काठमाडौं । मोरङमा मास्कको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी छन् ।
अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्क सहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।