौँ दिनमा उसको भाइले साइबर खोल्यो । म फेरि गएँ । तर, केही हात परेन । न प्रिन्ट, न पेनड्राइभ, न कम्प्युटरमा कुनै डाटा । केही कतै थिएन । कस्तो फोल्डर थियो ? फाइलको नाम के थियो ? सोध्नको लागि मान्छे पनि थिएन ।”
“रिसाइकल बिनतिर हुन्थ्यो कि ?”
“खै, उसले त यताउति गम्भीरली नै खोजेको थियो । तर, केही भेटिएन भनिदियो ।”
निकै बेर मौनता छायो रञ्जना र मेरो बीचमा । मैले गिलास रित्याएर फेरि भरेपछि उसले भनी, “त्यसमा असम्भेबल के छ र ? एकपटक लेखेर फाइनल नै भइसकेकै न हो, फेरि फटाफट लेख्नुस् । पछि थपथाप गर्दा भइहाल्छ ।” उसको सल्लाह पुरानै थियो ।

“कम हो र दुई सय पचास पेजमा सत्र च्याप्टर सकिएको थियो र अन्तिम च्याप्टर मात्र बाँकी थियो । सुरु गर्नै अल्छी लाग्छ । हिम्मत नै आउँदैन ।”

“कभर पेजमा मेरो अनुहार मात्रै छ । उपन्यासमा चाहिँ म के थिएँ ?”
“तिमी धेरै थोक थियौ । सत्रौँ च्याप्टरमा आइपुग्दा तिमी नर्सिङ सिध्याएकी सिस्टर थियौ...त्योभन्दा पहिला मिस नेपाल थियौ...त्योभन्दा पहिला गाउँले केटी थियौ । मिस नेपालको प्रतियोगितामा एउटा प्रश्नको जवाफमा तिमीले ‘आई लाइक मदर टेरेसा’ भनेकी थियौ । तिमीलार्र्ई मदर टेरेसाको बारेमा जति घोकाइएको थियो, त्यत्ति मात्र थाहा थियो । पछि ब्याक स्टेजमा तिमीलार्र्ई पत्रकारले मदर टेरेसाको बारेमा थप कुरा सोध्यो, तिमीलार्र्ई थाहा थिएन । तिमी लज्जित भयौ । पत्रकारले तिमीलार्र्ई केही थाहा नभएको र त्यत्तिकै ठूलो कुरा गरेको भनेर छापिदियो । तिमी झन् लज्जित भयौ र मदर टेरेसाको बारेमा सम्पूर्ण कुरा जान्ने निधो गर्यौ । उनैलाई भेट्ने निधो गर्यौ । जब उनको बारेमा सबै कुरा थाहा पायौ र उनलाई पनि भेट्यौ, तिमी निक्कै प्रभावित भयौ र सिस्टर बन्ने निधो गर्यौ । आफ्नो मोडलिङ छोडेर तिमी नर्सिङतिर लाग्यौ र तनमनले बिरामीको उपचार र सेवा गर्न लाग्यौ ।”

“आम्मै म त्यस्तो ? गाउँले भनेपछि अर्गानिक पनि, मिस नेपाल भनेपछि बिछट्टै राम्री पनि, सिस्टर भनेपछि मनकी पनि राम्री, तपाईंकी नायिका भनेपछि चरित्र पनि राम्री... मैले त आफूलाइ मन पो पराएँ त । लौन चाँडै सिध्याउनुुस् । प्लिज ।”
“तिमी रञ्जना मेरो ज्यान हौ भने उपन्यास मेरो जीवनको सबभन्दा ठूलो उपलब्धि । तिम्रो जीवनका संघर्षको यात्रा सम्झिँदा पनि मेरो छाती ढक्क फुल्छ । सास फेर्न गाह्रो हुन्छ । तिम्रो मोहनीमा पागल छु म ।”

“मेरो मोहनी ? कस्तो मोहनी ? कसरी ?” उसले सहज जिज्ञासा राखी  । 
“तिमी मेरी पात्र हौ । लेखकले पात्रलाई जन्माउँछ, हुर्काउँछ, चरित्र दिन्छ र यात्रा गराउँछ । लेखकले पात्रलाई तीन सय साठी डिग्रीमा हेर्छ । त्यही भएर पात्रको मनस्थिति लेखकको पनि तत्कालिन मनस्थिति हो । त्यसैले आफ्नो पात्रप्रति लगाव हुन्छ लेखकको । पात्रसँगै रुन्छ र हाँस्छ लेखक । त्यसैले तिमीप्रति लगाव छ मेरो, तिमीले आफैँले थाहा नपाउने गरी मोहनी लगाएकी छौ मलार्ई ।”

“लेख्नुस् न मलार्ई फेरि । घुमाउनुस् तीन सय साठी डिग्रीमा । निर्धारण गर्नुस् मेरो भाग्य र नियति अनि हिँडाउनुस् जता मन लाग्छ । म नाईं भन्दिन ल । कि म आफैँ लेखिऊँ र पात्र बनाएर तपाईंलाई पनि लेखिदिऊँ ?”

“अघि पनि आफैँ लेख्छु भन्थ्यौ, अहिले पनि त्यही भन्छ्यौ, कसरी लेख्छ्यौ आफूलाई ? कसरी लेख्न सक्छ्यौ मलार्ई ?”
ऊ अलमलिई र एक छिनपछि सोचेबल मुद्रामा जिद्दी गरी, “थाहा छैन कसरी, तर सकेँ भने नि ? तपाईंको निर्देशनबिना नै आफैँ कथामा आफूले चाहेजसरी फैलिएँ भने नि ? र, आफैँ लेखिँदै जाँदा कुनै दिन लेखकलाई नै लेखेँ भने नि ?”
मलार्ई मज्जाले हाँसो उठ्यो, “भेरी फन्नी, तिमी गाउँले केटी छँदा यस्तै मजाको कुरा गर्थ्यौ र सबैलाई हुरक्कै बनाउँथ्यौ ।” 
ऊ मुस्कुराई मात्र रही । 
घडी हेरेँ, रातको साँढे तीन बजिसकेछ । निद्रा र रक्सीले कन्चट टन्टनाउन थाल्यो । भनेँ, “अहिलेलाई गुड नाइट, ल...तिमीले इच्छा गरेजस्तै स्वतन्त्र पात्र भएर आफ्नो भाग्य र नियति आफैँ निर्धारण गर्नु । भोलि तिम्रो कथा तिम्रै मुखबाट सुनौँला ।”
उसले पनि भनी, “अघि त्यत्तिकै निदाउनुभयो, अहिले साँच्ची गुड नाइट । म अब आपूmले पाएको स्वतन्त्रता उपभोग गर्दै आफ्नो नियति आफैँ निर्धारण गर्नतिर लागेँ । एउटा कुरा भन्नुस्, म कुन नाम लिएर हिँडूँ ?”
“नयाँ नाम किन चाहियो ? जे हो त्यही, रञ्जना ।”.
०००
भोलिपल्ट अबेलासम्म सुतेँ । साढे बाह्र बजे उठेँ । लामै समय लगाएर नुहाएँ । काम गर्ने आइमाईले भर्खर बनाइदिएको खाना तात्तातै खाएँ । सरसफाइ र कपडा धुने समेत सबै काम सिध्याएर जानु अगाडि उसले सोधी, “म जान लागेको, केही चाहिन्थ्यो कि ?” 
भनेँ, “चाहिँदैन ।” 
फेरि सोधी, “सम्झिनुस्, केही चाहिन्थ्यो कि ?”
भनेँ, “चाहिँदैन ।” 
ऊ गई ।

