काठमाडौं । नीर शाहको अभिनय क्षमताबाट सबै परिचित छन् । उनको अभिनयले सजिएका चलचित्रहरू बितेका पचास वर्षदेखि नेपाली दर्शकले हेर्दै आएका छन् । उनी नेपालका सुप्रसिद्ध अभिनेता हुन् भने कतिपय नेपाली सिनेमामा उनको नायकत्व आज पनि आज पनि स्मरणीय छ ।
प्रारम्भमा रंगकर्मसँग जोडिएका नीर शाह नेपाली चलचित्रको विकाससँगै उदाए । र चम्किए । तर नाट्यकर्मी/चलचित्रकर्मी शाह बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहे । अभिनेता नीर शाहका अनुसार, नाट्य विधामा अत्यधिक रुचि भएकै कारण साहित्य पनि उनको भावनासँगै जोडिएर आएको हो ।
सानो हुँदा नै कवितामा उनको विशेष आकर्षण रह्यो । बाल्यकालमा उनले जेजस्ता साहित्य पढे, त्यसको प्रभाव उनीमा परेको हो । केही दिनअघि टेलिफोन वार्ताका क्रममा चर्चित गीतकार नीर शाह भन्दै थिए, “सानो छँदै मलाई मेरी आमाले ‘रामायण’ र ‘महाभारत’का कथाको किताब पढ्न दिनुभएको थियो । त्यहाँ अनेक पात्र र चरित्र बोकेका कथाहरू छन् । ती सम्पूर्ण चरित्रहरूको एक किसिमको प्रभाव ममाथि पर्न गएको हुनसक्छ । जसले मलाई नाट्य/संगीतका साथै काव्य रचनाका लागि अभिप्रेरित गर्यो ।”
शाहले स्कुलमा नेपाल पद्यसंग्रह, नेपाल गद्य संग्रहजस्ता किताबहरू पढ्नुपर्थ्यो । उनलाई नेपाली पढाउने शिक्षकहरू थिए, रुद्रराज पाण्डे, भीमवरसिंह थापा, पुरुषोत्तम जोशीहरू । तिनमा पाण्डे र थापा तत्कालीन रंगकर्ममा पनि सक्रिय थिए ।
शिक्षकहरूको सानीध्यले उनलाई नाट्य क्षेत्रप्रति आकर्षित गर्यो । फलतः उनी साथीहरूसँग मिलेर नाट्य संरचनामा लाग्न थाले । स्कुलमा पनि आफू-आफू मिलेर सामाजिक चेतनामूलक नाटकहरू लेख्ने र मञ्चन गर्न थालेको उनी बताउँछन् ।
शाहका अनुसार उनको नाट्य क्रियाकलाप स्कूलमा चलिरहेको थियो भने उनी लेखकहरूको समूहमा पनि फाट्टफुट्ट आबद्ध हुन थाले । कारण, त्यसबेलासम्म उनले आफ्ना भावनालाई कविताको रूप दिन सुरु गरिसकेका थिए । एकपटक बाल संगठनले राष्ट्रियस्तरमा बाल कविता सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा शंकर थपलिया प्रथम, उपेन्द्रपाणि गौतम दोस्रो र नीर शाह तेस्रो भएका थिए ।
यो सम्मेलनमा प्राप्त उपलब्धिले शाहलाई काव्य क्षेत्रमा अगाडि बढ्न झनै अभिप्रेरित गर्यो । नीर भन्छन्, “त्यो मेडललाई आज पनि मैले साँचेर राखेको छु । जुन तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्टले प्रदान गर्नुभएको थियो ।” पछि शाह दार्जिलिङ पुगे, थप पढाइका लागि । दार्जिलिङ साहित्य, कला, संगीतका लागि अजस्र स्रोत समेटिएको सहर हो । कला साहित्यका मर्मज्ञहरूको विशाल कुण्ड हो दार्जिलिङभन्दा अतिरञ्जना नहोला । जहाँ, संगीत कलामा लागेका व्यक्तिहरू पनि साहित्यप्रति अथाह रुचि राख्थे ।
त्यस्ता व्यक्तित्वहरू, अगमसिंह गिरी, अम्बर गुरुङ, गोपाल योञ्जन, गुमानसिंह चाम्लिङलगायत अनेकौँ सर्जकलाई युवा सर्जक शाह नियालिरहेका थिए । दार्जिलिङको बसाइँको समयमा नै यी साहित्यकार, संगीतकर्मी, नाट्यकर्मीहरूका क्रियाकलापलाई नीर शाहले नजिकबाट नियाल्ने मौका पाए । र दार्जिलिङमै नाटककासाथै साहित्यप्रतिको उनको अभिरुचिले झन् मौलाउने मौका पायो ।
दार्जिलिङमै रहँदा आफूले ‘एन. विक्रमादित्य’का नामबाट कथा लेख्न सुरु गरेको शाह बताउँछन् । उनले लेखेका कथाहरू दार्जिलिङका स्थानीय पत्रपत्रिकाहरूमा थुप्रै छापिएको उनी सम्झिन्छन् ।
दार्जिलिङमा पढ्न बस्दा पनि उनले नाटकहरूमा अभिनय गरे । नाटकमा अभिनय गर्ने क्रममा उनको स्थानीय संगीतकार तथा गायकहरूसँग उठबस हुँदै गयो । शाह भन्छन्, “मलाई अभिनयबाहेक गीत गाउन वा नाच्न वा संगीत गर्न आउँथेन । आउँथ्यो त, केवल कथा/कविता लेख्नँ । त्यसैबेला धनञ्जय, दिव्य खालिङहरूजस्ता संगीतकारहरूसँग मेरो सम्पर्क भयो । मलाई लाग्यो मैले पनि एक-दुइटा गीत लेखेर दिनुपर्यो । यसरी गीत लेख्न थालेँ । केही कार्यक्रमहरूमा उहाँहरूले मेरो गीतमा संगीत भरेर गाउनु पनि भयो । जसले गर्दा म गीत लेखन तिर हौसिएँ ।”
गीत लेखनमा संगीत/नाट्यतिरको अभिरुचिले नै काम गरेको नीर शाह बताउँछन् । यद्यपि आफूले ति गीत नितान्त आफ्ना लागि मात्रै लेखेको उनको तर्क छ ।
यहीँबाट उनको गीत लेखनले गति लियो । गीत गङ्गामा गोता लगाउँदै जाँदा आफ्ना गीत सिर्जनामा उनले अभूतपूर्व सन्तुष्टि प्राप्त भएको अनुभूत गर्दै गए । सोही सन्तुष्टिका कारण उनको गीतियात्रा आज पनि यथावत् छ । निरन्तर चलिरहेको छ ।
शाह भन्छन्, “हुनसक्छ, म जे कुरा बोलेर अभिव्यक्त गर्न सक्दिनथेँ, त्यो मेरा लेखनमा अभिव्यक्त भए होलान् । त्यसैले मेरा आत्मसन्तुष्टिसँग मेरा गीत लेखन जोडिएर गए । त्यो कसैले गाए पनि नगाए पनि, संगीतबद्ध गरे पनि नगरे पनि, मैले लेख्दै गएँ ।”
०००
नीर शाह काठमाडौं फर्किए, दार्जिलिङबाट । काठमाडौं फर्किएपछि उनीलगायत उनका केही मित्रहरूलाई लाग्यो अब गीत/संगीत र नाट्यका क्षेत्रमा विशेष अभियान नै थाल्नुपर्छ । त्यसैको परिणति थियो ‘संगीत संगम’ कार्यक्रमको सञ्चालन । संगीत संगम कार्यक्रम बेलाबेलामा आयोजना हुन थाल्यो । यस अभियानले धेरै गीतकार, संगीतकार र गायकहरू जन्माएको उनी सम्झना गर्छन् ।
त्यसपछि नै हो नीर शाहको पहलमा रंगकर्मी संस्था ‘श्री समूह’को स्थापना भएको । जसले काठमाडौंका प्रेक्षालयहरूमा धेरै नाटकहरू मञ्चन गर्यो । तथापि, गीत लेखनका माध्यमबाट आत्मसन्तुष्टि खोज्ने शाहले गीत लेखनको क्रमलाई निरन्तरता दिइरहे । उनले गीत लेख्दै गए । गीतहरू रेकर्ड हुँदै गए । उनका कैयन् कालजयी गीत आज पनि स्रोताको मन-मस्तिष्कमा बसेको छ ।
यहाँ गीतकार शाहका तीन गीतको चर्चा गरिँदै छ, जसले आज पनि जुनै उमेर समूहका स्रोतालाई पनि मुग्ध बनाउँछ । गीतकार शाह आफ्ना यी तीन गीतहरूका बारेमा भन्छन् :
बादल बनाई देऊ आकार बदल्न सकूँ...
