बीबीसी । मिस युनिभर्स २०२० को ताज मेक्सिकन सुन्दरी एन्ड्रिया मेजाले पहिरिन् । यस्तै भारतीय सुन्दरी एडलाइन क्यास्टेलिनो उत्कृष्ट चारमा पर्न सफल बनिन् । उनले थर्ड रनरअपको उपाधि जितिन् ।
यद्यपि ‘मिस युनिभर्स’ को ताज लगाउने उनको सपना भने अधुरै रह्यो । तर उनले भारतलाई दुई दशकपछि मिस युनिभर्सको उत्कृष्ट ५ मा स्थान दिलाएकी छन् । यही खुसी उनी यसरी सुनाउछिन्, “म धेरै खुसी र ढुक्क छु । किनकी यति धेरै कठिनाइको बाबजुद पनि हामीले २० वर्षपछि केही स्थान बनाउन सकेका छौँ ।”
प्रतियोगिता अघि कोरोनाको चपेटामा
“म प्रति दर्साएको माया र सम्मानका लागि म निकै खुसी छु । सौन्दर्य प्रतियोगीताको मेरो यस यात्रामा मैले धेरै सहयोग पाएँ,” उनले बताइन् ।
उनी मिस युनिभर्सको यस यात्रालाई निकै भावुक यात्राको रूपमा लिन्छिन् । “मलाई सहयोगका लागि यस यात्रामा म सँग भएकाहरू उनीहरू आफै धेरै समस्या बाट जुधिरहेका थिए । केहीलाई कोरोना संक्रमण भयो भने कसैले आफ्नो परिवारका सदस्यहरूलाई गुमाएका थिए । यो मेरो लागि निकै भावुक यात्रा रह्यो, तर मलाई खुसी लाग्छ कि मैले मेरा साथीहरूको जिन्दगीमा थोरै भएपनि खुसी र आशा लिएर आएँ,” उनले भनिन् ।
मिस युनिभर्सको ६९औँ संस्करण अमेरिकाको फ्लोरिडामा भएको थियो । जहाँ संसारभरबाट ७४ सुन्दरीहरूले सहभागिता जनाएका थिए ।
एडलिन् भन्छिन्, “यहाँसम्म पुग्न मैले धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो । म मानसिक रूपमा धेरै तनावमा थिएँ, किनभने यति नजिक आइसक्दा प्रतियोगिता सुरु हुनुअघि म कोरोना संक्रमित भएँ ।”
उनी यसकै कारण अन्तिम समयमा यो मौका गुमाउन चाहन्न थिइन् । त्यसैले उनी चाँडो भन्दा चाँडो निको होस् भनि प्रार्थना गरिरहेकी थिइन् । नेगेटिभ रिर्पोट आएसँगै उनी अमेरिकाका लागि उडिन् । अमेरिका गएर उनले एकछिन पनि आराम गर्ने मौका पाइनन् । अहिले पनि उनी त्यति बलियो भैसकेकी छैनन् । तर उनले प्रतियोगितामा आफ्नो सत प्रतिशत दिइन् ।
बुबासँग लुकाउनुको कारण
एडलाइनले ‘मिस डिभा युनिभर्स–२०२०’ को उपाधि जितेकी हुन् । तर उनले यस प्रतियोगितामा भाग लिएको कुरा आफ्नो बुबाबाट लुकाएकी थिइन् ।
यसको कारण बारे एडलाइन भन्छिन्, “पहिरनलाई लिएर मेरो बुबा धेरै कडा हुनुहुन्थ्यो । मिस युनिभर्समा बिकिनी सेक्सन सायद उहाँलाई मन नपर्न सक्छ । त्यसैले मैले बुबासँग यो कुरा लुकाउनु पर्यो । मैले उहाँलाई थाहै नदिई प्रतियोगितामा भाग लिएँ । तर मैले जितेसँगै उहाँ निकै खुसी हुनुभयो ।”
छोरीले आफ्नो देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाएकाले अहिले उनका बुबा उनको हौसला बनेका छन् ।
भारत र कुवेतको यात्रा अनि भोगाइ
कर्नाटक मुलघर भएकी एडलाइन कुवेतमा हुर्केकी हुन् । उनी १५ वर्षको उमेरमा भारतमा आएकी थिइन् । कुवेतबाट उनको परिवार भारतमा फर्केको कारणबारे उनी यसरी बेलिविस्तार लगाउछिन्, “मलाई धेरै मौका चाहिएको थियो र ती सबै मौका अवसरहरू मैले मुम्बईमा मात्रै देखेको थिएँ । म आत्मनिर्भर बनेर आफ्नो पहिचान बनाउन चाहन्थेँ ।”
कुवेतमा उनले र उनको परिवारले धेरै संघर्ष गरेको थियो । त्यहाँ महिलाले हिंसा सहनुपर्ने उनले देखेकी थिइन ।
उनले फेसनलाई करियरको रूपमा अघि बढाउछु भनेर कहिल्यै पनि सोचेकी थिइनन् । उनी मुम्बईमा डान्स सिक्न आएकी थिइन् । तर उनकी आमाको भने छोरीलाई डाक्टर बनेको देख्ने चाहना थियो । मुम्बईमा डान्स सिक्ने क्रममा कोठामा सँगै बस्ने साथीले सौन्दर्य प्रतियोगीताको बारेमा जानकारी दिएकी थिइन्, त्यहीबाट उनले आफ्नो प्यासन खोतल्ने मौका पाइन् ।
“म मज्जाले बोल्न सक्दिन थिएँ । त्यसैले मलाई कुरा गर्नमा समस्या थियो । मैले आफ्नो यो कमजोरीलाई हटाउन धेरै मेहेनत गरेँ र विस्तारै आफ्नो भावना दोस्रो व्यक्तिलाई सुनाउन थालेँ । आज म भित्र त्यो आत्मविश्वास आइसकेको छ ।”
धेरै गर्न चाहना
दुई दशकपछि भारतले ‘मिस युनिभर्स’ को उत्कृष्ट ५ मा परेको उमङ्ग मनाउँदै छ । २० वर्षअघि थर्ड रनर–अप अभिनेत्री सेलिना जेटली बनेकी थिइन् ।
अभिनेत्री सेलिना लगायत सौन्दर्य प्रतियोगितामा सहभागी धेरै मोडलहरूले बलिउडमा प्रवेश गरे । यस्तोमा एडलिन आफ्नो योजना यसरी सुनाउछिन्, “म धेरै काम गर्न चाहन्छु । मनोरञ्जनदेखि बिजनेस इन्डस्ट्रीसम्म धेरै गर्नु छ । मेरो प्रिय माधुरी दिक्षित हुन् र म पनि भविष्यमा मनोरञ्जनको क्षेत्रमा राम्रो काम गर्न चाहन्छु ।”
यसका साथै एडलिन किसानहरूको जीविकोपार्जनका लागि कार्यरत एउटा कल्याणकारी संस्था ‘विकास सहयोग प्रतिष्ठान’ सँग आबद्ध छिन् ।
यस्तै मिस युनिभर्सको ६९ औँ संस्रकणको पहिलो रनर–अप ब्राजिलकी जुलिया गामा र दोस्रो पेरुकी जानिक माकेता बनेकी छन् । मधु पाल/बीबीसी