मैले एक छिन टिभीमा समाचार हेरेँ । एक छिन गीत गुन्गुनाएँ । एक छिन बरन्डाका गमलाहरूको स्याहारसुसार गरेँ । 
अनि, ह्विस्की बनाएँ, क्यान फिस खोलेँ र रञ्जनालाई भेटेँ, “स्वतन्त्र पात्र बनेर आफैँ लेखिन्छु भन्थ्यौ क्यारे, के भयो ?” 
“निकै अप्ठयारो खेपेँ नि । तर, कुनै निष्कर्ष निस्किएन । तपार्ईंकै जस्तो अन्त्यको कुनै टुंगो लागेन ।”
“किन ? मलार्ई पनि सहयोग हुन्थ्यो कि अन्तिम च्याप्टरको लागि...”
“म घुम्दै थिएँ, तपाईं आइहाल्नुभयो ।”
“जे होस्, स्वतन्त्रता भोग्यौ ? इन्टरेस्टिङ । पख, सबै सुन्छु, एकएक गरी ।”
मैले रुटिनअनुसार कागज, कलम र ज्याक ड्यानियलको बोतल पनि नजिकै सारेँ र भनेँ, “ल भन, पात्र बनेर कता गयौ, के ग¥यौ, के–के भयो ?”
उसले सुरु गरी, “तपार्इं सुतेपछि मैले पत्रिकामा ड्राइभर चाहियो भन्ने विज्ञापन देखेँ । तपार्इंको सिस्टरभन्दा फरक भएर म ड्राइभर बन्नको लागि विज्ञापनमा तोकिएको ठाउँमा गएँ । एउटा पैँसट्ठी वर्षको बूढो मान्छे अन्तर्वार्ता लिन बसेको थियो । अन्तर्वार्ता सुरु भयो । 
“नाम ?”
“रञ्जना...”
“लाइसेन्स छ ?”
देखाएँ ।
“अहिलेचाहिँ के गर्दै हुनुहुन्छ ?”
“हाउस–वाइफ, सबै काम गर्नुपर्छ ।” 
“वाइफ भनेकै हाउस–वाइफ हो, बाहिरको वाइफलाई हाउस–वाइफ भनिदैन अर्थोक नै भनिन्छ ।”

मलार्ई लाग्यो, तरुणी देखेर ऊ कामभन्दा नकामको कुरा अगाडि बढाउन खोज्दै थियो । भनेँ, “त्यै भएर नै बजारको वाइफ नभनेर हाउस–वाइफ भनेकी हुँ ।”
उसले एक छिन चुप लागेर मलार्ई पढ्न समय लियो । 
म त स्वतन्त्र पात्र न थिएँ । तपार्ईंलाई सम्झेँ । एक मनले एकाएक अन्तर्वार्ता छोडेर बजार वाइफकै भूमिकातिर लागूँ कि जस्तो पनि लाग्यो । फेरि, तुरन्तै आफ्नो भूमिका आफैँ तय गर्न पाएको बेला पनि कता बजारतिर लाग्नुजस्तो लाग्यो । भन्नुस् त, म अहिले ड्राइभर बन्न गएको नभई बजार वाइफ बन्न गएको कथा सुनाइरहेको भए तपाईंको प्रतिक्रिया कस्तो हुन्थ्यो ? के सोच्नुहुन्थ्यो ?” उसले मलार्ई सोधी ।
“जे सुकै भए पनि पहिला चुपचाप कथा सुन्थेँ, अनि कमेन्ट गर्थेँ । तिमी बूढोलाई अन्तवार्ता दिँदै थियौ । अनि, के भयो ?”

उसले बाँकी कथा सुरु गरी, “ड्राइभरको अन्तर्वार्ता पनि सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्त गर्न लागेको झैँ लामो न लामो थियो !
अनि, सोध्यो, “विवाहित कि अविवाहित ?”
मैले भने, “विवाहित ।” 
सोध्यो, “परिवारमा को–को छ ?”
भनेँ, “चारजना छौँ । अक्टोपस, उसकी आमा, उसका बाबा र म ।”
“अक्टोपस !?” उसले अचम्म मान्यो । 
“हो, लोग्ने । उसको अक्टोपसको जस्तै खुबी छ । बाजामा जे पनि बजाउन जान्ने, गीत गाउन पनि अतिनै सिपालु । खेलमा जे पनि खेल्न जान्ने ! कुरा पनि अति गरिरहने, गरेपिच्छे हँसाउने । मलार्ई उसको हँसाउने बानी मन प¥यो, उसलाई मेरो शरीरबाट आउने फेरोमोनको गन्ध । सबभन्दा मजाको कुरा त माया गर्न अति जान्ने । उसको बाहुपासमा बाँधिएपछि त फुत्किनै गाह्रो हुन्छ । हातको कुरा छोडाँै, खुट्टाले समेत च्याप्प समाउन जानेको छ ! ट्वाइलेट, धारा, भान्सा भर्याङ केही भन्दैन, मलार्ई देखेपछि उसलाई अँठ्याउनै हतारो हुन्छ । यति धेरै माया गर्छ कि कहिलेकाहीँ उसको माया सकसपूर्ण हुन्छ ।”

मुस्कुराएर सबै कुरा सुनेपछि उसले मलाई नलिनेजस्तो विचार देखायो । र, भन्यो, “केटी मान्छे, ड्राइभिङ गर्न सक्छु भन्दैमा ड्राइभरको जागिर खान सक्दिनौ होला । कुन बेला के पर्छ, रात–बिरात समयको ठेगान हुँदैन । कहिले यता, कहिले उता ।”
“त्यो मेरो समस्या हो, म टार्छु । तपार्इंलाई केटी ड्राइभर राख्दा धेरै फाइदा हुन्छ । म अरू ड्राइभरले जस्तो गाडीको तेल चोर्दिनँ । मापसेमा पर्छु भन्ने छैन, मबाट कुनै रिस्क छैन, सम्हाल्न सजिलो छ, मुखमुखै लाग्दिनँ । शारीरिक रूपमा पनि कुरो नमिलेमा तपाईंसँग धक्कामुक्का गर्दिनँ ।”

“यो सहरमा चिनेको मान्छे को छ ?” उसले रेफेरेन्सको लागि सोध्यो । म अलमलिएँ, कसको नाम लिनु अब ? तपाईंकै नाम लिएँ ।”
“अनि ?” मैले उत्सुक हुँदै सोधे ।
“ए उहाँलाई चिनेको छ ? मैले उहाँको उपन्यास पढेको छु, राम्रो लाग्छ,” भन्यो । 
मैले भनँे, “तिमी कथामा छौ रञ्जना, अनि ऊ पनि कथाको अर्को पात्र भयो । उसले मलार्ई कसरी चिन्यो ?”
“म मेरो कथा आफैँ निर्धारण गर्दै छु । तपाईंलाई पनि पात्र बनाएर उसको अगाडि पेस गरे नि ।”

उसले मलार्ई जिल्याउने तर्क गरी, “अनि पात्रले पात्रलाई चिनोस् भनेर परिवेश बनाएपछि चिन्दैन ? तपाईंं र मेरो परिचय छ भने, उसको र मेरो परिचय छ भने, तपार्इंको र उसको परिचय हुँदैन ? अझ तपार्इंं त पपुलर मान्छे ।” 
मेरो पात्र मभन्दा होसियार लेखक बन्दै छे । उसको तर्कले रन्थन्यायो र एक सिप लिएर फेरि सोधेँ, “अनि ? काम बन्यो ?” 
“काम नदिई सुख पाएन । गाडीको चाबी दियो, ट्रायल लियो र मन परायो । ट्रायलपछि मैले उसको परिवारको बारेमा सोधेँ । उसले आफ्नो परिवारको बारेमा छोटकरीमा जानकारी दियो— 
घरमा घुँडा दुख्ने रोग भएकी बूढी रहिछ, छोरा–बुहारी रहेछन्, नाति–नातिना रहेछन् । छोरी–ज्वाईँ रहेछन् । दसैँमा सबै परिवार भेला हँुदा घर भरिन्छ रे भन्दैथ्यो । छोरा व्यापारी रहेछ । न्युरोडमा सुन पसल रहेछ ।”
बूढोलाई सर्त राखेँ, “मेकअपको बानी छैन । तर, चाहिने भए किनिदिनुपर्छ । ड्रेस दुई जोर र पर्फ्युम किनिदिनुपर्छ । तलबबाहेक ।”
“ड्रेस, पर्फ्युम र मेकअप किन ?” बूढोले सोध्यो ।
मैले भनँे, “घरको कपडामा नराम्री देखिउँला । मेरो पसिनाको गन्ध मन परेन भने तपार्इंलाई समस्या, गाडीमा नाक छोपेर बस्नुपर्ला । पसिनाको गन्ध नै मन पर्यो भने मलाई समस्या ।”
मैले सोधे, “तिमीलार्र्ई किन समस्या ?”
उसले भनी, “बूढोले पनि अचम्म मान्दै त्यसैगरी सोध्यो— गन्ध मन पर्यो भने तिमीलार्र्ई के समस्या ? मेरो पसिनाको गन्ध तपाईंलाई मनपर्न थाल्यो भने तपार्इंभित्रको बूढो पुरुष मेरो फेरोमेनको आकर्षणले मेरो नजिक–नजिक हुन खोज्छ । तपाईं र्याल काढ्न थाल्नुहुनेछ । घरकी बूढी र रोगी हाउस–वाइफलाई बिर्सेर मलार्ई बजार–वाइफ बनाउने तर्कना र कूटनीति अपनाउन थाल्नुहुनेछ । अनि, मलार्ई समस्या पर्नेछ । मलार्ई थाहा छ, मान्छे जति बूढो हुँदै गयो, उति र्याल काढ्ने बानी बढ्दै जान्छ ।”
सबै कुरा बताए पनि एउटा कुरा लुकाएँ । आफू एक महिनाको गर्भवती भएको कुराचाहिँ बताइनँ ।” 
अनि बूढोले भन्यो, “तिम्रो सुझबुझ, समझदारी र प्रस्तुत हुने तरिका साह्रै मन पर्यो । त्यस्तो तिमीले शंका गरेजस्तो केही हुने छैन, ढुक्क होऊ । ल हिँड, बजार जाऊँ, तिमीले भने्जस्तो ड्रेस, पर्फ्युम र मेकअपको सामान अहिले नै किनौँ ।”

“अनि मैले पर्सिपल्टदेखि मेकअप गरेर, नयाँ युनिफर्ममा पर्फ्युम ओढेर आफ्नो ड्युटी सुरू गरेँ । गाह्रो थिएन काम, साँझ–बिहान पिकअप ड्रप अनि दिनभरि गाडीमै आराम । बूढो ‘छोरीजस्तै मान्छे, सँगै बस्छु’ भनेर अगाडि ड्राइभिङ सिटकै छेउको सिटमा बस्न थाल्यो । उसकै गाडी चलाउनु छ, उसैले दिने तलब लिनु छ, काखमाबाहेक जहाँसुकै बसोस्, मलार्ई के ? भन्ने लाग्यो ।”

“हाहाहा !” रक्सी सर्किएलाजस्तै गरी हाँसो उठ्यो मलार्ई । “अनि ?” 
उसले बयान गरिरही, “बूढो दयालु देखियो । मेरो खाना–पानीको समस्या बुझ्थ्यो । घर, अफिसबाहेक अलि यताउता गरेको दिन टिप्स पनि दिन्थ्यो । नेवार परिवारको थियो, खः, मखु, वलः, गातः, आसे जस्ता शब्दबाहेक अरू भाषा बुझ्दिन थिएँ । उसकी बूढीलाई मेरो नियुक्ति मन परेको रहेनछ । तर्कहीन कचकचे रहिछ । मैले मतलब राखिनँ । मैले त उसको गाडी सम्हाल्ने हो, उसको बूढी उसैले सम्हाल्ने हो ।

केही दिनपछि बूढोले अफिसपछि पनि ड्युटी बढाउन थाल्यो । लाग्यो, घरमा भन्दा गाडीमा ऊ आराम छ, सन्तुष्ट छ । कहिले घर जाने समयमा ड्युटीको समय त सकियो, तर फुर्सद भए पशुपति लगिदेउ भन्थ्यो त कहिले नाति बिरामी भयो, स्वयम्भू हारतीमाताको दर्शन गर्न लगिदेउ भन्थ्यो । कहिले ज्वाइँले नयाँ काम थालेको छ, कार्यविनायक लगिदेउ, कहिले आज बिहीबार हो बंगलामुखी लगिदेउ भन्न थाल्यो । 
अल्छी त लाग्थ्यो, तर नाईँ भन्न मन लागेन र भनेको–भनेको ठाउँमा लगिदिन्थँे ।

एक दिन आफ्नो गाडी बिग्रेको छ भन्दै उसको छोरो मेरो गाडीमा बस्न आयो । दिनभरि उसले भनेको–भनेको ठाउमा घुमाइरहेँ । पछि त दिन बिराएर उसको गाडी बिग्रिन थाल्यो !
ऊ पनि बाउजस्तै अगाडि सिटमा बस्न थाल्यो । गाडीमा बसेदेखि नै अन्तर्वार्ता सुरु हुन्थ्यो, दिनदिनै उही कुरा सोधेर हैरान पार्थ्यो, “उमेर कति ? आम्दानी कति ? घरमा को–को छ ? लोग्ने के गर्छ ? कति कमाउँछ ? बाले कसरी भेटेर ड्राइभर राखेको ? बाले के–के कुरा गर्छन् ? एक दिन त घुमाउरो अफर नै गर्यो— छोडीदेऊ यो बाउको ड्राइभरी काम । न्युरोडमा सुन पसल छ, मै पिकअप ड्रप गरूँला, बाले दिएको भन्दा डबल तलब दिऊँला ।

त्यसको केही दिनपछि बूढोले घर फर्किने बेलामा मसँग गाडीको साँचो माग्यो । तलबसहित दुई महिनाको अतिरिक्त पैसा दियो र दुःख मानेर भन्यो— भोलिदेखि आउनु पर्दैन नानी, अर्को ड्राइभर आउँछ । तिम्रो कारण मेरी बूढीले मलार्ई शंका गरी । बुहारीले छोरामाथि शंका गरी । घरमा कचकच हुन थाल्यो । आजसम्मको सेवाको लागि धन्यवाद ।
मलाई के भन्ने थाहा भएन, चुपचाप पैसा लिएर हिँडेँ । बूढोलाई छोड्ने मन थिएन, छोरोसँग थप संगत गर्ने रहर थिएन । जे भयो, ठिकै भयो भनेर घर हिँडेँ ।”

रञ्जनाले आफ्नो कथा सिध्याई । म बूढोको परिवारमा हराइरहेँ र भनेँ, “ठिक समयमा तिम्रो कथा सकियो, नत्र कता बरालिन्थ्यो कता । बूढोको परिवारले भन्दा तिमीले दुःख पाउन सक्थ्यौ । रमाइलै गरिछौ, उपन्यासको मैले दिएको चरित्रभन्दा नयाँखाले अनुभव लिएर ।”

रातको एघार बजिसकेको थियो । ह्विस्कीले झ्याप्प भइसकेको थिएँ र निद्राले च्यापेको जस्तो लाग्दै थियो ।  
रञ्जनाले बुझी क्यारे, भनी, “मेरो कथा यत्ति हो । अब तपार्ईं लेख्न थाल्नुहुन्छ कि मै आफैँ लेखिँदै गरूँ ?”
मैले भनेँ, “केही समय देऊ । म अब सुत्छु । तिमी पनि घर जाऊ ।”
उसले अचम्म मानी, “घर ? कुन घर ?”
“बूढोलाई अन्तर्वार्तामा घरको बारेमा सुनाएको होइन ? त्यही घर । त्यही अक्टोपसको घर ।”
रञ्जना मज्जाले हाँसी, “ए फेरि आफैँ लेखिनु ? स्वतन्त्र पात्र बनेर त्यही घर जानूँ ? किन ? अक्टोपसले च्यापेको, चुमेको कथा सुन्ने रहर जाग्यो हो ?” उसले जिस्काई पनि ।
“जे भोग्छ्यौ, त्यही सुन्छु । मैले नलेखेसम्म तिम्रै मनपरी ।” 
“स्वर लर्बरिएको छ, ज्यादा लाग्यो कि के हो ?”
“तिम्रो कथा सुन्दै कति खाएँ, कति होसै भएन ।”
“यस्तो होसै नहुने गरी किन खानु त ?” 
“किन नखानु ?”
“रक्सीले नै उपन्यास पूरा गर्न नसकेको हो कि ?”
“होइन । न रक्सीले लेख्न मद्दत गर्छ, न लेख्न रोक्छ । यो अलग चिज हो ।”
“खानचाहिँ कसरी सिकेको ?”
“खै, युवक हुँदैदेखि सिकियो ।”
“सँगै खाने र मेरो पोट्रेट बनाउने आर्टिस्टले त अब छोड्नु भन्दैथ्यो भनेको होइन ?”
“भन्छ नि मुला ! ऊ त लेखकभन्दा आर्टिस्ट ठूलो पनि भन्छ । मैले हजारौँ शब्दमा भन्न नसकेको कुरा उसको सानो स्केचले भनिदिन्छ पनि भन्छ । उसको कला भनेको म्युट एक्स्प्रेसन रे । ऊ हातले बोल्छ रे । वाहियात ! ऊ क्यानभासमा रङ छ्यापेर कविता बनाउन सक्छ ? उसको क्यानभासले हुरीको आवाज निकाल्न सक्छ ? बजारमा मभन्दा उसको ठूलो नाम छ ? छैन । त्यसैले ऊ जे भन्छ, मेरो सन्दर्भमा त्यो अभ्यालिड छ ।”
“मलाई के थाहा ? उसले यसो भन्यो, उसो भन्यो भनेर तपार्इंले नै सुनाएको हो मलाई । त्यो लेख्न पनि नलगाउने, नलेख्न पनि नलगाउने जाबो रक्सी किन खानु त ? छोडे हुन्छ नि ।”
“किन छोड्नु, नछोड्ने ।”
“आबुई, क्या जिद्दी ! स्वाद कस्तो हुन्छ त्यसको ? मिठो ?”
“मुखअनुसारको होला । मलाई मिठै लाग्छ । तिमीलार्ई पनि सिकाएको थिएँ त, मिस नेपालमा भाग लिँदा । र्याम्पमा हिँड्ने प्राक्टिस चल्दा ग्रीनरुममा चाखेकी होइनौ ?”
“हो र ? बिर्सिएँ त ।”
“हो, ल चियर्स । सिधै खुवाउन त मिलेन, तिमी कभर पेजमा मात्र छ्यौ ।”

मैले उसको मुखनजिक गिलास लगेँ र आफैँ पिएँ । उसले पनि हाँस्दै सुगरिलो आवाजमा चियर्स भनी, “मैले खाए मलाई पनि बानी पर्थ्यो होला, अनि त हामी सँगै चियर्स गर्दै खान्थ्यौँ होला । मैले खाने भए त म तपाईंलाई पनि सर्भ गर्थेँ, सत्य ।”
ऊ के–के गनगन गर्दै थिई । म स्वप्निस्तानतिर लागेँ । स्वप्निस्तानमा उसलाई कतै देखिनँ ।

भोलिपल्ट बाथरूमबाट निस्कँदा काम गर्ने आइमाई आइसकेकी थिई । चिया खाने कि सोधी । 
मैले हिजो बाँकी रहेको ह्विस्की नै रोजेँ र पिरो अमलेट बनाइदिन भनेँ । पछि उसैले बनाइदिएको खाना खाएँ ।

काम गर्ने आइमाई कोठा सफा गरेर, कपडा धोइदिई र बेलुकाको लागि पनि खाना बनाइदिएर गई ।

दिउँसोतिर फेरि रञ्जनाको सम्झना आयो र उसलाई भेटेँ । उसले तुरुन्तै आफ्नो स्वतन्त्र विचरण सुनाउन सुरु गरी, “हिजो राति तपाईं सुतेपछि म घरतिर लागे । घर जाँदा लोग्ने ढोकामा कुरिरहेको थियो । मलार्ई देखेर दौडेर आयो र तानेर झ्वाम्म अँगालोमा तान्यो । एक खुट्टामा उभिएर दुई हात र एक खुट्टाले बेरेर मज्जाले कस्यो र छातीमा टाँस्यो । फुत्केर भागिहाल्छु कि जस्तो गरेर ।”
सोध्यो, “किन ढिलो आज ?”

आफूले केही गरिनँ, उसैको भरमा ज्यान छोडिदिएँ र उसलाई मेरो कुरा सुनाएँ, “आजदेखि मेरो ड्राइभरको काम सकियो । यी पैसा ।”
उसले चुम्बनको वर्षा गर्दै भन्यो, “तिमीलार्र्ई खर्च गर्न हुन्छ, तिमी नै राख । कसले भनेको थियो ड्राइभरको काम गर्न जाऊ भनेर ?” 

भन्न मन लागेको थियो, “कसैले भनेन, स्वतन्त्र भएर आफ्नै मर्जीले गरेकी, तर भन्न सकिनँ । किनकि, उसको मनतातो ओठले मेरो मुख थुनिएको थियो । बरू, उसैले भन्यो, “पर्सिदेखि बाबा र म इन्डिया जाने, तीर्थयात्रीहरू लिएर । केदारनाथ । फर्किन पन्ध्र दिनजति लाग्छ । आमा र तिमी मात्रै हुन्छौ घरमा । आमा र यो बच्चालाई सम्हाल्नु ।”
उसले मेरो भुँडी मुसार्यो । मलार्ई त्यत्तिकै मिठो लाज लाग्यो र भनँे, “छाडा, छाडा, छाडा !”
आमा बाहिरबाट कराइन्, “ग्यास लिन जान लागेको मान्छे कता बीच बाटैमा हरायो... बाबु..”
उसका अक्टोपस हातहरू शिथिल भए । 
“हस् आमा, ल्याइहालेँ ।” भनेर ऊ कुद्यो र कुद्दा–कुद्दै इसारामै छिल्लियो, “राति, राति !”

उसले भनेको एक हप्ता तुरुन्तै आयो । बाबु–छोरा बिहानै तीर्थयात्रीहरू लिएर हिँडे । पर्सिपल्ट फोन आयो केदारनाथ पुगेको । त्यसको भोलिपल्ट समाचार आयो टीभीमा, “मनसुनअगावैको भारी वर्षाले केदारनाथका यात्रीहरू बिचल्लीमा । सयौँको मृत्यु हजारौँ बेपत्ता । केदारनाथको मन्दिरमा समेत क्षति ।”
समाचार सुनेर मभन्दा बढी आमाको रोइकराइ सुरु भयो । सबै छिमेकीहरू घरमा जम्मा भएर सान्त्वना दिन थाले, “उनीहरूलाई केही भएको छैन दिदी, धैर्य गर्नुस् । सबै चाँडै फर्किन्छन् ।” 

राति सुर आयो र दुई गिलास रक्सीको व्यवस्था गरेर उनको अगाडि गएँ, “दुःख परेको बेला दिमाग बिगार्नु हुँदैन । लाउनुस्, यो खानुस् । म पनि खान्छु । दुवै मिलेर खाऊँ र समस्या सहज बनाऊँ ।”
मैले गिलास तेर्स्याएँ । सासूलाई रक्सी दिने हिम्मत देखेर उनी जिल्ल परिन् एक छिन । मलार्ई थाहा थियो, भोजभतेरको मौका पारेर खान्थिन् कहिलेकाहीँ ।

“अलिकति खाए औडाहा कम होला ।” उनले गिलास समातिन् ।
दुवैले चुपचाप पिउन थाल्यौँ । उनलाई सम्झाउँदै गर्दा मुटु भतभती पोलेर आँसु आउन थाल्यो । आँसुको वजन गहुँ्रगो थियो हिजोभन्दा र पीडादायी पनि ।

रेडियो र टीभीको समाचारमा पनि स्थिति झन् बिग्रिएको, पानी नथामिएर थप बेहाल भएको र थप मान्छे मरेको कुरा मात्रै आइरह्यो । हामी ठिक छौँ भन्ने उनीहरूको समाचार आएन । टीभी खोलेर अन्तर्वार्ताहरूमा उनीहरू देखिन्छन् कि भनेर साथमै बसेर हेर्यौँ ।

राति अबेला आफ्नो आँखा ओसिलै राखेर उनले मेरो आँखा पुछिदिइन्, “हामी पर्खिन्छौँ उनीहरूलाई । सँगसँगै पर्खिन्छौँ । धार्मिक काममा गएका हुन्, नआएर सुख ? भोलिदेखि तिमी रक्सी नखानु, जति दुःख परे पनि । आज पहिलोपटक खाएको देखेँ, भोलिदेखि तिमीलार्र्ई रक्सी ब्यान । बच्चा गर्भमा हुँदा राम्रो हुँदैन । भोलिदेखि बिहान–बेलुकी गाईको दूध ।”
मेरो गर्भप्रतिको उनको आश्चर्यजनक्ली पलाएको चासो देखेर म सललल्ल पग्लिएँ ।

जहाँ बसेका थियाँै, टीभी हेर्दै त्यहीँ निदायौँ । मध्यरातमा जोरसँग पेट दुख्यो । बाथरुम गएँ । रगत बग्यो । सासूलाई सुनाएँ । राति नै हारगुहार गरेर सासूले अस्पताल लगिन् । डाक्टरले मिसक्यारिज भएको सूचना दियो । उनी छाती पिटिपिटी रुन थालिन्, “के दशा आइलाग्यो भगवान्, के पाप गरेकी थिएँ र चारैतिर हुन्डरी मच्चाउँदै छौ ? अब छोरा फर्केपछि मैले के भनेर मुख देखाउनु ?”

“अब कति रुनु ? उनी उनको कोठामा, म मेरो कोठामा रोइरह्याँै ।”

रञ्जनाले कथाको अन्त्य गर्दा मेरो आँखा पनि ओस्सिएको थियो । थाहा पाएँ, समयक्रममा कथा सुनेरै विह्वल बन्ने कमजोरी आइसकेको रहेछ ममा । 

उसले भनी, “आजलाई यत्ति मात्रै । अरू फेरि सुनाउँला नि अर्को भेटमा ।”
“भैगो, त्योबारेमा कुरै नगर्ने अब । खराब समाचार आएको सुन्ने रहर छैन ।”
“राम्रो समाचार पनि त आउन सक्छ नि । उनीहरू दुःख पाउँदै फर्किन पनि सक्छन् ।”
“त्यसो नहुन पनि त सक्छ ।”

केदारनाथको घटना वा उसको मिसक्यारिज वा आफ्नो रक्सीको मातले हो, म निक्कै बेर आँसुको स्पर्शमा परेलीनिर चिस्सिइरहेँ । आँसुकै एसिडमा गलिरहेँ । आँसु पुछिनँ, झर्न दिइरहेँ र भनेँ, “सासूले जस्तै तिमीलार्र्ई मेरोतर्फबाट पनि रक्सी ब्यान । मिसक्यारिज त्यसैले होला ।”
“कसले भनेको नि ब्यान पनि । आफैँ दिनरात खानेले । त्यस्ताले भनेको के मान्नु ? आफूले आफैँलाई पनि ब्यान भने पो ।”
“तिमीले भन्दैमा ममा लागु हुँदैन ब्यान । यो मैले चाहेको नियति । म मर्ने नै रक्सीले नै हो । ऊ, त्यहाँ भित्ताको कुनामा रहेको शो–केशमा देखिनौ फुल बोतल स्टक ? त्यो मृत्यु व्यवस्था हो । केही भयो कि एकै खेपमा घट्घट् पार्ने हो । मुटु बड्याँङ्ग, अनि गुडनाइट सधैँलाई ।”
“यस्तो मर्ने कुरा गर्न अलि धक त मान्नुपर्छ, त्यो पनि लेखक भएर । कमसेकम आफ्नो नायकजत्तिकै आदर्शवान् त हुनुपर्छ । के कुरा गरेको त्यस्तो, रक्सी खाएर मर्ने रे ।”
“म एक्लो मान्छे हुँ मेरो टाइपको । वान पिस । केको धक मान्नु ? लेखक, नायक, आदर्श त्यो अर्कै कुरा हो, नितान्त साहित्य हो, बुनोट हो । अगाडि पछाडि कोही भए पो धक मान्नु ?” 
“किन छैन अगाडि पछाडि कोही ? अरू पात्रको चाहिँ चरित्राइजेसन, तपार्इंको खै चरित्राइजेसन ? तपार्ईं को हो ? के हो ?”
“ठिक भन्यौ, पात्रको हुन्छ चरित्राइजेसन, लेखकको हुँदैन । तिमी पात्रको अगाडि मेरो केको चरित्राइजेसन ?” 
“एउटा परिचय त हुन्छ नि लेखकको पनि, तपार्इं को त ?”
“लेखक ।”
“उमेर ?”
“पैँतालिस ।”
“परिवार ?”
“मातापिता उहिल्यै इन्स्टलमेन्टमा स्वर्गवासी भए । पहिला आमा गइन् अनि बा गएँ । अरू कोही छैन ।”
“यो उमेरसम्म विवाह ?”
“विवाह गर्छु भनेर सोचेका कोही फापेनन् । कोही तिमीभन्दा आधा पनि थिएनन् ।” 
“उमेर छँदै छ बिहे गर्नुस् । गरेपछि पो फाप्छ ।” 
“गर्दिनँ, अब यत्तिकै ठिक छु ।”
“अरू काम के गर्नु हुन्छ ?”
“केही पनि गर्दिनँ । लेखेको रोयल्टीले अलिअलि आम्दानी हुन्छ । बाबाआमाले छोडेर गएको बैंक ब्यालेन्स छ, ब्याज आउँछ । यत्रो घर तलतिर सबै भाडामा छ । एउटा फ्ल्याट खाली छ, मान्छे आउँदै जाँदै छन् । मनपर्ने मान्छे पाए मात्र राख्छु । जिन्दगी आरामले चल्दै छ ।”

“तपार्इंजस्तो लापर्बाहलाई हेरचाह गर्ने पनि त चाहियो नि कोही ।”
“काम गर्ने आइमाई छ नि सावित्री । बिहान एकपटक आउँछे । यताउति सफा गर्छे । धुने लुगा छ भने धुन्छे । बेलुकासम्मलार्ई पुग्ने खाना बनाएर फ्रिजमा राखिदिन्छे । हप्ता–हप्तामा आफैँ ड्राइपु्रmटहरू किनेर ल्याउँछु । काजु, किसमिस, सुकुटी टन्न छ, खाली हुँदैन । खाना तताउने, पकाउने काममा मलार्ई झर्को पनि लाग्दैन । अनि, कोही किन चाहियो ?”
“रक्सी नभइ हुँदैन । मासु मन पर्छ । साँच्ची भन्नुस्, सेक्स चाहिँदैन ?”
“त्यो बेकारको आवश्यकता हो, आजकाल उत्ति रहर लाग्दैन । यदाकदा चाहिएको बेला किन्न पाइन्छ । किन्छु । भनेको बेला सावित्रीले नै बेच्छे ।”
“बिरामी परेको बेला ?”
“डाक्टर छ नि बिरामीको बेला । तातोपानी सावित्रीले दिइहाल्छे । आर्टिस्ट साथी छ, बारम्बार आउने । उसको धेरै बानी मन पर्दैन, तर साथी हो । अरू ऐरेगैरेलाई घरमा नस्वागतम् ।”
“थलैपर्ने खालको ठूलै बिरामी भइयो भने ?”
“त्यस्तो हुँदैन । अघि पनि भनेँ, ऊ त्यहाँ छ, स्टक राखेको इमर्जेन्सी फुल बोतल । फुल बोतलै एकै सासमा घट्घट् पारिदिन्छु । अनि, केको थला पर्नु, एकैपटक गुड नाइट ।”
“मलार्ई पूरा नलेखी कहाँ मर्न दिन्छु म ?”
उसको जिद्दीपन मेरोभन्दा ज्यादा थियो ।
हासेँ, “मलार्ई पनि त्यस्तै लाग्छ । तिम्रो प्रोजेक्ट पूरा नगरी मलार्ई केही हुँदैन ।” झल्यास्स सम्झेँ, “साँच्ची ! मेरो उपन्यासमा तिमी पनि त सिस्टर नै हौ नि, मलार्ई केको डर ?”
ऊ पनि झस्किई, “हो त, म सिस्टर हगि ?” ऊ सोचनीय मुद्रामा थिई । 
उसको अनुहारको प्रश्न पढेँ मैले, “सिस्टर त सिस्टर । अनि, अन्तिममा के हुन्छ ? फेरि लेख्न कहिले थाल्नुहुन्छ ? मैले आफैँ लेखिइरहनुपर्ने कहिलेसम्म ? म आफैँ लेखिँदा पनि सिस्टर नै बनूँ कि ?”
“मैले लेखिनसकिउन्जेल जे मन लाग्छ त्यही बन, स्वतन्त्र छ्यौ ।”

आजको दिन उराठलाग्दो भयो, रञ्जनाले नमज्जाको कथा सुनाई । केदारनाथको बर्बादी साह्रै मन कुँडिनेखालको थियो । उसको मिसक्यारिज त चरम उत्कर्षको पीडादायी थियो । फेरि, उसले मसँग अन्तर्वार्ता पनि लिई र कहिले कसैलाई नभनेको आन्तरिक कुरा सबै थाहा पाई । 
किस्ताबन्दीमा नरमाइलो थपिँदै गयो । आफ्नो बचपन सम्झेँ । जिन्दगीका उतारचढाव सम्झेँ । आफन्तहरूमा कसैको आफ्नो हुन नसक्नुको निरसता सम्झेँ । साइबरको केटोको मृत्यु सम्झेँ । उसँगै सती गएको आफ्नो उपन्यासको अठार भाग सम्झेँ, के–के सम्झेँ सम्झेँ ।

बिहानदेखि पिउन थालेको ह्विस्कीको पनि सबै मजा सेलाउँदै गयो । निक्कै पिइसकेको हुनुपर्ने तर पटक्कै रन्काएन । नसाभित्रको रगतले आँ गरेर स्पिरिट मागिरहेकै थियो । तर, ह्विस्की बोतल खाली थियो । भित्ताको कुनामा रहेको शो–केशमा एउटा थियो, त्यो त इमरजेन्सी स्टक थियो मेरो परिनिर्वाणको, मेरो मोक्षको, कसैको सहयोग लिनैपर्ने गरी केही तलमाथि पर्यो कि घट्घट् पार्ने चिसो योजनासहित पालेको बोतल । त्यो छुने कुरै थिएन । तर, आज थप पिउने मात्रै होइन, पिइरहुँजस्तो लाग्यो । अझ म चुपचाप बसिरहूँ, ह्विस्की मलार्ई पिइरहोस्जस्तो लाग्यो । ह्विस्की र म एकापसमा घोलिएर ककटेल बन्यो भने कस्तो होला भन्ने विचार पनि आयो ।

शो–केशमा बस्दाबस्दा बूढो हुँदै गरेको बोतललाई आँखा झिम्क्याउँदै अर्को बोतल किन्न उठेँ । धेरै बेर बसेकोले ढाड र घुँडा दुखेको रहेछ । थाहा भयो, रक्सीले पनि लाग्या–लाग्याजस्तो चाहिँ भइसकेको रहेछ ।
 
“आज पनि केही लेखिँदैन अब, एक दुई पेग खाएर संगीत सुन्ने हो र निदाउने हो ।” यस्तै सोचेर नयाँ बोतल किन्न बाहिर निस्किएँ । ढलमल गर्दै बजार पुगेँ । एक बोतल रक्सीको साथमा तीनवटा क्यान फिस किनेँ र घर फर्किएँ । 
बाटोमा कुनै महिला आवाजले बोलाएजस्तो लाग्यो, “सुन्नुस त ।”
मलार्ई नै बोलाएको भन्ने विश्वास लागेन । फर्केर पनि हेरिनँ र घरभित्र पसेँ । 
सिधा किचेनमा गएँ, क्यानफिस डाइनिग टेबलमा राखेँ । नयाँ गिलासमा एक लार्ज पेग हालेँ । त्यहीँ मुखभरिको एक घुट्को निलेँ र रञ्जनासँग थप कुरा गर्ने लालसाले एक हातमा गिलास र अर्को हातमा बोतल लिएर राइटिङ टेबल भएको कोठातिर लम्किएँ ।

“एक्सक्युज मी...” फेरि सुनेँ, अघि बाटोमा सुनेको जस्तै आवाज । 
“आर्टिस्टले भनेको भ्रम यही होला ।” सोचेँ र चुस्की लिँदै अगाडि बढेँ । अचानक देब्रे छाती दुख्यो । दुखाइ सेकेन्डभरमै दुई हाँगामा बाँडिएर एउटा दुखाइ देब्रे हाततिर र अर्को घाँटीको देब्रेतिर उकालो लाग्यो । बिर्को नलगाएको भर्खर खोलेको बोतल दाहिने हातमा थियो, त्यसलार्ई साइड टेबलमा राख्न भ्याएँ । तर, दुख्दै गरेको छातीपट्टिको देब्रे हातमा थियो गिलास, राख्न नपाइ तल खस्यो र छन्द्र्याङ आवाजका साथ फुट्यो । अनि, मैले चारैतिर धमिलो देखेँ र एक छिनपछि निस्पट्ट अँध्यारो । 
०००
होस खुल्दा अस्पतालको बेडमा अक्सिजन लिइरहेको थिएँ । नाडीको बाटो हुँदै स्लाइन चढाइँदै थियो । सचेत भएर सोचेँ— छातीमा ईसीजीको लागि तार जोडिएको थियो । औँलामा पनि तार च्यापिएको थियो । भित्ताको सानो मनिटरमा मेरो मुटुको धड्कन देखाउने इलेक्ट्रोनिक ग्राफ चल्दै थियो, बायाँबाट दायाँ टुँक् टुँक् आवाजमा ।

“होस खुल्यो ? तपार्इं आईसीयूमा हुनुहुन्छ । हृदयाघात भएर डेन्जरात्मक स्थितिमा तपाईंलाई हिजो राति ल्याइएको थियो यहाँ ।” एउटा सिस्टरले छोटकरीमा बताई र कसैलाई सुनाउन हतार भएझैँ गरी बाहिर दौडिई, “दिदी, बिरामीलाई होस आयो ।”

आँखा चिम्लेर बल गरेर सम्झिएँ– हिजो बजार गएर ह्विस्कीको बोतल र गिलास समातेर हिँड्दाहिँड्दै देब्रे छाती दुःखेको थियो, अस्पतालाइजेसन् हुनुपर्ने गरी हृदयाघात भएछ ? यस्तै अन्तिम दिनको लागि कसैको सहयोग लिनु नपर्ने गरी घट्घट् पार्छु भनेर स्टक राखेको फुल बोतल ज्याक ड्यानियल शो–केशमै रह्यो त ! आवश्यक परेको बेला खै त्यसको नजिक पुग्न सकेको ?’ जिन्दगीमा पहिलोपटक आफूप्रति दया लाग्यो ।

“ल बधाई छ, होसमा आउनुभयो ।” सुरिलो र जुसिलो नारी आवाज सुनेर आँखा खोलेँ । 
ऐया, झन्डै दोहोर्याएर हृदयाघात नभएको ! सिस्टरको वेशमा काटीकुटी उही अनुहार, उही हाउभाउ, ठयाक्कै कभर पेजकी सिस्टर रञ्जना । 
म केही बोल्न नसकेर अवाक् भएर उसलाई हेरिरहेँ । उसलाई देखेपछि मेरो अवस्था जिब्रो काटिएको मान्छेको जस्तो भएको थियो ।

ऊ मसँगै बेडनिर उभिई । भन्दै थिई, “भाग्यले बाँच्नुभयो । एक छिन ढिलो भएको भए गुड नाइट हुन्थ्यो तपार्ईंको । तपार्इंकहाँ फ्ल्याट खाली छ रे भन्ने सुनेर भेटेरै कुरा गर्न गएकी, कहाँ तपार्ईंलाई कुदाएर अस्पताल ल्याउनुप¥यो ।” उसले खुलासा गरी, “बाहिर रक्सी पसलेलाई सोधेँ, खाली फ्ल्याटको बारेमा । तपार्ईंलाई देखाइदियो, ऊ उहाँकै घरमा हो भनेर । तपाईं किनेर बाहिर हिँडिसक्नुभएको थियो । मैले बोलाएँ । सुन्नु भएन । कान कम सुन्नुहुन्छ होला भनेर म पछ्याउँदै तपाईंको घर पुगेँ । तपाईं घरभित्र पस्नुभयो । मैले पिछा गर्दै फेरि एक्सक्युज मी भनेँ । तपार्इंले फेरि पनि सुन्नु भएन र गिलास मुखमा लगाउँदै अर्को कोठातिर लाग्नुभयो । म भित्रै पुगेर चिहाउँदा तपार्इं ढल्दै गरेको देखेँ । बुझेँ, तपार्इंलाई हृदयाघात भएछ । दौडाएर अस्पताल ल्याइपुर्याएँ र सही समयमा सही उपचार हुन पायो ।”

उसले मेरो स्वास्थ्य सुध्रेकोमा क्रिस्चियन पारामा आफ्नै छाती ढोगेर आफैँलाई धन्यवाद दिई र मेरो अक्सिजन मास्क निकालिदिई, सायद बोल्ने भए बोलोस् भनेर । मैले गला बसेको कमजोर आवाजमा सोधेँ, “तपार्इंको नाम ?”
उसले आफ्नो छातीमा कुदेको पित्तलको नाम देखाउँदै फेरि झन्डै अर्को हृदयाघात दिई, “रञ्जना ।” आँखा चिम्सो गरेर हेरेँ, अंग्रेजीमा लेखिएको थियो नाम— आर ए एन जे ए एन ए ।

“यहीँको नर्स” उसले मलार्ई नहेरी अर्की सिस्टरलाई भनी, “सिस्टर, उहाँलाई अब क्यबिनमा सारौँ ।”
क्याबिनमा सर्दा स्टे«चरमा गुडेर गएँ । एउटा केटा भर्खर बेड मिलाउन सिध्याएर मेरो नजिक आयो र भन्यो, “भाग्यमानी हुनुहुँदो रहेछ । सिस्टर रञ्जनाले ठिक समयमा ल्याइपु¥याउनुभयो ।”
म आफ्नो लाचारीमा मुस्कुराएँ मात्र । ऊ अति फरासिलो रहेछ । आफ्नै भाग्यको समेत कुरा सुनाउन थाल्यो, “म पनि तपार्इंजस्तै भाग्यमानी रहेछु नि ! यस्तो भाग्य त निक्कै दुर्लभ पो हुन्छ त ।”
मैले इसारामै “ए हो र ? कसरी ?” भनेर सोधेँ र झन्डै अर्को हृदयाघात बेहोरेँ । उसले भन्यो, “बुवा र म तीर्थयात्रीहरू लिएर केदारनाथ गएको, बाढी र पहिरोले बेहाल भयो । झन्डै मरिएन । पच्चीस दिनपछि बल्लबल्ल घर आइपुग्यौँ । हामीसँग गएका सत्ताइसजनामा अठारजना बेपत्ता भए । सोच्दा पनि विश्वास लाग्दैन अहिले पनि । नाफाको जिन्दगीमा अब त्यस्तो काम नगर्ने भनेर म अस्पतालतिर लागेँ । हाउसकिपर हुँ, यहाँ वार्डहरू मिलाउँछु ।”

झलझली कभर पेजको रञ्जनाले सुनाएको उसको स्वतन्त्र जीवनयात्रा सम्झिएँ र अब मर्छु कि भन्नुभन्दा अब बहुलाउँछु कि जस्तो लाग्यो । उसको सासू सम्झिएँ र डराइडराइ सोधेँ, “श्रीमती छिन ?”
“छे, रञ्जना ।”
“रञ्जना ? यहीँको सिस्टर ?”
“होइन, नाम मात्र मिल्छ । गर्भवती थिई, म केदारनाथमा फस्दा मिसक्यारिज भएछ । अहिले आरामै छ । तैपनि, यताउता गर्न नदिएर आरामै गर्न लगाइरहेको छु । आमासँग घरमा छे ।”

“यसकै पीरले गर्दा मिसक्यारिज भयो । छुट्टी बसेर बिरामी श्रीमतीको हेरचाह गर् भन्दा अब ठिक भइसकी भन्छ ।” एउटा बूढो आयो र चासो देखायो, “अहिले सन्चै छ ?”
“ठिक भएँ रे । तपार्इंचाहिँ ?” मैले फेरि डराइडराइ सोधेँ । 
“म यो नर्सिङ होमको सेयरहोल्डर । बानेश्वरमा बस्छु । मेरो छोराको न्युरोडमा सुन पसल छ । एउटा केटी ड्राइभर राखेको थिएँ, एकपटक थोरै समयको लागि । यसको बूढी रहिछ भन्ने कुरा यो यहाँ काम गर्न आएपछि थाहा भयो । सिस्टर रञ्जनाले तपाईंको उपचारको खर्च निको भएपछि दिलाइदिउँला, अहिले ग्यारेन्टी बसिदिनुस् भनेर फोन गरिन्, अनि ग्यारेन्टी बसिदिएँ ।”

