site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुई तिहाईका प्रधानमन्त्री सैन्य कब्जामा
Sarbottam CementSarbottam Cement

राजाले कु गर्नुभन्दा तीन दिनअगि मात्र प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्री निवास त्रिपुरेश्वर गएका थिए । उनले ‘मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसकेको’ भन्दै ‘देश छाडेर भागौं’ भन्ने प्रस्ताव गरे । राणालार्ई सम्झाउँदै बीपीले भनेका थिए, “प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्नु हुँदैन । जे पर्छ, हामीले बेहोर्नुपर्छ ।”  मङ्सिर २९ गते बिहान पत्रकार मदनमणि दीक्षितलाई बीपीले नै अगिल्लो रात राणासँग भएको वार्तालापबारे सुनाएका थिए, “राजाले मलाई रूचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्णजीलाई प्रधानमन्त्री बनाउने राजाको इच्छा रहेको हो भने म विरोध गर्दिनँ ।” 

राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक सरगर्मी भने उच्च बिन्दुमा पुगिरहेको थियो । कुन बेला के हुने हो, कसैलाई थाहा थिएन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मङ्सिर ३० गते राति सुत्नै सकेनन् । मध्यरातमा घोडचढीको टक्करबक्कर सुनियो । ‘सकेछन् कि क्या हो’ भन्ने लाग्यो राणालाई । राजप्रासादको घोडचढी सिपाही (रिसल्ला) राति १२ बजे अचानक बबरमहल पुग्यो । राणाले भनेका छन्, “अन्धकार सन्नाटामा घोडचढी मेरो घरको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार पर्‍यो ? दरबारको पत्र मेरो नाममा ! दश वर्षको राजनीतिक जीवनमा कहिल्यै नभएको कुरा आज हठात् किन ? आज सिद्ध्याउँछन् कि भोलि भन्ने गजबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर लिफा च्यात्न थाले– ‘भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव ।’ आश्चर्य त के भने ‘दर्शन पाउँ सरकार’ भनेर बिन्तीपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन ।” (गौतम, २०६१ : ५५)

त्यही दिन उनी दिल्ली उड्ने तरखरमा थिए । एक सातादेखि जहाजको टिकट उनको गोजीमै थियो । कु को हल्लाले राजनीतिक सरगर्मी उच्चतम बिन्दुमा रहे पनि राजधानी भने मुटु कमाउने चिसो र हुस्सुले डम्म ढाकेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उता नारायणहिटी दरबारमा राजा महेन्द्र पनि जाग्रामै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेरमाथि पनि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा कांग्रेसको मुक्ति सेनाका कमान्डरहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन ।

पूर्व प्रधानसेनापति रूकमाङ्गद कटवालले आफ्नो आत्मकथामा पुस १ को अगिल्लो रात राजासँग भेटेको प्रसङ्ग उल्लेख गरेका छन् । पूर्वाञ्चलको भ्रमणका क्रममा ओखलढुङ्गा गएका बेला राजाले उनलाई काठमाडाैं ल्याएर पढाएका थिए । राजासँग दर्शनभेट सकिएपछि हरेक पटक दरबारले ५० रूपैयाँ दिने गरेको थियो । कति बेला पैसा पाइएला भनेर उत्साहित थिए कटवाल । “दर्शनभेटका लागि अपराह्न साढे तिन बजेको समय दिइएको थियो । भित्ते घडी हेर्दाहेर्दै एक, दुई, तिन हुँदै पाँच घण्टा बित्यो । रातको आठ बजे सिपाहीले खाना ल्याइदिए ।” खाना खाएपछि उनी त्यहीँ निदाए । मध्यरातमा ड्युटीमा रहेका सैनिकले उनलाई सरासर राजाको कार्यकक्षमा पुर्‍याए । राजा एक्लै छन् । चुरोटको धुवाँले कुहिरीमण्डल बनेको कोठा, टेबलमा यत्रतत्र कागजपत्र छरपस्ट छन् । सधैं पढाइबारे मात्र सोध्ने राजा, अचम्मको प्रश्न राख्छन् । कटवाल छक्क परे । कक्षा नौको फाइनल परीक्षा दिएर बसेका उनलाई राजाले सोधे, ‘हाउ म्यानी गर्लफ्रेन्ड यु मेड ?’ कटवाल लाजले बोल्नै सकेनन् । राजाले फेरि त्यही प्रश्न दोहोर्‍याए, ‘तिमीले एउटा त बनाउनै पर्छ ।’ १० मिनेटको भेटमा राजाले एकपछि अर्को गर्दै चुरोट सल्काइरहे । (कटवाल, सन् २०१४ : ९०–९१)

Global Ime bank

भोलिपल्ट पुुस १ गते बिहानैदेखि काठमाडाैंका सडक, गल्ली र चोकहरुमा सेनाका बख्तरबन्द गाडी ओहोरदोहोर गर्न थाले । कांग्रेस महामन्त्री श्रीभद्र शर्मा लेख्छन्, “घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रूदिलो र बुदिलो बन्छ । त्यस्तो दिनलाई संस्कृतमा दुर्दिन भनिन्छ । रातिदेखि बुदाबुदी पानी परेको र आकाश पूरै कालो बादलले ढाकिएको । चिसो बतासले मुटु कमाउने र कुहिरोले गर्दा दृष्टि परसम्म फैलिन नपाउने दुर्दिन थियो पुस १ ।” (शर्मा, २०५७ : ४८)

राजाले कु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो मुटुभित्र बन्द गरेर राखेका थिए । स्वयं कु का योजनाकार डा. तुलसी गिरीलाई समेत पुस १ मा राजाले सत्ता लिन्छन् भन्ने सुइँकोसम्म थिएन । गिरी भन्छन्, “हुन त मसँग कुरा भएरै एक्सन प्लान राजाले बनाएका हुन्, तर यही दिन भन्ने जानकारी भएन ।”  
त्यही बिहान डा. गिरी गृह मन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न उनको निवास गएका थिए । उनले उपाध्यायसँग सोधे, “सहरभरि सिपाही मात्र छन् । तपाईं गृह मन्त्री, केही हुनेवाला छ ?” उपाध्यायले भने, “खै, मलाई त केही थाहा छैन । हेर डाक्टर, यो गृह मन्त्री हुनुभन्दा त सामान्य सिपाही भएको भए केही थाहा हुन्थ्यो कि ? हिजो सुवर्णजीसँग बाटोमा भेट भएको थियो । ‘ल बाईबाई, म त कलकत्ता गएँ’ भनेर हिँडे ।”  पुस १ गते बिहान मात्र राजाले सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू मुलुकको शासनभार हातमा लिने निष्कर्षमा पुगेको सुनाए, “तिमीहरु सहयोग गर्ने भए गर, नत्र दरबारको सेनाले यो काम गर्नेछ ।” सेनापति राणाले सोधे, “सरकारबाट कहिलेदेखि यो कदम उठाइबक्सन्छ ?” राजाले भने,  “अहिले नै ।” 

राजाको आदेश सुनेपछि प्रधानसेनापतिले आश्चर्य जनाउँदै भने, “सरकार, यो त व्यवस्था विपरीत हुन्छ । चुनिएर आएको सरकारलाई गिरफ्तार गर्दा सरकारलाई नै नराम्रो पर्छ ।” रिसाएर राजाले उनलाई दरबारमै बस्न आदेश दिए । सेनामा उनीपछिका जर्नेल सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन् । सेनाको नेतृत्व कु को पक्षमा नदेखिएपछि राजदरबारभित्रका जनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न राजाले सैनिक खटाए ।

पुस १ गते बिहान ५ बजे नै विपक्षी दलका नेता भरतशमशेर राणा प्रधानमन्त्री भेट्न गएका थिए । दुई नेताबीच राजाले आजै कु गर्न सक्छन् भन्ने विषयमा कुरा भयो । अर्कोतर्फ प्रधानमन्त्री बीपीका भतिजा शेखर कोइराला शान्तभवन (हालको पाटन अस्पताल) अस्पतालमा टन्सिलको उपचार गराउँदै थिए । त्यही दिन अप्रेसन हुँदै थियो । शेखर भन्छन्, “बिहान बीपी बाबा अस्पताल आउनुभयो र त्यहीँ उहाँले भन्नुभएको थियो– आज राजाले समाउँछन् होला । त्यसको केही बेर पछि उहाँ समातिएको खबर अस्पतालमा आइहाल्यो ।”  

शेखरलाई भेटेर ९ः३० बजे उनी सिधै नेपाल तरूण दलको महाधिवेशन उद्घाटन गर्न थापाथलीस्थित तुङ्गशमशेर राणाको दरबार पुगे ।

