काठमाडौं । चालिसको दशकको सुरुआतमा पाठकले रुचाएको म्यागजिन थियो, ‘कामना’ प्रकाशन गृहको फिल्मी पत्रिका–‘कामना’ । त्यसको लोकप्रियता देखेर टक्कर दिन कमल जोशीले ०४५ भदौ ५ गते ‘रुपरंग’ पत्रिकाको प्रकाशन सुरु गरे ।
सम्पादक थिए, श्री आचार्य । कभर र ब्लोअप तस्बिरको जिम्मा भने मीन बज्राचार्यलाई थियो । त्यसका लागि फोटो सेसन गर्नु पर्थ्यो । गौरी मल्ल, सुष्मा केसीकै तस्बिर ब्लोअपमा दोहोरिरहन्थ्यो । मीनलाई लाग्थ्यो—किन नयाँ अनुहार ल्याउन सकिएको छैन ?
जनार्दन आचार्य र कमल केसीले नयाँ अनुहार ल्याउन सके पाठकमा यो पेजको प्रतीक्षा बढ्ने कुरा सुझाए । केशवराज पिँडालीले मीनलाई भने, “आफैँ खोजेर ल्याऊ ।”
मीनको दिमागमा मनीषा कोइराला ‘क्लिक’ भइन् । उनले ‘मेगा उल’को विज्ञापनमा मोडलिङ गरेकी थिईन् । १२ कक्षा सकेकी मनीषा दिल्लीमै थिईन् । काठमाडौं फर्केकै थिईनन् ।
त्यति बेला भारतीय नेता चन्द्रशेखर नेपाल आएका थिए । हरिहर विरही र मीन ‘विमर्श’का लागि चन्द्रशेखरको अन्तर्वार्ता लिन शेराटन होटेल पुगे । अन्तर्वार्ता लिँदालिँदै प्रकाश कोइराला (मनीषाका बुवा) आइपुगे ।
मीनले प्रकाशलाई ‘रुपरंग’को आवरण तस्बिरका लागि मनीषाको फोटो खिच्न चाहेको सुनाए । प्रकाशले पनि ‘छोरीले माने म खबर गर्छु’ भन्दै मीनको टेलिफोन नम्बर मागे ।
मीनले अनुमान लगाएका थिए—चलचित्रमा खेल्ने चाहना भएकै कारण मनीषाले विज्ञापनमा मोडलिङ गरेकी हुन् । त्यसैले नेपाली चलचित्रका लागि नयाँ अनुहार भनेर आवरण तस्बिर खिच्ने उनको योजना थियो ।
दुई महिनापछिको एक बिहान भाडामा बस्ने एक जनाले मीनलाई बोलाए । कारणः प्रकाशको फोन आएको थियो । आफ्नोमा फोन नभएकाले मीनले घरमा भाडामा बस्नेको नम्बर दिन्थे ।
प्रकाशले भने, “छोरी दिल्लीबाट आएकी छिन् । उनले पत्रिकाका लागि फोटो खिच्न मानिन् । तपाईँहरू फोटो खिच्न आउनुस् ।”
क्यामेरा बोकेर मीन महाराजगन्जस्थित कोइराला निवास पुगे । आवरण तस्बिरका लागि मीनले मनीषाको तस्बिर कोठामै खिचे । उनले कोठाभित्र खास्टो (सल)मा हाफ स्याडो र न्याचूरल तस्बिर खिचे । सल ओढेको तस्बिर मात्रै खिचेर फर्किनु ? मनोवाद गरे मीनले । आफैँलाई चित्त बुझेन ।
‘ग्ल्यामरस’ फोटो चाहिएको थियो उनलाई । जुक्ति लगाए । “आउटसाइड तस्बिर पनि लिऊँ न गार्डेनमा”, मीनले आग्रह गरे । मनीषाले नाईँ भन्न सकिनन् । बगैँचामा पनि उनले तस्बिर खिचे । अलि महत्वाकांक्षा बढ्यो मीनको ।
थप जुक्ति लगाउनु नै पर्ने भयो । पूर्वप्रधानमन्त्री बीपी कोइरालाकी नातिनीलाई छोटो लुगा लगाउनुस् भनेर सिधै भन्न पनि भएन ।
मीनले भने, “यस्तो घाम छ, गर्मी भएन मनीषा जी ?” मीनको आशय बुझिन् । मीनले चाहेजस्तै मनीषा सल फ्याँकेर टीसर्टमा आईन् । सोचेजस्तै तस्बिर खिचे मीनले । बगैँचामा दिएको पोजसहित ‘फूल फीगर ब्लोअप’मा छापियो ।
बीपीकी नातिनीको तस्बिर पत्रिकामा पहिलो पटक छापियो, ब्लोअपका रूपमा । नभन्दै प्रशंसा र प्रतिक्रियाको बाढी आयो । कसैले बीपीकी नातिनीको यस्तो फोटो भन्दै नाक खुम्च्याए, कतिले आ–आफ्नो इच्छा हो– भने । जसले जे भने पनि मीनले प्रशंसा पाए, अफिस र बाहिर दुबैतिरबाट ।
मीनको करिअरकै ऐतिहासिक तस्बिर थियो, त्यो । पत्रिकामै बीपीकी नातिनी मनीषा चलचित्रमा अभिनय गर्न चाहन्छिन् भन्ने छापिएपछि पोखराका फुर्वाछिरिङ गुरुङले मनीषालाई हिरोईन बनाएर चलचित्र निर्माण गर्ने घोषणा गरे । प्रकाश अधिकारीलाई हिरो बनाए । चलचित्रको नाम थियो, ‘फेरि भेटौँला ।’
चलचित्रको छायांकन पोखरामा थियो । चलचित्र युनिटले मीनलाई रिपोर्टिङका लागि बोलायो । उनी पोखरा पुगे । होटेलमा एकातिर मनीषाको कोठा थियो, अर्कोतिर प्रकाश अधिकारीको । मीनले रोचक त के देखे भने छोरीको ‘टेक केयर’का लागि मनीषाकी आमा त्यहीँ थिइन् ।
सुटिङ रिपोर्टको तस्बिरसहित काठमाडौंमा समाचार छापियो ।
फिल्मी पत्रिकाको रुपमा मजैले दरिएको ‘कामना’ले प्रतिस्पर्धी ‘रुपरंग’का फोटोग्राफर मीनसँग त्यही सुटिङको तस्बिर माग्यो । ‘कामना’ले मीनलाई क्रेडिट दिएर ब्लोअप छाप्यो । र, तीनै मनीषाले विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउडमा लामो समय नायिकाका रुपमा राज गरिन् ।
तस्बिर : मीन बज्राचार्य