काठमाडौं । नेपाल इन्जिनियर्स एसोसियसनको आगामी नेतृत्वमा लागि पाँचवटा प्यानल दर्ता भएका छन् । एसोसियसनको ३३ औं कार्यसमितिको निर्वाचनका लागि पाँचवटा प्यानल दर्ता भएका छन् ।
लोकतान्त्रिक,वामपन्थी र मधेस केन्द्रित दल निकट इन्जिनियरिङ संगठनबाट उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को तर्फबाट अध्यक्षमा डा. हरिबहादुर दर्लामी नेतृत्वमा प्यानल दर्ता भएको छ ।
त्यस्तै, डेमोक्रेटिक तराई इन्जिनियर्स सोसाइटी, राष्ट्रिय इन्जिनियर्स संघ र नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) का अध्यक्ष ऋषि कोइरालाको सहभागितामा बनेको गठबन्धनबाट दिलिपकुमार झाको अध्यक्षतामा प्यानल बनेको छ ।
नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) ले डा. सुरज लामिछानेको नेतृत्वमा प्यानल दर्ता गरेको छ ।
नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन) बाट डा. हरिराम पराजुलीले अध्यक्षमा उमेदवारी दिएका छन् भने नेमकिपा निकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडाले पनि अध्यक्षमा उमेदवारी दिएका छन् ।
*सच्याइएको