प्रधानमन्त्री सैन्य कब्जामा

बीपीले भाषण सक्नै लाग्दा दरबारका जनरल समरबहादुरलाई बर्दीमा मञ्चतर्फ आउँदै गरेको देखे । केही समयमै कर्नेलले प्रधानमन्त्रीका अङ्गरक्षकलाई बाहिर आउन इसारा गरे । त्यसपछि सेनाले सम्मेलनस्थल घेरिहाल्यो । प्रधान सेनापतिको रोलमा रहेका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए । प्रधानमन्त्रीलाई स्यालुट ठोके । अनि सुरूमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । त्यो दृश्य हेर्ने बित्तिकै गृह मन्त्री सूर्यप्रसाद उपाध्यायले भने, “ल सकियो !” उनले प्रधानमन्त्रीलाई भने, “देख्नु भएन, तपाईंको बडीगार्डको पिस्टल खोसेको !” (कोइराला, २०६७ : २७९)

बीपीले १५ सेकेन्डजति कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि जर्नेल शाहले ‘उहाँलाई पनि’ भनेर देखायो, अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईतर्फ देखायो । मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई ‘तपाईंहरु सभा चालू राख्नुहोला’ भनेर बीपी बाहिरिए । त्यो दिनको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन्, “सेनाको दोस्रो दर्जामा रहेका कमान्डर इन चिफ सुरेन्द्रबहादुर शाहका ओठमुख सबै सुकिसकेका थिए । उनलाई समरबहादुरको आदेशमा खटाइएको थियो । समरबहादुरले जस जसलाई गिरफ्तार गर्न भन्यो, शाह उनीहरुलाई जिपमा बस्न अनुरोध गर्दै थिए । (गौतम, २०७१ : ३५)

थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो । 

नेपाल तरूण दलको अधिवेशन स्थलबाट सेनाले कब्जामा लिँदा समेत राजाले आफूलाई गिरफ्तार गरेर जेलमै पठाउलान् भन्ने बीपीले सोचेका थिएनन् । उनले भनेका छन्, “मलाई दरबार लगिनेछ र राजाले मलाई बर्खास्त गरेर आफैँले सत्ता लिएको बताउनेछन् । मैले यति मात्र सोचेको थिएँ ।” (कोइराला, २०७१ : १३४)
बीपी सहित मन्त्रीहरु शिवराज पन्त, जमानसिंह गुरूङ, प्रेमराज आङ्देम्बेलाई विलियार्ड घरमा ६० दिनसम्म थुनियो । मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई बरफवागमा राखियो । नेताहरुलाई बन्दी बनाएपछि मात्र रेडियो नेपालबाट अपराह्न साढे ३ बजे शाही घोषणा प्रसारण भयो । अनि देशभर पर्चा छरियो । त्यसका लागि हेलिकप्टर (वेल ४७ जी ३) प्रयोग गरिएको थियो । (सिंह, २०५१ : १४३)

“अमेरिकी सरकारले टेलिग्राम र दूरसञ्चार व्यवस्थाका निम्ति दिएको त्यो हेलिकप्टर मङ्सिर २५ गते मात्र नेपाल ल्याइएको थियो ।” (देवकोटा, २०३६ : ५५४)

राजाले क्षणभरमै प्रजातन्त्र समाप्त पारे तर त्यसको प्रतिरोध गर्ने उपाय जननिर्वाचित सरकारसँग थिएन । हुन त कु गरेको दिन राजा महेन्द्र तनावमा थिए । चैनसँग निदाउन सकेनन् । राति अकस्मात् दरबारभित्रै टहल्न निस्केछन् । दरबारभित्र मान्छे हिँडिरहेको देखेपछि गार्डले ‘को हो’ भनेर राजालाई रोकेछ । बीपीले भनेका छन्, “उनी निक्कै अत्तालिएका थिए । त्यस बेला मलाई के विश्वास भएर आयो भने ५० वटा उजी इजरायली सब–मेसिनगन हाम्रो हातमा रहेको भए उनी त्यसो गर्न सक्तैनथे । गर्न सक्तैनथे । गर्न सक्तैनथे । अहिले पनि म यो भन्छु । अहिले पनि ५० जना हतियारबन्द व्यक्तिहरुले यहाँ कु गर्न खोज्यो भने कसैको दम छैन यहाँ केही गर्ने । मेरो त्यो विश्वास छ । त्यहाँ त्यस दिन त सक्तैनथे । सक्तैनथे । सक्तैनथे ।” (कोइराला, २०६६ : २८०–८१)