मैले मन्त्र जपेजस्तै मनमनै दोहो¥याएँ, “म बहुलाएँ, म बहुलाएँ, म बहुलाएँ ।”
सायद, सिस्टर रञ्जनाले सुन्ने गरी भनेछु, उसले “ल अब सबैजना बाहिर जानुस्, बिरामीलाई आराम गर्न दिनुस्” भनी र एउटा इन्जेक्सन लगाइदिई । औषधिले गर्दा भर्खर ब्युँझिएको म फेरि आँखा लोलाएजस्तो भयो । 
निद्रामा सपना देखेँ । सपनामा आफ्नो घरमा पुगेँ । कभर पेज खोजेँ । कभर पेज हराएको थियो ।      
००० 
दुई दिनपछि गाडीमा सिस्टर रञ्जनाकै साथ लागेर घर हिडेँ । बाटोमा उसले बताउँदै गई, “तपार्ईंलाई नर्सिङ होम लैजाँदा तपार्इंको ढोकामा झुन्डिएको साँचो बुझाउने मान्छे पनि कोही पाइनँ । सिधै आफूले काम गर्ने नर्सिङ होमको एम्बुलेन्सलाई फोन गरेँ र हिँडँे, साँचो मैसँग थियो । त्यस्तो लड्खडाउँदै पनि पसलमा किन्न जानुपर्ने, ढोका खोलेपछि साँचो ढोकामै बिर्सिने गरी पनि के खानु रक्सी, छ्या ! तपार्इंको कोही सहयोगी छैनन् भन्ने थाहा पाएपछि डिस्चार्ज गर्ने दिन बिहानै तपार्इंको घर गएँ । एउटी आइमाई पनि आइपुगी, सावित्री तपाईंकहाँ काम गर्ने आइमाई । आफैँले कुनाकुना चहारेर उसलाई सबैतिर सफा गर्न लगाएँ । भुँइँ पुछ्न लगाएँ ।” 

हामी एम्बुलेन्समा घरमा पुग्यौँ । उसले आफूसँग भएको साँचोले मेरो कोठाको ढोका खोली र मलाई सुत्ने खाटमा बिस्तार पल्टिन लगाई । म नपल्टिकनै खाटमा बसेँ मात्र । उसको बयान सकिएको थिएन, “ऊ त्यो कुनाको शो–केशमा एउटा नखोलेको ह्विस्कीकोे बोतल थियो । साइड टेबलमा त्यो दिन बजारबाट किनेको खुल्ला बोतल थियो । दुवै ह्विस्की सावित्रीलाई फाल्न लगाइदिएँ । उसले मै लैजान्छु भन्थी, फाली कि आफैँ लगी कुन्नि । जे गरोस्, अबदेखि चाहिँ तपार्इंलाई रक्सी सधैँको लागि ब्यान । अनि, ऊ ढोकासँगैको त्यो जुत्ताको र्याकमुनिको सानो खुला काठको बाकसमा जुत्तामा लगाउने पालिस, जुत्ताको बुरुस, केही चप्पल थिए । पुरानो चप्पल फाल्न लगाइदिएँ । त्यस बाकसमा माथिबाट भुइँ पुछ्ने झुम्रोले छोपिएको यो बन्द पाकेट पनि रहेछ, योचाहिँ राखिदिएको छु ।”
उसले पाकेट दिई । कता देखेदेखेजस्तो लाग्ने पाकेट थियो । मैले पाकेट लिएर खोलेँ र लाग्यो, “मलाई हृदयाघात वा मस्तिष्काघातमध्ये केही न केही त पक्कै हुन्छ फेरि ।”

ब्राउन इन्भेलपको पाकेटमा दुई सय पचास पेजमा अठार च्याप्टरको प्रिन्ट थियो र साथामा सफ्ट कपियुक्त पेनड्राइभ ।
साइबरमा पुगेर फिर्ता लिएँ, उसलाई फाइल डिलिट गर्न भनेँ, घर आएँ, जुत्ता फुकाल्न मेचमा बस्दा खाम काठको बाकसमा राखेँ र बिर्सिएँ ? पछि सावित्रीले भुँइँ पुछ्ने झुम्रोले त्यसलाई छोपिदिई ? अनि, हरायो र बरबाद भयो भनेर यत्रो दिन चिन्तामा बिताएँ ? हे भगवान् । आर्टिस्टले भनेको जस्तै म हलुसिनेसनको पनि रोगी हुँ ? अनिद्रा र ह्विस्कीले मेरो दिमागले आवश्यक काम गर्न छोडिसक्यो ? अहिले मैले भोगिरहेको स्थिति सत्य हो या भ्रम ?

वास्तविकता र भ्रम छुट्ट्याउन साँच्चिकै कठिन भएको थियो मलार्ई ।  सिर्जनशीलता र भ्रममा कुनै रेखा थिएन अब । 
अचानक आर्टिस्ट भित्र पस्यो । चारैतिरको अवस्था नियालेर भन्यो, “के हो ? बिरामी कि के ?” 
उसको आवाज सुनेपछि मात्रै लाग्यो, जे भोग्दै छु, योचाहिँ हलुसिनेसन होइन ।
“हो, उहाँसँग धेरै कुरा गरेर डिस्टर्ब नगरिदिनुस् ।” सिस्टरले भनी ।
“के भएको ?”
“हृदयाघात भएको थियो, उपचार गरेर भर्खर फर्केको । मैले तपाईंलाई कतै देखेको छु जस्तो लाग्यो, तपार्इं ब्लड स्याम्पल दिन आउनुभएको थियो सायद ...नर्सिङ होममा...”
आर्टिस्टले आफनो बारेमा कुनै जवाफ नदिएर मेरो कुरा लगायो्, “के गर्नु ? चौबीसै घण्टा रक्सी खाएको खाई । म भन्दै थिएँ नि देखिस् ? अब पटक्कै छुने होइन । अत्यधिक रक्सीले गर्दा यो हलुसिनेसनमा पनि हुन्छ सिस्टर, प्रायजसो । यसलाई साइकियाट्रिककहाँ पनि देखाउनुपर्ने एकपटक ।”
“नकरा पेन्टर । अब कतै जान्न ।” मलाई लज्जाबोध भयो । सिस्टरले भनी, “हो, अब साइकियाट्रिकसँग पनि भेटनुपर्छ । तपार्इंचाहिँ पेन्टर ? अँ साँच्ची, पेन्टर भनेपछि याद आयो, यहाँ एउटा पेन्टिङ पनि थियो मेरै अनुहारको । मलाई त ऐना हेरेको जस्तै लाग्यो । त्योचाहिँ म दिन्न, लुटेरै लगेँ अब । फ्रेम हालेर आफ्नो कोठामा राख्छु ।” उसले राइटिङ टेबलबाट कभर पेज उठाएर ल्याई ।

पेन्टरले घाँटी तन्काएर कभर पेज हेर्दै भन्यो, “यसलाई रिस उठ्यो कि मलाई आर्टिस्ट नभनेर पेन्टर भनेर बदला लिन्छ मुला लेखक ! त्यो पेन्टिङ मैले नै बनाएको हो, यसको उपन्यासको कभर पेजको लागि । खै तपार्ईंको अनुहारसँग मिल्छजस्तो मलार्ई त लाग्दैन ।”
“मलाई लाग्छ, म लैजान्छु ।” सिस्टरले जिद्दी गरी । 
“मलाई पनि लाग्छ, तर म लैजान दिन्न,” मैले उसको हातबाट कभर पेज लिएँ र भनेँ, “तपार्ईं फ्ल्याट खोज्न आउनुभएको होइन ? आजै सरी हाल्नुस् । तपाईंबाहेक अरूलाई दिन्न अब त्यो फ्ल्याट । त्यसपछि त्यो तस्बिर तपाईं र मेरो साझा ।”
ऊ मुस्काई, “भरे सर्छु ।”

मेरो हातमा उपन्यासको उहिल्यै सकिएको ड्राफ्ट थियो अब, दुई सय पचास पेजको । अठार च्याप्टरको । कभर पेज पनि थियो । कभर पेज हेर्दै सोचेँ— अब छिट्टै सिध्याउँछु ।

फेरि पनि कभर पेजकी रञ्जनाले भनेजस्तो लाग्यो, “आराम गर्नुस् प्रिय लेखक, आराम गर्नुस् । अब मलार्ई लेख्ने काम सन्चो भएपछि गर्दा हुन्छ । बरु, भन्नुस्, कस्तो लाग्यो तपाईंलाई मैले लेखेको ? तपाईंकी रञ्जनाले लेखेको ?”

मैले पालैपालो कभर पेज र सिस्टरलाई हेरेँ, “रञ्जनाले ! कुनचाहिँ रञ्जनाले ?”
०००
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro