मेलम्ची । सभामुख अग्निप्रसाद सापकोटाले मेलम्चीको स्थिति असामान्य र असाधारण रहेको बताएका छन् । बुधबार बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उनले क्षतिको लेखाजोखा गर्न सकिने अवस्था नरहेको बताए ।
“आठजना बेपत्ता भएको आएको छ, अहिलेसम्म । हेलम्बु, मेलम्ची सबै ठाउँमा भएको क्षतिपछि मानवीय रुपमा गर्न सकिने सहयोग गर्नुपर्छ,” उनले भने ।
उनले आफू काठमाडौं फर्केर बाढी र यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग पनि भेटेर कुरा गर्ने बताए । पीडितलाई सहयोग पुर्याउने सम्बन्धमा सबैबाट सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।
यसअघि, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तत्कालका निम्ति बाढीबाट प्रभावितलाई राहत र पुनस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका थिए । सभामुख सापकोटासितको छलफलमा उनले मेलम्ची बजार क्रमशः डुब्दै गएकोले आफूहरु त्रसित रहेको पनि बताए ।
उनले मेलम्ची नगरपालिकामा ३०० र नेपाली सेनाको ब्यारेकमा ३०० गरी बाढीबाट प्रभावित ६०० जनालाई खानाको व्यवस्था गरिएको जानकारी दिए । छलफलमा प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए ।
सभामुख सापकोटा आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । उनले बाढीबाट प्रभावित बनेका स्थानीयसँग कुराकानी गरेका छन् । क्षतिबारे जानकारी लिएका छन् ।
इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ ।