काठमाडौं । चितवनको राप्ती नगरपालिकामा कर्फ्यु लगाउने तयारी गरिएको छ । मंगलबार अपराह्न सुजिता भण्डारी मृत्यु घटनामा प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।
उनीहरूले राजमार्ग अवरुद्ध पारेर टायर बाल्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनले उग्र रूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।
आक्रोशित बनेका स्थानीयको प्रदर्शन थप बढ्ने देखिएपछि कर्फ्यु लगाउने तयारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
उनका अनुसार कर्फ्यु साढे ७ बजेदेखि २४ घण्टाका लागि लगाउने तयारी भएको छ ।
प्रदर्शनकारीले सुजिताको हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
असार ११ गतेदेखि हराएकी सुजिता गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।