काठमाडौं । एमाले विवाद मिलाउन नेताहरूबीच दौडधुप चलिरहँदा माधवकुमार नेपाल निवासमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच झण्डै डेढ घण्टा वार्तालाप भएको स्रोतले जानकारी दियो ।
साढे पाँच बजेतिर नेता नेपाल निवासमा कांग्रेस सभापति देउवा प्रवेश भएका थिए । उनीसँग कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का रहेको स्रोतले जानकारी दियो ।
त्यसको केही समयपछि प्रचण्ड नेपाल निवास छिरेका थिए ।
“उहाँहरूले लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर ओलीको सर्वसत्तावाद रोक्ने भन्ने विषयमा कुराकानी भयो । संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले त्यसबारे खासै छलपल भएन,” स्रोतले भन्यो, “काम चलाउ सरकारले यसबीचमा गरेका असंवैधानिक, स्वेच्छाचारी निर्णय (मन्त्रिपरिषद् पुनःगठनलगायत) नियुक्तिको प्रतिवाद गर्ने नै छलफल भयो ।”
नागरिकले खोप नपाएको विषय पनि छलफलको प्राथमिकतामा परेको स्रोतको भनाइ छ । “पहिलो खोप लगाएका नागरिकहरूले दोस्रो खोप कहिले पाउँछन् ? यसको उत्तर सरकारसँग छैन । सरकारको प्राथमिकता अर्कै छ,” स्रोतले भन्यो, “यसबारे पनि छलफल भयो । कोभिड न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएकोबारे पनि चर्चा भएको थियो ।”
यसबाहेक अरू समसामयिक विषयमा पनि शीर्ष नेताहरूले छलफल गरेको स्रोतको भनाइ छ ।