काठमाडौं । साविकको विजेता टोली जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता वायर्न म्युनिखलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
वायर्नको घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्कविन्होसले एक गोल थपे । उता बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा एम्बाप्पेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मार्कविवन्होसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
३७ औं मिनेटमा मोटिङले गोल गर्दै वायर्नलाई २–१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को जित दिलाए । गत सिजन वायर्नसँग पराजित भएको पीएसजीले यो सिजन क्वाटरफाइलन खेलमा नै बदला लिएको छ ।
अब दुई टोलीबीचको दोस्रो लेग पीएसजीको मैदानमा अप्रिल १३ मा हुनेछ ।