site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 जापानका आबे र बालुवाटारका बाजे

हिजोआज बालुवाटारमा कसैले कतै जापानको नाममात्र लिँदा पनि कसैलाई घोचपेच गरेजस्तो, कसैको दुखेको घाउ निचोरेजस्तो अवस्था हुँदो हो । किनभने जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू स्वास्थ्यको कारणले सरकार चलाउन नसक्ने भएको जनाउँदै भाद्र ११ गते पदबाट राजीनामा दिएका छन् । त्यसैले जापानको मात्र होइन कसैले ‘पान खान जाऊँ’ भन्यो भने वा कसैले ‘आबुई !’ भनेर प्रतिक्रिया दियो भने पनि प्रधानमन्त्रीलाई आबेको नाम सुनाएर व्यङ्ग्य गरेको भन्ने निर्क्योल निस्कन सक्छ । फेरि सधैँ एकआपसमा नै को बालुवाटारको शत्रु भनेर प्रमाणित गर्न प्रतिस्पर्धा हुने स्थानमा यस्तो मौकाको सदुपयोग गर्नेको कुनै कमी पनि हुँदैन । 

परन्तु, गलत काम हाम्रा नेताबाट भएको होइन यी जापानी नै त्यस्ता हुन् । यी आबे नै हेर्नुस्, अलि कस्तो कस्तो मान्छेजस्तो लागेन ?  उनको ठूलो आन्द्रा र मलाशय नजिकै कुनै आन्द्रा सुनिने रोग सानैदेखि रहेछ, अहिले आएर अलि बढ्ने जोखिम देखिएको कारणले उनले राजीनामा दिएका रहेछन् । उनको राजीनामाको त बालै भएन नेपालीलाई तर मेरो कारणले सरकार कमजोर नहोस् भनेर पदबाट बिदा लिँदै छु भनेर किन भन्नुपर्ने नि ? नेपालजस्तो संसारकै उच्च देशको उदाहरण त हेर्नुपर्छ । देशको लागि कति त्याग गर्नुपर्छ भन्ने अलि ज्ञान त हुन्थ्यो । 

हुनत, जापानी जातैले अलि स्वार्थी हुन् कि भन्न पनि नसकिने होइन । अब कहाँ यत्रो कोरोनाको कहरका बीचमा बिरामी छु अब देशको लागि म बोझ बन्दिन, राजीनामा दिन्छु रे । हाम्रा नेता जापानीजस्ता स्वार्थी छैनन् । आफ्नो स्वास्थ्यको कहिल्यै कसैले परवाह गरेनन् । गिरिजाप्रसाद कोइरालाकै उदाहरण लिऊँ । त्यत्रो जनआन्दोलनको सफलतापश्चात पनि उनलाई अब विश्राम लिनुपर्छ भन्ने लागेको होइन । बरु सकी नसकी अक्सिजन मास्क लगाएर पनि राज्य चलाएकै हुन् । बिचरा संसद्मै समेत एक दुईपल्ट बेहोस भए तर कहिल्यै आफ्नो जिम्मेवारीबाट हट्ने भन्ने सोचेनन् । देशको बेइज्जत हुन्छ भनेर सार्क सम्मेलनमा समेत गएर अक्सिजन लिँदै आउँदै गरेर सम्बोधन गरेरै छाडे । यिनको महानता सम्झेर पनि खित्का छुट्छ । आबे किन यस्तो हुन सकेनन् ? 

Prabhu Bank
Agni Group
NIC Asia

अनि अहिलेका प्रधानमन्त्रीले कसरी स्वास्थ्यको कारण देखाएर चटक्कै देश र जनताको हितविपरीत काम गर्थे बाबै । धन्न हो । उनले फेरि आफैँले गरेको पनि होइन्, गिरिजाबाबु, सुशील कोइराला सबैले सिकाएकै मार्गमा हिंडेका हुन् । ‘कांग्रेसले गर्दा हुने हामीले नहुने’ भन्ने त थेगो नै छ बालुवाटारमा । सुशीलले बिरामी भएर, अक्सिजन नै लिएर शासन त चलाएनन् तर, सिंहदरबारको सचिवालयलाई म्युजियम बनाउन उनको दाइले बसाएको परम्परालाई भने तोड्न सकेनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानीजस्तो मात्र होइन, कांग्रेस जति पनि स्वार्थ देखाएनन् बरा ! उनले आफ्नो स्वास्थ्य ‘चेकअप’ गर्न विदेश जाँदा समेत निजी विमान कम्पनीको त्यसबेला काम नपाएर थला परेको विमान लिएर गए । तैपनि, उनले निजी क्षेत्रलाई समर्थन गरे भनेर कसैले भनेनन् उल्टो उनको स्वार्थ खोज्नतिर लागे । त्यसबेला उपचार गराउँदा देशलाई केही करोड भार पर्‍यो होला यसमा त्यसै विरोधीले हल्ला मच्चाए । तर, सोचौँ त उनले प्रधानमन्त्री पद नै छाडेर त भागेनन् नि ! आफ्नो जिम्मेवारी पूरा गर्न किंचित संकोच मानेनन् । उनको त्याग सम्झेर हाँसो आउन्न भने के को देशभक्त ?

Global Ime bank

अझ पछिल्लोपल्ट प्रधानमन्त्रीको पदमा उँधोउँभो केही होला भनेर मिर्गौला नै नेपालमा फेरे । यस्ता देशभक्त र कामप्रति इमानदार हाम्रा मुखिया बाजेहरूलाई त्यसै नैतिकताको पाठ पढाउन आउने देखेर पनि ताज्जुब नै लाग्छ । त्यसमाथि पनि जापानको उदाहरण लिएर आउने देख्दा त छक्कै परिन्छ । आखिर जापानको नाम नै नेपालको पानबाट राखिएको हो भनेर कुनै दिन दस कक्षाबाट सीधै फड्केर पीएचडी उपाधिधारी विद्वान्ले घोषणा गरिदिएभने ? यस्ता प्रत्युत्मन्न मति र वाक्पटु नेताले बिरामी भएकै कारण पद त्याग गरेर जिम्मेवारीबाट हट्नु पनि त भएन ।

कुनै बालुवाटारे हजुरबालाई आफ्नी सासुमातालाई कति गरेर त्यही देशमा टिकाउनु परेको छ । सरकारले गरेका दसथरी गल्तीलाई पनि आफू केही नबोली यस्सो विश्वासप्राप्तलाई बोल्न लगाएर जनताको मुख थामथुम गरेर राजदूत पद बाँचेको छ । अनि त्यही देशको प्रधानमन्त्री चाहिँ सहजै पद छाड्छु भन्दा अर्कालाई कस्तो अप्ठेरो पर्छ भन्ने पनि कति नबुझेका क्या ! 

अर्काको देशका प्रधानमन्त्री, भनिहाल्नु त हुन्थेन कि आबे अलिकति झुठो पनि बोल्ने रहेछन् कि जस्तो पनि लागेको हो । पहिलोपल्ट सन् २००७ मा प्रधानमन्त्री भएको एक वर्षमै स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिएका थिए । तर पछि सन् २०१२ मा फेरि फर्किएर आठ वर्ष लगातार प्रधानमन्त्री बनेर जापानको इतिहासमा नै रेकर्ड बनाए । तर, हाम्रोमा त्यस्तो हुँदैन । कसैले एकपल्ट बिरामी भनेर छाड्ने र फर्कने त सम्भवै हुन्न । किनभने सकभर पदमा बसेपछि आर्यघाटबाट मात्रै बिदा लिने भन्ने सोच जो बलियो छ । बिरामीले त हामीलाई छुँदै छुँदैन । हाम्रो त यस्तो सशक्त व्यवस्था छ कि सिंगापुरको अस्पतालबाटै क्याबिनेट बैठक गर्छौैँ र निर्णय गरेपछि सो बैठक मन्त्रिपरिषद्को होइन भन्न पनि भ्याउँछौँं । 

नेपालको अस्पतालबाट सरकार चलाउनु त कुनै ठूलो कुरै भएन । हाम्रा प्रधानमन्त्रीले आईसीयूबाटै पनि देश चलाउने तरिका जानेका छन् । आखिर संसारमा सूचना प्रविधिको विकास यस्तो गतिमा भैसकेको छ । अलि जापानीहरू यस विषयमा अन्जान पो परेछन् कि ? हुन्त पढेका, पीएचडी गरेका धेरै हुन्नन् क्यारे उताका नेता । हाम्रोमा त कोही पनि प्रधानमन्त्री भयोभने पीएचडी दिन अनेक प्रकारका ग्रिनफोर्ड विश्वविद्यालय अघि बढिहाल्छन् ।

प्रधानमन्त्री ओलीलाई त ग्रिनफोर्डले सुरुमात्र गरेको हो अहिले उहाँसँग चार–चारवटा पीएचडी डिग्री छन् । भारतको गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालय, कोस्टारिकाको शान्ति विश्वविद्यालय र दक्षिण कोरियाको क्रिस्चियन विश्वविद्यालयले पनि नेपालका प्रधानमन्त्रीको क्षमतामा नतमस्तक हुँदै पीएचडी अर्पण गरिसकेका छन् । अरुले नबुझेरमात्र हो नत्र गोबरग्यास, रेलवे, बेसार आदि विषयमा पनि अहिलेसम्म विद्यावारिधि आइसक्नु पर्ने थियो । कतिले बुझ्दै बुझ्दैनन् कतिको चाहिँ राम्रो भन्ने मुटु नै हुँदैन । तर, कुनै संस्थाले यो कुरो बुझेर सुशासन र नेतृत्वको अवार्ड दिइसकेको भने बिर्सनु हुँदैन ।  

अन्त्यमा, हाम्रो देशका नेताहरूले देशलाई लगाएको गुनको हामी सबैले नतमस्तक भएर कदर गर्नुपर्छ । आखिर आबेको राजीनामाले पनि प्रमाणित गर्‍यो देशको काम सहज हुँदैन, दुःख हुन्छ भनेर । त्यसैले हाम्रा शासकहरूले देशको काममा दुःख हुन्छ भन्ने जानेरै अरुलाई काम नदिई सम्धी, साला, जेठान र आफ्ना मान्छेलाई नै ठूला पदहरू दिएका हुन् । हुनत, कतिपयले यस्तो काम नदिनुस् बरु यति करोड लिनुस् भन्छन् तर हाम्रा नेता मान्दैनन् । बरु करोड लिइदिन्छन् तर काममा नपठाई छाड्दैनन् । आखिर देश चलाउनेजस्तो दुःख आफ्नासँग नबाँडे कसलाई बाँड्ने ? हामी फेरि एउटा सानो देश जापानजस्तो हुनु पनि त भएन । 

 

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC