site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
अब ओली–प्रचण्ड दुवैलाई नेतृत्वबाट बिदा दिनुपर्छ
Sarbottam CementSarbottam Cement

ठाकुर गैरे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उदीयमान नेता हुन् । केन्द्रीय कमिटीमा दुई–दुई कार्यकाल निर्वाचित भए पनि उनी कुनै पनि लाभको पदमा पुगेका छैनन् । अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवृष्ट भएका गैरे पार्टीभित्र ‘किनाराकृत’को प्रतिनिधित्व गर्छन् । आफ्नै विचार समूह (माधव नेपाल गुट)भित्र पनि उपेक्षामा पर्दै आएका गैर अहिले आन्दोलनबाट पहिलो पुस्ताले विश्राम लिनुपर्ने विचार राख्छन् ।

स्थायी कमिटीको बैठकले कुनै निकास दिन नसकेपछि उनले केन्द्रीय कमिटी बैठक बोलाउन मत बटुल्ने अभिप्रायले जुम मिटिङको आयोजना गरे । झण्डै सयजना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन पनि गरे । पार्टी विभाजनको खतरा टरेपछि उनको बैठकको माग पनि सर्‍यो । त्यसो त माग नै गरेर बोलाइएको स्थायी कमिटी बैठक निरन्तर स्थगित हुँदै आएको छ । यसले पनि केन्द्रीय कमिटी बैठकको उपादेयता बढेको उनको तर्क छ ।

यिनै विषयमा आधारित भएर बाह्रखरीका अक्षर काकाले गैरेसँग गरेको भिडियो कुराकानीको सम्पादित अंश–

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी एकीकरण पूरा नहुँदै विभाजित हुने तहसम्मको विवाद नेकपामा कसरी पैदा भयो ?

तपाईंले भनेको कुरा साँचो हो, नेकपा अहिले विभाजनको परिस्थितिमा र विभाजित मनस्थितिमा बाँचिरहेको छ ।

Global Ime bank

विग्रह झाँगिदै जाँदा पार्टीभित्र डरलाग्दो कलह पैदा भएको छ । यो विग्रह अझ बढ्दै गएर आन्दोलन नै छिन्नभिन्न हुने हो कि भन्ने डरलाग्दो परिस्थिति पनि सिर्जना भएको छ । बाहिरबाट झट्ट हेर्दा नेताहरूको पदीय व्यवस्थापन नमिलेकोजस्तो देखिन्छ । पार्टीभित्र नेताहरूको भागवन्डामा कुरा नमिलेजस्तो देखिन्छ । नेताहरूका बीचमा लेनदेन मिलिरहेको छैन । तथापि, यो समस्या, अन्तरविरोध आज एकाएक प्रकट, उत्पत्ति भएको होइन । नेकपाभित्र विचारधारात्मक सङ्घर्ष चल्दै र चर्कंदै आएको छ । हिजोको एमालेभित्र क्रियाशील गुट, विचार समूहहरू पार्टी एकतासँगै गाँसिएर आएका थिए । ती आज पनि क्रियाशील छन् । पूर्वमाओवादी केन्द्रभित्र पनि विभिन्न विचारधारात्मक संघर्ष चल्दै आएको थियो । शक्ति केन्द्रहरू क्रियाशील रहँदै आएका थिए । एकताक्रममा ती चीजहरू विघटन भएको थिएनन् । अहिले ती प्रकट हुन थालेका छन् ।

कहिले हामी पूर्वमाओवादी केन्द्र एकट्ठा हुनुपर्छ भनेर नारा लागेको देखिन्छ । कहिले पूर्वएमालेहरू एकतृत हुनुपर्छ भनेर नारा लागेको देखिन्छ । यी यस्ता प्रवृत्ति, चिन्तनहरूले पार्टीभित्र विग्रह निम्त्याउन भूमिका खेलिरहेका छन् । आजको दिनलाई पृष्ठभूमिमा जोड्दा, हामीले एकता प्रक्रिया अघि बढाउँदा, पार्टी एकीकरण गर्दा समग्र मूल्याङ्कन, वैचारिक, राजनीतिक, कार्यक्रमिक र दीर्घकालीन योजनासमेतमा केन्द्रित भएर पर्याप्त बहस, छलफल गर्न सकेनौं । 

एकीकरण जायज थियो । तर, किन जायज थियो, आवश्यक, उपयुक्त थियो भनेर बहस विस्तारित गर्न सकेनौं । तथापि, एकता त भयो ।

एकता हुँदा हामीले सांगठनिक कामहरू तीनमहिनाभित्र पूरा गर्ने घोषणा गर्‍यौं । पार्टी निर्देशनका रूपमा तल सर्कुलर गर्‍यौं । तर, केन्द्रीय कमिटीको बैठक बस्न एक्काइसौं महिना पर्खनुपर्‍यो ।

पार्टी एकतालाई विस्तारित गर्ने क्रममा व्यक्ति छान्ने कि विधि छान्ने प्रश्न पैदा भयो । प्रणालीमा हिँडेको पार्टीभित्र यस्तो प्रकारको प्रश्नले जन्म लिनु विडम्बनाको कुरा हो ।

केन्द्रीय कमिटीको दोस्रो बैठकले धेरै कुरा सच्याउने तहमा पुर्‍याएको थियो । यहाँहरूलाई थाहा छ, हामी जुन मनोदशा, अन्तरदशाका साथ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएका थियौं, २० महिनामा पार्टीभित्र जेजस्ता समस्या, कलह, विग्रह पैदा भएको थियो, पार्टी अब चल्न सक्दैन कि भन्ने भन्ने परिस्थिति निर्माण भएको थियो ।

तर, हामी केन्द्रीय कमिटी बैठक सकिँदाखेरी विजयउत्सव मनाउने अवस्था बनेको थियो ।

त्यो बैठकको निष्कर्ष सुनाउने बेलामा हामीले भन्यौं, १५ दिनभित्र पार्टी एकता एकीकरणका बाँकी काम सक्छौं । तर, अहिले हामी कुरा गर्दासम्म त्यो १५ दिन आइपुगेको छैन । 

अहिले एकताका अधुरा, अपूरा काम जहाँको त्यहीँ छन् । चैत २५ गतेदेखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने भनिएको छ । कुनै काम अघि बढेको छैन । स्थायी कमिटीको बैठक बस्न २० जनाले माग गर्नुपर्‍यो । बसेपछिको बैठकको हाल यो छ । यो बीचमा अध्यादेश प्रकरण, पार्टी नेताहरूले विभिन्न समयमा व्यक्त गरेका विचार, दृृष्टिकोण र त्यसले उत्पन्न गरेका अन्तरविरोध सबै कुराले नेकपा अनिर्णयको बन्दी बनेको छ । स्थायी कमिटीले त्यही अवस्था बेहोरिरहेको छ ।

 

 

नेकपाले यो खालको दशा झेल्नुको कारणचाहिँ के हो त ? 

एकीकरणपछि हामीले नेकपालाई पार्टीको घोषित नीति, विधि बमोजिम चलाउन सकेनौं । समस्याहरूलाई नीति र विधिभित्र बाँधिएर, बसेर छलफल गरेनौं । पार्टीमा गतिरोध उत्पन्न भएपछि छलफल गर्दै समाधान गर्दै आउनुपर्थ्यो । त्यो हुन सकेनौं । हामीले नीति, विधिलाई बोकेनौं । नियमित बैठकलाई बेवास्ता गर्दै गयौं । संस्थागत निर्णयको प्रणाली भत्काउँदै गयौं । सामूहिकता पनि खज्मजियो ।

नेतृत्वको स्वेच्छाचारिता बढ्यो, नेतृत्वले जे भन्छ, त्यही पार्टी निर्णयजस्तो भयो भन्न खोज्नुभएको हो ?

हो । त्यसैले गर्दा आज हामीले के भनिरहेका हौं भने, पार्टी एकता आजको आवश्यकता थियो । जायज कुरा थियो । ऐतिहासिक कुरा थियो । यो बाँच्नुपर्छ । बच्नुपर्छ । कुनै पनि हालतमा विभाजन मञ्जुर छैन ।  दोस्रो कुरा, कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टी विचारप्रधान हो । अतः नेकपा विचारप्रधान बन्नै पर्छ ।  तेस्रो, यसले घोषणा गरेको नीति, विधिअनुसार पार्टी चल्नुपर्छ । हामी नीति र विधिमा नफर्किएसम्म अहिलेको समस्याको निकास दिन सक्दैनौं ।

संयोगले हामी पुष्पलाल स्मृति दिवसको वरिपरि छौं । देशभर हामीले पुष्पलाल श्रेष्ठलाई सम्झिइरहेका छौं । इतिहासतिर फर्किएर हेर्ने हो भने, हिजो पुष्पलालले अघि सार्नुभएको विचार पास भयो । तर नेतृत्व त्यो विचारलाई प्रतिनिधित्व गर्ने आएन । अथवा भनौं, त्यो विचारविपरीत नेतृत्व निर्माण भयो । 

त्यो शृङ्खलाबाट हुर्किंदै र पुष्पलाल गद्दार घोषित भएको हामीले पढिरहेका छौं । आज त्यसमा ठूलो ‘करेक्सन’ भएर पुष्पलाल गद्दार होइन नेत हो भन्ने विचारमा उभिएका छौं । हिजो पुष्पलाल ठीक हो भन्ने पनि एकै ठाउँमा छौं । गद्दार हो भन्ने पनि एकै ठाउँमा छौं । यसो भनिरहँदा पनि आज हामी पुष्पलालले भनेको विचारप्रधानतालाई बोकेका छौं त ? तिनै पुष्पलालले भनेको नेता होइन नीति प्रधान हो भन्ने कुरालाई आत्मसात गरेका छौं त ? यहाँलाई इमान्दारीपूर्वक भनौं, पुष्पलाल मानेका छौं तर विधि र नीतिलाई मानेका छैनौं ।

स्थायी कमिटी बैठकले केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिए मात्रै निकास निस्कन्छ भनेर बहस भइरहेको छ । समाधानको उपाय त्यही हो त ?

आज हामीले गम्भीररूपमा विवेचना, बहस गर्नुपर्छ कि, नेतृत्वका बारेमा प्रश्न किन उठिरहेको छ ? यसको कारण के हो ? यसलाई हामीले मार्क्सवादी दृष्टिकोणमा आधारमा मूल्याङ्कन गर्नुपर्छ । खाली, उद्देश्यमूलक तवरले, खडा गर्नका लागि, अड्काउनका लागि मात्रै गरिएको हो कि, वा समस्याहरू छन् । यसमा गम्भीर छलफल भइरहेको छैन । हुनु आवश्यक छ ।

र, त्यसमाचाहिँ नेतृत्व तहबाट भएका कमीहरू के हुन् ? कार्यकर्ता तहबाट उत्पन्न भएका कमजोरी र समस्या के हुन् भन्ने कुरामा वस्तुनिष्ठ छलफल हुनुपर्‍यो र साझा निष्कर्ष निकाल्नुपर्‍यो ।

पार्टीभित्र विषयमा आधारित भएर बहस, छलफल भए पो संश्लेषण निस्कन्थ्यो ? कमिटीका बैठक नै चलाउन नसक्ने अवस्थामा छ नेकपा ?

स्थायी कमिटीको बैठकको अवस्था हेर्दा नेकपाभित्रको विवाद सानोतिनो र सामान्य छैन । विषयहरू गम्भीर छन् । नेताहरूको बीचमा गृहकार्य बढी आवश्यक छ भनेर नै हामीले अहिलेसम्मको छलफललाई बुझ्दै आइरहेका छौं । तर, यो गृहकार्य कहिलेसम्म चलिरहने ? गृहकार्यभित्र पनि गाँठो केमा फुकिरहेको छैन ? यी र यस्ता विषयहरू पार्टीको ठूलो दायरामा आउन जरुरी हो कि भन्ने यसले अभिव्यक्त गर्न खोजेको छ । अभिव्यक्त भइ पनि रहेका छन् ।

कम्युनिस्ट पार्टीलाई हामीले विचार, सिद्धान्त, संगठन र संघर्षमा आधारित बनाउनुपर्छ । त्यसभित्र पनि एकता, संघर्ष र रूपान्तरण जरुरी हुन्छ । यो स्वयम् नेतृत्वका बीचमा, पार्टीभित्र, पार्टीबाहिर, नेतानेताका बीचमा  हुनुपर्छ भन्ने कुरालाई स्वीकार गर्दै आइरहेका छौं । कमिटीलाई व्यवस्थित बनाउन फेरि पनि एकता, संघर्ष र रूपान्तरणमा नै जोड दिनुपर्छ । स्थापित विधि पनि यही हो ।

नेताहरूका बीचमा एकता, संघर्ष र रूपान्तरण मर्यादाभित्रै रहेर गृहकार्य भइरहेको छ भन्ने हामीले बुझेका छौं । कमिटीको मर्यादालाई कमजोर होइन, बलियो बनाएर, कमिटी प्रणालीभित्रै बसेर नै भइरहेको छ भन्ने अर्थमा हामीले बुझेका छौं । वास्तवमा यसो हुन सक्यो भने मात्र पार्टीले गरेका निर्णयले दीर्घकालसम्म महत्त्व राख्छ । कमिटी प्रणाली बलियो बन्दै जान्छ ।

अझै प्रष्ट भएन, दुई अध्यक्षको स्पष्ट कार्यविभाजन गरे समस्याले निकास पाउँछ कि, अरू कुनै विधिबाट यो समस्याको हल गर्नुपर्छ ?

मचाहिँ के देख्छु भने नेताहरूका बीचमा केवल लेनदेन गरेर तत्काल केही समस्या समाधान गरेर वा भोलिको निम्ति केही समझदारी गरेर मात्रै यो समस्याको हल हुँदैन । आन्दोलनमा दीर्घकालीन लक्ष्य लिने र त्यो हासिल गर्ने तहमा पार्टीले शक्ति आर्जन गर्न पनि सक्दैन । समाधानको विधि पनि यो होइन । अतः हामीले समाधान नीतिभित्रै खोज्नुपर्छ । विधिभित्रै खोज्नुपर्छ ।

‘अर्ली महाधिवेशन’ यसको निकास हो त ?

अहिले अर्ली महाधिवेशन, अर्को महाधिवेशन भनेर जुन बहस चलिरहेको छ, यसको पनि मैले कुनै औचित्य देखेको छैन । ६ महिनाअगाडिको केन्द्रीय कमिटीको बैठकले निर्णय नै गरिसकेको छ– नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म हुनेछ । म नेताहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु, तोकिएको मितिमा नेकपामा महाधिवेशन किन भएन भनेर प्रश्न गर्ने परिस्थिति नआओस् ।

यसो म किन भनिरहेको छु भने, आजको परिस्थितिले चैतमा पनि महाधिवेशन हुने छाँटकाट छैन । अर्ली महाधिवेशनको त के बहस गर्नु ? यसको कुनै अर्थ छैन ।

पार्टी एकता गरेको २६ महिना भयो, कुन जिल्लामा कति संगठित सदस्य छन् टुङ्गो लागेको छैन । पार्टी सदस्य कोको हुन् भन्ने निर्क्यौल हुन सकेको छैन । संगठनमा एकीकरणका काम नै टुङ्गिएका छैनन् । हामीले महाधिवेशनअघि गर्नुपर्ने नगर, गाउँ, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन कहिले गर्ने निश्चित भएको छैन । यद्यपि, हामीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गरेर आएका थियौं ।

त्यतिबेला हामीले १५ दिनभित्र पार्टी एकता निष्कर्षमा पुर्‍याउने, जागरण अभियान सञ्चालन गर्ने, त्यसपछि मातहतका कमिटीहरूको अधिवेशन गर्ने निर्णय गरेका थियौं । ती निर्णयहरू आज कागजमा भेटिन्छन् । तर, समय घर्किइसक्यो ।

म चाहन्छु पार्टीभित्र थप बहसलाई निम्ता नदिएर, आरोपप्रत्यारोपमा नअल्झिएर आजको जे समस्या हो, त्यसलाई समाधान गर्नतिर लाग्नुपर्छ ।

विधानअनुसार केन्द्रीय कमिटी बैठक बोलाउने बेला भएको छ ।  अहिलेको समस्या हल गरेर केन्द्रीय कमिटी बैठक बोलाउने र अघिल्लो बैठककले गरेको निर्णय कार्यान्वयन गर्दै कार्यविभाजन गरेर महाधिवेशनको तयारीमा लाग्दा भइहाल्यो नि ।

नेकपाले आफैंभित्र सिर्जित समस्यालाई किनारा लगाउन सकेको छैन । पार्टी एकता दुर्घटनामा पर्ने हो कि जोगिने हो भन्ने द्विविधा छ । यस्तो अवस्थामा रहेको पार्टीले मुलुकलाई कसरी सही निकास देला ? आजको आन्दोलनलाई समाजवादको दिशातिर लैजाला भन्ने प्रश्न उठ्दैन ? 

अत्यन्त जायज र आजको ज्वलन्त प्रश्न हो यो । नेकपाभित्रको झगडा र त्यसले सिर्जना गरेको विषम परिस्थितिले केवल पार्टीभित्रको आन्तरिक जीवन मात्रै प्रभावित छैन । 

नेकपा विभाजित हुँदा, नेकपाको आन्तरिक जीवन प्रभावित हुँदा र यो पार्टी भत्किँदा तत्काल कुनै पार्टीलाई लाभ होला । रमाइलो पनि होला । 

पार्टीहरू कमजोर हुँदा हामीले ल्याएको गणतन्त्र बलियो हुन्छ ? तिनै पार्टीहरूले बनाएको संविधान सुरक्षित र बलियो हुन्छ ? अहिले अवलम्बन गरेको शासकीय प्रणाली सुरक्षित हुन्छ ? पटकपटक हामीले बेहोर्दै आइरहेको, मुलुककले सामना गर्दै आइरहेको हस्तक्षेप, सार्वभौमिकतामा आँच आउने गतिविधिको अन्त्य हुन्छ त ? हाम्रो सम्प्रभुता, सार्वभौमिकता बलियो भएर जान्छ त  ? जाँदैन । हुँदैन ।

त्यसैले आज नेकपाले बेहोरिरहेको संकट केवल नेकपाको संकट होइन । यो सिंगो देशको संकट हो । यसबाट सिर्जित संकटले सिंगो देशका सबै क्षेत्र प्रभावित हुनेछ ।  तिनीहरूभित्र यसको प्रभाव पर्नेछ । रोक्न सकिने छैन । देशका विनासको प्रक्रिया सुरु हुनेछ । त्यो बाटोमा जबरजस्त हिँड्न हामी अभिशप्त हुनेछौं ।

मनहरू विभाजित भएपछि सम्प्रभुतामाथि संकट पैदा हुनेछ । त्यसकारण हामीले भनेका हौं, हामीलाई विभाजन, फुट मञ्जुर छैन । नीति र विधिबाट अलगथलग हुने छुट छैन । हाम्रो सामूहिक र संस्थागत पद्धतिलाई भत्काउन पाइँदैन ।

अर्को, यो कम्युनिस्ट पार्टीले उठाएको श्रमजीवी, सर्वहारा वर्गको मुद्दा हो  । उनीहरूको मुद्दा बोकेर हामी यहाँसम्म आइपुगेका हौं । गरिबीको रेखामुनि रहेका नागरिकका मुद्दा बोकेर यहाँसम्म आइपुगेका हौं । दलित, महिला, जनजाति, किसान, मजदुर, पछाडि परेका समूदायका मुद्दा बोकेर आएका हौं । दुईतिहाइको सरकार चलाइरहँदा हिजोका ती मुद्दा कहाँ बेवारिसे बन्न पुगे ? कहाँ छुटे ? 

दलित, महिला, जनजाति, किसान, मजदुरका मुद्दा बेवारिसे हुने, दलाल प्रवृत्ति हावी हुने मिल्दो कुरा हो ? हामीलाई कसले प्रयोग गरिरहेको छ ? हाम्रा एजेन्डा किन बेवारिस बन्दैछन् ? नेतृत्वमा अभिव्यक्तिमा ती मुद्दा किन समेटिँदैनन्, क्रमशःक्रमशः ओझेल पर्दैछन् ? गम्भीर प्रश्न हाम्रा सामु छन् ।

कि, हामीले भन्न सक्नुप¥यो यो एकता ठीक थिएन । हामीले उठाएका दलित, महिला, जनजाति, किसान, मजदुर र वर्गीय हिसाबले पछाडि परेका समूदायको मुद्दा ठीक थिएनन् । 

विभेद, असमानता, शोषण, उत्पीडन, गरिबीको अन्त्य गर्छौं, न्याय र समानता स्थापित गर्छौं भन्ने कुरा केवल भोटका लागि थियो । यो त हामीले भन्न सक्दैनौं । त्यसो हुँदा हामीले आफूलाई सच्याउनुपर्छ ।

 

 

नेकपाभित्र यत्रो समस्या छ, समाधान गर्ने कुनै विधि फेला परिरहेको छैन भने भावनात्मक कुराले मात्रै पार्टी एकता कहाँ जोगिएला र ?

नेकपाका कार्यकर्ताको समान स्वर छ– हामी कुनै पनि अर्थमा नेकपालाई विभाजन हुन दिँदैनौं । निश्चित मानिसहरूबाहेक एकताबद्ध स्वर किन छ भने, हामीले उठाएका मुद्दा सही थिए । छन् । त्यो कुरा हासिल गर्नैपर्छ । यसबाट भाग्ने, असफल हुने छुट छैन । यो राष्ट्रिय आकांक्षा हो । देश र जनताको प्रश्न हो । एकता पनि ठीक थियो । मुद्दाहरू पनि सही छन् । त्यसैको अभिव्यक्ति मत हो । हामीले प्राप्त गरेको उपलब्धी हो । अतः यसको जगेर्ना, कदर कार्यान्वयन नै आजको आवश्यकता हो ।

यो जिम्मेवारी पूरा गर्न एकतालाई बचाउने, संस्थागत गर्ने, नीति, विधि, विचारप्रधान पार्टी बनाउने, संस्थागत निर्णय, सामूहिक उत्तरदायित्वको दिशामा हामी जानै पर्छ । हिजो निरङ्कुशताका विरूद्ध, परिवर्तनका लागि जुन आचरण, चिन्तन र कार्यशैलीका साथ हामी एकताबद्ध भयौं, लड्यौं, त्यही दृढ मनोबल, समर्पणका साथ वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्नुपर्छ ।

वैज्ञानिक समाजवादको यात्रा तय गर्न आजको नेतृत्व त्यागका लागि तत्पर हुनुपर्छ ।

भनेको, पार्टी नेतृत्व पंक्तिमा रहेका पहिलो पुस्ताले अब आन्दोलनबाट विश्राम लिने बेला भयो ?

अहिले पार्टीभित्र रहेका सिनियर (उच्च तह)को नेतृत्व पंक्ति, उसले पञ्चायतकाविरूद्ध लड्यो, सफलता प्राप्त गर्‍यो । राजाको निरङ्कुशताविरूद्ध आन्दोलन गर्‍यो, सफलता प्राप्त गर्‍यो । संविधानसभाबाट संविधान बनाउने कुराको सफलता प्राप्त गर्‍यो । संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न गर्‍यो र सरकारको नेतृत्व पनि गर्‍यो ।

कम्युनिस्ट पार्टी विभाजनका लागि नै बनेका हुन् भन्ने भाष्य निर्माण भएको थियो । त्यस मान्यताकाविरूद्ध लड्यो एकताबद्ध कम्युनिस्ट पार्टी निर्माण गरेर सफलता प्राप्त गर्‍यो । यत्रो शृंखलाबद्ध सफलता प्राप्त गर्दै आएको नेतृत्वले यो पार्टीलाई विभाजनबाट रोक्न सकेन भने उसमाथि लाग्ने दाग सानोतिनो हुनेछैन । यसर्थ मेरो त्यागको परिभाषा के हो भने, अहिलेको नेतृत्वले एकताबद्ध, सग्लो र बलियो पार्टी अर्को पुस्तालाई सकुशल हस्तान्तरण गर्नुपर्छ भन्ने हो ।

उहाँहरूले नयाँ पुस्तालाई सल्लाह, सुझाव दिने र आन्दोलनलाई अझ बलियो बनाएर, अझ एकताबद्ध बनाएर लैजाने कुरामा भूमिका खेल्नुपर्छ । म दोहोर्‍याएर भन्न चाहन्छु, अहिलेको नेतृत्वले त्याग गर्ने बेला भएको छ । 

उहाँहरूले सहजै छाड्न तयार हुनुहोला त ?

उहाँहरूले अध्ययन अनुसन्धानमा समय खर्चनुपर्छ । प्लस टु, स्नातक तहका कक्षामा गएर आफ्ना अनुभव, जीवनी, इतिहास बाँड्न सक्नुहुनेछ । 

फेरि कसैलाई अपमानपूर्वक बिदा गरेर होइन । पार्टीको विधि, विधान, पद्धतिअनुरूपै हस्तान्तरण गर्ने हो । आज कार्यकर्ताले चाहे नेतृत्वले छाडेर हिँडिहाल्ने भन्ने होइन, हाम्रो संगठनात्मक पद्धतिअनुसार नै त्यो कुरा हुने हो । पार्टी अध्यक्षको हकमा महाधिवेशन पुग्दा होला । प्रधानमन्त्रीको सन्दर्भमा अर्को चुनाव होला ।
छिमेकी देश चीनमा भोलिको नेतृत्व को हुने भनेर जसरी बहस हुन्छ, जुन तहको तयारी हुन्छ, हामीले त्यसबाट केही न केही सिक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

महाधिवेशनबाट नेतृत्व कसरी आउने ? को आउने ? प्रतिस्पर्धाको विधि के हुने ? भोलिको नेतृत्व तयार गर्ने कुरामा आजको नेतृत्वले कसरी सोच्ने ?  यो बहस गर्नेपर्छ ।

नेपालको वर्तमा परिस्थिति, हाम्रो भू–राजनीतिक अवस्था, छिमेकी देशहरू, विश्व परिवेश, आजको समाजको अवस्था, चरित्र, हाम्रा उत्पादन सम्बन्ध, दलाल पुँजीवादले गाँजेको अवस्था, यसका विरूद्ध लड्ने संकल्प र नेतृत्व आदिका बारेमा सोच्नुपर्ने आवश्यकता छ । यो विषय व्यक्तिको परिवर्तनसँग मात्रै गाँसिएको छैन, यो नीति अनुसारको नेतृत्वसँग जोडिएको हुन्छ ।

स्थायी कमिटी बैठक चलिरहँदा तपाईंले केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस गर्दै हस्ताक्षर संकलन गर्नुभयो, किन ?

स्थायी कमिटी बैठक चलिरहँदा एउटा सन्देश प्रवाह भयो– अब नेकपा एक रहँदैन ।  यो विभाजनको प्रक्रियामा गइसक्यो । त्यसले देशभरका कार्यकर्ता, देशभक्त नागरिक, मतदाताहरूलाई निराश पनि तुल्यायो । 

हामी पार्टी कार्यालयमा धर्ना बस्यौं । खबरदारी पनि गर्‍यौं । यतिले मात्र नपुग्ने ठानेर हामीले संकल्प पनि गर्‍यौं– पार्टी एकतामाथि लागेको कालो बादललाई हटाउनुपर्छ । विभाजनको सन्देशलाई असफल बनाउनुपर्छ । विभाजन हुँदैन भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।

नेताहरूको बीचमा छलफल हुने, महाधिवेशनपछिको सर्वोच्च कमिटीमा विषयवस्तु नआउने अवस्था थियो । माथिकै छलफलले विभाजन रोक्न सकिँदैन भन्ने चिन्ताले सिर्जना गरेको अभियान थियो त्यो ।

त्यतिबेला हाम्रो एउटा अपेक्षा थियो । कम्तीमा पार्टी एकताबद्ध रह्यो भने सुधार्ने अवसर बाँकी रहन्छ । एउटै  रहेन भने कहाँ टेक्ने ? के सुधार्ने ? त्यसले सुधार्न सकिन्छ र रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वासलाई कायम राख्न विभाजन रोक्न जरुरी थियो । त्यसका लागि केन्द्रीय कमिटी बैठक अपरिहार्य थियो ।

निश्चित नेताहरूको आ–आफ्नो स्वार्थ भए पनि सिङ्गो केन्द्रीय कमिटी एकताको पक्षमा उभिन्थ्यो । र, विभाजनको उद्देश्य पूरा हुन दिँइदैनथ्यो ।

त्यही दबाबले हुन सक्छ, स्थायी कमिटीमा एकदिन यो विषयले प्रवेश पनि पायो । केन्द्रीय कमिटी बोलाउनुपर्छ भन्ने आवाज उठ्यो ।

अहिलेचाहिँ केन्द्रीय कमिटी बोलाउने विषयबाट पछि हट्नु भएको हो, हस्ताक्षर त बुझाउनुभएन ?

केन्द्रीय कमिटी बैठक बस्ने बेला भएको छ । विधानअनुसारको समय पनि भएको छ । हामी हाम्रो मागमा अडिएकै छौं । आवश्यकता पर्‍यो भने माग गर्न सकिन्छ ।

अघिल्ला केन्द्रीय कमिटी बैठककै निर्णय कार्यान्वयन भएका छैनन्, फेरि अर्को बैठकको के जरुरत ?

हामीले भनेकै त्यही हो । पार्टीमा निर्णय हुन्छ, कार्यान्वयन हुँदैन । केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन नहुने कुराको दोषी को हो ? कसका कारणले कार्यान्वयन भइराखेको छैन ? केन्द्रीय कमिटी, स्थायी कमिटीको कारणले त होइन नि । यसको मुख्य जिम्मेवारी सचिवालय र दुईजना अध्यक्ष लिनुपर्छ । अझ बढी मुख्य, पहिलो वरीयताको अध्यक्षले लिनुपर्ला । अलिअलि हाम्रो भागमा पनि नपर्ने होइन । र त, हामीले भनेका हौं, सफलताको जस पनि सबैले लिऔं, असफलताको भागिदार पनि सबै बनौं । तथापि, मुख्य जस लिने कुराबाट नेतृत्व कहिले पनि पछि पर्दैन । पार्टी एकताको जस त केपी ओली र पुष्पकमल दाहालले नै लिनुहुन्छ । अहिले पार्टी विभाजन भएको अपजस पनि उहाँहरूकै थाप्लामा पर्न जाने हो ।

व्यक्तिले जसले लिने होडमा जाँदा पनि केही समस्या निम्तिएको छ । यो सरकारलाई सफल बनाउने दायित्व केपी ओलीको मात्रै हो भनेर हामी उम्कन मिल्छ ? सरकार असफल भयो भने दोष केपी ओलीलाई मात्रै जान्छ ? यसर्थ, सामूहिक जिम्मेवारी र जवाफदेही लिने परिपाटीमा फर्कनुपर्‍यो । त्यो परिस्थितिको निर्माण गर्नुपर्‍यो ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC