site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयरबजारमा ‘टी प्लस टु’ : कारोबार बढ्छ कि सेटलमेन्टमा चुनौती ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिले नेपालको धितोपत्र बजारमा सेयर कारोबारको दुई कार्यदिनमा राफसाफ हुने व्यवस्था छ ।

साविकको व्यवस्थालाई परिष्कृत गर्दै गर्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले यही माघ ११ गतेबाट सेयरको दोस्रो बजार कारोबार राफसाफ ‘टी प्लस टु’मा पूरा गर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको थियो । यसअघि, ‘टी प्लस थ्री’ अर्थात् सेयर कारोबार भएको तीन कार्यदिनमा सेयरको राफसाफ चक्र पूरा हुने व्यवस्था थियो ।

‘टी प्लस थ्री’ हुँदा सेयर बेच्नेले तीन दिनमा राफसाफ चक्र पूरा भएर ब्रोकरको पुल एकाउन्टमा आउने र चौथो दिन मात्र सेयर बिक्री गर्नेले पैसा पाउने तथा सेयर खरिद गर्नेले पनि सोही दिनमा खातामा सेयर प्राप्त गर्ने गर्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

अब राफसाफ चक्र दुईदिने भएपछि सेयर बेच्नेले तीन दिनमा पैसा पाउँछन् र खरिद गर्नेले तीन दिनमा सेयर आफ्नो खातामा पाउँछन् । सेयरको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको सेयरकोे राफसाफ तथा फर्छ्योटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टभित्र जारी गरिसक्नुपर्ने छ ।

अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनुपर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै ट्रान्सफर गरिसक्नुपर्ने हुन्छ । अनलाइन ट्रान्सफर (ई–डीआईएस) जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान)भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनुपर्छ ।

Global Ime bank

सेयर बिक्री गर्नेले टी प्लस टुमा ई–डीआईएस अथवा ई–डीआईएस नगर्ने लगानीकर्ताले सेयर कारोबार भएको एक दिन (टी प्लस वान)मा भौतिक निर्देशन पुर्जी जारी नगरेमा क्लोज आउटमा पर्ने हुन्छ । यसरी क्लोजआउटमा पर्ने लगानीकर्ताको क्लोजआउटमा परेको रकमको २० प्रतिशत जरिवाना लाग्छ ।

सीडीएससीले टी प्लस टु कार्यन्वयनमा ल्याउन निर्देशन दिँदै सेयर खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको सेयरबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई कारोबार भएको मितिको भोलिपल्टै बुझाउन पनि आग्रह गरेको छ ।

‘टी प्लस टु’ले बजारमा कस्तो प्रभाव पर्ला ?
कारोबारको राफसाफ चक्र जति कम भयो, सेयरबजारमा कारोबार त्यति बढ्दै जान्छ । सेयर बिक्रीपछि चार दिनमा आउने पैसा तीन दिनमा नै हातमा आउँछ भने उसले चार दिनपछि गर्ने लगानी तीन दिनमा नै गर्छ । यसले बजारको कारोबार चक्रमा नै प्रभावित पर्छ । बजारको रकम वृद्धि हुनु भनेको सेयरको माग बढाउनु पनि हो । जसले गर्दा सेयर मूल्यसमेत प्रभावित हुन्छ ।

नेपाली धितोपत्रबजारका विज्ञ डा. गोपाल भट्ट राफसाफ अवधि जति कम भयो, त्यति राम्रो हुने बताउँछन् । अझै रियल टाइम सेटलमेन्ट गर्न सके सबैभन्दा राम्रो हुने उनको भनाइ छ । तर, त्यसको लागि हाम्रो बजार तयार नभएकोले यो काम तुरुन्तै गर्न नसकिने उनको भनाइ छ ।

“प्रविधि राम्रो भएको ठाउँमा रियल टाइममा नै सेटलमेन्ट भइरहेको छ,” उनले भने, “हाम्रोमा पनि सुरुमा टी प्लस फाइभबाट टी प्लस थ्री हुँदै अब टी प्लस टु भयो, जुन बजारको लागि सकारात्मक हो । जति चाँडो सेटलमेन्ट भयो, कारोबार भोल्युम पनि सोहीअनुसार बढ्ने हुन्छ ।” ‘टी प्लस टु हुँदा’ बजारमा पुँजी जाम हुने अवधि कम हुने र जसले गर्दा कारोबार रकम बढाउने डा. भट्टको बुझाइ छ । कारोबार वृद्धि हुनु भनेको बजारमा खरिद चाप बढ्नु भएकोले  यसले सेयरको मूल्य प्रभावित हुनसक्ने डा. भट्ट दाबी गर्छन् ।

उनले भनेजस्तै ‘टी प्लस टु’ कार्यान्वयनमा आएसँगै आइतबार अहिलेसम्मकै सबैभन्दा धेरै नौ अर्ब ३७ करोडको सेयर कारोबार भयो भने आज सोमबार पनि आठ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । तर, हाम्रोजस्तो उधारो कारोबारले प्रोत्साहन पाएको बजारमा सेयर राफसाफ चक्र जति कम भए पनि खासै अर्थ नराख्ने बजारका जानकारहरु बताउँछन् ।

न त सेयर बिक्री गर्नेलाई दलाल व्यवसायीले समयमा रकम भुक्तानी नै गर्छ न त लगानीकर्ताले नै सेयर खरिद गरेबापत समयमा नै दलाल व्यवसायीको पुल खतामा रकम जम्मा गरिदिन्छन् । कतिपय नयाँ लगानीकर्ताहरुले सेयर बेचेको महिनौँ बितिसक्दासमेत रकम भुक्तानी नपाएको गुनासो गर्छन् । “ठूलो र मै हुँ भन्ने लगानीकर्ताले दलाल व्यवसायीको लागि हप्तौँसम्म रकम भुक्तानीको लागि झुलाउने गर्दछन्, जसको परिपूर्ति दलाल व्यवसायीले साना र सोझा लगानीकर्ताको भुक्तानीमा झुलाएर गर्छन्,” एक लगानीकर्ताले बाह्रखरीसित भने ।

धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति उधारो कारोबार हुने बजारमा दलाल व्यवसायीलाई पैसा उठाउने चुनौती बढेको बताउँछन् । “टी प्लस टु कार्यन्वयनमा आएसँगै ब्रोकरको सबैभन्दा ठूलो चुनौती भनेको पैसा उठाउने हो,” उनले भने, “हामीलाई समयमा सेटमेन्ट गर्न पैसा उठाउन गाह्रो पर्ने देखिन्छ । एक दिन मात्रै मिस गरिदियो भने भोलिपल्ट आएको पैसा काम लाग्दैन ।”

लगानीकर्ता अभ्यस्त नहुँदा क्लोज आउटको मात्रा पनि बढ्न सक्ने उनको तर्क छ । “क्लोजआउट कति बढ्छ र ब्रोकर आउट हुने मात्रा कति बढ्छ त्यसको लागि केही समय हेर्नुपर्छ,” उनले भने । धेरैजसो लगानीकर्ता सेयर बिक्री गरेर बिर्सिने तर दुःख दिने नै नियत भएका भने २/४ प्रतिशत लगानीकर्ता मात्रै भएको उनको भनाइ छ । त्यस्ता लगानीकर्तालाई निरुत्साहित गर्न सकके सहज हुने उनले बताए । “टी प्लस टुले सुरुको समयमा केही समस्या होला । तर, लगानीकर्ता अभ्यस्त भएपछि सहज हुन्छ,” उनले भने, “यसले कारोबार रकम बढाउन पनि मद्दत गर्छ ।” पहिले लगानीकर्तालाई सक्षम र सचेत बनाउनुपर्नेमा उनको जोड छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना भने सबै पक्ष अनुशासित भएर कारोबार गर्ने हो भने कुनै समस्या नआउने बताउँछन् । “सेयर नै नभई बिक्री गर्ने लगानीकर्ता क्लोजआउट पर्ने हो, सेयर बिक्री गर्नेले आफूसँग सेयर छ कै छैन यकिन गर्नुपर्छ,” उनले बाह्रखरीसँग भने, “बजारमा हरेक कुरामा अनुशासन हुनपर्छ र अनुशासित तवरले काम गर्नुपर्छ । आफूसँग सेयर भएर कारोबार भएको छ भने क्लोजआउट पर्ने सम्भावना रहँदैन ।”

सेयर बिक्री गर्ने लगानीकर्ताले समयमा सेयर ई–डीआइएस गर्नुपर्नेमा उनको जोड छ । “सेयर ट्रान्सफर गर्नको लागि दुई दिनको समय छ । यदि, मेरो सेयर चलाउँदिनँ, ब्रोकर अफिसमा गएर सेयर ट्रान्सफरको लागि भौतिक निर्देशन पुर्जी जारी गर्छु भन्नेलाई पनि उक्त अप्सन रहेको छ,” उनले भने, “हामीले घरमै बसीबसी कारोबार गर्छु भन्नेलाई सिस्टम बनाएको हो ।”

लगानीकर्ताले समयमा भुक्तानी गरेर र उधारो कारोबार गर्छन् भनेर नै २५ प्रतिशत मार्जिन लिएर कारोबार गर्ने व्यवस्था गरेको अध्यक्ष ढुंगाना बताउँछन् । “समयमा लगानीकर्ताले भुक्तानी गर्दैनन्, उधारो कारोबार हुन्छ, सेटलमेन्ट हुँदैन भन्ने कुरा सुनिन्छ । हो, त्यसैका लागि त ब्रोकर चाहिएको हो । अन्यथा, ब्रोकर किन चाहिन्थ्यो ?,” उनले भने, “कस्टुमरले गरेको कारोबारको सेटलमेन्ट म गराउँछु भनेर ब्रोकरले ग्यारेन्टी लिने हो । ग्यारेन्टीको मोडालिटी बोर्डले बनाइदिएको छ, २५ प्रतिशत मार्जिन लिएर कारोबार गर भनेको छ ।”

यदि, २५ प्रतिशत मार्जिन लिएर कारोबार गर्दा दुई दिनमा पनि पैसा दिएन भने ब्रोकरले आफूले फैसा हाल्ने र पछि बेचेपछि असुल गर्नुपर्ने अध्यक्ष ढुंगाना बताउँछन् । “त्यसको लागि ब्याजसहित असुल गर्न दिएकै छ,” उनले भने ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC