अहिले सञ्चार माध्यमलगायत विचार निर्माण गर्नेहरूले दुईवटा गल्ती गरेको देखियो । पहिलो शेरबहादुर देउवाको दानवीकरण र अर्को केपी ओलीलाई गाली गर्ने क्रममा पुष्पकमल दाहाल र माधवकुमार नेपालको सबै खतबात माफ ।
मूलतः शेरबहादुर देउवा कम्युनिस्टहरूको बुई चडेनन् भनेर अहिले उनलाई खलनायक बनाउन खोजिएको छ । यो पटक्कै न्यायोचित होइन । ओलीको नियत चुनावै नगराउने देखियो र त्यतिबेला पनि देउवा यसरी नै गोलमटोल भाषामा बोल्न थाले भने उनलाई नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीबाट निकालिदिए पनि अन्याय हुँदैन । अहिले नै पनि देउवाले प्रतिनिधि सभा भङ्ग गर्नु ठीक हो भनेका हुन् भने उनलाई सामाजिक बहिष्कारै गरे हुन्छ । तर, उनले नगरेको अपराधका लागि सजाय दिनु अन्याय हुन्छ । प्रतिनिधि सभा विघटन यसपटक त देउवाले गराएका हैनन् नि ।
पुष्पकमल दाहालले दिएको धोका अरूले बिर्से पनि देउवाले कसरी बिर्सेलान् र ? बोधविक्रम अधिकारीको नेपाली दन्त्यकथामा संकलित ‘बिसेमिराको कथा’को भालुले जसरी धोका पाएका देउवाले दाहाललाई कसरी विश्वास गर्ने ?
आन्दोलनमा अगाडि नसरेको भनेर शेरबहादुर देउवालाई सामान्य नागरिकहरू वा उनकै पार्टीका साथीले पनि आलोचना गर्नु सुहाउला । तर, कम्युनिस्ट र राजावादीले देउवासँग किन सहयोगको अपेक्षा गर्ने ? अनि तिनैको लहै लहैमा सञ्चारकर्मी र कांग्रेसजन किन देउवाको खोइरो खन्न धुरिएका हुन् ?
हो ! शेरबहादुर देउवाले विगतमा लोकतन्त्रको हत्या गर्न राजालाई सघाएकै हुन् । संकटकाल लम्याउन हुन्न भन्दा पार्टी फुटाएका पनि हुन् । गिरिजाप्रसाद कोइरालाका नेतृत्वमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि आन्दोलन भइरहेकै बेला गोर्खाली राजाको प्रधानमन्त्री पनि भएकै हुन् । तर, तीमध्ये कतिपय क्रियाकलापमा त प्रतिगमन आधा सच्चियो भनेर माधवकुमार नेपालले पनि देउवालाई साथ दिएका हैनन् र ?
प्रधानमन्त्री केपी शर्मा ओलीको नियत चुनाव नगराउने नै हो भनेर ठोकुवा गरिहाल्नु पनि अलि हतार हुन्छ कि ? यद्यपि, अहिले प्रतिनिधि सभा भंग गराउनु नै पनि संविधानमाथि गरिएको तिनको अक्षम्य प्रहार भने हो । यसको सजाय तिनले पाउनै पर्छ । प्रतिनिधि सभा पुनःस्थापना भए जनताका प्रतिनिधिले र चुनाव भए जनताले तिनलाई सजाय पक्कै देलान् ।
परन्तु, केपी ओलीलाई खराब हुन् भन्न माधवकुमार नेपाल वा पुष्पकमल दाहालका सबै खतबात माफ गर्नुपर्ने हो र ? केपी ओलीलाई अहिलेको शक्ति दिलाउने यिनै दाहाल र नेपाल हैनन् ?
निर्मलालाई न्याय माग्दा वा डा. गोविन्द केसीको अनशनका बेला कहाँ थिए यिनीहरू ? अहिले बढो जनताका पक्षधर देखिन खोज्ने योगेश भट्टराईले डा. केसीको अनशन भाँड्न के के गरेका थिए ? यिनले जति नै अग्रगमन र पश्चगमनको डंका पिटे पनि ओलीको संविधान विरोधी कामको यिनले कहिल्यै विरोध गरेका थिए ? दाहालका पुराना खतबात थाती राखे पनि ओलीको मतियारका रूपमा गरेका सबै क्रियाकलाप बिर्सेर यिनलाई महान् राजनेता ठान्नुपर्ने हो ? सामाजिक सञ्जाल नियमनका नाममा पत्रकारिताको घाँटी रेट्न प्रस्तावित विधेयकहरूका विपक्षमा यिनीहरू कोही बोलेका थिए ?
‘पाटनका ६ प्रधान’ले जसरी राजकाज चलाउन पाएका भए यिनलाई लोकतन्त्रको चिन्ता लाग्ने थियो कि थिएन होला ? राजदूतदेखि राजनीतिकमात्र हैन निजामती सेवाको नियुक्तिसम्मको खटनपटनमा खटपट नभएको भए ५० वर्ष शासन गर्ने गुड्डी हाँक्न यिनले छाड्थे होलान् ? ओली सरकार गठन हुनेबित्त्तिकै देखि लोकतान्त्रिक मूल्यहरूमाथि आक्रमण हुँदा अहिलेका नेकपाका नेताहरूले के हेरेर बसेका थिए ?
ओलीले राज्यका सबै अंगलाई प्रभावहीन बनाइदिएका छन् । त्यति बेला यी कोही बोले ? मुस्लिम आयोगमा योग्यता नै नपुग्ने व्यक्तिको नियुक्ति हुँदा र संसदीय सुनुवाइ समितिले नै जालझेल गरेर म्याद गुजारी स्वतः अनुमोदित बनाउँदा यिनीहरूमध्ये कोही बोले ? विद्यार्थी छँदा नेपाल विद्यार्थी संघमा लागेकै कारण दीपकराज जोशीलाई संसदीय सुनुवाइमा यिनै कम्युनिस्टहरूले अनुमोदन नगरेका होइनन् ? त्यसले विधि र पल्धति बसायो कि बिगारेको छ त ? प्रधानमन्त्री निवासलाई पार्टी केन्द्रीय कार्यालय सरह बनाएर राज्यका साधन स्रोतमा ब्रह्मलुट हुँदा त यिनीहरू कोही कहिल्यै बोलेनन् । अर्थतन्त्र सिध्याउने षड्यन्त्र स्वरूप जारी गरिएको जाली श्वेतपत्रको यी कसैले विरोध गरे ? सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनजस्ता सरकारका संविधान विरोधी प्रस्तावहरूको अहिले विधि, पद्धति र संविधानको चिन्ता देखाउनेहरूले विरोध गरे ?
त्यसैले दाहाल र नेपालले चर्को स्वरमा ओलीको विरोध गरेभन्दैमा संविधानका रक्षक हुने र तिनले भनेकै भरमा शेरबहादुर देउवा प्रतिगमनकारी ठहरिने होइन । शंकाको सुविधा दाहाल वा नेपालले भन्दा त देउवाले नै धेरै पाउँछन् ।
कम्युनिस्टहरूलाई त देउवालाई खलनायक बनाउँदा फाइदै होला । तर, कांग्रेसलाई त नोक्सानै पर्ला नि हैन ? चुनावका बेलासम्म यी जरासन्धहरूलाई एक बनाएर पालनपोषण गरी शक्तिशाली बनाउन चिनियाँ वा अरू कसैले जरा राक्षसीको अवतार लिँदैन भनेर कसैले ठोकुवा गर्न सक्छ ? बरू यही बेला बुद्धि पुगे जरासन्ध सधैँका लागि मासिन सक्छ । देशको भलो त त्यसरी पो होला !