site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
हामीले आफैंलाई समीक्षा गर्नुपर्ने रहेछ
Sarbottam CementSarbottam Cement

नायिका करिष्मा मानन्धर ३२ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छिन् । सदावहार नायिकाका रूपमा परिचित उनी पछिल्लो समय अध्ययनमा केन्द्रित छिन् । केही वर्षयता आफ्नै लगानीमा चलचित्र बनाउने बताए पनि निर्माण सुरु हुन सकेको छैन । कोरोनाको त्रासपछि उनी चलचित्र बनाउन सुरु गर्छिन् ?, नेपाली चलचित्रको विषय र प्रस्तुतिमा फरकपन खोज्ने बेला भयो कि त्यो समय आएकै छैन ?, दर्शक र समीक्षकको रोजाइ सधैं किन फरक ?, चलचित्रमा महिला कलाकारको स्थान, कोभिडको कहरमा कलाकारको अवस्था, चलचित्रप्रतिको बुझाइ, क्षमता, बजार र यसको विस्तारलगायत विषयमा नायिका मानन्धरसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

० ० ०

घरबाहिर निस्किन नपाएको पनि करिब सात महिना भयो, कत्तिको सकस भइरहेको छ ? 
निकै अफ्ठ्यारो भइरहेको छ । कतिपय काम गर्नैपर्ने हुन्छ, जुन कोरोनाका कारण रोक्न सकिँदैन । कहिले को बिरामी कहिले को बिरामी हुन्छ । अस्पताल गएपछि छुने कि नछुने । दूरी कायम गर्ने कि नगर्ने भन्ने हुँदोरहेछ । दूरी कायम गर्न पनि कोही मलाईचाहिँ कोरोना नै लाग्दैन भने झैं पनि गर्नुहुन्छ । कहिले म पनि निस्किरहेको हुन्छु । कहिले विनोदजी निस्कनुहुन्छ । कोरोना कसलाई छ, कसलाई छैन निश्चित छैन । सबै संक्रमणको जोखिममा छौं । दूरी कायम गर्ने कि नगर्ने गाह्रो हुँदोरहेछ । जबरजस्त वातावरण छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काम बन्द हुँदा कति कलाकार ५ हजार रुपैयाँ राहत लिनुपर्ने अवस्थामा पुगे । राम्रै नाम चलेकै कलाकार ६ महिना काम नपाउँदा राहतका लागि धाउनुपर्ने अवस्था आउनुले चलचित्र क्षेत्र अझै बाहिर देखिएजस्तो समृद्ध छैन भन्ने प्रमाणित भएको हो ?
चलचित्र क्षेत्र र चलचित्रकर्मी भनेर हामी केही गिनेचुनेको नाम मात्रै हो भन्ने सोच्छौं । वास्तवमा त्यो होइन । यसमा विभिन्न विधामा काम गर्नेहरू हुनुहुन्छ । केही कलाकारले ३०/३५ लाख रुपैयाँ लिनुभएको भन्ने सुनेको छु । उहाँहरू मात्रै कलाकार होइन । समग्र चलचित्रकर्मीको अवस्था एकै छैन । कति आर्थिक रूपमा कमजोर पनि हुनुहुन्छ । सबैको घर काठमाडौंमा छैन । उहाँहरूलाई कोठाको भाडा पनि तिर्नुपर्ने हुन्छ । मोडलिङ, म्युजिक भिडियो, विज्ञापन उद्योग फस्टाएको थियो । त्यता पनि काम गर्दा चलचित्रकर्मीहरूलाई सहज थियो । तर, अहिले ती काम पनि बन्द हुँदा आर्थिक अभाव देखिएको हो । मेकअप आर्टिस्ट, द्वन्द्व निर्देशक, नृत्यमा काम गर्नेहरू पनि त चलचित्रकर्मी हुन् । जसलाई केही समय काम नहुँदा त्यसको असर परिहाल्छ । 

पर्दा पछाडिका चलचित्रकर्मी मात्रै होइन । पर्दामा देखिने नाम चलेकै कलाकार पनि पाँच हजार रुपैयाँ राहत लिन आइरहेको चलचित्र कलाकार संघले जनाएको छ । ६ महिनामै राहतको पर्खाइमा बस्नुपर्ने अवस्था आउनुको कारण न्यून पारिश्रमिक नै हो ? 
हो नि । चलेको केही व्यक्तिको पारिश्रमिक मात्रै धेरै हो । सपोर्टिङ कलाकारहरू धेरै हुनुहुन्छ । उहाँहरू धेरै पारिश्रमिक पाउनुहुन्न । जसको पारिश्रमिक कम हुन्छ । उहाँहरूले निरन्तर काम नपाउँदा आर्थिक अभावको समस्या झेल्नुपर्छ । नृत्य निर्देशक, कोरस डान्सर, मेअकप आर्टिस्ट निर्माताहरू पनि लगानी फ्रिज भएर बस्दा समस्यामा हुनुहुन्छ । अहिले त यस्तो अवस्था आयो हुनेहरूले आफू आफूले केही व्यक्तिलाई मात्रै सहयोग गर्यो भने त्यो ठूलो सहयोग हुने अवस्था आइसक्यो । 

Global Ime bank

कोभिड–१९ पछिको तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
कोभिड–१९ पछि पनि सामाजिक दूरी कायम गर्दै अब काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्छ, इम्युनिटी पावर बढाउनुपर्छ, हतोत्साही हुनु हुँदैन । साबुनपानीले हात धुनुपर्छ । स्यानिटाइजर प्रयोग गर्नुपर्छ भन्ने कुरा यो ७ महिनाको अवधिमा हामी धेरैलाई थाहा भइसक्यो । कति मान्छे यस्तो हुनुहुन्छ जो काम नगरी खान पाउनुहुन्न । उहाँहरूको त जीवनचर्या त चल्नुपर्यो । यसका लागि पनि अब आफूआफू सचेत भएर काम थाल्नुपर्छ । 

अरूले सहयोग गरेर कहिलेसम्म थेग्छ । अब आफैंले काम गर्नुपर्छ । यसका लागि सरकारले वातावरण तयार गरिदिनुपर्छ । कसरी सचेत हुने हो जनता स्वयंले सतर्क हुनुपर्छ । बाहिर जाँदा यस्तो देखिन्छ कि लाग्छ केही नै भएको छैन ।

सरकारले जनताको गास र बासका लागि केही गर्न सक्दैन भने नीति–नियम बनाइदियोस्, बाँकी काम जनता आफैं गर्छन् । आफ्नै लागि आफैंले सोच्नुपर्छ । कुनै ठाउँ र व्यक्ति विशेषलाई मात्रै परेको समस्या भए सहयोग गरेर लामो समय धान्छ । विश्व नै एकै समय एउटै समस्याबाट गुज्रिररहेको छ । अब आफैंले आफ्ना लागि काम गर्नु नै सबैभन्दा राम्रो विकल्प हो । 

चलचित्रमा अभिनय नगर्नु भएको त लामै समय भयो । आफैं चलचित्र निर्माण पनि गर्ने तयारीमा हुनुहुन्थ्यो । तर बनाउन सुरु गर्नु भएको थिएन । कोरोनाको जोखिमपछि त्यसको तयारी छ ?
बीचमा यसको काम अगाडि बढिसकेको थियो । बजारका चिनेजानेका व्यक्तिहरूको साथ सहयोग लिनुपर्छ भनेर केही मिटिङ तथा भेटघाट पनि गरिसकेको थिएँ । आफू एक्लैले गर्दा राम्रो नहोला कि भनेर सहयोगका लागि छलफल गरिरहेको थिएँ । तर अहिले म जति जान्दछु । मेरो अनुभव प्रयोग गरेर भए पनि सानोतिनो काम आफैं सुरु गर्छु भन्ने सोचिरहेको छु । किनकि यो चलचित्र क्षेत्रलाई चलायमान बनाउनुपर्छ । हामीले सुरु गरेपछि इन्स्पायर भएर अरूले काम सुरु गर्नुहुन्छ । जो सक्रिय हुनुहुन्छ, उहाँहरूले गर्नु नै हुन्छ । हामीले उदाहरणीय काम गर्नुछ । म गर्ने प्रयास गर्छु । अफ्ठ्यारो अवस्थामा काम गर्न सक्नु नै ठूलो कुरा हो । 

विषय र प्रस्तुतिका हिसाबले कोरोनापछि नेपाली चलचित्रमा खास केही परिवर्तन आउला ? नियमितभन्दा फरकपन अबको आवश्यकता हो कि होइन ?
विषयवस्तु र प्रस्तुतिका हिसाबले अब पक्कै पनि हामीले सोच्नुपर्छ । न्यूनतम बजेटमा कसरी चलचित्र बनाउने र विषयवस्तु कसरी बलियो बनाउने सोच्नैपर्छ । चलचित्र रिलिजको माध्यम हलबाहेक अर्को विकल्पमा पनि सोच्नुपर्छ । हिजो मात्रै म नेटफ्ल्क्सिमा म ‘द क्राउन’ हेर्दै थिएँ । कति राम्रो छ । नेटफ्ल्क्सिमा भारतीयहरूले पनि थुप्रै कन्टेन्ट बनाएका छन् । अब अरू माध्यम खोज्नु जरुरी भइसक्यो । यी प्लेटफर्म नभएको भए हाम्रो अवस्था के हुन्थ्यो । 

कसरी हुन्छ सस्तोमा चलचित्र बनाएर यो क्षेत्रलाई चलायमान बनाउन सक्नुपर्छ । चलचित्र क्षेत्र मात्रै होइन सबैले चलायमान हुनुपर्छ । इन्टरटेनमेन्ट भएर हामी अलि बढी सचेत हुनुपर्र्छ । तर, सबै अब पुरानै अवस्थामा फर्किनुपर्छ । 

कोरोनाका कारण सिनेमा हल बन्द हुँदा डिजिटल प्लेटफर्मको स्पष्ट महसुस भएको हो ?
हो । यो समय हामीले योग गर्यौं । दर्शक स्रोतासँग सधैं पुगिरहेका हामीले त्यो मिस हुँदा फेसबुकमा तस्बिर पोस्ट गर्यौं । सचेतनाका लागि योग र कसरत गरेका तस्बिरहरू राख्यौं । यो त हामी डिप्रेसनमा नजाऔं, इन्टरटेन गरौं, अरूलाई पनि यसका लागि प्रोत्साहन गरौं भनेर हो । यसलाई नकारात्मक रूपमा लिनु भएन । सामाजिक सन्जाल फेसबुक, इन्टाग्राम, टुइटरले हामीलाई समाजसँग जोड्यो । यो पनि नभइदिएको भए के हुन्थ्यो होला । भर्चुअल माध्यमबाट अहिले हामी मिटिङ गरिरहेका छौं, जुन हामीले कहिल्यै सोचेकै थिएनौं । त्यसैले अब डिजिटल प्लेटफर्मबारे पनि हामीले चाँडै सोच्नुपर्छ । 

नेपाली चलचित्र राम्रा बनेनन् भनेर सधैं टिप्पणी हुन्छ । साँच्चै चलचित्र नै नराम्रा बनेका हुन् कि नकारात्मक पक्ष मात्रै बाहिर आएको हो ? 
वास्तवमा हामी के बनाइरहेका छौं भनेर स्पष्ट नभएर बनाइरहेका कारण अधिकांश चलचित्र नचलेका हुन् । जसले प्रस्ट भएर चलचित्र बनाउनुभएको छ उहाँहरू सफल भइरहनुभएकै छ । त्यसैले आफूले बनाउने खोजेको के हो आफैं प्रस्ट हुनुपर्यो । कस्तो किसिमको चलचित्र बनाउन लागेको हो ? भन्न खोजेको के हो ? कसरी भन्ने हो ? कसका लागि चलचित्र बनाएको हो ? यो कुरामा निर्देशक तथा निर्माताहरू प्रस्ट हुनुपर्छ ।

समीक्षक तथा हिन्दी, अंग्रेजी चलचित्र हेर्ने दर्शकको अपेक्षाअनुसार किन नेपालमा चलचित्र बन्न सकेनन् ?
पहिला त मेकर आफैं प्रस्ट हुनुपर्छ म के बनाउँदै छु भन्नेमा । अर्को कुरा हाम्रो बजारै सानो छ । त्यसैले यसलाई विस्तार गर्ने प्रयास गर्दै थियौं । विस्तारै यो हुँदै पनि थियो । विदेशमा बस्ने नेपाली भएका ठाउँमा चलचित्र चल्न थालेका थिए । कतिले त फरकखालका विषयमा बनाएर विश्व बजारमा चलचित्र लैजाँदै पनि हुनुहुन्थ्यो ।

केही दिनअगाडि भर्चुअल मिटिङमा रवीन्द्र बानियाँले भनेको म सम्झिन्छु, हामी परिवर्तन भयौं होला तर एकैपटक फड्को मार्दा बुझाउन कठिन हुन्छ । दालभात खाइरहेको मान्छेलाई पास्ता खाँदा त्यसमा बानी पर्न समय लाग्छ । उहाँले भनेको कुरा मलाई चित्त बुझ्यो किन भने दर्शकको टेस्ट नै नबुझी बनाउँदा पनि समस्या भइरहेको हुन्छ । तर बनाउँदा मैले बनाउन खोजेको यो हो र चलचित्र यस्तो छ भनेर भन्न र बुझाउन सक्नुपर्छ । 

चलचित्र ग्लोबलाइज गराउने चक्करमा पनि हाम्रा चलचित्र कतिपय अवस्थामा बिग्रिरहेका हुन् ? 
ग्लोबलाइज गर्ने चक्करमा हामी जम्प गरिरहेका छौं । प्रयास गर्नु नराम्रो त होइन । तर प्रयास गर्दा बनाउन खोजेको के हो त्योचाहिँ बनाउन सक्नुपर्छ । 

मसँग भर्खरै एउटा विषय आएको थियो । उहाँले भन्दै हुनुहुन्थ्यो यो नेपालमा मात्रै होइन सबैतिरका लागि हो । यसका लागि लामो वर्कसप गर्नुपर्छ । यसबारे सोच्नुस् भनेर पाँचवटा बुँदा लेखेर दिनुभएको थियो । 

लार्जर देन लाइफ चलचित्र बनाउँछु भनेर बनाउनुपर्यो, जस्तै भारतमा त्यो स्पष्ट रूपमा भनेर बनाइन्छ । त्यसैले दर्शक पनि त्यहीअनुसार छुट्टिनुहुन्छ । यसरी स्पष्ट हुन सक्नुपर्छ । तर यसमा पनि रिक्स नलिने अवस्थामा मेकरहरू हुनुहुन्छ । 

समीक्षकले मन पराउने चलचित्र दर्शकले मन पराउँदैनन्, दर्शकले मन पराउने चलचित्र समीक्षकले मन पराइरहेका छैनन् । समीक्षकले चलचित्र बुझेनन् कि दर्शकले ?
समीक्षकले जीवनसँग नजिक रहेका यथार्थपरक चलचित्र मन पराउनुहुन्छ । तर, चलचित्र भनेको यथार्थपरक मात्रै होइन । चलचित्र भनेको मनोरञ्जन पनि हो । बिजनेस पनि हो । यसले सबै वर्ग, उमेर, क्षेत्रलाई पनि समेट्नुपर्ने बाध्यता मेकरसँग हुन्छ । मेकरको यो परिस्थितिलाई पनि आत्मसात् गर्न सक्नुपर्छ । 

हामीले हाम्रै कथा र आफ्नै शैली निर्माण गरेर भन्न नसक्दा राम्रा चलचित्र बनेनन् भन्ने समीक्षकको निष्कर्षमा तपाईं सहमत हुनसक्नु हुन्छ ? 
यसमा म एक हिसाबले सहमत पनि छु र छैन पनि । हाम्रो मुलुक विविधता भएको मुलुक हो । हाम्रा सिनेमा घर काठमाडौंमा मात्रै होइन । दूरदराजमा बजारमा पनि छन् । हाम्रो जनजीवन, रहनसहन र वेशभूषा फरक छ । पहाडमा बस्ने गृहिणीको कथा र सहरमा बस्ने गृहिणीको कथा फरक हुन्छ । तराई र पहाडको कथा फरक छ । म जसरी रोइरहेको हुन्छु त्यसैगरी हिमालमा बस्ने महिला रुन्नन् होला । यो लकडाउनमा मेरी छोरीले जे अनुभूत गरिन् उमेरका हिसाबले त्यो मैले गरिन होला । 

चलचित्रले यिनै व्यक्तिबीच कुनै पात्रको भोगाइ वा सोचाइ प्रस्तुत गर्ने त हो । यस्तै बनाउने भन्ने हुन्न । त्यसैले यो कुरामा यस्तै बनाउनुपर्छ भन्ने समीक्षकसँग म सहमत छैन । 

तर, कुनै निश्चित समूहलाई लक्षित गरेर बनाएको चलचित्रचाहिँ सोही समूहले मन पराउने हुनुपर्छ । यसमा चाहिँ म समीक्षकसँग सहमत छु । 

हाम्रा अधिकांश अभिनेता तथा अभिनेत्रीहरू विषयवस्तुको गहनतामा ढल्दैनन् । जसका कारण कथाअनुसारको चलचित्र बन्न सकेनन् भन्न सकिन्छ ? 
यसमा सत्यता छ । हुन त राम्राराम्रा अभिनेता तथा अभिनेत्रीहरू हुनुहुन्छ । उहाँहरूको काम र क्षमतामा मेरो कम्प्लेन छैन । मैले अरूलाई आरोप लगाउन खोजेको होइन । म आफैंले जति काम गरेको छु त्यसमा म पनि सन्तुष्ट छैन । मैले नबुझी काम गरेछु भन्ने आज लागिरहेको छ । म भारतीय चलचित्रको तारिफ गरिरहेको छैनँ तर अभिनय र भाव त उही हो नि । ‘गुञ्जन सक्सेना : द कार्गिल गर्ल’ हरेँ । त्यसमा अफिसरको भूमिकामा रहेकी अभिनेत्रीले कार्गिलको युद्धमा ४० वटा अप्रेसन गरेको रहेछ । श्रीदेवीको छोरीको चलचित्र भएकाले स्टार किड्सलाई सपोर्ट गर्नु हुँदैन भनेर वास्तवमा मैले त्यो चलचित्र हेरेको थिइनँ । अहिले हेरेँ । मेरो दिमागमा त्यही चलचित्र घुमिरहेको छ । हामी त्यो रियालिटीमा डुबेर किन अभिनय गर्न सक्दैनौं ? अभिनेत्रीका नाताले मैले सोचें हामीले किन त्यस्तै काम गर्न सकेनौं ? हामी कति लाउड थियौं भन्ने मैले अनुभूत गरेँ । 

हामीले सिक्न र काम गर्न अझै धेरै बाँकी छ ? 
हो, धेरै नै सिक्न बाँकी छ । हामीले बुझ्न बाँकी छ । पात्र बुझ्न नै बाँकी छ । के गर्दै छौं थाहा हुनुपर्छ । स्पष्ट हुनै सकेका छैनौं । म ‘द क्राउन’ हेर्दै छु, त्यसमा रहेका धेरै अभिनेता तथा अभिनेत्रीहरू म चिन्दिनँ । तर यसका पात्रहरूले मलाई छोइरहेका छन् । यो लकडाउनमा हामीले धेरै चलचित्र हेर्यौं । मलाई आफैंलाई नियालिरहेको छु, के मैले ती पात्रहरूलाई न्याय गर्न सकेँ ? हामी हरेक कलाकारले यो कुरा सोच्नुपर्छ । हरेक कलाकारले आफ्नो समीक्षा गर्नुपर्छ । 

हाम्रा चलचित्र स्क्रिप्टको ६० प्रतिशत पनि पर्दामा उत्रिँदैनन् भनिन्छ । यसमा दोष कलाकारको कि निर्देशकको ?
यो दोष कलाकार वा निर्देशकको होइन । हाम्रो सीमितताको हो । न्यून स्रोत–साधनको परिणाम हो । निश्चित बजेट र समयमा सक्नैपर्छ । काम गर्दागर्दै बजेट सकिन्छ । जसरी हुन्छ सकौं भन्ने हुन्छ । बजेटको अभावका कारण यस्तो भइरहेको छ । यसमा कलाकार र निर्देशकलाई दोष दिन्नँ म । 

हाम्रो चलचित्र क्षेत्रलाई सधैं अभिनेताहरूले नै लिड गरे । तर उनीहरूका समकालीन अभिनेत्रीहरू तुलनात्मक रूपमा पछि नै परे । अभिनेत्रीहरूले काम देखाउने मौका पाएनन् कि क्षमता भएन वा डेडिकेसन भएन ? 
डेडिकेसन नभएको होइन । महिला कलाकारमा त झन् धेरै थियो भन्छु म । म पुरुषविरोधी होइन । तर, हाम्रो समाज पितृसत्तामक सोच भएको समाज हो । यो सोचले चलचित्र क्षेत्रलाई पनि गाँजेको थियो । पुरुषहरूको निर्णयमा सबै कुरा चल्थ्यो । जे थियो त्यसमै चित्त बुझाउनुपर्ने अवस्था थियो । 

पछिल्लो समय नारी कलाकार आफैंले चलचित्र बनाउने । आफैंलाई हिरोका रूपमा प्रस्तुत पनि गर्नुभयो । रेखा थापालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । अपेक्षा गरौं विस्तारै अब हुन्छ होला । चलचित्र क्षेत्रमा मात्रै होइन सबैतिर यही अवस्था छ । यसमै हामी आवाज उठाइरहेका छौं । सबै क्षेत्रमा महिलाको सहभागिता र सक्रियता कम रहेको यथार्थ स्वीकार गर्नुपर्छ । 

नेपाली चलचित्रको बजार अझै पनि अपेक्षित विस्तार हुन सकेको छैन । कारण के हो ? 
समन्वयको अभाव मुख्य पक्ष हो । हाम्रा संघ–संस्थाहरू के गरिरहेका छन् । चलचित्र विकास बोर्ड छ । उसको भूमिका के हो ? राज्यको भूमिका के हो ? सरकार र बोर्डको नीति नेपाली चलचित्रको बजार विस्तारमा के हो ? यसले पनि त अर्थ राख्छ होला । राज्यले चलचित्रलाई प्राथमिकतामा यसरी राखोस् ताकि त्यसले विश्व बजारमा जाने मौका पाओस् । जति पनि नेपाली चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गएका छन् ती व्यक्तिगत प्रयासमा भएका छन् । राज्यले यसमा पहल गर्नु पर्दैन ? हामी यो फेस्टिभलका लागि जाँदै छौं तयारी गर्नुस् भनेर मेकरलाई भन्नुपर्दैन ? सरकारले भनेको छ ? अहिलेसम्म विकास बोर्डले आन्तरिक कुराहरू नै मिलाउन सकेको छैन । ग्लोबल बजारमा बोर्डको ध्यान जान सकेको छैन । 

चलचित्र राम्रो बने चलचित्रले बजार पनि आफैं खोज्छन्, हैन र ? 
अहिलेसम्म भएको यही नै हो । जति पनि चलचित्र बाहिर गएर नेपाली चलचित्रको प्रतिनिधित्व गरेका छन्, त्यो निजी प्रयासमै भएका छन् । 

‘कोलो पोथी’, ‘ह्वाइट सन्’, ‘डाइङ क्यान्डल’, ‘हाइवे’ले जति अवार्ड पाए । जति फेस्टिभलमा सहभागी भए । यी चलचित्र आफैंमा राम्रो भएर त बाहिर गए नै त्यस अलावा मेकरको आफ्नै पहलमा पनि गएका हुन् । ‘कोलोपोथी’, ‘ह्वाइट सन्’, ‘डाइङ क्यान्डल’, ‘हाइवे’ कमर्सियल रूपमा सफल बनाउँछु भनेर उहाँहरूले बनाउनु भएको थिएन होला । बाहिर जान सकिन्छ भन्ने नै उद्देश्य थियो होला । यसरी निजी प्रयासमा कसैले प्रयास गर्छ भने सरकारले सहयोग गर्नुपर्छ । सरकारले गरेको सहयोग र व्यक्तिगत रूपमा गरेको प्रयासमा आकाश–जमिनको फरक पर्छ । राष्ट्रको प्रतिनिधि र व्यक्तिले गर्ने प्रयासमा सम्बन्धित पक्षले हेर्ने दृष्टि नै फरक हुन्छ । 

व्यापारिक घराना जसले चलचित्रमा बजेट लगानी गर्न र कुशलतापूर्वक बेच्न पनि सक्छ । उनीहरू किन लगानीका लागि आकर्षित हुन सकेनन् ? 
व्यापारीले त व्यापार हेर्छ । हामी त चलचित्र भावनाले बनाउँछौं । व्यापारीले त ५ रुपैयाँ लगानी गरेपछि २० रुपैयाँ रिटन्र्स खोज्छ । हामी कलाकार ५ रुपैयाँ लगानी गरेको ठाउँमा ७ रुपैयाँ आयो भने पनि हुन्छ भन्छौं, किन भने हामी यसमा भावनात्मक रूपमा जोडिएका छौं । लगानी फिर्ता आउने सुनिश्चित नदेखाकाले पनि लगानी नगर्नुभएको होला । 

तर, १० करोड, १२ करोड रुपैयाँ कलेक्सन गरेका चलचित्र पनि छन् नि, जो कलाकारहरू मिलेर बनाउनुभएको छ । व्यापारी आएर बनाएर २० करोड कमाएको भन्ने हामीले सुनेका छैनौं । हामीले सोचेभन्दा पनि अनपेक्षित रूपमा बढी कमाएका चलचित्र कलाकारकै लगानीमा बनेका चलचित्र हुन् । यसैले हामी डेडिकेडेड भएर भन्न खोजेको के हो स्पष्ट भयौं भने पक्कै पनि व्यापारिक रूपमा पनि सफल चलचित्र बनाउन सक्छौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC