काठमाडौं । नायिका करिष्मा मानन्धरले नेपाली चलचित्रको विस्तारका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् । नेपाली दर्शकमाझ नै नेपाली चलचित्र नपुगेको भन्दै उनले यसका लागि मझौला तथा साना सहर तथा गाउँमा सरकारले नै चलचित्र घर निर्माण गर्नुपर्ने उनले बताएकी छिन् ।
नेपालमा चलचित्रकर्मी आफ्नो चलचित्र चलाउन चलचित्र घर मै निर्भर रहनु परेको भन्दै करिष्मा यस विषयमा अब गम्भीर भएर सोच्ने बेला आएको बताउँछिन् ।
चलचित्र वितरण गर्ने राम्रो र विश्वासिलो प्लेटफर्म नभएसम्म फिल्म निर्माण गर्नुको औचित्य नरहेको उनको भनाइ छ ।
केही वर्ष यता ओभरसिज बजारमा नेपाली चलचित्र जान थाले पनि भारतमा बस्ने नेपालीको ठूलो संख्यमा नै नेपाली चलचित्र पुग्न नसकेको उनको गुनासो छ । अहिलेभन्दा पहिला नै भारतमा नेपाली चलचित्रको ठूलो बजार रहेको करिष्मा बताउँछिन् ।
“चलचित्र निर्माण, स्टुडियो निर्माण तब मात्रै सार्थक हुन्छ, जब यो वितरण गर्ने ठाउँ दिगो हुन्छ, यसका लागि चलचित्र घरहरूको निर्माण देशै भर विस्तार हुनुपर्छ,” उनी भन्छिन्, “ हाम्रा चलचित्र भवनहरु विकसित सहर र उपत्यकामा मात्रै सिमित छन् । तराईको आधाभन्दा बढी जनसंख्यामा नेपाली चलचित्र पुग्न सकेको छैन ।”
तराईमा नेपालीभन्दा भोजपुरी चलचित्रले स्थान पाएको उनको भनाइ छ ।
निजी चलचित्र घर व्यवसाहीहरुले सुगम क्षेत्रमा सिनेमा घर निर्माण गरेको भन्दै करिष्मा धेरैभन्दा धेरै दर्शकसम्म नेपाली चलचित्र पुर्याउन र बजार विस्तार गर्न मध्यम विकसित सहर तथा गाउँमा सरकारले चलचित्र भवनहरुको निर्माण गर्नुपर्ने बताएकी छिन् । अन्यथा करोडौंका चलचित्र र स्टुडियोको लगानी सुरक्षित नहुने उनी बताउँछिन् ।
प्रविधिको विकासले मनोरञ्जन र सूचना प्राप्तीको माध्यम परिवर्तन हुँदै गएको नायिका मानन्धर बताउँछिन् । युट्युब, नेट्फ्क्सि र विभिन्न टेलिभिजनका माध्यमबाट सहज रुपमा मनोरञ्जन लिने अवस्था आएको उनी बताउँछिन् ।
“बदलिँदो समयअनुरुप मनोरञ्जन गर्ने शैली सानो र ठूलो भन्ने रहेन । घर–घर र हातहातमा डिभाइस भएकाले त्यहाँ आउने कलाकारहरु अझै दर्शकका नजिक र प्रिय बन्न पुगे,” करिष्मा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “आजको आधुनिक प्रविधिले माहानायक राजेश हमाल र भाइरल कान्छोलाई एउटा मिलन बिन्दुमा आउने मञ्च निर्माण गरिएको छ, जुन सकारात्मक पनि हो ।”
यद्यपि चलचित्र घर गएर ठूलो पर्दामा चलचित्र हेरेको आनन्द अरु माध्यममा नआउने उनी बताउँछिन् ।