site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भदौ १६ देखि नियमित होला आन्तरिक हवाई सेवा ? व्यवसायी भन्छन्- खुला नगरिए सरकारलाई साँचो बुझाउँछौं 

काठमाडौं । सरकारले भदौ १६ देखि नियमित रुपमा हवाई सेवा सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा कोरोना संक्रमण बढ्दै गएपछि भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले भदौ १५ सम्मका लागि बन्द गराएको र भदौ १६ देखि नियमित उडान खुल्ने अपेक्षा हवाई सेवा प्रदायकको छ ।

सरकारले पीसीआर गर्न सहज भएका विभिन्‍न मुलुकबाट नियमित उडानबाट नेपाली ल्याउन सक्ने भन्‍ने निर्णय गरिसकेको छ । सो निर्णयपछि आन्तरिकतर्फ पनि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खुला गर्ने आश गरेको व्यवसायी बताउँछन् । सरकारले मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति दिएको छ । पीसीआर गर्न गाह्रो भएका मुलुकबाट भने चार्टर्ड उडानबाट मात्रै नेपालीको उद्धार गर्ने निर्णय सरकारको छ । 

सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ । त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राख्दा लाग्‍ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको छ । 

Argakhachi Cement Island Ad

तर, नेपालमा आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ भने सात दिन काठमाडौंमा होटेल क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । त्यसपछि १४ दिन घरमै सेल्फ क्‍वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्ने र त्यसको अनुगमन स्थानीय निकायले गर्ने सरकारले निर्णय गरेको छ ।

यता, आन्तरिकतर्फ पनि स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएरै विमान सेवा सञ्‍चालन गर्नुपर्ने माग व्यवसायीको रहँदै आएको छ । निजी हवाई सेवा प्रदायक संस्थाका प्रवक्ता योगराज कँडेल भदौ १६ देखि नियमित रुपमा आन्तरिक हवाई सेवा पनि सुरु हुने अपेक्षा गरेर तयारी गरिरहेको बताउँछन् । “सरकारले पहिला १ गते खोल्ने निर्णय गरेकै हो । १५ गतेसम्मलाई बढाएर बन्द गराएको हो । त्यसको अर्थ १६ गतेबाट खोल्छ भन्‍ने हो,” उनले भने । 

भदौ १६ देखि पनि हवाई सेवा सुरु नभए व्यवसायको साँचो सरकारलाई बुझाउन बाध्य हुने उनले चेतावनी दिए । “फेरि बन्द हुँदैन भन्‍ने सोचेरै काम अगाडि बढाएका छौं । १६ गतेदेखि पनि खुला भएन भने पर्यटन व्यवसायसँग सम्बद्ध सबैसँग समन्वय गरिरहेका छौं । बाध्यताले सरकारलाई साँचो बुझाउनुको विकल्प हामीसँग हुँदैन,” उनले भने, “सरकारले विभिन्‍न नाममा यहाँ दिन्छु, त्यहाँ दिन्छु भन्छ तर दिँदैन । अब खुला गर्न दिनुको विकल्प छैन ।” 

सरकारले कर बुझाउन भन्‍न थालिसकेकाले अब सेवा सञ्‍चालन गर्नुबाहेकको विकल्प व्यवसायीसँग नभएको उनले बताए । उनले सुरक्षित तबरले सञ्‍चालन गर्ने भनिरहेको र त्यसका लागि प्रोटोकलअनुसारै काम गरिने पनि बताए । “जहाजभित्र चढ्ने यात्रुको स्क्रिनिङ भइसकेपछि यो यात्रुलाई कोरोना छैन भन्‍ने भएपछि मात्रै उडान गर्न खोजेको हो,” उनले भने । 

उडान संख्या घटाऔं तर सञ्‍चालन गरौं 
व्यवसायीहरू विमानस्थलमा यात्रुको चाप पर्न नदिन उडान संख्या घटाउन भने तयार छन् । “दिनमा कति उडान गर्ने, कति यात्रु उडाउने त्यसमा छलफल गरौं तर पूर्ण रुपमा आन्तरिक हवाई सेवा नरोकौं,” कँडेलले भने । 

उद्धार उडान हुने बेलामा पनि प्रत्येक उडानलाई गृह मन्त्रालय, स्थानीय निकाय, जिल्ला प्रशासनसँग सोध्दै उद्धार उडान गर्न नसकेको उनीहरू बताउँछन् । “अहिले उद्धार उडानमा पनि अतिरिक्त ५६ डलर लिइएको छ,” उनले भने, “यो सबैलाई बन्द गरेर नियमित रुपम उडान गर्न दिनुपर्छ ।” 

व्यवसायीहरू आजको भोलि नै यात्रुको चाप नपर्ने भए पनि सञ्‍चालन खुला मात्रै भए पनि गर्नुपर्ने पक्षमा छन् । 

यता, प्राधिकरण स्रोतका अनुसार भदौ १६ देखि पनि आन्तरिक विमान खुल्ने सम्भावना निकै कम छ । आन्तरिक उडान गन्तव्यहरू विराटनगर, भैरहवा, जनकपुर, नेपालगन्‍ज, सिमरालगायत स्थानमा कोरोना संक्रमण बढ्दै गएको स्थितिमा तत्काल आन्तरिक हवाई सेवा खुलिहाल्ने सम्भावना कम रहेको ती अधिकारीले बताउँछन् । तर, सरकारले खुला गर्ने निर्णय गरेको खण्डमा विमानस्थल सञ्‍चालन गर्न तयार रहेको पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्