बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग अन्तर्वार्ताको डर
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, असार २०, २०७७
Laxmi Bank
Laxmi Bank

हेमन्त शर्मा/गायक


दिउँसो १२ बजे अन्तर्वार्ता वा अरू कुनै कार्यक्रमका लागि समय तोकिन्छ । बिहानैदेखि त्यसैका लागि तयारी गर्नुपर्‍यो । अल्छी गर्न पाइएन । दाह्रीजुँगा काट्नै पर्‍यो । सकेसम्म अन्य अन्तर्वार्ता वा कार्यक्रममा नलगाइएका लुगा छान्नुपर्‍यो । मिलाएर पौने १२ बजेसम्ममा अन्तर्वार्ताका लागि डाकिएको स्थानमा पुग्नुपर्‍यो । क्यामेरापर्सन, लाइट, ट्राइपड स्टेन्ड आदि मिलाउँदा मिलाउँदै घडीमा एक डेढ बज्नुलाई सामान्य नै मान्नुपर्ने हुन्छ । अन्तर्वार्ता सुरु हुनुअघि प्राय : कार्यक्रम प्रस्तोतालाई आफ्नोबारे आफैंले जाने जति बताउनुपर्ने हुन्छ । कारण कार्यक्रमका अधिकांश प्रस्तोताहरूमा आफूले अन्तर्वार्ता लिन लागेको मान्छेका बारेमा अध्ययन गर्ने वा पूर्वतयारी गर्ने बानी नै देखिँदैन । जसरी हुन्छ एक घण्टाको भिडियो बनाउनुपर्छ भन्ने मात्रै ध्यान हुन्छ ।

Global bank

Agani Group

लगभग अन्तर्वार्ता सकिँदा दिनको तीनदेखि चार बजिसकेको हुन्छ । अर्थात् एउटा अन्तर्वार्ता रेकर्ड वा छायांकन गर्नका लागि पूरै एक दिनको सयम लाग्छ । अन्तर्वार्ताको छायांकन सकिएपछि अब कहिले च्यानलहरूलाई जाँगर चल्छ तब मात्रै त्यो प्रसारित हुन्छ । यदि निरन्तर रूपमा अरू कुनै चर्चित तथा समसामयिक विषयका सामग्री भेटेसम्म यसलाई थन्काएर राखिन्छ । कहिलेकाहीँ जाडो महिनामा बाक्लो स्विटर लगाएर दिइएको अन्तर्वार्ता प्रचण्ड गर्मी महिनामा प्रसारण हुन्छ । अनि उक्त भिडियोको युट्युब लिंक पठाएर त्यसलाई सेयर गरिदिनुपर्ने पनि हुन्छ । अचेल त व्यक्तिपिच्छे नै युट्युब च्यानल भएका हुँदा कसलाई अन्तर्वार्ता दिनु कसलाई नदिनु भन्ने समस्या हुन थालेको छ । कल्पना गरौं त, यदि ३६५ वटा च्यानलका निम्ति जम्मा एक/एकका दरले अन्तर्वार्ता दिने हो भने पनि वर्षदिन नै अरू काम नगरी अन्तर्वार्ता दिएर बस्नुपर्ने अवस्था देखिन्छ । फेरि अन्तर्वार्ताको अगाडि वा बीचमा बज्ने विज्ञापनबाट हुने आम्दानी वा रेभेन्युबाट धेरथोर रकम पाइने भए पनि जीवन चलाउन सहज त भएको छ भनेर भन्नु, त्यो पनि छैन ।

यसैकारण पछिल्ला दुई वर्षयता आफूले आफैंसँग सल्लाह गरेर अपवादबाहेकका अन्तर्वार्ता वा ‘सो’ मा उपस्थित हुन नसक्ने अवस्थामा पुगेको छु । यसको मतलब अन्तर्वार्ता/कार्यक्रममा सहभागी नै नहुने भन्ने पनि होइन । विभिन्न कला, संस्कृति तथा संगीतको क्षेत्रमा लागेका कलाकारले ख्याति कमाउन सघाउने माध्यम भनेको अवश्य पनि सञ्चारमाध्यमै हो । राम्रो च्यानलमा अन्तर्वार्ता दिन वा उपस्थिति जनाउन कसलाई पो मन हुँदैन होला र ? तर हामीले प्रस्तोतालार्ई विषयवस्तु अथवा ‘सो’ को प्रकारबारेमा सोध्न हिच्किचाउनु हाम्रो कमजोरी हो । भारतीय मिडियामा प्रसारण हुने गरेको ‘कफी विथ करण’ खालका कार्यक्रममा ‘रेपिड फायर’ भनेर यो या त्यो कलाकार भनेर रोज्न लगाइनु, कलाकारलाई वरीयताक्रमअनुसार मिलाउन भन्नु, आदि जस्ता कुराले त्यहाँ पनि थुप्रै विवाद निम्त्याउने गरेका छन् । बलिउडजस्ता ठूला उद्योगमा दुई/चारजना कलाकारको मन दुखाउँदा कुनै कलाकारको करिअरमा ठूलो असर नपर्ला तर नेपालजस्तो सानो रङ्गमञ्चको क्षेत्रमा यस्ता प्रश्नको जवाफ दिनैपर्छ भन्ने मलाई लाग्दैन । 

sarbottam cement

कतिपय अन्तर्वार्ता कार्यक्रममा नारायण गोपाल कि भक्तराज आचार्य, रामकृष्ण ढकाल कि राजेशपायल राई भनेर एकलाई छान्नुपर्ने कुरामा म कहिल्यै सहमत भइनँ । एउटा अन्तर्वार्ताका लागि सहकर्मीको मन दुखाउन जरुरी पनि त छैन । फेरि अन्तर्वार्तामा भनिएका कुरालाई छाँटकाँट गरेर प्रसारण गरिदिँदा कहिलेकाहीँ कतिपय कलाकारहरू विवादमा तानिएको घटना नेपालमै पनि थुप्रै छन् ।

यो कुरा सत्य हो कि सम्बन्धित सबैले आफ्नो पेसाका बारेमा सामान्य ज्ञान राख्नु राम्रो हुन्छ । सबै मानिस सर्वज्ञानी हुँदैनन् तर कलाकारहरूले विभिन्न आधारभूत कुरा जानिदिँदा आफैंलाई नै राम्रो हुन्छ, आफ्नै व्यक्तित्व र इज्जत बढ्छ । कलाकार, खेलाडी वा अन्य यस्ता विधामा लागेका व्यक्तिलाई आदर्श मान्ने असंख्य प्रशंसक हुन्छन्, जसलाई आफ्नो आदर्शले सामान्य ज्ञानमा जानकारी नराखिदिँदा चोट पुग्नु सामान्य हो । बरु अन्तर्वार्तामा सोधिएका प्रश्न झन्झटिला या उत्तर थाहा नभएको खण्डमा अर्काे प्रश्नका लागि अनुरोध गर्न वा कुराकानीलाई विषयान्तर गरौं भन्न पनि हिच्किचाउनु हुँदैन जस्तो लाग्छ । कतिपय अवस्थामा नबोलीकन बस्नुले समेत अर्थ राख्छ ।

हामीकहाँ हुने युट्युब च्यानलहरूमा प्रायः एउटै कलाकारको दोहोर्‍याएर अन्तर्वार्ता लिने गरेको पाइन्छ । कतिपय कलाकारको त अन्तर्वार्तासमेत भेटिँदैनन् । विभिन्न कार्यक्रममा बोलेर राखिएका विचारहरू यदाकदा मात्रै भेटिन्छन् । प्रायः युट्युब च्यानलका प्रस्तोताले फलानो कलाकारले अन्तर्वार्ता दिन मानेन, घमण्डी रहेछ, निकै भाउ खोज्यो भनेको पनि सुन्नमा आउँछ । खासमा उक्त कलाकार घमण्डी होइन तर भाउचाहिँ पक्कै खोजेको हुन सक्छ । जसलाई ‘इकोनोमिक भ्यालु’ अर्थात् आर्थिक सम्बोधन भनेर अनुमान गर्न सकिन्छ । जुन कुरा अबका दिनमा च्यानलहरूले बुझ्न नितान्त जरुरी छ ।

व्यावसायिकता भन्ने कुरा जति हामी कलाकारले बुझ्न जरुरी छ त्यति नै च्यानलहरूले पनि बुझिदिन जरुरी छ । वनस्थलीमा बस्ने गीतकार एकनारायण भण्डारी दिनभर सिर्जनाको काम छाडेर बानेश्वरमा अन्तर्वार्ता दिन जाँदा ट्याक्सीले सित्तैमा लाँदैन न त फुटुङमा बस्ने लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो रेकर्डिङ छाडेर पुतलीसडक गएर अन्तर्वार्ता दिन जाँगर नचल्न पनि सक्छ । र यो व्यक्तिको अधिकार पनि हो । भगवान् त भेटी नचढाई खुसी हुँदैनन् भने कार्यक्रममा बज्ने विज्ञापन, विभिन्न प्रायोजक संस्था वा च्यानलको रेभेन्युबाट सानो अंश अन्तर्वार्ता दिन आइपुग्ने कलाकारका लागि बाटो खर्च भनेर दिन सके मात्र पनि कलाकारलाई कार्यक्रममा समावेश गर्न सकिएला । नआउने ठाउँमा कसले पो अपेक्षा गर्छ र ? आउने स्रोत भएपछि अपेक्षा गर्नु अस्वाभिक पनि त होइन । यसो गरे कलाकारले आत्मसम्मानको महसुस पनि गर्छ भने अन्तर्वार्ताका लागि उत्साहित हुन्छ । विषयवस्तुप्रतिको अध्ययनसहित पूर्वतयारी गर्न जाँगर पनि चलाउँछ । सुन्दा तीतो लागे पनि अन्ततः संसारमा हरेक कुराको मानक अर्थ नै बनिदिँदो रहेछ । नत्र आफ्नै घर बसिबसी मन लागेका बखत आफ्नै सामाजिक सञ्जाल वा युट्युब च्यानलहरूलाई छाडेर कलाकारले किन अन्त समय खेर खर्चिएलान् ?
 
टीआरपीका लागि जसरी पनि भ्युवर्स बढाएर आम्दानीकै लागि अन्तर्वार्ताको मर्मविपरीत हेडलाइन र बीचबीचबाट झिकेर राख्ने असान्दर्भिक हाइलाइट्सले अन्तर्वार्ता प्रशारण नहुन्जेल छटपटी हुँदोरहेछ । पैसाका लागि तोडमोड गरेर प्रकाशन तथा प्रशारण गर्ने प्रवृत्तिले कतै ट्रोलको सिकार पो भइने हो कि भन्ने डरले मनमा डेरा जमाइरहँदोरहेछ ।
 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, असार २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्