विराटनगर । करिब डेढ वर्षअघि लिक परीक्षण गर्न भारतबाट विराटनगरको बुधनगरसम्म रेल आउँदा सयौंका संख्यामा लिकछेउमै लाम लागेर सर्वसाधारणले ताली बजाएर स्वागत गरेका थिए । लिकको सफल परीक्षणपछि रेल नियमित चल्ने भन्नेमा स्थानीय बासिन्दा आशावादी थिए । तर, लामो समय बितिसक्दासमेत बथनाहा-विराटनगर रेल अनिश्चित बनेको छ ।
त्यसबेला लिक परीक्षण गर्न रेलको इन्जिन गुडाउँदै भारतको गुवाहटीस्थित नर्थइस्ट रेल्वेका उप-प्रमुख एस विश्वासहितको टोली आएको थियो । बथनाहा-कटहरी रुटमा एक वर्षभित्रै नियममित रेल सञ्चालन गर्न सकिने विश्वासले बताएका थिए । तर, नेपाल पक्षकै कमजोरीका कारण बथनाहाबाट विराटनगर हुँदै कटहरीसम्म रेल सञ्चालन हुन विलम्ब भइरहेको छ ।
नेपालतर्फको एकीकृत भन्सारजाँच चौकी (आईसीपी) भन्दा चार सय मिटर पूर्वसम्म भारत सरकारको सहयोगमा लिक तयार भइसकेको छ । यहाँसम्म चल्ने रेल कार्गो रेल भए पनि यात्रुलाई समेत सेवा दिन सकिने भारतीय पक्षको भनाइ छ ।
बथनाहा-कहटरी रेलमार्गको दूरी १८ किमि छ । यो रुटलाई सरकारले पूर्वपश्चिम रेलमार्गको इटहरीसम्म जोड्ने योजना बनाएको छ । जनकपुरमा रेल आइसक्दासमेत विराटनगरमा संरचना तयार भएरसमेत रेल नआएको विषयमा विराटनगरका उद्योगीले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका तर्फबाट प्रधानमन्त्रीसहित सरोकारवाला निकायलाई ज्ञापनपत्र पठाइ बथनाहा-कटहरी रेल परियोजनलाई अविलम्ब पूरा गर्न माग गरेका छन् ।
कटहरी गाउँपालिका १ को महेशपुरमा स्टेसन बनाउने निर्माण गर्ने लक्ष्य लिइए पनि २०७० यता मुआब्जा विवाद सल्टिन सकेको छैन । स्टेसनका लागि २१ बिघा अधिग्रहण गर्दा मुआब्जाको विषयमा विवाद भएको हो । स्थानीयले मुआब्जा कम भएको भन्दै विवाद गर्दै आएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बथनाहा-कटहरी रेल यस क्षेत्रको औद्योगिक र आर्थिक विकासको मेरुदण्ड भएको बताउँछन् । उनले भने, “रेल्वे सञ्चालनबाट ढुवानी लागतमा कमी आउने, आयात निर्यातका लागि समय कम लाग्ने ढुवानी साधनजस्तै ट्रक, लहरीका कारण हुने जाम घट्ने हुन्छ ।” कलकत्ता र विशाखापटनम बन्दरगाहमार्फत तेस्रो मुलुकमा हुने आयात निर्यात व्यापार कार्गो सीधा आउन सहज हुने र कुनै कारण सडक अवरुद्ध भएसमेत प्रभावित नहुने घिमिरे बताउँछन् ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा जग्गासम्बन्धी मुआब्जा विवाद सल्टाउन नेपाल सरकारले चासो दिनुपर्ने बताउँछन् । उनी भन्छन्, “रेल्वेबाट सामान आयात गर्दा अहिले केही ढिलाइ हुँदा लाग्ने डिटेन्सन चार्जसमेत तिर्नु पर्दैन ।” मुन्दडाले यो रेलले विराटनगरलाई सोझै कलकत्ता र भारतका अन्य सहरसँग समेत जोड्ने भएकाले यसलाई सञ्चालन गर्नुपर्ने बताउँछन् । उनले नेपाल सरकारले अधिक चासो लिई भारत सरकारको सहयोगको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
भारत सरकारको कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर) ले यसअघि पनि रेल चल्ने सबै वातावरण नेपाल सरकारले बनाउने जनाएको थियो । नेपालतर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आउने मालवाहक रेलको पूर्वाधार निरीक्षण गर्न आएका बेला कन्कोर कलकत्ताका चिफ जनरल म्यानेजर एसए रहमानले ‘निर्माणका विषयमा स्थानीयसँगको विवाद अन्त्य गर्ने जिम्मा नेपाल सरकारकै भएको भन्दै सल्ट्याउन’ सुझाएका थिए ।
भारत सरकार मातहतको कन्कोरले देशभर तथा बाहिर पनि विद्युतीय कन्टेनर कार्गो पठाउने गर्छ । मालसामान बोक्ने रेल (र्याक) पनि उसैले पठाउँछ । कन्कोरले वीरगन्जमा जस्तै विराटनगरमा पनि व्यवस्थित रेल ह्यान्डलिङ स्टिम चाहिने बताउँदै आएको छ ।
विराटनगरको बुधनगरसम्म लिक परीक्षण गर्न आएको भारतीय रेल्वेको इन्जिन । फाइल तस्बिर ।