काठमाडौं । नायक सुशान्त कार्कीले कलाकार निशा घिमिरे र अभावमा रहेका चलचित्रकर्मीहरुलाई सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका उनले एक लाख १२ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
“कलाकार निशाको तस्बिर देख्न बित्तिकै म भावविह्वल भएँ । उनको उपचारका लागि आर्थिक अभाव रहेको जानकारी पाए पछि सहयोग गर्नुपर्छ भनेर मैले उहाँलाई २० हजार रुपैयाँ सहयोग गरेको छु,” सुशान्तले भने, “उहाँको परिवारलाई सहयोग हस्तान्तरण पनि गरिसकेको छु ।”
द्वन्द कलाकार संघ, नृत्य कलाकार संघ, प्राविधिक संघ र चलचित्र पत्रकार संघलाई पनि उनले २०/२० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
“यही क्षेत्रमा रहेकाले समस्यामा परेका साथीहरुलाई सहयोग गर्नु मेरो पनि दायित्त्व हो । कोभिड–१९ महामारीका कारण कामविहीन भएका साथीहरुलाई अहिले सहयोगको खाँचो छ,” सुशान्त भन्छन्, “महामारीमा हुनेहरुले नहुनेलाई सकेको सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा हो । जो जहाँ छौं सकेको सहयोग गरौं भन्ने हो । मैले यहाँ अष्ट्रेलियामा रहेका साथीहरुको सहयोगमा आफैंले केही रकम राखेर सहयोग गरेको हुँ ।”
सुशान्तले ‘तीन घुम्ती’, ‘चि मुसी चि’, ‘बिन्दास’, ‘रुमालै छ चिनो’ लगायत चलचित्रमा अभिनय गरेका छन् । नयाँ चलचित्रमा काम गर्ने तयारी गरिरहेका बेला कोरोना महामारी सुरु भएपछि उनको नयाँ प्रोजेक्ट अहिले केही समयका लागि पछि सरेको छ । नवल खड्काको चलचित्रमा उनले काम गर्ने निश्चित भइसकेको थियो ।