काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर निःशुल्क पीसीआर परीक्षण गराउन अपिल गरेका छन् ।
महामारी नियन्त्रणका लागि सामूहिक प्रयासमा जोड दिँदै आइतबार प्रमुख शाक्यले जारी गरेको अपिलमा कोभिडको उपचार गराउन अस्पताल जानुपरे १०२ मा र अन्य रोगको उपचारका लागि अस्पताल जानु परे हटलाइन ११८० मा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।
“सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपनि आम नागरिकहरुलाई खाद्य सुरक्षालगायतका दैनिक जीवन सहज गराउन हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्नलगायत अति आवश्यक बस्तुहरु विक्री वितरणका सहज व्यवस्था गरिएको छ । अत्यावश्यक सेवाका लागि सवारी साधन सञ्चालन सुविधा दिएको छ ।” अपिलमा भनिएको छ, “बिहानी समय बजार खुला हुँदा कोभिड संक्रमणको लक्षण देखा परेका र लक्षण देखा नपरेका तर संक्रमण पोजेटिभ भएका व्यक्तिहरु आईसोलेसनमा नबसी बजारमा जाने, लक्षण लुकाएर हिँड्ने गरेको गुनासो बढ्न थालेको छ । यसले संक्रमण बढ्ने भएकाले त्यस्तो कार्य नगर्न हुन आम दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह गर्दछु ।”
अपिलमा स्वास्थ्य समस्या परे आफ्नो वडाका अध्यक्ष वा जनप्रतिनिधिलाई सम्पर्क गर्न र सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।