सुनील मिश्र/रंगकर्मी (मिनाप)
सुनील मिश्र पुराना रंगकर्मी हुन् । उनी जनकपुरको प्रसिद्ध नाट्य संस्था ‘मिथिला नाट्य कला परिषद्’ (मिनाप) सँग आबद्ध छन् । २०५२ देखि ०६५ सालसम्म उनी मिनापको अध्यक्षको जिम्मेवारीमा रहे । त्यसपछि नयाँ पुस्तामा संस्थाको बागडोर जानुपर्छ भन्दै उनले युवा रंगकर्मीहरूलाई मिनापको नेतृत्व सुम्पिए । तथापि उनको रंगकर्म सक्रियता यथावत् छ । करिब आठ वर्षअघि मुटुको समस्याले गर्दा उनले विशेष दौडधूपको काम र टाढाटाढासम्म गएर नाटकमा अभिनय गर्न छोडेका छन् । नभए उनी मञ्चमा गरिने नाटक होस् वा सडक नाटक, टेलिफिल्म होस् वा ठूलो पर्दाका फिल्म, अभिनयमा डुब्न रुचाउने उनले भ्याएसम्मका काम गर्दै आएका थिए । करिब २०/२२ वटा नाटकमा काम गरेका सुनीलले सयौँ शो गरेका छन् । सीता, अवतार, सीमाना, हाइवेलगायत फिल्ममा काम गरेका उनले कैयन् नेपाली र मैथिली टेलिसिरियलहरूमा समेत काम गरेका छन् । जनकपुरमै रहेका मिश्रसँग केही दिनअघि टेलिफोनमा लामो कुराकानी भएको थियो । प्रस्तुत छ, रंगकर्मी मिश्रसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानी ।
रंगकर्ममै सक्रिय हुनुहुन्छ ?
अँ । अहिले पनि कुनै न कुनै रूपमा रंगकर्मसँग जोडिएकै छु म । मिथिला नाट्य कला परिषद्को पूर्वअध्यक्षका हैसियतमा रहे पनि एउटा रंगकर्मीका रूपमा मेरो सक्रियता यथावत् छ । म करिब १३ वर्षजति मिनापको अध्यक्ष भएँ । त्यसपछिका दिनमा युवापुस्ताका भाइहरूले मिनापलाई अगाडि बढाउँदै आउनुभएको छ । अहिले प्रमेश झा परिषदको अध्यक्ष हुनुहुन्छ । पदेन सदस्यका रूपमा रहेकाले पनि मेरो संस्थागत सक्रियता रहिरहेको छ ।
अभिनय पनि गरिरहनु भएको छ ?
यतै वरपर स्थानीयस्तरमा हुने नाट्य प्रदर्शनीहरूमा म पनि सहभागी हुँदै आएको छु । मुटुको बिरामी भएपछि बढी धपेडी गर्न नसकिने भएकाले नजिकै आयोजन हुने नाटकहरूमा अभिनय पनि गरिरहेको छु । कलाकार भएकाले अभिनयबाट अलग रहन सक्दिनँ । त्यसमाथि मिनापले गर्ने नाटकको अभ्यास हुँदा त्यहाँ जाने र आफूले जानेका कुरा सिकाउने क्रम पनि जारी नै थियो, लकडाउन हुनु अगाडिसम्म । संस्थाको हेरचाहमा पनि मेरो सक्रियता छ ।
तर पछिल्लो समय ‘मिनाप’ त्यति चर्चामा छैन, जति पहिले चर्चामा रहन्थ्यो ?
पहिले तत्कालीन प्रज्ञा प्रतिष्ठानले हरेक वर्षको वैशाखमा नाटक महोत्सव गर्दै आएको थियो । त्यसबेला विभिन्न भाषाका नाटकहरू लिएर मुलुकका अधिकांश नाट्य संस्था काठमाडौंमा जुट्थे । महोत्सवमा मुलुकभरका रंगकर्मीहरू राजधानी पुगेका हुन्थे । मिनापका हामीहरू पनि नाटक लिएर पुग्थ्यौँ । त्यसबेला नयाँ–पुराना जुनै पुस्ताका पनि रंगकर्मीको उपस्थिति हुन्थ्यो, काठमाडौंमा । ती सारा रंगकर्मीहरूमा उत्सुकता पनि हुन्थ्यो । रहर पनि हुन्थ्यो ।
त्यो अवस्था अहिले छैन । देश गणतन्त्रमा गइसकेपछि नाट्य परिवेश नै परिवर्तन भएको अनुभूत भइरहेको छ । २०६३ सालपछि जुन प्राज्ञिक स्वरूप देशमा आयो, त्यसपछि भने त्यति ठूलो नाट्य आयोजन गरिएको देखिएन पनि । आयोजन भए पनि विभिन्न नाट्य समूहबीच प्रतिस्पर्धा गराएर त्यसमा विजयी भएका संस्थालाई मात्र काठमाडौं बोलाइने परम्परा सुरु भयो ।
त्यो अवस्थामा हामी पुराना संस्थाले मात्रै किन भाग लिने, नयाँ संस्थाका नयाँ कलाकारलाई मौका दिउँ भनेर सहभागी हुन छाड्यौँ । नयाँ पुस्ताका रंगकर्मीहरूलाई अगाडि बढ्न दिनुपर्छ भन्ने मान्यताले गर्दा नै यो अवस्था आएको हो । किनभने हामी नयाँ पुस्ताका लागि बाधक बन्न चाहन्थेनौँ ।
देशभरिमा पुराना नाट्य संस्थाहरू धेरै छन्, जसले नाटकका क्षेत्रमा आ–आफ्नो ठाउँबाट काम गरिरहेकै छन्, तर तिनलाई आमन्त्रित गरेर बोलाउने र नाटक प्रदर्शन गर्न लगाउने जुन काम प्रतिष्ठान स्तरबाट हुनुपर्ने थियो, त्यो हुन सकेको देखिएन ।
मिनाप जनकपुर क्षेत्रमा गर्व गर्ने नाट्य संस्था हो । यस संस्थाबाट युवा नाट्यकर्मीहरू राजधानी जाने–आउने त गरिरहेका होलान् ?
धेरै युवा नाट्यकर्मीहरू मिनापबाट काठमाडौं र मुलुकका अन्य ठाउँमा गएर नाटक प्रदर्शन गरिरहेका छन् । नगरेको होइन । रमेशरञ्जनजी नाट्य प्रतिष्ठानमा प्राज्ञ हुनुहुँदा दोलखा चरिकोट, इटहरीलगातय विभिन्न ठाउँमा गएर मिनापले नाट्य प्रस्तुति दिएको हो । तर यस्तोमा केही सीमितताका कारण चाहेको नाटक मञ्चन गर्न सकिने अवस्था रहँदैन । चाहेको नाट्य स्क्रिप्टमा काम गर्न सकिँदैन । किनभने नाटक भनेकै धेरै कलाकारहरूको अभिनय प्रस्तुति हो । जहाँसम्म मिनापको उपस्थिति नदेखिएको प्रसंग छ, पछिल्लो समयमा काठमाडौंसम्म गएर संस्थाले आफ्नो प्रस्तुति दिन सकेन । त्यसले गर्दा मिनापको उपस्थिति नदेखिएजस्तो भएको हो ।
यहाँ अर्को कुरा जोडौं, काठमाडौंमा पहिले गुरुकुल र सर्वनामले मिनापलाई पनि नाटक प्रदर्शनका लागि आमन्त्रित गरिरहन्थे । त्यस्तो अवसरमा हामी काठमाडौं जान्थ्यौँ र नाटक मञ्चन गथ्र्यौं । तर अहिले गुरुकुल आफैं मौन छ । र केही समय भयो, सर्वनामले पनि हामीलाई नाटक मञ्चनका लागि बोलाएको छैन । प्रज्ञा प्रतिष्ठानले नाटक महोत्सव गरेको छैन । त्यसैले गर्दा मिनाप सक्रिय भए पनि कार्यक्षेत्र संकुचित भएकाले मिनापको उपस्थिति नदेखिएको हो कि ! यसरी कार्यक्षेत्र संकुचन हुँदै गएको अनुभूत मलाई पनि भइरहेको छ ।
यस्तो किन भएको होला ? जबकि संगीत नाट्य प्रज्ञा प्रतिष्ठान अलग रूपमा खडा भएको छ ?
राज्य पक्षले नाट्य विधालाई उपेक्षा नै गरेको हो कि भन्ने मलाई लाग्छ । अहिले मुलुक संघीय गणतन्त्रात्मक युगमा छ । राज्यमा संघीय सरकार र प्रदेश सरकारको अवधारणाअनुरूप काम भइरहेको छ । यस्तोमा स्थानीय स्तरमा पनि नाट्य क्षेत्रलाई प्रोत्साहन दिन सरकारले उत्सुकता देखाएको भए अलिकति चम्किन्थ्यो होला नाट्य क्षेत्र । तर त्यसो कहिल्यै भएन । खासमा रंगकर्मलाई कसैले माया गरेकै देखिँदैन ।
फेरि रंगकर्ममा लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था छैन । यो महँगीको जमानामा रंगकर्ममा लागेर जीवन धान्न कठिन छ । त्यसका लागि कलाकारहरूले बेग्लै काम गर्नुपर्छ । जीवन व्यावसायिक हुँदै गएको छ भने रंगकर्म अव्यावसायिक क्षेत्र भइदिएको छ ।
देशभरिका नाट्य संस्थाहरूलाई संगीत नाट्य प्रतिष्ठानले सहयोग गरेर भए पनि निरन्तर क्रियाशील गराउन त सक्थ्यो होला । केही गरेको देखियो वा देखिएन ?
म त प्रतिष्ठानबाट केही पनि भएकोे देखिरहेको छैन । अरू केही नभए पनि प्रतिष्ठानले मुलुकका यस्ता नाट्य संस्थाहरूको इतिहास कायम गरिदिए पनि ठूलो काम हुन्थ्यो । कुन संस्था नाट्य क्षेत्रमा आयो, कुन संस्था कति वर्षदेखि सक्रिय छ, तिनले के कति कामहरू गरेका छन्, तीमध्ये कुन–कुन सेलाए, ती सेलाए भने सेलाउनुको कारण के हो ? यी यावत् विषयमा खोजी गरेर बृहत् इतिहास लेखिने काम गर्नुका साथै यस्ता संस्थाहरूलाई मर्न दिनु हुँदैन भन्ने दृष्टिकोणबाट पनि काम हुनुपथ्र्यो । तर यस्तो अभिलेख कुनै प्रतिष्ठानले प्रकाशित गरेको छैन । प्रतिष्ठानमा जो जति प्राज्ञ भएर आउनुभयो उहाँहरूले आफूलाई कसरी हाइलाइट गर्ने र प्रज्ञा प्रतिष्ठानमा आफूले गरेको कामलाई कसरी देखाउने विषयमा मात्रै ध्यान दिनुभएको देखियो ! देशभरि छरिएर रहेका सयौं नाट्य संस्थाहरूबारे केही काम भएकै देखिएन ।
रंगकर्मकै लागि भनेर सारा कुरा त्याग्ने कलाकारहरूका लागि प्रतिष्ठानले अलिकति पनि हेरेको छैन । वास्तवमा रंगकर्ममा लाग्ने कलाकारहरूको विचल्ली भएको छ । खेलकुदको क्षेत्रमा लागेकाहरूका लागि राज्यबाटै विशेष भत्ता दिइन्छ । तर नाटकमा जीवन बिताएकाहरूका लागि केही छैन ! एकदमै सुखोरुखो क्षेत्र भएको छ यो त । तिनका लागि पनि त सोच्नुपर्ने होइन र प्रतिष्ठानले ? होइन भने भोलिका दिनमा को आउँछ रंगकर्ममा !
हामीजस्ता यो विधाबाट परिचय बनाएकाहरूले निजीस्तरमा केही गरिरहेका छन् र नाट्य संस्था बचाउने प्रयास गर्दै छन् । जबकि यो प्रयास राज्य पक्षबाट हुनुपर्ने थियो । यदि राज्य पक्षले उपेक्षा नै गरिरहने हो भने त धेरै दिनसम्म बचाइराख्न पनि गाह्रो होला ।
दिग्गज नाट्यकर्मी हरिहर शर्मा, निशा शर्मा, त्यस्तै धीरेन्द्र प्रेमर्षीजस्ता रंगकर्मी कलाकर्मी प्रतिष्ठानमा हुनुहुन्छ । तर पनि मुलुकका नाट्य संस्थाहरूको यो दुर्दशा !
यस्ता प्रतिष्ठान त जागिर खाने ठाउँ मात्रै भएकोे छ । जबकि त्यहाँबाट धेरै काम हुनुपर्ने थियो । यस्ता स्वायत्त संस्थाहरूको काम गर्ने शैली झनै परिवर्तन भएर जानुपर्थ्यो । काम गर्ने क्षेत्र विस्तारित भएर जानुपर्थ्यो । तर त्यस्ता कुनै काम भएको देखिँदैन । बरु हरिहर शर्मा दाइ सांस्कृतिक संस्थानमा हुँदा धेरै काम भएको थियो । मिनापले त्यसबेला सांस्कृतिक संस्थानमा पनि नाटक मञ्चन गरेको थियो । तर प्रतिष्ठानजस्तो निकायले पनि केही गर्न सकेको छैन !
यदि आफूले चाहेको काम गर्न सक्ने माहोल थिएन भने उहाँहरूले पद स्वीकार गर्न हुन्थेन । र स्वीकार गर्नुपर्ने अवस्थामा यो यो काम गर्छु र यसका लागि हामीलाई यस किसिमको सहयोग चाहिन्छ भन्नसक्नु पथ्र्यो । तर त्यस्तो केही पनि भएको छैन । हेर्नुस्, नाट्य क्षेत्र धेरै पीडामा छ । यो पीडातिर सरोकारवाला कसैको पनि ध्यान गएको छैन । त्यसैले मैले भनेको हुँ– रंगकर्मलाई जोगाउन साह्रै गाह्रो छ ।
यस्तो पीडादायी अवस्थामा पनि तपाईंहरू मिनापलाई अगाडि बढाइरहनु भएको छ ?
स्पष्ट भनुँ, आफ्नै परिचय जोगाउन पनि मिनापलाई सक्रिय राख्नुपरिराखेको छ । हामी केही न केही गर्नैपर्छ भनेर निरन्तर नाटकमा लागिरहेका छौं । भनौं रंगकर्मको सेवामा सक्रिय छौँ । मिनापले पछिल्लो समय धेरै नाटक र सांस्कृतिक कार्यक्रमहरू गरेको छ । स्थानीयस्तरमा मिनापको सक्रियताबारे सबैलाई थाहा छ । लकडाउन हुनुपूर्व मिनापका कलाकारले नेपाल र भारतका विभिन्न क्षेत्रमा गएर नाटक मञ्चन गरेका थिए । त्यसै सिलसिलामा ‘जानकी लीला’ गीति नाटक तयार गरेर प्रदर्शन पनि गरिएको थियो ।
पछिल्लो समय जनकपुरमा रंगकर्मको अवस्था कस्तो छ ?
एकदम राम्रो छ । मिनापमा हामी ४० जनाभन्दा बढी कलाकार अहिले पनि क्रियाशील छौँ । नाटकका साथै अन्य विभिन्न कार्यक्रम पनि मिनापले गर्दै आएको छ । मिनापबाट फागु पूर्णिमामा महामूर्ख सम्मेलनको आयोजना गरिँदै आइएको छ । डम्फा प्रतियोगिता पनि हामीले गर्दै आएका छौँ । डम्फा प्रतियोगिता गर्नुको कारण के भने, होलीमा डम्फा नै बजाउनुपर्ने हुन्छ होली गीत गाउँदा । तर त्यो परम्परा आज लोप हुँदै गइरहेको छ । डम्फा पुराना पुस्ताले मात्रै बजाउँदै आएका छन् । त्यसैले नयाँ पुस्तामा पनि त्यसप्रति आकर्षण बढोस् र परम्परा पनि जोगियोस् भनेर डम्फा प्रतियोगिता गर्ने गरेका हौं । सांस्कृतिक जगेर्नाका लागि गरिएको यो हाम्रो सानो प्रयास हो ।
परम्परागत संगीततिर युवाहरूको रुचि किन हराएको होला ?
किनभने, सबै युवा काम गर्न विदेश जाने चलन बढ्दो छ । त्यसैले पनि यतातिर युवाहरूको रुचि नभएको हो कि भन्ने लाग्छ । हुनत हामीले सांस्कृतिक जगेर्नाका लागि तपाईंको योगदान रहन्छ भनेरै युवा पुस्तालाई मोटिभेट गर्दै छौँ । र यतातिरबाट आशावादी पनि छौँ ।