काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।
बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजनाहरु राखेका थिए । महासचिवले राखेका प्रस्ताव बैठकले सर्वसम्पत्तिले पारित गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।
यी हुन् निर्णय
१. यही असार मसान्तभित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने र आउँदो साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, व्यवस्थित गरिसक्नुपर्ने ।
२. आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने विधान अधिवेशनका लागि पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा व्यवस्थापन समिति गठन ।
३. पार्टीका तत्लो तहका कमिटीहरुको अधिवेशनअन्तर्गत आउँदो भदौ ५ गते वडास्तरका र भदौ १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने ।
४. पार्टीका केन्द्रीय तहका ३२ वटा विभागहरुमा रहने सदस्यहरुको नाम सिफारिस गर्न आग्रह । स्थायी कमिटीको आउँदो बैठकले विभागमा रहने सदस्यहरुको नामावलीलाई अन्तिम रुपमा निर्णय गर्ने ।
५. आम निर्वाचन, स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै कमिटी, नेता, सदस्यहरुलाई अनुरोध ।
केन्द्रीय कमिटीको १३औँ बैठक शुक्रबार (हिजो) सुरु भएर आज सम्पन्न भएको थापाले जानकारी दिए । शुक्रबारको बैठकले पनि केही निर्णयहरु गरेको थियो ।