site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मुलुक अनिश्चयको भुमरीमा

संसद्मा झन्डै दुईतिहाइ बहुमत लिएर सरकारमा बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विभाजनको अन्तिम विन्दुसम्म पुगेको छ । नेकपाका दुई अध्यक्ष बेग्लाबेग्लै धुरीमा बाँडिएका छन् । आन्तरिक लामो रस्साकस्सीमा टिक्न वा मिलाउन नसकेर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिए । उनी ‘कथित’ चुनावी प्रचारमा शक्ति लगाइरहेका र आफ्नो कदमको बचाउमा तर्क कुतर्क गरिरहेका छन् ।  नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीको प्रयत्नलाई परास्त गर्न प्रतिरोधका कदम चाल्दैछन् । 

लोकतान्त्रिक जनमतबाट सरकारको नेतृत्वमा आसीन केपी ओलीको असीम सत्ता महत्त्वाकांक्षाको परिणाम मुलुकको लोकतान्त्रिक राजनीतिको भाग्य भरोसा अदालतको आँगनमा आश्रित भएको प्रत्यक्ष छ । ओलीद्वारा विघटित प्रतिनिधिसभा ब्युँत्याइने कि अवसानमा पाने  अनिश्चित छ । त्यस्तै नेकपा भागबन्डामा ओली वा दाहाल कुन समूहमा कसको भागमा पर्छ ? डाडुपन्यु समाएको निर्वाचन आयोगको हातमा पुगेको छ । अदालत र आयोगको अन्तिम फैसलापछि नेकपाको अस्तित्व विभाजनले कानुनी वैधता पाउनेछ ।  

दलीय प्रणालीमा दल विभाजनलाई सकारात्मक मानिदैन तर दल विभाजनको अवसर पनि दलीय प्रणालीले नै दिएको हुन्छ । अन्य प्रणालीमा यस्तो कल्पना गर्ने ठाउँ नै हुँदैन । विभाजन दलीय प्रणालीको लागि सुखद होइन र पनि दलहरुमा सानो, ठूलो विभाजन परम्पराजस्तै बनेको छ । विभाजन सधैँ खराब नै हुन्छ भन्ने पनि छैन । कारण जे दिएर पनि हुने विभाजनलाई सकभर रोक्न वर्तमान संविधानमा दलको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ  कमसेकम चालीस प्रतिशत सदस्य हुनुपर्ने प्रावधान राखिएको हो । यो प्रावधान दलीय संरचनाको स्थायित्वको पक्षमा देखिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा संसद् विघटन नै हुनेगरी अदालती फैसला आयो भने समिति र दल दुवैतर्फको उक्त प्रतिशत अनिवार्य हुने देखिँदैन । यस कारण अदालतको फैसलाअघि निर्वाचन आयोगले नेकपा विभाजनको प्रमाणपत्र देला भन्न पनि सकिँदैन । किनभने संसद् विघटन वा पुनःस्थापना जे फैसला होला त्यसले संविधानको उक्त प्रावधानलाई असर गर्नेछ । 

अदालत र आयोगको अन्तिम फैसलाअघि नेकपा विभाजन राजनीतिक तहमा मात्र रहने र कानुनी आधिकारिकताका लागि पर्खनु पर्नेछ । त्यसो त यतिबेला कानुनी मार्गमा नै हिँडिन्छ भन्ने विश्वासिलो दृश्य छैन । प्रधानमन्त्री ओलीले विभाजनलाई सहज बनाउने अर्को अध्यादेश ल्याएर राष्ट्रपतिबाट लालमोहर लगाउन पनि सक्नेछन् । 

Global Ime bank

कानुनी प्रक्रिया व्याख्या गर्नेहरु कार्यकारी पक्षसँग लहसिएको वा तटस्थ फैसला गर्ने हैसियतमै रहेको परिदृश्य केही दिनमै बाहिर आउला । सुनिन्छ, कानुन हेर्नेहरु नै कार्यकारीसँग भागबन्डामा लागेको प्रतिविम्ब फैसलामा आउला कि ? जे आउला तर अहिले फुटको विन्दुमा पुगेको नेकपाको राजनीतिक विभाजन करिब पूरा भएको छ । 

अध्यक्ष दाहाल समूहले केन्द्रीय समिति र संसदीय दलको अत्यधिक मतले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षसमेत दलको नेताबाट पनि निष्कासन गरिसकेको पत्र आयोगमा बुझाएको छ । अध्यक्ष ओली समूह सत्ताको सुविधामा साम, दाम, दण्ड, भेद सबै उपाय प्रयोग गरेर नेकपा हत्याउने कि नेकपा (एमाले) जगाउने भन्ने दोबाटोमा छ । 

तीन वर्षअघि नेकपाका दुई घटक माओवादी केन्द्र र एमालेको अवसान गरी जन्माइएको सिद्धान्तहीन गठजोडलाई एकताको नेकपा भनिएको थियो । नेकपाको आश्चर्यजनक घोषणासँगै विभाजनको नियति पनि निहित थियो । कारण सिद्धान्तहीन र सत्ता स्वार्थ प्रेरित गठजोड थियो नेकपा । स्वार्थ प्रेरणाले नै दुई अध्यक्ष बनाइएको हो । सिद्धान्त तीलाञ्जली दिएर भागबण्डामा बनाइएका र भिन्न सोचबाट आएका दुई अध्यक्षबीच हिस्सेदारी तलमाथि पर्नेबित्तिकै घर्षण स्वाभाविक र अन्ततः विभाजनको तहमा पुग्नु अन्यथा होइन । दाहाल समूहमा बनाइएको पुनः दुई अध्यक्ष (माधव नेपाल) को नेकपाको नियति पनि पर्ख र हेरमा छ ।  

नेकपा विभाजन हुनैपर्ने थियो । अधिनायकवादी एकाधिकार कायम गरेको कम्युनिस्ट सत्ता दमनको साहाराले मात्र दुनियाँमा टिकेको देखिन्छ । प्रतिस्पर्धी समाजमा एकाधिकारवादी सोच टिक्न सक्दैन र परिणाम कम्युनिस्टहरु जहाँतहीँ विभाजित, असफल र कमजोर भएको नै पाइन्छ । प्रतिस्पर्धात्मक लोकतान्त्रिक नेपालमा पनि यही सूत्र लागू हुनु स्वाभाविक हो । प्रतिस्पर्धी दुनियाँको यस्तो उदाहरणको अपवाद नेपाल कम्युनिस्ट पार्टी बन्ने सम्भावना नै थिएन । 

यसर्थ नेकपा विभाजन स्वाभाविक हो तर प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली नै भत्काउने गरी चालेको कदम भने कम्युनिस्ट ‘स्कुलिङ’को एकाधिकारवादी धङधङी नै हो । उनले लोकतन्त्रका लागि चौध वर्ष जेल बसेको दाबा कति नक्कली रह्यो भन्ने तथ्य आखिर कम्युनिस्ट अधिनायकवादी प्रयत्नमा अहिले प्रकट भएरै छाड्यो । 

संसद् विघटनसँगै उनले गरेको निर्वाचन घोषणा निर्वाचन गराउनकै लागि होला त ? अहिले उनी जनमत परीक्षण लोकतन्त्रको सुन्दर पक्ष रहेको बयान दिएर विघटन र चुनाव घोषणालाई वैध ठहर्याउने लोकतन्त्रवादी जामा पहिरिँदै छन् । चौध वर्षे जेल बसाइको कथालाई लोकतन्त्रकै पर्यायजस्तो बताउने उनको अहिलेको जनमतको दुहाइ पनि हुनसक्छ ? सबै निश्चित भए हुन्छ, ओलीले आफ्नो प्रतिकूल हुने देखेमा  निर्वाचन गराउने छैनन् । अरु बखेडा र अराजकता उत्पन्न गरेर पनि उनी कुर्चीमा टाँसिने छन् । उनको लोकतन्त्र त्यही हो । जनमत र लोकतन्त्रको हेक्का राख्थे भने त कम्युनिस्ट ओली असंवैधानिक निर्णय लिन हच्किने थिए नि !  

जनप्रतिनिधिसभाको अस्तित्वमा खड्ग प्रहार गरेका नेकपा अध्यक्ष ओलीले यात्राको अन्तिम गन्तव्य संविधानको अवसानसम्म पुर्याउने छन् । चुनावी घोषणा उनको उद्देश्यमा पुग्ने बिसौनीमात्र हो, गन्तव्य होइन । गराउने त यो संविधानको समाप्ति नै हो । हेर्दै जाऊँ । गए साताकै बिहीवार पनि यस्तै पंक्तिमा नेकपा अध्यक्ष, प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने कुरा मैले लेखेको हुँ । संविधानमा दबाब बढेको दोहोर्याई, तेहेर्याई लेख्दैगर्दा अब थिचिने, मिचिने र अन्ततः च्यातिने अवस्थामा पुगे, पुर्याइएको छ संविधानलाई । सात दशकको अवधिमा आठौं संविधानको अभ्यास गर्नुपरे दुनियाँलाई आश्चर्य होला, हामीलाई अनौठो हुनेछैन । 

प्रधानमन्त्री ओलीले राज्ययन्त्रलाई आफ्नो स्वार्थमा वैध, अवैध प्रयोग सुरुदेखि नै गर्दै आएका हुन् र संविधानको रक्षक मानिने राष्ट्रपतिलाई पनि सांसद्को शपथ नलिएकै अवस्थामा आफूलाई प्रधानमन्त्रीको शपथ दिलाउन सुरुमै बाध्य पारेका थिए । कानून, विधेयक र मन्तव्य सबै एकाधिकार कायम गर्ने उद्देश्यका थिए उनका ।    

निश्चित छ , केपीको उपस्थिति प्रधानमन्त्रीमा रहँदासम्म घोषित मितिमा चुनाव हुनेछैन । किनभने केपी ओलीको अबको राजनीति पराश्रित भएको छ । उनले आफूले पाएको जनमतको आधारलाई आफैँले लत्याएका छन्, भत्काएका छन् । हुँदाछँदाको जनमतको भरोसालाई लत्याउने ओलीले पुनः जनमतको दुहाइ दिनु जति अमिल्दो छ त्यति नै उनको राजनीति पराधीन भएको छ । उनले आफ्नो सत्ता इच्छा बचाइराख्न अरुको इच्छासँग सम्झौता र भरोसा गर्नुपर्ने भएको छ । यो अवस्था संविधान र राष्ट्रका लागि घातक परिणाम ल्याउन ‘अभिशप्त’ बनाए उनले ।

प्रधानमन्त्री ओली सम्पोषितबाहेक सम्पूर्ण जनमत उनको निर्णयविरुद्ध मुखर छ । संविधानविद्हरुको ठूलो पंक्ति प्रतिनिधिसभा विघटन संविधानविपरीत भएकोमा एकमत छन् । सबैले अवैध भनेको प्रधानमन्त्रीको कदमको पक्षमा कुनै पनि स्वतन्त्र र विवेक भएको व्यक्ति वा समूह लाग्ने सम्भावना देखिँदैन । राष्ट्र र लोकतन्त्रभन्दा पनि राजनीतिक स्वार्थ प्रेरित केही समूह ओलीले सल्काएको आगोमा रोटी सेक्ने दाउमा यहाँ होलान् । सामरिक मतलब हेर्ने वाह्य शक्तिको पनि आफ्नै दाउ होला । सबैलाई खेल्ने मौका नेकपाले दिएको छ र राष्ट्रलाई घायल बनाउने खड्ग उज्याइएको छ । 

संविधानलाई समाप्त गर्ने प्रायोजित घटनाको पाश्र्व पात्रमध्ये एकजना उद्भटको कसैले यहाँ चर्चा गरेको छैन । उनी धेरैपटक सभामुख र संविधानसभा अध्यक्ष भइसकेका सुबास नेम्वाङ हुन् र कानुनवेत्ता पनि ।  

केपी ओलीको उत्तराधिकारी बन्ने नेम्वाङको आकांक्षा अन्यथा होइन । उनले जानी नजानी  अध्यक्ष ओलीको वैध, अवैध निर्णयलाई साथ वा प्रेरणा दिएको प्रस्टै छ । बाहिर बोल्दा शालीन, सन्तुलित देखिने नेम्वाङको कानुनी पृष्ठभूमिसँग प्रधानमन्त्री ओली विश्वस्त पाइन्छन् । सबैले अवैध भने पनि नेम्वाङको कानुनी आडसमेत प्रधानमन्त्रीको ‘अवैध’ कदमको भरोसा हो तर परिणाम को कहाँ पर्छ अहिल्यै खुल्दैन, पर्खनै पर्छ । आफ्नो आकांक्षा गोप्य राखेर पूरा गर्ने माहिर राजनीतिक खेलाडी रहेछन् सुवास नेम्वाङ । नेकपाको उहापोहका एक पाश्र्व तर प्रभावी खेलाडी हुन् यिनी ।     

अन्ततः नेकपा आधिकारिकरुपमै टुक्रिनेछ तर परिणाम त्यत्तिमै सीमित रहनेछैन । वर्तमान संविधानको प्रावधान विपरीत उभिएका प्रधानमन्त्री ओलीको कदम चुनावमा पुगेर थन्किने भए उनले यसअघि पाएको मत चुनावको फतिफल नै त थियो । नेकपाका नेताले नै काम गर्न नदिएको कारण संसद् विघटन गरेको भन्ने प्रधानमन्त्री ओलीले सरकारले गरेका काम बखान्न समर्थकलाई उर्दी गर्नु वा आफै फेहरिस्त दिनु स्वयंमा विडम्बनापूर्ण छ ।

लाग्छ, ओली उत्पन्न संकट समाधान गर्न नेपालका अरु राजनीतिक दल समर्थ बन्न सक्दैनन् कि ? यस्तोमा ओलीको लगाम अर्कैको हातमा पुग्नेछ र नेपालको नियति अर्कैले कोर्नेछ । त्यसपछि ओलीको राजनीतिक उपयोगिता पनि खतम हुनेछ । सत्ता दम्भ र असीमित लालसाले स्वयं फसेका प्रधानमन्त्री ओली माध्यम कहाली लाग्दो अनिश्चयको भुमरीमा मुलुक, प्रणाली र जनतालाई फसाइएको छ । बहुकोणीय सम्भावनाहरु सधैँ अनिश्चित नै हुन्छन् र धेरैजसो दुर्घटनाउन्मुख पनि । भुमरीमा संविधान परेको छ, संविधान राष्ट्र, राजनीतिको समग्र विम्ब हो ।  

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC