site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आउँदो पुस्ताले लोकगीत सुन्‍न पाउला ?

काठमाडौं । लोकगीतका सर्जक तथा स्रष्टाहरूले लोकगीत–संगीतलाई बचाउन कठिन भएको बताएका छन् । मौलिक लोकगीत–संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न अहिलेकै अवस्था रहिरहे नसकिने स्वयं लोकगीत–संगीतकै स्रष्टाहरूले बताएका हुन् । 

लोकगायक कुमार बस्नेत, जयनन्द लामा, हरिदेवी कोइराला, अशोक राईलगायत लोकगीत–संगीतका नाममा व्यापार भइरहेको भन्दै अहिलेकै अवस्था रहे आउँदो पुस्ताले वास्तविक लोकगीत सुन्न नपाउने बताउँछन् । 

पछिल्लो दशक लोकगीतका नाममा व्यापार भइरहेको र यो प्रवृत्ति अझै यथावत् रहे आगामी पुस्ताले ठेट लोकगीत के हो भन्ने नै थाहा नपाउने लोक गायक कुमार बस्नेत बताउँछन् ।

Dabur Nepal

“लोकगीत मासिँदै गएको सबैलाई थाहा छ । यस्तै अवस्था रहे भोलिका दिनमा इतिहास मात्रै रहने निश्चित रहेको छर्लङ्ग छ,” कुमार भन्छन्, “सबैलाई वास्तविकता के हो भन्ने थाहा छ भने कसलाई दोष दिने । न यहाँ मैले भनेको कसैले सुन्नेवाला छ, न तपाईंले । प्रधानमन्त्रीको निर्देशन पालना नहुने देश हो यो ।”

कुमार यही अवस्था रहे भोलिका दिनमा विगतको गल्तीलाई सम्झिएर पुर्पुरोमा हात लगाएर बस्नुको विकल्प नहुने बताउँछन् । 

लोकगीत संगीतका अध्येतासमेत रहेका लोकगायक जयनन्द लामा लोकगीतमा फस्टाउँदो व्यावसायिकता नै यसका लागि मुख्य घातक पक्ष भएको बताउँछन् । अन्य गीत–संगीतमा जस्तो लोकगीतलाई व्यापारिक आँखाले नहेर्न उनको सुझाव । “लोकगीत–संगीत भनेको नेपाल र नेपालीको कला, साहित्य, संस्कृति र संस्कार हो । विश्वमा नेपाली भनेर पहिचान गराउने नै यसैले हो,” जयनन्द भन्छन्, “तर यसैलाई हामी व्यापार गरिरहेका छौं । म त भन्छु बरु हामी भोकै बसौं तर आफ्नै पहिचानलाई नबेचौं । हामी लोकगीतका नाममा हाम्रै पहिचान बेचेर खाइरहेका छौं ।” नेपालीको संस्कार, संस्कृति र पहिचानका रूपमा रहेको लोकगीत–संगीतलाई संरक्षण गर्नु राज्यको दायित्व भएको उनी बताउँछन् । 

लोकगायक तथा संकलक दुर्गा रायमाझी पुरानो पुस्ताको अन्त्यसँगै लोकगीत–संगीत हराउने भन्दै पुरानो पुस्तामा रहेको गीत–संगीत संकलन गर्नुपर्ने बताउँछन् । अहिले पनि गाउँगाउँमा रहेका बूढापाकाहरूसँग प्रशस्तै लोक भाखा र मौलिक शब्दहरू रहेको भन्दै त्यसलाई जर्गेना गर्न नसके त्यो संकलन नहुँदै लोप हुने दुर्गा बताउँछन् । 

“नेपाली लोकगीत–संगीतको लोप नहुँदै संकलन गर्न सक्नुपर्छ । यो काम सरकारी निकायबाट गर्नुपर्ने हो तर हुन सकेको छैन,” उनी भन्छन्, “राजनीतिक नियुक्ति र आ–आफ्नै विचार र निहित स्वार्थका कारण त्यो हुन सकेको छैन । र हुन पनि कठिन छ ।”

दुर्गा गाउँगाउँ पुगेर लोप हुन लागेका लोकगीत र भाका बचाउने प्रयासमा आफू रहेको बताउँछन् । यसका लागि स्थानीय सरकारसँग समन्वयको प्रयास भइरहेको उनको भनाइ छ ।

“हाम्रो पहिचानै मासियो भने हामी भोलि के भनेर आफूलाई चिनौंला,” दुर्गा भन्छन्, “लोप हुन लागेका गीत पहिलो संकलन गरिएका व्यक्तिबाटै गाउन लगाउने र त्यसपछि काठमाडौं ल्याएर व्यावसायिक कलाकारबाट गाउन लगाउन सकियो भने हाम्रो संस्कृति जीवित रहन्छ ।” 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत विभाग प्रमुख अशोक राई अबको ५० वर्षपछिको पुस्ताले अहिले बजारमा आएका व्यावसायिक गीतलाई नै लोकगीत भनेर चिन्ने बताउँछन् । “सस्तो लोकप्रियता र जसरी पनि तत्काल पैसा कमाइहालौं भन्ने खराब चिन्तनका कारण लोकगीतमा विकृति भित्रियो,” नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत विभाग प्रमुख अशोक भन्छन्, “अबको ५० वर्षपछिको पुस्ताले तिज गीत भनेर अहिले डाङडाङ र डुङडुङ गर्ने तिज गीतलाई हाम्रो ठेट तिज गीत भनेर बुझ्ने छ ।”

लोकगीतमा देखिएको विकृति हटाउन समाजले विकृति भित्राएका गीतसंगीत र तिनका सर्जकलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउँछन् । लोकगीतका नाममा विकृति र विसंगति भित्र्याउने गीतलाई नसुन्ने र ठेट गीतलाई प्रोत्साहन गर्नुपर्ने भन्दै अशोक भन्छन्, “संगीत विकास बोर्डको आवश्कता देखियो । कोठाकोठामै गीत रेकर्ड गरेर सार्वजनिक गर्ने भएकाले कसले कहाँबाट कस्तो गीत निकाल्छ थाहा नहुने भयो, त्यसैले पनि संगीत विकास बोर्डको आवश्यक छ ।”

लोकगीत संगीतलाई विस्तारै मौलिकताबाट बाहिर ल्याउन म कति जिम्मेवार छु भनेर प्रत्येक स्रष्टाले आत्मसमीक्षा गर्नुपर्नेमा उनको जोड छ । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक विभाग प्रमुख हरिदेवी कोइराला लोकगीतको क्षेत्रमा पछिल्लो समय विकृति भित्रिएको स्वीकार गर्छिन् । अहिलेकै अवस्था रहे आउँदो पुस्ताले नेपाली लोकगीत के हो भन्ने नै थाहा नपाउने उनी बताउँछिन् । 

विकृति नियन्त्रणका लागि संगीत विकास बोर्डको आवश्यकता खड्किएको उनको भनाइ छ । लोकगीतमा मौलिकता हराउँदै गएको यथार्थ रहेको भन्दै देशको माटो र नागरिकको मुटुसँग जोडिएको लोकगीत–संगीतको संरक्षण तथा संवद्र्धन अति आवश्यक रहेको उनी बताउँछिन् । पछिल्लो समय लोकगीत भनेर रेकर्ड भएका अधिकांश गीतमा स्थानीय रैथाने भाखा, परिवेश, त्यसको अन्तरवस्तु, वेशभूषा र पहिचान हराएको हरिदेवी बताउँछिन् । लोकभाकाहरू विस्तारै लोप भइरहेको भन्दै उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले उपलब्ध बजेटअनुसार जाति विशेषका लोकभाका र गीतको अनुसन्धान गरिरहेको बताइन् । 

“दाङदेखि कैलालीसम्मको डगौरा थारू महिलामा रहेको लोकभाका र संस्कृतिबारे गत वर्ष हामीले अनुसन्धान गर्यौं,” हरिदेवी भन्छिन्, “नेपाली लोक र दोहोरी गीतको ऐतिहासिक पुष्ठभूमिको अनुसन्धान भइरहेको छ । यससँग सम्बन्धित विषयमा कलाकारहरूलाई सहभागी गराएर छलफल गराएका छौं ।”

पछिल्लो पुस्ताले सस्तो लोकप्रियताको रहरले दिनप्रतिदिन मौलिकता गुमाउँदै गएको भन्दै उनी लोकगीतलाई सेन्सर गर्ने बोर्ड अथवा त्यस्तै प्रकारको कुनै निकायको आवश्यकता औंल्याउँछिन् । सञ्चारमाध्यमले पनि लोकगीत संगीतसम्बन्धी कार्यक्रम चलाउने प्रस्तोताले यसबारे जानकारी राख्नुपर्ने र मौलिक गीत–संगीतलाई प्राथमिकता दिनुपर्ने हरिदेवी बताउँछिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro