site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जो कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई नि:शुल्क खानासँगै हौसला बाँड्छन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिवि शिक्षण अस्पतालबाट अमेरिकन दूतावास लम्किँदै गर्दा देब्रेपट्टि भेटिन्छ ‘साई नाङ्लो फार्मेसी’। जसका सञ्‍चालक हुन् विक्रम भँडेल । २० वर्ष लामो फार्मेसी सञ्‍चालनको अनुभव सँगालेका भँडेलको हिजो-आजको दैनिकीसँगै परिचय पनि फेरिएको छ । कोरोना प्रकोपले विकराल स्वरुप लिन थालेदेखि उनी औषधि व्यापारीबाट सामाजिक अभियान्ता बन्न पुगे ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित र खटिएका कर्मचारीलाई निःशुल्क खाना खुवाउनमा व्यस्त रहन्छन् । त्यसैले त अस्पतालका बिरामी र स्वास्थ्यकर्मी, औषधि बेच्‍ने उनलाई अहिले ‘भात खुवाउने मान्छे’ भनेर चिन्छन् । विगतका दुई महिनायता उनी अस्पतालका बिरामी र स्वास्थ्यकर्मीको हेरचाहमा व्यस्त छन् । ‘‘बिहान उठेर पहिला आजको खानामा के छ भनेर मेन्यु हेर्छु अनि त्यसपछि मात्र नित्यकर्ममा लाग्छु,’’ भँडेल सुनाउँछन् ।

"बिहानको ब्रेकफास्ट अस्पतालले खुवाउँछ, हामीले दिने भनेको त्यसपछिको खाना, दिउँसो खाजा र साँझको खाना हो," उनी थप्छन्, "खानामा पौष्टिकताको कमी हुन नदिन अस्पतालका पोषण विज्ञसँग सल्लाह लिएरै बनाउँदै आएका छौं ।’’ खाद्य गुणस्तर कायम गर्न उनी सजग सुनिन्छन् । उनले खुवाउने खानामा सन्तुलित आहारको राम्रो प्रबन्ध हुन्छ भन्‍नेमा पनि उनी विश्वस्त छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरी टिम उनको पसलमा पुग्दा भँडेल औषधि बेच्‍नमा व्यस्त थिए । बिहानको खाना खुवाउने चटारो उनको अनुहारमा स्पष्ट झल्किन्थ्यो । सामान्य भेटघाटलगत्तै उनले हामीलाई भान्सा घर लैजान हतारिए । 

औषधि पसलको ठीक पारिपट्टि रहेको भान्साको व्यवस्थापन पनि उनी आफैंले सम्हाल्छन् । भवनको पहिलो तलामा उनको भान्साघर छ । आफैं पनि औषधि व्यवसायी रहेका उनी सुरक्षा मापदण्डमा सजक नहुने सवालै उठेन । आगन्तुकबाट कुनै किसिमको संक्रमण फैलन नदिन सबैको हातगोडामा स्यानिटाइजर स्प्रे गरे । त्यतिमात्र होइन, उनले खाना पकाउने र सामान राख्‍न पनि अलग-अलग ठाउँ छुट्याएका छन् । 

Global Ime bank

अनावश्यक आउजाउबाट हुने खतरा कम गर्न पाकघरमा काम गर्ने कामदार त्यहीँ बस्छन् । स्वास्थ्य सुरक्षा कायम गर्न उनले देखाएको सतर्कका साँच्चै प्रशंसनीय थियो । व्यापारीका नाताले औषधि बेच्‍ने काम त गरेका नै थिए । तर कोरोनाको उपचारका लागि औषधि नै छैन । यस्तो विपत्‌को घडीमा के गर्न सकिन्छ त भनेर सोच्दा मानिसको इम्युनिटी पावर भए मात्रै कोरोना संक्रमित बच्‍ने विज्ञहरुले बताएको उनले सम्झे ।

काम सुरुवात उनले १५३ जनालाई खाना खुवाएर गरेका हुन् । अस्पतालमा ७० जनालाई कोरोना संक्रमण भएर सबै आइसोलेसनमा गए । मानिस एकपटक आइसोलेसनमा पुगेपछि घरको नजिक नहुन सक्छ र पोषिलो खानेकुरा नपाइन सक्छ । त्यही सोचेर मैले सबैलाई खानाको व्यवस्था आफैंले गरौं भन्‍ने लाग्यो, करुणामय हृदयका उनी स्वास्थ्यकर्मीप्रतिको माया दर्शाउँछन् ।

 

 

घर-सल्लाहमा सहमति त मिल्यो तर अस्पताल प्रशासनले पनि अनुमति दिनुपर्‍यो । व्यवधान चिर्न योजना बोकेर प्रशासनसमक्ष पुगे । विगतमा पनि बिरामीलाई सहयोग गर्दै आएका उनको प्रस्ताव स्वीकृत नहुने कुरै थिएन । अस्पताल प्रशासनको अनुमतिपछिको १४औं दिनमा संक्रमितहरुका लागि पहिलो खाना पाक्यो ।

मानिसको स्वास्थ्य क्षमता अभिवृद्धि गर्ने पहिलो वस्तुका रुपमा उनी खानालाई लिन्छन् । "स्वस्थ्य खाना र जीवनशैली अपनाउन सक्यौं भने औषधि उपचारको आवश्यकता निकै कम पर्छ ।" औषधि व्यापारीको अनुभव पोख्दै उनी थप्छन्, "अस्पतालका कर्मचारीलाई तन्दुरुस्त राख्‍न सक्यौं भने पो उनीहरुले बिरामीको उपचारमा ध्यान पुर्‍याउन सक्छन् । कोरोना संक्रमणबाट बाहिर निकाल्न सक्यौं भने अझै धेरै संक्रमितको उपचार गर्न सकिन्छ । धेरैमा ३२५ जनालाई समेत दिनको तीन छाक खुवाइयो ।”

भँडेलले खाना बनाउन र ओसार्नकै लागि भनेर ११ जना कर्मचारीको सहयोग लिँदै आएका छन् । खाना खुवाउँदा प्रतिदिन  ५०-५५ हजार रुपैयाँसम्म खर्च निस्कने गरेको छ । त्यसो त उनको काम देखेर सहयोग गर्न तम्सिनेहरुको पनि कमी छैन । "देशभन्दा विदेशमा रहेकाहरु धेरै सहयोगी साथीहरु हुनुहुन्छ । कतिपय व्यक्तिहरु यही आएर सहयोग र हौसला छाडेर जानुहुन्छ । अस्ति मात्रै वरिष्ठ अधिवक्ता शम्भु थापा आउनु भा’थ्यो ।" कामको मूल्यांकन भएको देख्दा उनी थप उत्साहित सुनिन्छन् ।

 

 

दैनिक रुपमा प्राप्त सहयोग र खर्च उनी सामाजिक सञ्‍जाल फेसबुकमार्फत सार्वजनिक गर्ने गर्छन् । सहयोग दिएर परिचय गोप्य राख्‍न चाहनेहरुको हकमा नाम उल्लेख नगरी रकम मात्र सार्वजनिक गर्ने गरेको उनी बताउँछन् । कोरोनाको समयमा मात्र होइन यसभन्दा अगाडि पनि उनी सामाजिक सेवामा उत्तिकै सक्रिय थिए । उपचारका क्रममा खर्च अभाव भए डाक्टरहरु नै बिरामीलाई उनको औषधि पसल जान सल्लाह दिन्छन् । डाक्टरको नाम उल्लेख नगर्ने सर्त राख्दै उनी भन्छन्, “ए, यो बिरामीको पैसा सकियो उसलाई विक्रमकोमा पठाइदेऊ भन्ने चलनै बसेको छ भित्र ।” सल्यानी लवजमा उनी आफूप्रतिको विश्‍वास पोख्छन् ।

त्यसरी नि:शुल्क औषधि दिँदा व्यवसायमा असर पर्दैन भन्ने प्रश्नमा मुस्कुराउँदै उनी यस्तो जवाफ दिन्छन्, “घरमा बुबा रिटायर्ड हुनुहुन्छ, भाइ र म मिलेर अन्य व्यवसायमा पनि लगानी गरेका छौं, त्यसैले घर चलाउन समस्या परेको छैन । समस्या परेका बखतमा त्यहीअनुसार हेरौंला नि ।”

उनका भाइले पनि उनीसँगै फर्मेसी नै चलाउँछन् । अहिले साई नाग्लो फार्मेसी रहेको घर उनको आफ्नै हो । त्यो घरको तल्लो तलामा फर्मेसी र होटेल चलाउँछन् भने माथिल्लो तलामा बिरामीको कुरुवाका लागि भनेर लज बनाएका छन् । 

उनी लजमा पनि मानिसको आर्थिक अवस्था हेरेर कति मूल्य लिने भनेर निर्धारण गर्ने बताउँछन् । “यदि मानिसले राम्रो लुगा लगाएर आएको छ भने पाँच सय रुपैयाँ लिन्छौ, दुर्गम पहाडबाट आएको जस्तो लाग्यो भने दुई सय र सामान्य चप्पल लगाएर आएका छन् र पैसा नै तिर्न मुस्किल होलाजस्तो देखिन्छन् भने नि:शुल्क राख्‍ने गरेका छौं,” उनले सुनाए ।

कोभिड वार्डमा काम गर्ने कर्मचारीको सात दिनको सिफ्ट हुन्छ । आज भोलि त उनीहरु घरसमेत जान पाएका छैनन् ।  “यस्तो समयमा उनीहरुलाई हौसलाको खाँचो छ, त्यसैले हामी खानाको प्याकिङमा हौसला बढाउने शब्दहरु लेखेर पठाउँछौ ।” 

 

 

खानामा हौसला बढाउने लाइन लेखिएको देखेर स्वास्थ्यकर्मीको थकान नै मेटिएको प्रतिक्रिया आएको सुनाउँदै उनी थप्छन्, “हाम्रो यो काम देखेर विदेशका धेरै अनलाइनहरुले हाम्रो समाचार बनाएका रहेछन् ।” कुनै समय स्वास्थ्यकर्मीहरुलाई आफ्नो टोलमा समेत बस्न नदिएको समाचार पढेपछि उनीहरुलाई हौसलाको खाँचो छ भनेर खानामा उनीहरुले बिरामीलाई गरेको कामको प्रशंसा गरेर लेख्‍ने सोच आएको उनी बताउँछन् । 

आफूले खाना खुवाउन सुरु गर्नुभन्दा पहिले खानाको कारणले नै एकदमै प्रेसर भएको उनी बताउँछन् । बिहानदेखि बेलुकासम्म पीपीई लगाएर काम गर्नेहरुलाई न घरबाट खाना आउँछ न बाहिर गएर खाना खान सम्भव छ । बिरामीहरुलाई त सरकारले दैनिक १४७ रुपैयाँ दिन्थ्यो खानाका निम्ति । त्यति पैसाले चार छाक खान नपुग्‍ने सुनाउँदै भन्छन्,  “सरकारले दिएको पैसाले बिहानको खाजा दिन्छ र बाँकी तीनपटक हामी नि:शुल्क खुवाउँछौं ।”

०००

 

 

विक्रमको भान्सामा अहिले दैनिक तीन सय जनाभन्दा धेरैका लागि खाना पाक्छ । “लकडाउनले सबैतिर बन्द भयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसलाई आफ्नो टोलमा समेत छिर्न नदिएको समाचार सुन्दा खिन्न लाग्यो," आफ्नो कामको सुरुवाती कहानी सुनाउँदै उनी थप्छन्, "सरकारले दिएको खर्चले त एक छाक पनि राम्रो खाना खान पुग्दैन । त्यस्तो खानाले कसरी शरीर स्वस्थ रहला ? रोगसँग कसरी लड्ने ?" सरकारी निर्णयको व्यवहारिक पक्षप्रति उनको ठूलो गुनासो छ ।

समाज र सरकारको निर्णयप्रति उदेक प्रकट गरेर चुपचाप बस्न उनको हृदयले मानेन । उनी भन्छन्, "अब यसरी हुँदैन भनेर परिवारसँग सल्लाह गरेँ । परिवार पनि मेरो विचारमा सकारात्मक देखिनुभयो । त्यसपछि १५ लाख व्यक्तिगत लगानीमा तीन महिनाका लागि सुरु गर्ने निर्णय गरेँ ।"

आफूले काम गरेको देखेर साथीभाइ र इस्टमित्रहरुले समेत सहयोग गरेको सुनाउँदै भन्छन्, “सुरुवात गर्न मात्रै गाह्रो रहेछ, थालनीपछि स्रोत-साधन आफैं जुट्दै जान थाल्यो ।” लकडाउनकै कारण खाली रहेको फ्ल्याट तीन महिनाका लागि भाडामा लिएर काम सुरु गरेको बताए । "तीन महिनाका लागि खाना खुवाउने योजना थियो । अहिले सहयोगी हातहरु बढ्दै जानुभएको छ । कहिलेसम्म सकिन्छ गर्दै जानेछौं," प्रफुल्ल मुद्रामा उनी आफ्नो भावी योजना सुनाउँछन् ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय