site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मन एकतमासको भइरहेछ 
Sarbottam CementSarbottam Cement

निरञ्जन बराल


‘गोली मार भेजे मे...भेजा शोर करता है’ छोराहरूको कोठाबाट आइरहेको रेडियोको आवाजमा गुञ्जिरहेको यस हिन्दी गीतका यी शब्दहरूले मनलाई एकतमाससँग तानेको अनुभव भयो । शब्दहरूका चयनले उत्पन्न एक प्रकारको तीव्र अनुभूति माझ ती शब्दहरूमा पोखिएका तितोपन (अझ तितो मात्र हैन, कटुताले चुर्लुम्म डुबेका)ले आफ्नो मन नै तितो भइरहेको अनुभव भयो । जिब्रो र घाँटीमा समेत त्यस कटु तितोको स्वाद बसिरहेको जस्तो पो लाग्यो । आह ! कति घोचिने गरी शब्द चयन गरेको होला, लेख्नेले ।

युवावस्था अर्थात् विद्यार्थी हुँदै एउटा गीत निकै मनपर्ने गरी सुनिन्थ्यो । त्यसमा एउटा हरफ थियो, ‘रहर बोकी चल्ने मुटु आज थिच्न चाहन्छु म’ । अँ यो गीत सुन्दा, यस गीतको प्रसँग चल्दा लाग्दथ्यो, कति निराशा र कति पीडा छ यस गीतमा । यस्तै, कहिलेकाहीँ आफैँ नीरस हुँदा वा साथीभाइका माझ कुनै सफलता, पीडा वा निराशाका प्रसंग आउँदा यो गीतको प्रसंग दोहोरिने गर्दथ्यो । नभन्दै, युवावस्थामा एक किसिमका उत्साह, उमंग र रहरहरू हुने गर्दथे, ती अपुरा हुँदा भनिने गरिन्थ्यो किन यी रहरहरु उत्पन्न भएको होला, किन रहर गर्न मन लाग्यो होला ? पूरा नहुने रहरले किन मन–मस्तिष्कलाई उद्वेलित गर्ने होला ? मनले, मस्तिष्कलाई रहर नै नगर्न सम्झाई फेरि प्रसंग चलिहाल्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस उमेरबाट धेरै लामो यात्रा अगाडि बढिसकेको छ । युवावस्थाको उमेरमा हुने गरेको मनको रजाईंलाई समय परिस्थितिले करिब–करिब नियन्त्रित गरिसकेको छ । अपुग रहरले नै साहै्र नीरस बनाइहाल्ने स्थिति अब छैन । बरु, अब त कहिलेकाहीँ छोराहरूको अनुहारमा न्यास्रोपन देखिँदा विषाद् लाग्छ । कतै कुनै रहर चुँडिनाले नै उदास भएका त हैनन् भनेर । सोधूँ सोधूँ त लाग्छ तर फेरि सम्झन्छु रहर त रहर नै हो । फेरि, रहर त नितान्त व्यक्तिगत प्रकृतिका हुन्छन् । न भाग लाउन मिल्ने न गुणन गरेर बढाउन सकिने । तसर्थ, तिनका रहर, रहरका प्राप्ति÷अप्राप्तिका बारेमा सोच्ने नै गरिँदैन । अँ, रहरले सिर्जना गरेको लहरमा उतार्ने, डुबाउने क्रममा परिवर्तन आए पनि अहिले आएर एउटा बेग्लै किसिमको अनुभूतिले सोचाइमा आश्रय पाउन थालेको पाउँदछु । यी अनुभूतिहरू पनि निकै बलिया नै छन् । यिनले पुर्याउने चोट धान्न हम्मे–हम्मे पर्न थालेको जस्तो लागिरहेछ ।

यस्ता धान्नै नसक्ने अनुभूतिहरूका बारेमा मनमा कुरा खेलिरहेकै सन्दर्भमा अचानकै यस गीतका बोलहरूले मनमा एउटा अनौठो किसिमको तरङ उर्लिएको र ती तरङका लहरहरू जताजतै छचल्किरहेको जस्तो लागिरहेछ ।

Global Ime bank

मेरा सहपाठी हुनुहुन्छ, साह्रै घनिष्ठ । जीवनका उतार–चढावहरू साथै भोगेका । विद्यार्थीकालका साथीहरूसितको सम्बन्धमा म सदैव एउटा मिठास पाउँदछु । बाल्यकाल र किशोरावस्थाका साथीहरू अहिले आएर जीवनको दौडमा जति अगाडि, पछाडि भएको भए पनि उनीहरूलाई यस दौडको सुरुवातमा अर्थात् सीमारेखामा उभिँदाको ताकत र कमजोरी राम्रैसित थाहा भएको हुन्छ । जित र हारको बदलामा पाएको सफलताको मुस्कान र असफलताको घाउको खाटाको मर्म पनि सम्पूर्ण नै थाहा भएको हुन्छ । उतार–चढावमा टेकिएका प्रत्येक खुड्किलाका बारेमा पर्ने पीर राम्रैसित महसुस भएको हुन्छ ।

अँ, कुरा अलि विषयन्तर भएछ । म, मेरा सहपाठीका बारेमा कुरा गर्दै थिएँ । अस्ति उहाँले फोन गर्नुभयो, फोनको सुरुमा नै उहाँले धेरै लामो समयदेखि सम्पर्कमा नभएको गुनासो गर्नुभयो । उहाँको यो फोन गर्ने सधैँको शैली मलाई रमाइलो लाग्दछ । फोनमा कुराको सुरुवात गर्ने दुई शैली रहेको पाउँछु । पहिलो शैलीमा सुरुको भलाकुसारीपछि मात्र फोन गर्न आवश्यक परेको कामबारे बताइन्छ । यो पनि राम्रै हो । दोस्रो शैली अर्थात् फोनमा सम्पर्क हुनासाथै काम अह्राइहाल्नु । उहाँ सदैव पहिलो शैली नै अपनाउनुहुन्छ । मलाई भने दुवै शैलीमा केही–केही अप्ठेरो लाग्दछ । सार्वजनिक र व्यक्तिगत जीवनमा सबै थरीका काम आइहाल्दछन् । एकार्कालाई सहयोग नगरी दैनिक जीवनमा पारै पाइँदैन । तसर्थ, काम विशेषले चिनेका, नचिनेका सबैले काम अह्राइहाल्दछन् ।

तर, साथीहरूले पनि कामकै लागि मात्र फोन गर्दा भने मनमा एकतमासको निराशा हुन्छ । तथापि, साथीहरूको फोन आउँदाको आफ्नै विशेषता, आफ्नै मिठास हुन्छ । केही मिठा, केही नमिठा प्रसंगहरूमा मन खोलेर कुरा गर्न पाइन्छ । तर, त्यस दिन खै किन हो कुन चैँ मनस्थितिबाट मस्तिष्क गुज्रिरहेको थियो, मैले भनिहालेछु, ‘यार, भूमिका बाँध्दै गरौँला पहिले काम चैँ भनि हाल न’ !

बोली र गोली छुटेपछि छुटिहाल्यो । रोक्न कोसिस गरे पनि आफ्नो काम गरिहाल्छन् । दुवैले आ–आफ्ना काम पुर्याइहाल्दछन् । ठाउँ कुठाउँमा लाग्यो भने मिति पुगिहाल्छ । उक्त दिनको विनासोचेर, तनावयुक्त मनस्थितिबाट प्रभावित उक्त वाक्यांश मुखबाट निस्कनासाथै, मनस्थितिमा नजानिँदो ढंगले रहिरहेको तनाव साह्रै तिक्त भएर रहेको रहेछ भन्ने महसुस हुनपुग्यो । मनमा कति तिक्तता रहेछ, मुखभरि फैलिएको कटु स्वभावले महसुस गराइरह्यो । धन्य सन्जोग कुरा फेरियो, अचेल फोन गर्दैनौ भन्ने विषयतिर ।

मैले भन्न त केही भनिनँ तर मनमा भने एउटै विचार खेलिरह्यो । बारम्बार गुनिँदै रह्यो । हो, अचेल म सामान्य सम्पर्कमा पनि जान सकिरहेको छैन । किन–किन विभिन्न कारणले मनभरि विषाद्को भावना भरिएको पाउन थालेको छु । अनि, ती विषादले भरिएको मनले सिर्जना गर्ने तितोले म तर्सिएको छु, फलस्वरूप अचेल मलाई फोन गर्नसमेत मन लाग्दैन । साथीहरूसितको सम्पर्कमा समेत साहै्र कम छु ।

यी हरफ लेख्दा–लेख्दै मलाई अचेल स्मृतिमा बारम्बार आइरहेको हिन्दी चलचित्रको एउटा प्रसंग उल्लेख गर्न मन लाग्यो । मनोजकुमार र प्राणले मुख्य भूमिका खेलेका उक्त ‘उपकार’ नामक चलचित्र लामो कालसम्म स्मृतिपटलमा रहिरहेको छ । यसरी रहनुको एउटा कारण हो, हिन्दी चलचित्रमा खलनायकको भूमिका खेल्नमा अत्यन्त ख्याति पाएका प्राणले पहिलोपल्ट एउटा बेग्लै खालको चरित्र नायकको भूमिका गरेको प्रसंग । उक्त चलचित्रमा ‘मंगलु चाचा’को अभिनय गर्ने प्राण दिनभरि मेलमिलाप, भाइचारा, आपसी सहयोगको भावना जागृत गर्न प्रयत्न गर्दथे । झैझगडाले, वैमनस्यताले कसैको हित गर्दैन भन्ने कुरामा ‘मंगलु चाचा’को जोड रहन्थ्यो ।

तर, बेलुकी अँध्यारोमा उनी गीत गाउने गर्दथे, ‘कसमे वादे प्यार वफा सब बाते हैँ बातो का क्या, कोही किसीका नही ए झुठे नाते है नातो का क्या...’ । यसै गीतमा भएको अर्को हरफ थियो, ‘देते है भगवान् को धोका इन्साँ को क्या छोडेंगे’ ।

यसै प्रसंगमा एक साँझ चलचित्रका नायक सोध्दछन्– दिउँसो तपाईं एक थोक भन्नुहुन्छ, बेलुका अर्को, किन दुई भिन्दा–भिन्दै विचार ? ‘मंगलु चाचा’ले त्यस चलचित्रमा दिएको जवाफ अहिले पनि सम्झन्छु– दिउँसो त्यो भन्छु, जो हुनुपर्छ र राति त्यो भनिरहेछु, जो भइरहेछ । रातको छायांकन भएको त्यस दृश्यमा ‘मंगलु चाचा’को अभिव्यक्तिमा भएका विषाद कहिल्यै पनि स्मृतिबाट हटाउन सकेको थिइनँ । अहिले पनि हटिरहेको छैन । बारम्बार त्यस विषादको परिस्थिति अनुभव हुने गर्दछ ।

मैले आफ्नो वरिपरि अहिले अनुभव गर्ने गरेको सबैभन्दा तीव्र असन्तोषको विषय नै यही हुनुपर्ने विषय र भइरहेको विषयको बीचको खाडल हो । मानवीय सम्बन्धमा साह्रै महत्वपूर्ण पाटाहरू पनि छन् । ती पाटाहरूका विविध पक्ष साह्रै सुमधुर, सुन्दर र सुरिला हुन्छन् । तिनै सूरलाई नै बेसुरा तथा क्षतविक्षत पार्ने खालको सामाजिक परिस्थिति सिर्जना भइरहेको महसुस भइरहेछ, अचेल । प्रत्येक सूर खजमजिएको अवस्थामा सिर्जित र्याइँ–र्याइँले साह्रै बेमज्जा तुल्याइरहेको अनुभूति भइरहेछ ।

यस पक्षले साह्रै विस्मात् पारिरहेको अवस्थामा पुनः सआदत हसन मन्टोको ‘मिना बजार’ भन्ने पुस्तक पढ्ने मौका पर्यो । कलेज दिनमा पढेको उक्त पुस्तकको प्रसंग निस्कँदा ललिजन रावलजीले सजिलैसित पढ्ने मौका उपलब्ध गराइदिनुभयो । मन्टोका ती निबन्ध फेरि पढ्दा अचानकै आफ्नै वर्तमान मनस्थितिसित तादात्म्य राख्नेजस्ता तीक्ष्ण विचारले एकातिर मनलाई सान्त्वना दियो भने अर्कोतर्फ एउटा संवेदनशील लेखकले बेहोरेको मानसिक तनाव तथा द्वन्द्वहरूका बीच सटिक तथा तीक्ष्ण अनुभूतिमा चुर्लुम्म डुबेको महसुस भई नै रह्यो । मनलाई शान्त पार्ने बहाना मिलेको महसुस भइरह्यो ।

संवेदनशील हुनु आफैँमा एउटा ठूलो बोझ रहेछ । जतिसुकै व्यावहारिक हुन खोजे पनि खै किन किन सोचाइको यस पाटोले बेचैन तुल्याइहाल्ने रहेछ । प्रत्येक सम्बन्धलाई स्वार्थका डिग्रीले नाप–जोख गरेको पाउँदा हुने हुटहुटीलाई न त बिर्सन नै सक्तछु न त निस्तेज पार्न नै ! अनि, ती व्यावहारिक भनौँ वा भाग्यमानी, जो प्रत्येक सम्बन्धलाई स्वार्थको मापदण्डबाट आफ्नो मात्र पलडा भारी पारेर रमाउन जान्दछन्, तिनका मनमा कहिलै आफूले झुक्याएकाहरूको सम्झना आउँदैन होला ? के तिनका मनमा आफूले एकलौटी ढंगले पलडा आफ्नो पक्षमा पार्दा कहिले ग्लालि उत्पन्न हुँदैन होला ? मन्टोका ती निबन्धहरू पढ्दा यी नै कुराहरू मनमा साह्रै तरंगित भइरहे । तर, कहिलै पार नपाइने विषय हो यो भन्ने पनि लागि नै रह्यो । जे होस्, धेरै दिनपछि मन्टोका निबन्धले आफूलाई सहज हुन मद्दत गरिहेको पाएँ ।

केही समय अगाडि बडो चर्चित दार्शनिक यू.जी. कृष्णमूर्तिका पुस्तकहरूले मन आकर्षित गरेका थिए । विशेषगरी ‘माइन्ड इज अ मिथ’लगायत उनका बारेमा लेखिएका निबन्धहरू ‘थट इज योर इनेमी’, ‘द सेज एन्ड द हाउस वाइफ’, ‘द मेष्टिक अफ इनलाइनमेन्ट’, ‘एन इनकाउन्टर विथ स्पिरिच्युअल टेरोरिष्ट’हरूमा व्यक्त विषयको गम्भीरताले आकर्षित गर्नुका साथै अधिकांश विचारहरू विचारोत्तेजक लागे । अनुभवका ती पक्षहरूसित साह्रै परिचय नभएको हुँदा जति गहिरिन सकिन्थ्यो होला, त्यति सकिनँ । तथापि, लाग्यो सोचाइको प्रक्रियाप्रति नै पुनर्विचार गर्नुपर्ने जरुरी रहेछ । सोचाइलाई बट्टामा सिलबन्दी गर्नैपर्ने रहेछ । तर, कसरी ? सायद माथि गन्थन गरेका विषयहरूका जोडहरू यसै विषयमा केन्द्रित विन्दुहरू हुन् । अनि, कसरी यति छिटै जवाफ पाउने !

यी विचारहरूमा रुमलिँदा रुमलिँदै म पुनः गीतको बोलमा नै सोच्न पुगेछु । मलाई लाग्छ, वेदनाको असह्य स्थितिले के निकास खोज्दछ भन्ने पनि चाखकै कुरा हो । विद्यार्थीकालमा नै कतै पढेको थिएँ, निराशाले मान्छेलाई माझ्दछ र सिर्जना गर्न प्रेरित गर्दछ । तर, बढी निराशाले अनासक्त बनाउँदछ । अर्थात् निराशाले सिर्जनाको बाटो दिन्छ, बढी निरासाले अशक्ततातिर लैजान्छ । अनि, निराशाले सिर्जना गरेको अशक्तताको पीडामा रन्थनिएको पीडा मस्तिष्कमा आउने गरेको प्रतिक्रिया यही त होला नि ? मार्ने वा मर्ने ! अनि, सोचाइकै आधार मानिने मस्तिष्कलाई उडाउने विचार ! उफ् ! सम्झँदा पनि अत्यास लागेर आउँछ । गीतको बोलले सिर्जना गरेको पीडा र अत्यासले मन एकतमास भइरहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC