site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटी यौनकर्मीको कथा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

साथीको फोन आयो- ‘ऊ मानी ।’ 
‘ए हो !’
यति गफगाफपछि उनलाई भेट्न आतुर भएँ ।

मलाई कुनै यौनकर्मीको विषयमा लेख्ने मन थियो । उनीहरुको दैनिकी, कथा या रिपोतार्ज, जे भनौं । लेख्न आतुर थिएँ । धेरै अघिदेखि साथीलाई समय मिलाउन भनेको थिएँ । आज साइत परेको थियो ।
 
साथीले जतिखेर आए पनि हुन्छ भन्ने जनाउ दिएको थियो ।
 
खाना खाइवरी तयार भएर हिँडे । बाटोभरि अनेकन प्रश्नहरु आइरहे मनमा, कुराहरु खेलिरहे । के सोध्‍ने होला, के भन्ने होला । उनको जवाफ के होला ? यावत् कुरा मनमा हुडलिरह्‌यो । बाटो छिचोलेको पत्तै भएन । एकैछिनमा पुगिएछ ।
मैले सोचेँ उनलाई कुनै सी ग्रेड हिन्दी सिनेमाको जस्तो भद्दा अवस्थामा भेट्नेछु । भद्दा तरिकाले लाली पाउडर घसेकी, ढोकामा उभिएर कुनै ग्राहकको पर्खाइमा बसेकी !

तर, त्यहाँ पुग्दा मेरो सोच ठीक उल्टो भइदियो । उनी त कल्कलाउँदी उमेरकी सिनेमाकी हिरोइन जस्ती थिइन् । म आफैंलाई अप्ठ्यारो लाग्यो । तर, उनलाई रत्तिभर असहज भएकोजस्तो लागेन । अनुहारको हाउभाउले त्यो प्रस्ट झल्काउथ्यो । लिपिस्टिक, क्रिम, पाउडरले पोतिएर होला उनी धपक्कै बलेकी थिइन्, पूर्णिमाको जूनझैँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अकन्टक हेरिरहे ! 

‘किन हेर्नुभएको यसरी ? कि मजस्ती केटी देख्नुभएको छैन ?’ 

Royal Enfield Island Ad

हतप्रभ भए । 

‘हैन...हैन...। म बसौँ...’

‘हुन्छ बस्नोस् ।’

‘कुरा कहाँबाट सुरु गरौँ त ?’ 

‘अब यो पनि मैले सिकाउनुपर्ने ? तपाईंजस्ता पत्रकारहरुलाई त प्रश्न सोध्न सिकाइरहनुपर्छ र !’

म उनको गोप्यताका विषयमा सोचमग्न थिएँ ।

उनैले भनिन्- ‘तपाईंले मेरो नाम त लेख्नुहुन्न नि !’

‘लेख्दिनँ ।’

‘थर नि ?’ 

‘त्यो पनि लेख्दिनँ ।’

‘ठाउँ ?’ 

‘ठाउँ पनि लेख्दिनँ, तर तपाईंको जिल्ला उल्लेख गर्छु ।’

उनलाई नाम र थर लेख्दा आफ्ना गाउँठाउँका मानिसहरुले चिन्लान् भन्‍ने डर थियो सायद । नाम र थरसँग निकै डराइन् । 
मैले परिवर्तित नाम उल्लेख गर्ने सर्तमा उनलाई मनाएँ ।

कोठामा केही क्षण सन्नाटा छायो, मध्यरातझैँ । मानौ त्यो बेला सियो खसे पनि चाल पाइन्थ्यो ।

त्यसपछि जीवनको पोयो खोलिन् उनले- ‘१६ वर्ष लागेकी थिएँ । पढ्ने पटक्कै रहर भएन । गाउँमा केटी मान्छे उतिसारो पढ्दैनन् पनि, पढाउँदैनन् पनि । घाँसपात, मेलापात, भान्सामै दिन जान्थ्यो । कक्षा १० सम्म जसोतसो पढेँ तर रहर भएर हैन, बुबाआमाको करले । मेरा दामलका पनि कोही पढ्ने खाले थिएनन् । किताब हेर्न भनेपछि दाँतबाट पसिना आउने ।

बुबाआमालाई ढाँट्न स्कुल जान्थ्यौँ । स्कुल पनि नजिक थिएन । कस्सिएर हिँड्दा ४५ मिनेट लाग्ने । 

सहरबाट गाउँघर आउनेहरु देख्दा मलाई पनि सहर जान पाए भन्ने मनमा काउकुती हुन्थ्यो । सहर कल्पिन्थेँ । टेलिभिजनमा कहिलेकाहीँ फिल्म हेर्दा देखेको सहरले तान्थ्यो । हिरोहिरोइनको प्रणयले लोभाउँथ्यो । त्यस्तै गर्न पाए त... भन्ने मनमा हुन्थ्यो । अझ विदेशबाट सुकिलामुकिला भएर फर्किएको देख्दा आफूलाई अहिले भुरर्र उडिहालौँजस्तो हुन्थ्यो । आजै हिँडिहालँ जस्तो हुन्थ्यो । सहर पनि फिल्मको रिलजस्तै दृश्य बनेर आउँथ्यो ।

यस्ता कुरा मनमा आउन थालेपछि त झन् पढ्ने रहर त्यसै मरेर आउन्थ्यो । गाउँघरमा मेलापात गरेर कमाएको पैसा अलिअलि जोहो गर्न थाले । ५-६ महिना जोहो गरेपछि एक-दुई हजार भएछ । घर छाड्ने निधो गरेँ । तर, कहाँ जाने कुनै टुङ्गो थिएन । भाग्छु भन्ने मात्रै थियो । सहरको सपना मनभरि थियो । कस्तो होला, के होला, यस्तै कल्पनाले रातभरि छटपटाउँथे ।

एक दिन त भागियो ! धरान आइपुगियो । चिनेको कोही छैन । एक-दुई दिन त जसोतसो खानलाई दुःख भएन । तर, चौथो, पाँचौं दिनहरु बित्दै गए । खल्तीको पैसा सकिँदै गयो । त्यसपछि भने मन भुटभुटिन थाल्यो । के खाने ? कता जाने ? चिनेको कोही छैन । होटेलहरुमा भाडा माझेरै भए पनि बाँच्छु भन्‍ने हिम्मत पलायो । एउटा होटेलमा काम खोज्दै पुगे । तर, त्यो होटेलमा काम छैन भनेर फर्काइयो । अनि अहिले बसेको होटेलमा काम गर्न आइपुगे । सुरुमा टेबल पुछपाछ पार्ने, भाडाबर्तन सफा गर्ने यस्तै यस्तै काम थियो । पहाडको घाँसदाउरा, मेलापात भन्दा त सुखै हो !

सहरको रङ्गीचङ्गी, झिलिमिलीले तान्यो । यहाँका बस, गाडीको आवाज सुरुसुरुमा कोइलीका झैं लाग्थे । होटेलमा जतिजति बसिँदै गइयो । त्यसपछि भने मालिकले- तिमीले पैसा कमाउने काम गर्नुपर्छ भन्न थाल्नुभयो ।

पैसा कमाउने काम ? त्यो बेला मलाई रत्तिभर ज्ञान थिएन । काम गरेकै छु नि ! भनेजस्तो लाग्थ्यो । त्यो आसय बुझ्न मलाई एक वर्ष लाग्यो । थरिथरिका ग्राहकहरु दैनिक आउँथे । सुरुसुरुमा खास ख्याल भएन । त्यो बेलामा म बिल्कुल सोझी थिएँ । बिल्कुल सोझी । गाउँबाट झरेकीले घुमाउरो कुरा बुझ्ने भइसकेकी थिइनँ । सहरका चिप्लाचाप्ला कुरा बुझ्न सहरिया नै हुनुपर्ने रहेछ ।
 
त्यो बेला न त मालिकको आसय बुझेँ, न त पैसा कमाउने कामबारे नै सोचेँ । ग्राहकले विभिन्न बहानामा छोइछाइ गर्थे । घरि मदिरा थप न भन्ने बहानामा त घरि के बहानामा ! यस्ता अनेकन बहानामा शरीरका अङ्गहरुमाथि उनीहरु हात ठोक्काउन आइपुग्थे । म सतर्क हुन खोज्थेँ । तर, मेरो प्रयास असफल हुन्थ्यो । मभन्दा केही ठूला दिदीहरु पनि थिए । उनीहरु ग्राहकसँग मस्त टाँसिएर खान्थे । कतिपय ग्राहकले त दिदीहरुको संवेदनशील अङ्गहरु नै खेलाउन पुग्थे । त्यो मैले धेरैपटक देखेकी थिएँ । उनीहरुले मलाई पनि आँखाको भाकामा इसारा गर्थे । त्यस्ता कुरामा दिदीहरुको कुनै प्रतिक्रिया हुँदैनथ्यो । उल्टो खित्दा छाड्थे । म पनि बिस्तारै हेर्दैहेर्दै अभ्यस्त हुँदै गएँ ।

छाडेर जाऊँ कहाँ जाऊँ । यो बिरानो सहरमा चिनेको कोही छैन । नजाऊँ आफैंलाई असहज लाग्ने दृश्य दैनिक देख्नु र भोग्नुपर्थ्यो । यो बिरानो सहरमा दिदीहरु अभ्यस्त बनिसकेका थिए । ग्राहकहरु पनि दिदीहरुसँग मस्त हुन्थे । थरिथरिका ग्राहकहरु आइरहन्थे । कहिले पुराना, कहिले नयाँ । होटेल लाइनमा राम्रा ग्राहक त के आउँछन् र ! सबै मस्ती गर्न नै त आउने हुन् !

साँझ बढ्दै गएपछि ग्राहकहरुको घुँइचो बढ्थ्यो । अनेक खालका ग्राहक । सहरको रहरले गाउँबाट भागेकी म पुनः गाउँ फर्किन सक्ने अवस्थामा थिइनँ । म बाध्यताको दासी बन्दै गइरहेकी थिएँ । हिजोको दिनमा मनमस्तिष्कमा बनेको सहरले आज डेरा गरिरहेको थियो । गाउँका टुकी बत्तीहरु भुल्दै गएकी थिएँ, बिस्तारै-बिस्तारै । त्यो घर छेउको पाखोबारी, जङ्गलको झ्याउकिरीको आवाज, जूनकिरीको पिलिकपिलिक बत्तीको आकर्षण भुल्दै थिएँ । त्यसको सट्टामा ठूल्ठूला आवाजमा हिन्दी-अङ्ग्रेजी गीतले कानहरु भरिन थाले, थरिथरिका लाइटले जूनकिरीको बत्तीलाई भुलाउन थालेकी थिएँ । होटेलका कोठाहरुमा छरिने रङ्गीबिरङ्गी बत्तीले शरीरमाथि दैनिक स्पर्श गर्थ्यो ।

सहरले लाली, पाउडर, लिपिस्टिक, नेलपोलिस लगाउन सिकायो । अभ्यस्त बनायो । अहिले त यी कुरा नलगाई के नपुगेको के नपुगेको जस्तो हुन्छ । यहीँ पाउडरमा त ग्राहकहरु भुलिएका छन् । मलाई थाहा छैन, कतिन्जेल यो लाली पाउडरमा ग्राहकहरु भुलिने हुन् । 

मलाई दिदीहरुजस्तो अभ्यस्त हुन झन्डै दुई वर्ष लाग्यो । ग्राहकसँगै खित्किँदै उनीहरुसँग बसेर खान निकै समय लाग्यो । अहिले त दिदीहरुभन्दा अभ्यस्त भएकी छु । ग्राहकले मलाई नै बढी खोज्ने भएका छन् । सहरका क्याबिनहरु यसरी नै चल्दा रहेछन् । ग्राहकहरुको आ-आफ्ना कान्छीहरु हुँदा रहेछन् । मेरा पनि आफ्नै ग्राहकहरु छन् । म अधिकांश समय उनीहरुसँगै हुन्छु । यहाँ लाज भाग्छ । लाज भाग्ने ठाउँ हो यो । तर, कहिलेसम्म यस्तो चल्ला यो देशमा ? आजकाल म नेताजस्तो सोच्ने भएकी छु ।

उनले एकपटक खित्का छाडिन् ! अनि भन्न थालिन्- हामीजस्ता देह व्यापार गरेर खाने दिदीबहिनी कति होलान् ? उनीहरुको भविष्य के होला ? कहिलेसम्म फस्टाउला यो व्यवसाय ?

हामी दैनिक निर्वस्‍त्र हुन्छौं । हामीमाथि दैनिक गिद्द झैं लुछ्छन् पुरुषरुपी गिद्दहरुले, मानौं हामी सिनो हौं । महाभारतमा कौरव पक्षले द्रौपदीको चीरहरण गरेजस्तै हाम्रो पनि दैनिक चीरहरण हुन्छ । हामी पैसाका लागि चीरहरण गराउन बाध्य छौं । घरबाट भाग्नुभन्दा अगाडि देखेको सहर र आजको सहर विल्कुल फरक छ, आकाश र पातालजस्तै ।

मैले सोचेको सहर लाली पाउडरविहीन निश्‍चल, निस्कपट, सुन्दर थियो । तर, मैले देखेको सहर जाली, षड्यन्त्रकारी र कपटी छ, महाभारतको सकुनीजस्तै । कतिखेर छक्का हान्‍ने हो निश्चित छैन । मैले देख्ने सहर त मृगतृष्णा रहेछ । जति नजिक आयो, त्यति नै वीभत्स रुप ।’  

बीचैमा उनले सोधिन्- मेरो कथा लेखेर तपाईंले के पाउनुहुन्छ ?

केही पाउँदिनँ ।

अनि किन लेख्नुहुन्छ त मेरो कथा ? 

होइन, त्यसै । म टार्न खोज्छु । 

त्यसै ? 

उनको प्रश्नको यथेष्ट उत्तर मसँग छैन ।

उनी अगाडि भन्छिन्- महिलालाई शृङ्गारको वस्तु ठानिँदो रहेछ । रुप होइन्जेलसम्म भँवराहरु भुनभुनाउँछन् । विरुप हुनेबित्तिकै अन्यत्र लाग्छन् । जसरी रसविहीन फूलमा भवँराहरु टाढिन्छन् । 
  
उनले नियतिको कुरा गरिन् । त्यो नियति जहाँ उनले सपनाको सहर देखिन् । सुकिलामुकिला बनेर फर्किएका गाउँलेहरु देखिन् । तर, जब विपनामा सहर देखिन् । तब सहरको विद्रुप रुपसँग उनी अभ्यस्त भइन् । परिपक्‍व भइन् । अब उनले सहरसँग लिनुपर्ने बाँकी केही थिएन । जति लिनुपर्ने उनले लिइसकिन् । जति दिनुपर्ने त्यो पनि दिइसकिन् । 

अझै केही छ सोध्नुपर्ने ? 

अँ...छैन । 

उनले मलिन अनुहार लगाएर अगाडि भनिन्- मेरो पीडाको पहिलो रात । सहरले दिएको पहिलो भयानक पीडा । कसरी म भुलुँ । म सहर आएर विल्कुल वस्तु भइसकेकी थिएँ । त्यस रात वस्तुझैं किनिएँ, बेचिएँ । उसले मलाई त्यतिन्जेल छाडेन जतिखेरसम्म ऊ स्खलित भएन् । पीडाले मेरो मुखबाट चित्कारहरु छुटे । त्यो लोग्नेमान्छेले मेरो जीवन त्यही दिन हरण गरिदियो, त्यसयता त्यस्ता चित्कारहरुको केही मोल रहेन । वस्तु झैं बिकिँदै आएकी छु । आफूलाई वस्तु बनाएर जीवन धान्ने साधन बनाइएकी छु ।

बाह्‍य जतिसुकै सुन्दर भए पनि पुरुषहरु आफ्नो पुरुष रुप देखाई छाड्छन् ।

उनले यसो भनिरहँदा मलाई अप्ठ्यारो लाग्यो । मैले उनको आँखामा आँखा जुधाउन सकिनँ । धेरैपछि मात्रै अनुहारमा हेरेँ । पुरुष हुनुमा मलाई ग्लानि भयो ।

अझै केही छ कि तपाईंको ? प्रश्नले म झसङ भए ।

छैन... छोटो उत्तर दिएँ ।

अब भने निस्किने तयारीमा थिएँ । किनकि कार्यालय पुग्‍नु छ । यसैको फिचर, कथा वा केही बनाउनुछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro