मरे त्यो मर्छ, तपाईंलाई के फरक पर्छ ?
मित्र !
पहिले भन्नोस्
तपाईं कवि कि
कुनै दलको कार्यकर्ता ?
भनी हालुँ –
हो भने कांग्रेस
पहिले आफ्नै अनुहार
ऐनामा हेर्नुस्
अनि सुहाउँछ भने मात्र
प्रजातन्त्रको दुहाइ दिनोस्
र हो भने कम्युनिष्ट
व्यापार र राजनीतिमा
एउटा रोज्नुस् र
घाटामा पनि
जनवादको नकाप नउतार्नोस्
राजपा हो भने त
कुरै भएन
पहिले अर्काको
बुई चढ्न छोड्नोस् र
“मुखमा राम राम–बगलीमा छुरा”
नघोप्नुस्
बाँकीको त के कुरा भो र
दाउ पर्नासाथ
कुर्सीमा बस्नु भो
र ताली बजाउँदै
भजन गाउनु भो
अब फर्केर कृपया
आफ्नै भूगोलमा आउनुहोस्
नाथे त्यो डाक्टरले पनि
थर्काउने तपाईंहरूलाई ?
मरे त्यो मर्छ
ज्यादा भए त्यो सँगै
यो देश मर्छ
तपाईंहरूलाई के फरक पर्छ ?
फेरि बाँचेर त्यसले
सताई रहनु भन्दा त
यसै पालि मरे
टन्टै साफ हुन्छ
आन्दोलन चले चल्छ
नगद दश लाख र
सहिद घोषणा गरे पुगिहाल्छ
बरु तपाईंहरू चैँ
नमर्नुहोस् अहिल्यै
नभए त्यो काग–गिद्दले
लुछी–लुछी
भोलि कसलाई खान्छ ?
०००
स्टिकर ...
भो अब नपठाऊ
‘प्रेम’ ले भरिएका
कुनै ‘स्टिकर’
मेरो ‘म्यासेन्जर’ मा....
००
कठै ! यो जाडोमा
तिमीले पठाउने गरेका
ती स्टिकरहरूमा
म पग्लिए भनेँ
पानी पानी हुन्छु होला
र बग्दै बग्दै गएर
कोसीमा हराउँछु होला
जमेर कतै ढुंगा भए भने
छेउमा बसेर एकतमास
आउने–जानेहरूमा
तिमीलाई नै खोजी रहन्थे हुँला ।
००
उड्दै आउने धुप कुहिरोको
कोमल पदचापहरूमा
लहरिँदै बहि रहने
हावाका मन्द सुसेलीहरूमा
तरेली परेका फाटहरूमा
असरल्ल छरिएका
शीतका चिसा थोपाहरूमा
निहारी रहँदा तिम्रो आकृति
बिहानीपख
फैलँदै गरेका
घामका उज्याला किरणहरूमा
सुस्तरी सुस्तरी
म हराउँथे हँुला....
००
हराए भने यसरी फेरि तिमीलाई
म कहाँ पाउला ?
००
गहिरो गहिरो
सधैँ डुबीरहन मन लाग्ने
ती आँखा
मिठो मिठो
सधैँ चुमीरहन मन लाग्ने
ती ओंठ
के म भुल्न सकुँला ?
त्यसैले भो अब नपठाऊ
‘प्रेम’ले भरिएका
कुनै ‘स्टिकर’
मेरो ‘म्यासेन्जर’ मा....