कु विरूद्ध माइकिङ

फोटोग्राफीमा गहिरो रूचि राख्ने पत्रकार मदनमणि दीक्षित नयाँ सडकस्थित आफ्नै डेरामा बसेर छिँडीको डार्क रूममा फोटो धुलाउँदै थिए । त्यसैबाट पारिवारको खर्च पनि धानिएको थियो । पिपलबोट नजिकै ससुराली घरमा रहेका भाइ महेशमणि दौडिँदै आए र ‘दाइ दाइ’ भन्दै ढोका ढकढक्याउन थाले । मदनमणिलाई झन्डै छ सय रूपैयाँ बराबरको फोटो बनाउनु थियो । ढोका खोल्यो कि प्रकाश छिरेर सबै फोटो बिग्रेर दुई महिनाको तलब बराबर नोक्सानी हुने डर । उनले भने, “तिमी जाऊ, म काम सकेर आउँछु ।” 

फेरि महेश बाहिरबाट कराउन थाले, “दाजु, राजाले सत्ता हातमा लिए । बीपीलाई अपदस्त गरियो ।” भाइको आवाज सुन्ने बित्तिकै ढोका खोलेर मदनमणि बाहिरिए । “ला, फोटो बिग्रिए बिग्रियोस् !” अनायासै उनको बोली फुट्यो । नयाँ सडक, इन्द्रचोक, असन क्षेत्रमा दुई भाइ दिनभरि घुमे । सबैका मुखबाट एउटै कुरा सुनिन्थ्यो, “राजाले प्रधामन्त्री सहित मन्त्रीहरुलाई बन्दी बनाए । अब के हुने हो ।”

त्रि–चन्द्रका विद्यार्थी यादव खरेल टुँडिखेलतिर घुम्दै थिए । एकाएक भागडौड मच्चियो– प्रधानमन्त्री थुनिए, प्रधानमन्त्री थुनिए ! खरेल त्यो दिनको घटना सम्झिँदै भन्छन्, “वातावरण स्तब्ध छ । सडकमा मान्छेहरु फाट्टफुट्ट मात्र छन् । के हुने हो ? कसो हुने हो ? कानेखुसी चलिरहेको छ । त्रसित वातावरण छ । अहिले शान्तिवाटिका रहेकै ठाउँमा जुत्तामा किला ठोक्ने, आयुर्वेदिक औषधि र मालपुवा पकाएर कराउँदै बेच्ने व्यापारीहरु थिए । वातावरणमा पूरै सन्नाटा छाएको छ ।” क्षणभरमै चर्को आवाजमा ‘शाही कदम मुर्दावाद’ को नारा कानमै गुन्जियो । एउटा युवक जिपबाट जोसका साथ चर्को स्वरमा नाराबाजी गरिरहेको थियो । मुटु हल्लाउने काठमाडाैंको चिसोमा ‘शाही कदम मुर्दावाद’ भन्ने महसुर को होला ? खरेलले जिपतर्फ आँखा दौडाए– आफ्नै सहपाठी मार्शलजुलुम शाक्य ! बडो फुर्तीसाथ उनले नारा लगाएको देखेपछि त खरेल झन् चकित भए ।

मान्छेहरु कानेखुसी गर्न थाले । प्रधानमन्त्री सहित मन्त्रीहरु थुनामा परिसके । सांसदहरुको भागाभाग छ । यस्तो बेला माइकिङ गर्ने महसुर को होला ? नेपाल तरूण दल काठमाडौंका सचिव मार्शलजुलुम शाक्यलाई पुस १ गते हुने केन्द्रीय अधिवेशनको मञ्च बनाउने र सञ्चार व्यवस्था मिलाउने जिम्मेवारी थियो । थापाथलीबाट टेलिफोन लिन त्रिपुरेश्वर जाँदा प्रधानमन्त्री निवास सेनाले घेरिसकेको थियो । उनी टेलिफोन नलिई थापाथली फर्किए । कार्यक्रमस्थल सेनाको घेरामा छ– भित्रका भित्रै, बाहिरका बाहिरै । सेनाले आदेश गर्‍यो । सशस्त्र सैनिकलाई छक्याउँदै होचो कदका शाक्य मञ्चतिर उक्लिए । ‘प्रधानमन्त्रीलाई कहाँ लग्यो, कहाँ’ भन्ने चर्चा चलिरहेको थियो ।

शाक्यलाई लाग्यो– अब यहाँ बसेर केही फाइदा छैन । उनी फेरि नयाँ सडक हान्निए, त्यहाँ नारायण मानन्धरको रेडियो मर्मत गर्ने र बेच्ने पसल थियो । मानन्धर माइक, एम्प्लिफायर र ब्याट्री पनि बेच्थे । शाक्यले भने, “राजाले अति गरे । यसको त कडा विरोध गर्नुपर्ने ।” मानन्धरले भने, “ल, विरोध गर्ने । तिमीलाई के चाहियो ।” शाक्य सम्झन्छन्, “मैले भनें– शक्तिशाली माइक र ब्याट्री देऊ, म सहरभरि माइकिङ गर्छु ।” शाक्यले प्रयोग गरेको ८२१ नम्बरको जिपमा मानन्धरले माइक जडान गरिदिए ।

शाक्यसँग तरूण दलकै एक जना साथी थिए– भक्तपुरका भरतगोपाल झा । शुक्रवारको दिन, दिउसोको २ बजेतिर सरकारी अड्डा छुटेर कर्मचारीहरु नयाँ सडकमा जम्मा भइसकेका थिए । पिपलबोट आसपास मानिस टनाटन । राजधानी बाहिरबाट काठमाडौं आउनेहरु पनि नयाँ सडकमै जम्मा हुन्थे । शाक्यले जोड जोडले ‘शाही घोषणा मुर्दावाद’ को नारा लगाए ।

शाक्य भन्छन्, “नयाँ सडकमा मान्छेको भिड देखेपछि म झनै उत्साहित भएँ । हाल नेपाल वायुसेवा निगमको अफिस रहेको ठाउँबाट गाडी घुमाएर चर्को नाराबाजी गर्दै फेरि पिपलबोटतिरै लागें ।” सुन्धारा, त्रिपुरेश्वर हुँदै उनी त्यो दिन थापाथलीमा गएर सुते । भोलिपल्ट पुस २ गते बिहान फेरि मोटरमा माइक राखेर असन, इन्द्रचोक, लैनचौर, बागबजार लगायत पूरै काठमाडौंभरि माइकिङ गरे । पाटन जानका लागि खिचापोखरीबाट धरहरा पुगेका शाक्य त्यहीँ प्रहरीको फन्दामा परे । प्रहरीले शाक्यसँगै उनका साथी शङ्कर जोशी, चालक हरिनारायण र ८२१ नं. को जिप सहित पक्राउ गर्‍यो । केही दिन हनुमान्ढोकामा थुनेर उनलाई नक्खु जेल चलान गरियो ।

आतङ्कित सिंहदरबार

अपराह्न ३.३० बजे रेडियो नेपालबाट प्रसारण भएको शाही घोषणामा राजाले भनेका थिए, “शान्ति सुरक्षा कायम राख्न, देशलाई सङ्क्रमण स्थितिबाट बचाउन विशेष व्यवस्था जरूरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रिमण्डल र संसद्का दुवै सदनहरु समेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं ।”

रेडियो नेपालबाट शाही घोषणा पूरै बज्न नपाउँदै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आतङ्कित बन्यो । शाही घोषणाको अन्त्यमा ‘श्री पशुपतिनाथले देश र जनताको कल्याण गरुन् । जय नेपाल ।’ भनि नसक्तै सिंहदरबार सचिवालयमा चक्रव्यूहको ठूलो सङ्केत पाई तैनाथ भएर बसेका क्याबिनेट सेक्रेटरी (प्रमुख सचिव) जनरल चन्द्रबहादुर थापा (निजामती सेवामा भए पनि जङ्गी पदवीबाट विभूषित) ले मुखभरिको थुक निकालेर भैरव रुप धारण गरी ताण्डवको अभिनय गर्दै भने, “चोकका प्रवेशद्वार र अन्य नाकाका प्रवेशद्वारहरु पनि बन्द गर्नू ! सचिवालयभित्र केही मन्त्री र कांग्रेसी नेताहरु लुकेर बसेका छन् । तिनीहरु भाग्न नपाऊन् । कसैले उनीहरुलाई भगाएमा ठूलो सजायको भागी हुनुपर्नेछ ।”  

पुरातङ्खव तथा संस्कृति विभागका निर्देशक सत्यमोहन जोशी त्यो दिन सिंहदरबारस्थित आफ्नै कार्यालयमा थिए । प्रधानमन्त्रीलाई सिंहदरबारमै थुनियो भन्ने हल्ला एक कान दुई कान गर्दै फैलिएपछि हाहाकार भयो । “थापाको आदेशले सिंहदरबार सचिवालय स्तब्ध भयो । कर्मचारीका कलम अवरूद्ध भए । ‘लौ, क्याबिनेट सचिव त आफ्नै दलबलसहित लुकेर बसेका मन्त्री र कांग्रेसी नेताहरु पक्रन खोज्दै आए रे’ भन्ने सूचना सचिवालयभित्र प्रसारित हुन थाल्यो । फेरि क्षणभरमै सचिवालयलाई नै जङ्गीले घेरा हालिसक्यो भन्ने हल्ला आयो । सर्वत्र भयावह स्थिति सिर्जना भयो । नभन्दै एक जना मन्त्री, वेश बदलेर पछिल्तिरको ढोकाको खापा फोडी भागिसकेको हल्ला पनि पुष्टि भयो ।

क्याबिनेट सचिव र नारायणहिटी राजदरबारको सम्पर्क मात्र कायम गरी सिंहदरबारभित्रका भित्रै र बाहिरका बाहिरै भन्ने आदेश जारी गरियो । भित्र र बाहिरको टेलिफोन सेवा अवरूद्ध पारिएको थियो । कार्यालय छुट्टी हुने बेला वरपर आइसकेको भए पनि घर जान पाउने लक्षण भने देखिएको थिएन । सचिवालयका जुनसुकै कोठामा सर्वत्र उही कुरो चलिरहेको थियो– अब देशमा के हुने हो ! आज घर जान पाइने हो कि होइन ? सचिवालयका चमेना पसलहरुमा खाने कुरा त अगि नै सिद्धिसकेको थियो । पानी पनि खान नपाइने स्थिति आयो । क्याबिनेट सचिव थापाचाहिँ मुरमुरिँदै ओहोरदोहोर गर्दै थिए– ‘सचिवालयभित्र लुकेका सहायक मन्त्री जमानसिंह गुरूङलाई पक्राउ नगरून्जेल कुनै पनि कर्मचारी सचिवालयबाट बाहिर निस्कन पाउने छैनन् ।’ 

त्यति बेला केन्द्रीय सेक्रेटरियटमा रहेका ८५८ मध्ये ७२१ कर्मचारी काठमाडाैं उपत्यकामा थिए । जसमा ३८६ महिला थिए । ८८ जना कर्मचारी ग्य्राजुयट थिए भने ५० वर्ष नाघेकाको सङ्ख्या ४२ थियो । २००७ सालअगि भर्ना भएका कर्मचारीको सङ्ख्या ३५५ थियो ।

“अन्ततः धुइँधुइँती खोजेर पनि लुकेर बसेका सहायक मन्त्रीलाई फेला पार्न सकिएन । क्याबिनेट सचिवले नारायणहिटी राजदरबार (जहाँबाट रिमोट कन्ट्रोलको काम भइरहेको थियो) बाट आदेश प्राप्त गरेपछि मात्र सचिवालयका पहिलो र दोस्रो चोकका ढोकाहरु खोलिए । त्यति बेला बेलुकीको नौ बजिसकेको थियो ।” 

क्याबिनेट सचिव कर्मचारीको हुलमुलबाट मन्त्री उम्केर जान सक्छन् भन्दै आफैँ अगिल्तिर बसेर निगरानी गरिरहेका थिए । बाहिर निस्कन लागेका कर्मचारीहरु लाम लागेर एक एक गरी निस्किरहेका थिए । राति १० बजेसम्म लाम नै थियो । २०१७ पुस १ गतेको महेन्द्रकृत चक्रव्यूहको पहिलो दिन यसरी सकिएको थियो ।
(पत्रकार जगत नेपालको पहिलो संसद बीपी महेन्द्र टकराव पुस्तकबाट)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC