काठमाडौं । नेपाली साहित्य, कला, लोकसंस्कृतिका साथै चलचित्र क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील वरिष्ठतम् व्यक्तित्व चेतन कार्कीको ८२ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनयता कोरोना संक्रमित भई उपचाररत कार्कीको आइतबार बिहान सवा १० बजे निधन भएको कवि मुरारी सिग्देलले जानकारी दिए ।
बाल्यकालमै पिताजीका साथ लागेर स्याङ्जाबाट देहरादुन पुगेका उनले त्यहीँ उच्च शिक्षा हासिल गरेका थिए । त्यसउप्रान्त नेपाल फर्किएर सरकारी सेवामा कार्यरत उनी तिनताक गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा पनि क्रियाशील रहे ।
सरकारी जागिर छोडेपछि फिल्म निर्देशक हिरासिंह खत्रीको सम्पर्कमा पुगेका कार्कीले चलचित्र लेखनका साथै केही नेपाली फिल्महरूको निर्देशन पनि गरे । पछिल्लो समय सांस्कृतिक अनुसन्धान र अन्वेषण तथा लेखनमा कार्कीको समय बितिरहेको थियो ।
उनले लेखेर रेकर्ड भएका दर्जनौँ गीत आज पनि स्रोताको मनमस्तिष्कमा रहेको छ । उनका ‘दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन...’, ‘बैनीको दया छ भने रोदीघर दाइ नाच नभने’, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो...’, ‘यी ओठ तिम्रा मुस्कानलगायत’ गीतहरूले आज पनि स्रोताको मन छुन्छन् ।