काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार थप एक खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।
बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागिता जनाएको थिए । चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागिता जनाएका थिए । बिहीबार बेलुकै थप एक खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको एन्फाले जनाएको छ ।
बिहीबार साँझ प्राप्त रिपोर्टअनुसार थप एक खेलाडीमा पनि संक्रमण देखिएको हो । नयाँ एक खेलाडीलाई कोरोना संक्रमण भएसँगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा बोलाइएका पाँचजनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको थियो । नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते गरी दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।