site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेनेभादेखि प्यारिससम्म 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पवन आलोक  


मायालु बतासको कोमल स्र्पले मन आनन्दित भयो ।

झ्याल खोलेर हेरेँ, सहर पूरै ब्युँझिएको प्रतीत हुन्छ । पर जेनेभा लेकमा साना–ठूला जहाजहरू तैरिरहेछन् । मन्द–मन्द बतास चलेको छ । रेखा र म आ–आफ्ना सुटकेस गुडाउँदै लिफ्टबाट होटेलको लबीमा झर्छौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज स्वीट्जरल्यान्डलाई बाइबाइ गर्दै फ्रान्सको राजधानी प्यारिस जाने क्रममा छौँ हामी । हाम्रो टुर गाइड नीलको उर्दी छ— ब्रेकफास्टपछि नअल्मलिईकन यात्रा प्रारम्भ गरिहाल्ने आज ।

स्टार टुर्सका यी अंग्रेज गाइड फुर्तिला छन्, हाम्रो सबै सुख–सुविधाको ख्याल राख्छन् । लन्डनबाट हिँडेदेखि नै नीलको सेन्स अफ ह्युमर र व्यावसायिक कुशलताबाट हामी सबै यात्री प्रभावित छौँ । त्यसो त ड्राइभर माइकल पनि कम छैन । बेला–बेलामा जोक्सहरू भन्छ, हसाइरहन्छ यात्रुलाई ।

Royal Enfield Island Ad

प्याकेज टुरको तनावरहित यात्रा गर्न पाउनुको आनन्द नै बेग्लै । 

ब्रेकफास्ट टेबुलमा नीलले भन्यो, “आजको यात्रा अलि लामै छ । करिब ५४० किलोमिटर कोचबाट यात्रा गरेपछि प्यारिस पुगिनेछ । त्यसैले हामीसँग लन्च र रिफ्रेसमेन्टको लागि रोकिने समयबाहेक घुम्ने समय धेरै हुने छैन । यसको लागि म क्षमा चाहन्छु ।”

सहयात्रीहरूमध्ये नेपालका जोशी दम्पती र एउटा भारतीय जोडीबाहेक अरूसँग खासै औपचारिक चिनजान भएको छैन । ‘हाइ हेलो’, ‘गुडमर्निङ’, ‘हाउ आर यु’बाहेक खासै संवाद हुँदैनथ्यो । त्यसको आवश्यकता पनि थिएन ।

प्रायः सबै अधर्बैँसेहरू नै सहभागी थिए । युवा भनेको एउटी २५÷२६ वर्षकी जस्तो लाग्ने राता कुन्डल लगाएकी सुन्दरी गोरी युवती र अर्को एउटा ब्रिटिस जोडी मात्र थिए । तिनीहरू निकै रोमान्टिक थिए । कोचको यात्रा समयमा पनि चुम्बनमा व्यस्त देखिने गर्थे ।

यी पश्चिमाहरू वर्षभरि काम गरेर अलि–अलि पैसा जोगाएर वर्षमा एक–दुईपटक नयाँ–नयाँ ठाउँमा घुम्न निस्कने गर्छन् । मलाई मनमनमा लाग्थ्यो– त्यो गोरी युवती किन एक्लै आएकी होली ? यसको ब्वाइफ्रेन्ड पो थिएन कि ? वा ब्रेकअप भएको पो रहेछ कि ? अलि उदास–उदास पनि देखिन्थी ।

सबैजना कोचमा चढिसकेपछि हाम्रो यात्रा आरम्भ भयो । जेनेभालाई छाडेर जानुपर्दा मनमा कता–कता नरमाइलो लाग्दै थियो मलाई । यो विश्वप्रसिद्ध सुन्दर सहर फेरि आइने हो कि होइन, के थाहा !

कतै फोहोर नदेखिने सफा र चौडा सकडहरू, अग्ला होचा भवनहरूलाई पछाडि पार्दै हाम्रो कोच अगाडि बढ्यो । एउटा भव्य होटेलतिर देखाउँदै नीलले भन्यो, “ऊ, त्यही होटेल हो, जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टन र मोनिका लेवेन्स्कीले सँगै रात बिताएका थिए । सम्भवतः त्यही जेनेभा ट्रिपपछि नै यो विषय विस्तारै अमेरिका र विश्वभरि चर्चामा आउन थाल्यो ।”

धेरैले आश्चर्यमिश्रित स्वरमा ‘ओ ! रियल्ली’ भने । मैले मनमनै भनेँ– भन्छस् नि । ह्वाइट हाउसमा सँगै रहने यिनीहरू यहीँ आउँदा मात्र रात बिताए होलान् र !

संयुक्त राष्ट्रसंघको भवन पनि पार गर्दै हामी अगाडि बढ्यौँ । अब विस्तारै जेनेभा पछाडि छुट्दै गयो । पछाडि फर्केर एकपटक धित मरुन्जेल यो सुन्दर सहरलाई हेरेँ । बाटोमा सुन्दर र रमणीय पहाडहरू, कतै गाईहरू, कहीँ भेडाहरू चर्दै गरेका देखिन्थे ।

स–साना उपत्यकाहरू, वाइन यार्डहरू (ह्वाइट वाइन उत्पादनको लागि गरिएको खेती), धुपीका रूखहरू भएको जंगलहरू र सुन्दर फाँटहरू पार गर्दै गयौँ ।

कोचमा सबै आ–आफ्ना तालमा थिए, कोही मोबाइलमा व्यस्त, कोही कानमा इयरफोन लगाएर संगीत सुन्नमा व्यस्त । रेखा झ्यालपट्टिको सिटमा थिइन् र बाहिरी दृश्यावलोकनको आनन्द लिइरहेकी थिइन् ।

म भने अर्कै दुनियामा पुगेको थिएँ । खुसीले दंग परिरहेको थिएँ मनैमन ! जीवनसाथी रेखालाई साथ लिएर विश्व प्रसिद्ध सहर जेनेभाबाट प्यारिसको यात्रा गर्न पाउनु आफैँमा सौभाग्यको कुरा थियो ।

पूर्वी नेपालको एउटा दुर्गम गाउँमा जन्मेर संसारकै प्रसिद्ध सहरमध्येको जेनेभा र प्यारिसको यात्रा ! यो क्षण अद्भूत थियो मेरा लागि । साँच्चिकै अविस्मरणीय पनि थियो  । अहिले पनि ती क्षणहरू सम्झिँदा हृदय खुसीले रमाउँछ ।

मलाई सानैदेखि विदेश घुम्ने रहर हो । त्यो पनि अलि–अलि होइन । एकोहोरो यो धुन सवार थियो मेरो मनमा । विदेश, अझ खास गरी युरोप वा अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने नै लागिरहन्थ्यो । विकल्पहरूका बारेमा सोचिरहन्थेँ । तर, के सम्भव हुन्थ्यो र !

एकपटक एउटा झिनो सम्भावना देखापर्यो । वि.सं. २०२७/०२८ सालतिर हो कि जस्तो लाग्छ, प्रस्तावित रोयल नेपाल सिपिङ कर्पोरेसनले आफ्नो पानीजहाजहरूका लागि केही कर्मचारीहरूको विज्ञापन आह्वान गर्यो ।

ती पानीजहाजहरू हङकङ, टोकियो, प्यारिस, लन्डन, न्युयोर्क पनि जाने–आउने गर्छन् रे भन्ने चर्चा थियो । हल्ला के पनि थियो भने, ती पानीजहाजहरूमा राजा महेन्द्रका भाइ हिमालय शाहको लगानी छ रे !

मैले पनि एउटा पदमा दर्खास्त हाल्ने सपना देख्न थालेँ । ती जहाजहरूमा कर्मचारीको रूपमा यात्रा गर्ने अनि कुनै युरोपेली बन्दरगाहमा पुगेर भाग्ने । त्यो बेला म सायद १७÷१८ वर्षको थिएँ हँुला, केटाकेटी सपना न हो ।

आज जाँच लिन्छ होला भन्यो, भोलि लिन्छ होला भन्यो, भन्दा–भन्दै महिनौँ बित्यो । के को लिनु ! जवाफसम्म आएन । पछि सुनेँ– त्यो विज्ञापन नै रद्द भयो रे । त्यो सिपिङ कर्पोरेसन पनि कहिल्यै अस्तित्वमा आएनजस्तो लाग्छ ।

लगभग त्यही अवधितिरको कुरा हो, म एकेडेमीमा जागिरे थिएँ । उपकुलपतिमा वरिष्ठ कलाकार लैनसिंह वाङ्देल हुनुहुन्थ्यो । मलाई निकै माया पनि गर्नुहुन्थ्यो । मलाई थाहा थियो, उहाँ धेरै वर्ष विदेशमा बसेको मान्छे, अनुभवी पनि त्यत्तिकै । विदेश जाने कुनै सूत्र वा उपाय त मलाई पक्कै बताइदिनुहुन्छ होला । विदेश जाने एकोहोरो धुन सवार जो थियो !

एक दिन मौका पारेर त्यसबारे उहाँसँग सल्लाह मागेँ । उहाँले भन्नुभयो, ‘त्यति सजिलो कहाँ हुन्छ र, बाबु । तिमी अलिक पढ । अनि कतै अवसर हेरेर छात्रवृत्तिको लागि प्रयास गर । या कुनै विदेशी कम्पनीमा जागिर खुल्दा दरखास्त हाल । सजिलो भने छैन । सम्भावनाहरू हेर्दै जाऊ । तर, निराश नहोऊ । प्रयत्न जारी राख, कुनै दिन तिम्रो सपना पूरा हुनसक्छ ।’

मैले उहाँका अमूल्य सुझावहरूलाई गम्भीरतापूर्वक मनन गरेँ, कोसिस जारी राखेँ । तर, कतै पनि सफलता हात लागेन ।

धेरैपछि भने ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर बेलायत पढ्न जान पाउँदाको खुसी म व्यक्त गर्न सक्दिनँ । अहिले पनि मेरो त्यो पहिलो युरोप यात्रा सम्झिन्छु र खुसी हुन्छु ।

यसपटक त झन् जीवनसाथीलाई नै साथमा लिएर घुम्न पाइरहेको छु । मनमनै स्व. लैनसिंह वाङ्देललाई धन्यवाद दिएँ । मेरो लागि उहाँका सल्लाह अमूल्य थिए । आज उनै वाङ्देलले केही वर्ष बिताएको प्यारिस जाँदै छु । रेखा र मेरो जीवनमा यो ऐतिहासिक यात्रा पनि बनेको छ ।

बाटोमा लन्चका लागि हामी रोकिन्छौँ । बिहानको ब्रेकफास्टले ठाउँ छाडिसकेको थियो । भोको पेटलाई शान्त पारेर फेरि यात्रा सुरु हुन्छ । बाटोमा रमणीय जंगल, विशाल हरिया फाँटहरू, ठाउँ–ठाउँमा झुरूप्प गाउँ–बस्ती ! गाउँ–गाउँसम्म पिच बाटाहरू !

मलाई हाम्रो फिक्कल, कन्यामतिर यात्रा गरिरहेको जस्तो पनि लाग्यो । तर, हाम्रोमा भएको चिया त त्यहाँ थिएन । अरू नै खेतीहरू, फलफूलको व्यावसायिक खेती होला । नील ठाउँठाउँमा हामीलाई बाटामा पर्ने स्थानहरूका बारेमा र प्यारिसको बारेमा बताउँदै गथ्र्यो । मौसमले पनि हामीलाई साथ दिइरहेको नै थियो । पर–परसम्म सफासँग देख्न सकिन्थ्यो । जुनको महिनामा सामान्यतया मौसम राम्रो नै हुने गर्छ । तर पनि युरोपमा मौसमको कुनै भर चैँ हुँदैन ।

करिब दुई बजेतिर हामी प्यारिस पुग्यौँ र लाग्यौँ हामी बस्ने तय गरिएको ‘नोभेटेल पोइजी अर्गेभल’ होटेलतर्फ । चेक इन सकेर एक घण्टाभित्र दिउँसोको खाजा खाएपछि प्यारिस घुम्न जाने कार्यक्रम भएकोले ठिक साढे ३ बजे कोचमा आउन हामी सबैलाई नीलले उर्दी गर्यो ।

प्यारिस जीवन्त सहर ! भनिन्छ, यो संसारकै अत्यन्त सुन्दर र रोमान्टिक सहर हो । जति–जति रात छिप्पिँदै जान्छ, प्यारिस उति–उति रंगिन र  रोमान्टिक बन्दै जान्छ । झन्–झन् चहलपहल बढ्दै जान्छ । कहिल्यै सुत्दैन, कहिल्यै निदाउँदैन प्यारिस ।

पन्ध्रौँ शताब्दीमा यसको नाम ‘लुटिसिया’ थियो रे ! यो कलाको केन्द्र पनि हो । हाम्रो मुलुकका आदरणीय कलाकार लैनसिंह वाङ्देलले पनि प्यारिसमा केही वर्ष बसेर आफ्नो कला प्रदर्शनी पनि गरेका थिए । विश्वप्रसिद्ध कलाकारहरूलाई भेट्ने र तिनीहरूसंग संगत गर्ने अवसर पनि पाएका थिए ।

लुभ्रलगायत धेरै म्युजियमहरू आर्ट ग्यालरीहरू छन् यहाँ । कलाकारहरू प्यारिसलाई आफ्नो तीर्थस्थलजस्तै मान्दछन् । लियोनार्दो दा भिन्चीले बनाएको विश्वविख्यात कलाकृति मोनालिसा यहाँकै लुभ्र म्युजियममा राखिएको छ । भनिन्छ, एकपटक यो मोनालिसालाई अमेरिकामा आयोजित एउटा कला प्रदर्शनीमा अमेरिका लैजाँदा यसको सुरक्षाका लागि मोनालिसालाई राखिएको जहाजलाई सुरक्षार्थ बीचमा राखेर वरिपरि सातवटा ठूल्ठूला जहाजले घेरेर लगिएको थियो रे !

सन् १९६३ मा यसको मूल्यांकन गर्दा दश करोड डलर गरिएको थियो रे ! २६ वर्षअघि म प्यारिस आउँदा लुभ्र म्युजियम पुगेर मोनालिसा हेर्ने अवसर पाएको थिएँ । योपटक भने हाम्रो यात्रामा यो अवसर परेको छैन ।

प्यारिसमा घुम्नैपर्ने ठाउँ कति छन् कति । छोटो अवधिमा प्यारिसका सबै स्थान भ्रमण गर्न सम्भव पनि छैन । प्यारिस साइट सिइङका लागि हामी होटेलबाट ठिक समयमा निस्कियौं । म भने पहिले गरेको प्यारिस भ्रमणको सम्झनामा रुमल्लिएको थिएँ । फिल्मको फ्ल्यासब्याकझैँ मनमस्तिष्कमा त्यो समय ताजा भइरहेको थियो ।

परैबाट विश्वप्रसिद्ध आइफेल टावर देखिँदै थियो र नजिकै बगिरहेको सेन नदी । प्यारिसका ऐतिहासिक ल्यान्डमार्कहरू देखिँदै गए । नीलले पहिले हामीलाई विश्व प्रसिद्ध आइफेल टावरतर्फ लिएर गयो । होइन हौ ! कति भव्य यो टावर ! कसरी इन्जिनियर गुस्ताभ आइफेलले बनाए होलान् यत्रो फलामे स्ट्रक्चर । त्यसैले पनि उनकै नाममा यसको नामाकरण भएको रहेछ । प्यारिसको मुटुमा गौरवसाथ ठिंग उभिएको । विश्वकै पर्यटकहरूको आकर्षणको केन्द्र नै हो यो र यसलाइ प्यारिसको पर्यायवाची नै मानिन्छ पनि । जता हेर्यो मान्छे मान्छे । टावरतर्फ चढ्न टिकट लिनेहरूको भिड ।

नीलले हाम्रो टिकटको व्यवस्था गरेपछि हामी लिफ्टबाट चढ्यौँ र जान मिल्ने सबैभन्दा माथिल्लो तलासम्म पुग्यौँ । विभिन्न तलामा रेस्टुरेन्ट, सैलुन, पसलहरू थिए । हामी हेर्दै–हेर्दै टुप्पोको गोलाकार भागसम्म गयौँ र प्यारिसको चारैतिर नजर लगायौँ, दूरबिनका माध्यमबाट । रेखालाई यस्ता अग्ला भवनहरू, टावरहरूमा चढ्न मनपर्छ । रमाइरहेकी थिइन् । जोशी दम्पती हामीसँगै थिए । आखिर नेपाली नेपाली नै न परियो । भेडा भेडासँग, बाख्रा बाख्रासँग ।

टुप्पोको गोलाकार खण्डमा त्यहाबाट संसारका विभिन्न देश र ठाउँको दूरी पनि लेखिएको थियो । त्यहाँ नेपालको दूरी र हाम्रो चन्द्र सूर्यअंकित झण्डा देखेर मन प्रसन्न भयो ।

तल ओर्लेर फोटोहरू खिच्यौँ र निर्धारित समयमै हामी लाग्यौँ कोचतिर । अब हाम्रो अर्को कार्यक्रम थियो, सेन नदीमा क्रुजको यात्रा । चारैतिर सिसै–सिसाले घेरेको क्रुजको खुला छतमा राखिएका कुर्सी र बेन्चहरूमा बसेर यात्रा गर्दा चारैतिर देखिने हुँदा पर्यटकहरू त्यहीँ बसेर हेर्न रुचाउँछन् । कति मान्छेहरू तलै बसेर पनि हेर्छन् । हामी भने छतमै गएर बस्यौँ ।

झट्ट मलाई लन्डनको टेम्स नदीमा गरिएको क्रुज यात्राको सम्झना भयो । क्रुज अगाडि बढ्दै गयो, नीलले महत्वपूर्ण ठाउँहरूको बारेमा बताउँदै गयो– ऊ त्यो परको ग्रान्ड प्यालेस, ऊ त्यो चैँ नेसनल एसेम्बली, ऊ त्यही त हो बेलायतकी राजकुमारी डायना र उनको साथी डोडी फाहदको दुर्घटना भएको ठाउँ... आदि आदि । सेन नदीको एकघण्टे क्रुज यात्रामा देख्न सकिनेजति महत्वपूर्ण स्मारकहरू, ऐतिहासिक महत्वका भवनहरू हेरिसक्दा साँझ पर्न पर्न लागिसकेको थियो । त्यसैले हामी होटेल फर्कियौँ ।

डिनरपछि ‘प्यारिस इलुमिनेसन टुर’का लागि हामीहरू होटेलबाट निस्कियौँ । त्यसै त प्यारिस, जसलाई सिटी अफ लाइट्स (बत्तीहरूको सहर) पनि भनिन्छ । रंगबिरंगी बत्तीहरूले सजाइएको बेला हेर्दा दुलही सजाइएको झैँ लाग्ने ! निकै आनन्द आउँदोरहेछ । आइफेल टावर त यति झकिझकाउ कि वर्णन नै गर्न नसकिने । आइफेल टावर नजिकैबाट हामी घुम्दा–घुम्दै प्रसिद्ध लुभ्र म्युजियम, आर्क दा ट्रीम्फ (विजयद्वार), कन्कर्ड र इन्भ्यालिड्स, फ्रेन्च राष्ट्रपति भवन एलिसी प्यालेस, नोत्रेदाम चर्च आदि ठाउँहरूको फन्को मारेर होटेल फर्कियौँ ।

भोलिपल्ट २२ जुनका दिन ब्रेकफास्टपछि फेरि प्यारिसका घुम्न बाँकी ठाउँहरू घुम्ने क्रममा फ्रेन्च संसद् भवन, पम्पिडु सेन्टर, नोत्रेदाम कथिड्रल, विशाल साँजलिजे चोक (बाह्रवटा स्क्वायरहरूको केन्द्र, जसका दुवै साइडमा फेसनेबल पसलहरू, रेस्टुराँहरू छन् र फेसन डिस्ट्रिब्युटको रूपमा पनि चिनिँदोरहेछ) घुम्दै–घुम्दै प्यारिस नगरको अलि बाहिरी भागमा पुगेर कफीको लागि रोकियौँ ।

विशाल प्यारिसको सबै भाग घुमेर त के सकिन्थ्यो र यो दुईदिने टुरमा । मलाई ऐतिहासिक भर्साइल दरबार हेर्न मन त थियो, सकिएन । पहिले पनि जान सकिएन, यसपटक पनि सम्भव भएन । वास्तवमा यो भर्साइल दरबार प्यारिसबाट अलि टाढै पर्दोरहेछ । 

हाम्रो प्याकेज टुरको अन्तिम दिन प्यारिसको भ्रमण सकेर लन्डन फर्कने कार्यक्रम थियो । सोही क्रममा हामी लाग्यौँ क्यालेतर्फ । लन्चका लागि पौने घण्टाजति बाटोमा रोकिएपछि फ्रान्सको तटीय सहर क्याले पुगियो । त्यहाँबाट इंग्लिस च्यानल पार गरेर बेलायतको तटीय सहर डोभर पुग्नुपर्दथ्यो । यो टुरको सुरुको दिन डोभरबाट आउँदा युरो टनेल ट्रेनबाट आएका थियौँ । नीलको भनाइअनुसार यात्रुहरूको रमाइलोका लागि फर्कँदा भने हामीलाई क्रुजबाट फर्कने व्यवस्था गरिएको रहेछ । कस्तो मज्जा ! दुवै किसिमको यात्राको अनुभव हुने भयो भनेर रेखा खुसीले दंग थिइन् । 

इमिग्रेसनको प्रक्रिया सकियो अनि माइकलले त्यो विशाल आठतले क्रुजको भुइँतलामा हाम्रो कोचलाई थन्कायो । हामी भने माथि चढ्यौँ । ‘सबैभन्दा माथिल्लो तलामा चढौँ है हामी’ भनेर रेखाले भनेपछि हामी आठौँ तलामा चढेर बस्नका लागि झ्यालतिरको सिट छान्यौँ, जहाँबाट बाहिरी दृश्य सजिलै देख्न सकियोस् ।

एक छिनमा क्रुज त्यो विशाल समुद्रमा हेलियो । बाहिर निकै हावा चलेको छ । समुद्रको निलो पानीलाई रमाइलो मानेर हेरिरहेका छौँ हामी । समुद्र नभएको देशका मनुवा न पर्यौँ हामी । त्यसो त धेरैपटक समुद्री यात्रा गरिएको छ । तर पनि समुद्र हेरेर नअघाइने रहेछ । जताततै पानी पानी, कहीँ कतै जमिन देखिन्न । लाग्छ, जताततै पानीको साम्राज्य छ । आफ्नै झ्यालबाहिर समुद्र देख्दा डर डर पनि लाग्ने, रमाइलो पनि लाग्ने !

बेलायतको डोभर पुगियो । यहाँबाट हामी फेरि चढ्छौँ कोचमा । अबको हाम्रो गन्तव्य वेम्ब्ली हो, स्टार टुर्सको आफ्नो स्टेसनमा । त्यहीँबाट यसका टुरहरू प्रारम्भ हुने गर्छन् र टुंगिन्छन् ।

हामी अलि थाकेका छौँ । नीलले यो समग्र यात्राका बारेमा सुझावहरू संकलन गर्न फर्म वितरण गर्छ । कुनै यात्रीहरू बीच–बीचमा ओर्लँदै जान्छन् । रेखा र म कुरा गर्छौँ– यो यात्रा वास्तवमै रमाइलो रह्यो, यो हाम्रो लागि जीवनभर सम्झनामा रहिनै रहनेछ । यात्राको व्यवस्थापन पनि अति राम्रो । 

जोशी दम्पती पनि ओर्लनुभयो । हामीले बिदाइका हातहरू हल्लायौँ । अब धेरै यात्री बाँकी थिएन कोचमा । हामी वेम्ब्ली पुग्दा झन्डै साँझको आठ बजिसकेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro