बीबीसी । कोरोना महामारी चलिरहेका बेला ‘फ्रन्टलाइन’मा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले उपहारस्वरुप नागरिकता प्रदान गर्ने भएको छ ।
आन्तरिक मन्त्रीले जानकारी दिएअनुसार कोभिड–१९ विरुद्धको प्रयासमा मद्दत गर्ने सबै आप्रवासीहरुले स्थायी नागरिकताका लागि आवेदन दिन सक्छन् ।
कार्यक्रमअन्तर्गत् अहिले ७०० भन्दा धेरै नयाँ नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा रहेका छन् । जसमा सरसफाइ गर्नेहरुदेखि, पसल चलाउने र स्वास्थ्यकर्मीहरु समावेश छन् ।
विश्वव्यापीरुपमै फ्रन्टलाइनमा खटिएका मानिसहरु कोभिडबाट सबैभन्दा बढी बिरामी परेका छन् । तर, ज्यान जोखिममा पारेर भए पनि उनीहरु आफ्नो काम र जिम्मेवारी पूरा गरिरहेका छन् ।
बिरामीको उपचारकै क्रममा डाक्टर, नर्सलगायत अनगिन्ती स्वास्थ्यकर्मीहरुको मृत्यु पनि भएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकहरुमा फ्रान्स पनि शीर्ष दशमा पर्दछ । जहाँ २५ लाख बढी बिरामी छन् भने ६२ हजारको मृत्यु भइसकेको छ । वास्तवमा नागरिकताले पुरस्कृत गर्ने योजनाबारे सेप्टेम्बरमा नै घोषणा गरिएको थियो ।
अहिले ७० भन्दा धेरै आप्रवासीहरुले फ्रेन्च पासपोर्ट प्राप्त गरिसकेका छन् भने ६९३ प्रक्रियाको अन्तिम चरणमा छ । हालसम्म दुई हजार ८९० जनाले यसका लागि आवेदन दिएको बताइएको छ ।
मंगलबार नागरिकतासम्बन्धी मन्त्रीले भनेका हुन्, “स्वास्थ्यकर्मी, सरसफाइ गर्नेहरु, बालबालिकाको रेखदेख गर्ने कर्मचारी, चेकआउटका स्टाफ सबैले यो देशप्रति आफ्नो दायित्व साबित गरेका छन् । त्यसैले अब उनीहरुको समर्पणबापत् पुरस्कार दिने पालो हाम्रो हुन्छ ।”
अन्य अवस्थामा नागरिकताका लागि आवेदन दिनेहरु फ्रान्समा कम्तीमा पनि पाँच वर्ष बसेको हुनुपर्ने, स्थायी जागिर हुनुपर्ने हुन्छ । तर, यो नयाँ कार्यक्रमअन्तर्गत् सरकारले फ्रान्समा दुई वर्षमात्र बसेको भएपनि फ्रन्टलाइनमा खटेकाहरुलाई नागरिकता पाउनयोग्य भएको बताएको छ, जसले देशलाई संकटको समयमा सेवा गरेर ठूलो उपकार गरेका छन् ।