काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई र आफूलाई हजारौँ सहिदहरुले अलग हुन नदिने बताएका छन् ।
शनिबार काठमाडौंमा बाबुरामको ‘गुमनाम आमाका कथा’ नामक पुस्तकको विमोचोन गर्दै उनले प्रतिगमनविरुद्ध एउटै मोर्चा बनाउन आवश्यक रहेको पनि बताए । “बाबुरामजी र म अहिले एउटै पार्टीमा त छैनौँ । तर, फेरि मुद्दाका हिसाबले हामी एउटै मोर्चामा छौँ । इतिहासको कर्मका कारणले अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा कर्मले नजिक ल्याइ नै राख्यो । हामीलाई अलग हुन दिँदैनन्,’’ उनले भने, “ती हजारौँ सहिदहरुले हामीलाई अलग हुन दिन्नन् । घाइते, अपांगहरुले हामीलाई अलग हुन दिन्नन् । ती हजारौँ योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन् । हामीलाई एकै ठाउँमा उभिन प्रेरित गर्छन् ।”