मेरा गीतहरू आफूभित्र गुम्सिएर बसेका तरङहरू हुन भन्ने लाग्छ मलाई । हरेक मानिसका मनमा अनेकन भावना गुम्सिएर बसेका हुन्छन् र त्यसले निकास खोजिरहेको हुन्छ । भावना गुम्सिनुको प्रमुख कारण व्यवहारिक जीवनमा भोगिएका विसङ्गतिहरू नै हो ।
तपाईंलाई केही कुराले चित्त बुझिरहेको छैन भने त्यस्ता कुराले कताकता घोचिरहेको हुन्छ । अनि ती थाहा नपाउँदा-नपाउँदै हुर्किएर गइरहेको हुनसक्छ । स्वभावतः त्यसले निकास खोज्छ । त्यस्ता भावनाहरू अभिव्यक्त गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ होला । मेरो सन्दर्भमा भने ति भावना मेरा गीतहरूका माध्यमबाट नै निस्किएका हुन् ।
सानो-सानो कुरामा चित्त नबुझ्दा अनेकन भावले जन्म लिन्छ । त्यस्तो अवस्थामा कि त समयानुकूल आफैंलाई बदल्न सक्नुपर्ने हुन्छ, जो म सक्दिनँ । त्यसो हो भने जीवन हारै हारको थुप्रो हो भनेर त्यसलाई स्वीकारेर अगाडि बढ्न पनि त सकिन्न ! यही गहन विचारले मलाई बारम्बार घोचिरह्यो । र, त्यसैको निकास हो यो गीत :
बादल बनाइ देऊ आकार बदल्न सकूँ
क्षमता दिलाई देऊ जिउँदै म जल्न सकूँ...
यो गीत लेख्न मलाई एउटै मात्र घटनाले प्रेरित गरेको होइन भन्नेजस्तो मलाई यतिबेला लाग्दैछ । तपाईंले चित्त बुझाउन नसकेको, तपाईंलाई अन्यायपूर्ण, अत्याचारपूर्ण लागेका थुप्रै घटनाहरूबाट सिर्जेको भावना यस गीतको माध्यमबाट निस्किएको हो ।
यो गीत लेखिरहेको थिएँ । त्यसबेला हाम्रो समूहमा सङ्गीतको क्षेत्रमा शम्भुजीत बास्कोटाजी त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँ प्रतिभाशाली र जुझारु पनि हुनुहुन्थ्यो । उहाँले नै यो गीतमा लय भर्दै जानुभयो । यसका केही हरफ मैले धुनमा नै लेखेको हुँ ।
त्यसबेला यो गीत उदितनारायणजीले गाउँछु भन्नु भएको थियो र उहाँकै लागि भनेर धुन तयार हुँदै थियो । तर पछि यो गीत उदितनारायणजीले नगाउने हुनुभयो । त्यसपछि अर्का प्रतिभाशाली गायक दीपक खरेलले आफ्नो रेकर्डिङ डेटमा यो गीत गाउनु भएको हो । त्यसबेला रेडियो नेपालले गायकहरूलाई गीत रेकर्डिङका लागि डेट उपलब्ध गराउँथ्यो ।
यो गीत स्रोताहरूले अत्यन्तै रुचाउनु भयो ।
गीतकार शाह थप्छन्, “यहाँ उल्लेख गरिएका तीन वटै गीतहरूको सिर्जनाक्रम यसरी नै जोडिएको छ । केही न केही चोट नलागीकन त त्यो बाहिर आएको नै छैन । चोट लागेको कुरा मेरो चेतन मनमा भएको भए मैले थाहा पाउने भएँ । मेरो अवचेतन मनमा भएको भए मैले थाहा नपाउने भएँ । कति कुरा मलाई थाहा छ कति कुरा मलाई थाहा छैन, तर निश्चित रुपमा जताततै व्यवहारमा देखिने विसंगतिहरू, मेरा विद्रोहका आवाजहरू नै हुन् । त्यसमा कुनै सन्देह नै भएन ।”
गहिराइमा डुब्दै नडुब...
गहिराइमा डुब्दै नडुब
डुबी सकेको छौ भने
मोती नटिपी नफर्क...
यो अलि भिन्न खालको गीत हो । यो गीत मेरो जीवनको दर्शन बोकेको गीत हो ।
यो यसो हेर्दा मोटीभेसनल (प्रेरणादायी) गीत लाग्न सक्छ तपाईंलाई । तर यो अरूलाई भन्दा पनि मैले आफूले आफैंलाई मोटिभेट गर्न खोजेको हुँ । यसले मलाई नै मोटिभेट हुन किन सघाउ पुगेको मलाई लाग्छ । यसको कारण हो, यो मेरो जीवनको दर्शन नै त्यही हो ।
मानिसको जीवनमा प्रगाढ विश्वास राख्ने एउटा दर्शन हुन्छ नै । हुनुपर्छ भन्छु म । कम्तीमा मेरो जीवनमा त्यो छ । त्यही दर्शनमा विश्वास राख्छु पनि । र, जुन दर्शनमा म विश्वास राख्छु, त्यही दर्शनलाई गीति स्वरूपमा मैले अभिव्यक्त गरेको हुँ ।
मेरो जीवनको दर्शनलाई नै गीतको आकार दिए पछि त्यसलाई संगीतकार शम्भुजीत बास्कोटाले संगीतबद्ध गर्नुभयो र प्रकाश श्रेष्ठले गाउनुभएको हो ।
कहिलेकाँही म हास्छु...
यो गीत मैले बादल बनाई देऊ... भन्दा अगाडि नै लेखेको हुँ । यो गीत मेरो गीत लेखेर राख्ने डायरीमा थियो । एकपटक मेरो गीतको डायरी हेर्दै गर्दा नारायणगोपालजीले यो गीत पढ्नु भएछ । उहाँले यो गीत पढ्दै नै साह्रै रुचाउनु भएको थियो ।
यो गीत पढेपछि उहाँले गीतको मुनि लेख्नुभएको थियो- ‘क्यानभासमा लतपतिएको पहेँलो रंगजस्तो गीत’ ।
यो गीतमा उहाँले यस किसिमको टिप्पणी गर्नु भए पनि यो गीत उहाँले नै गाउनुहुन्छ भन्ने थिएन । यो मेरो डायरीमा मात्र सीमित थियो ।
केही समयपछि नै होला, संगीतकार सीके रसाइलीजी नारायणजीका लागि एउटा गीत बनाउने क्रममा हुनुहुन्थ्यो । त्यस गीतमा केही फरक संगीत दिने सोच पनि रहेछ उहाँको ।
एकदिन सीकेजीले म कहाँ आउनुभयो । उहाँले नारायणजीका लागि एउटा गीत रेकर्ड गर्ने तयारी गरेको कुरा गर्दै गीत माग्नुभयो । मलाई त विश्वास पनि लागेको थिएन, नारायणगोपालका लागि मेरो गीत खोजिँदा ! राम्रै हुन्छ भन्दै मैले मेरो गीतको डायरी दिएँ । र सीके रसाइलीजीले पनि डायरीबाट त्यही गीत लिएर जानु भयो, जुन गीतमा नारायणगोपालले आफ्नो टिप्पणी लेख्नु भएको थियो ।
कहिलेकाहीँ म हास्छु धेरै बेर हास्छु
जो हासी रहेछन् केवल उनीहरूको माझ हास्छु....
त्यसबेला सीके रसाइलीजीको एल्बम बन्दै रहेछ, रत्न रेकर्डिङ संस्थानबाट । त्यही एल्बममा त्यो गीत परेको थियो । त्यो रेडियो नेपालको गीत भए रेडियोमा बारम्बार बज्ने थियो होला । तर रत्न रेकर्डिङको गीत भएकाले होला, तुलनात्मक रूपमा कम बज्थ्यो । धेरैपछि गएर मात्रै यो गीत जनमानसमा भिज्न गयो ।
यस गीतमा सामाजिक कुरीतिहरूले म भित्र जन्माएको छटपटीलाई मैले स्पष्ट र सोझो भाषामा अभिव्यक्त गरेको छु । मैले जे अनुभूत गरेको थिएँ त्यही स्पष्टरूपमा लेखेको हुँ ।
यी तीनवटा गीत गीत रेकर्ड गर्नैका लागि भनेर लेखिएका गीत होइनन् । यी गीतहरू नि:तान्त मेरा मनका अभिव्यक्तिहरू हुन् । प्रकारान्तरले यी गीतहरू कुनै गायकका दृष्टिमा त कुनै संगीतकारको नजरमा परेर रेकर्ड भएका हुन् ।