काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद् विघटन भइसकेपछि विशेष अधिवेशन आह्वान र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रियातिर किन नगएको ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको संविधानविद् र कानुनी विज्ञहरुसँग छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।
“संसद्को विशेष अधिवेशन किन नबोलाएको ? २०–२१ घण्टाको मात्र समय दिएर सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्छ भने कुनै खेल, षड्यन्त्र छ भन्ने बुझ्ने कुरा होइन ? महाअभियोग दर्ता गर्न सकिँदैनथ्यो ? विशेष अधिवेशन बोलाउन सकिँदैनथ्यो ? सबै बर्बाद भएपछि हारगुहार गर्नुको अर्थ छैन,”उनले भने ।
उनले संसद् पुनःस्थापनाका लागि कानुनमा पर्याप्त ठाउँ भएको पनि बताए । अदालत आफ्नो पुरानो फैसलामा अडिग हुनुपर्ने उनले उल्लेख गरे ।
आचार्यले संसद् पुनःस्थापना भएपछि राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक काम रेकर्ड गर्नुपर्ने पनि बताए । संसद् पुनःस्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही पनि गर्न नसक्ने उनको भनाइ थियो ।