Skip Advt.

नेकपा नेताहरूले पढ्नैपर्ने कांग्रेसको त्यो इतिहास  

जगत नेपाल

दासढुंगा (चितवन) जीप दुर्घटना (२०५० जेठ ३) मा नेकपा (एमाले)का महासचिव मदन भण्डारीको मृत्यु भएपछि काठमाडौं क्षेत्र नं १ मा उपचुनाव हुँदैथियो । त्यसबीच कुनै एउटा समारोहमा राजा वीरेन्द्र र सत्तारुढ नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको भेट भयो । 

राजा : सभापतिजी चुनाव नलड्ने ? 

भट्टराई : एकल महिलासँग (विद्या भण्डारी) कहाँ चुनाव लड्न जानु र सरकार । 

‘भट्टराई चुनावमा उठून्, अनि सरकार र कांग्रेसमा विग्रह झनै चर्कियोस् भन्ने राजाको भित्री आशय थियो । तिनताका नेपाली कांग्रेसभित्रको आन्तरिक विग्रह उत्कर्षमा थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी र विपक्षीसँग समन्वय गरेर सरकार चलाउन सकेनन् भनेर सर्वोच्च नेता गणेशमान सिंह सभापति भट्टराईलाई उपनिर्वाचनमा उठाउने र जितेपछि प्रधानमन्त्री बनाउने योजनामा थिए ।’ त्यसैले पनि उनी एमाले महासचिव भण्डारीको निधनपछि रिक्त स्थानमा भट्टराईलाई उम्मदवार बनाउन जोड गरिरहेका थिए । भट्टराईलाई जिताउन प्रमुख प्रतिपक्षी दलका नेता मनमोहन अधिकारी समेत सकारात्मक रहेको बुझाइ सिंहको थियो । 

उता स्वयं भट्टराई भने चुनावमा उठिहाल्ने पक्षमा थिएनन् । आफ्नो त्यही विचार राखेर उनी आँखाको उपचारका लागि अमेरिकातिर लागे । जानुअघि विमानस्थलमा उनले पत्रकारहरुसँग भनेका थिए — ‘म उपचुनाव लड्दिन । संसदीय निर्वाचन जितेर प्रधानमन्त्री बन्ने हो नि !’ 

अमेरिकाबाट फर्किएपछि भट्टराईको बोली फेरियो । ‘मलाई चुनाव लड्ने इच्छा त होइन तर साथीहरुले निकै दबाब दिए । लड्नुपर्ने भयो ।’ भट्टराईको यस भनाइबाट प्रधानमन्त्री कोइराला सशंकित भए ।

त्यतिबेला पार्टी कार्यालय राजेन्द्र खरेलको बानेश्वरस्थित घरमा थियो । खरेलले लेखकलाई सुनाए — ‘म किसुनजी उठ्नु हुन्न भन्नेमा थिएँ । भरतशमशेर राणा र कुवेर शर्मा जसरी पनि जिताएर र त्यो तालु खुइले गिरिजालाई घोक्राएर हटाउनुपर्छ भन्ने शैलीमा कुरा गर्थे ।’ 

यसबीच उम्मेदवारीबारे छलफल गर्न कार्यसमिति बोलाइयो । त्यो बैठकमा भट्टराईले भनेका थिए — ‘म मेरो उम्मेदवारीको विषयलाई लिएर कार्यसमितिलाई विवादमा पार्न चाहन्न । गणेशमानजी, गिरिजाबाबु र म तीनजना पहिला बस्छौँ । अनि निर्णय गराैँला ।’ नेताहरुबीच के कुरा भयो कार्यसमितिका सदस्यलाई थाहा भएन । एकैपटक भट्टराईले बैठकमा भने — ‘मैले चुनाव लड्नुपर्ने भयो । त्यही कुरा तपाईहरुलाई सुनाएँ । अव यसमा प्रधानमन्त्रीजीको के भनाइ छ ?’ 

प्रधानमन्त्री कोइरालाले भने– ‘मेरो तर्फबाट भन्नुपर्ने जति छ, गणेशमान जी र किसुन जीलाई भनिसकेको छु । किसुन जी लड्दा मेरो पूर्ण सहयोग रहन्छ ।’ यसरी भट्टराई चुनाव लड्ने तय भयो । 

२०५० माघ २५ गते उपचुनाव हुँदैथियो, माघ १० मा प्रधानमन्त्री कोइरालाले सरकारी सञ्चार माध्यम (रेडियो नेपाल र नेपाल टेलिभिजन) मार्फत आफ्नै सभापतिविरुद्ध १७ मिनेटको बक्तव्य दिँदै भट्टराईलाई आफूले किन समर्थन गर्ने भन्ने प्रश्न उठाए ।’

कोइरालाले भनेका थिए ‘मेरो सम्पूर्ण असहमति हुँदाहुँदै पनि चुनावमा लडे पनि उमेदवार भएपछि आफ्ना तर्फवाट मद्त पुर्‍याउन मैले प्रयत्न गरेकै हो । जबसम्म पार्टी सभापतिले आफू पनि सरकारको यश अपयशको समान भागिदार हुने प्रतिबद्धता जाहेर गर्नुहुन्न तबसम्म सरकार प्रमुखको हैसियतले मैले कसरी उहाँको चुनाव प्रचार प्रसारमा भाग लिन मिल्छ ? पार्टी प्रमुखले सरकारसँग आफूलाई ऐक्यबद्धता नगर्ने, बरु सरकारका नीतिप्रति असहमतिका स्वर तीव्र पारेको बेला मैले चुनावी अभियानमा जान मिल्छ ? के किसुनजीको उम्मेदवारीलाई अनुमोदन गर्दा उम्मेदवारलाई वा अरु कसैलाई खुलेर सरकारविरुद्व आक्रमण गर्ने एकाधिकार पनि दिएको थियो ?’ 

शीर्ष नेताहरुबीचको विवाद भुसको आगो झैँ सल्किएको थियो । कार्यकर्ता र शुभचिन्तकको व्यापक दबाबपछि तीन नेताबीच सहमति भयो भनियो र नेताहरु हाँसेको तस्बिर सार्वजनिक गरिए । तीनै नेताले माघ १९ मा छुट्टाछुट्टै वक्तव्य जारी गरे ‘आफूहरुबीचको झगडा सकिएको सन्देश दिन ।’ तर त्यतिन्जेल कार्यकर्ता तह हुँदै मतदातासम्म विवाद छताछुल्ल भइसकेको थियो ।

एमालेले मदन भण्डारीकी पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो । कांग्रेसको आन्तरिक विग्रहका कारण भट्टराई पराजित भए । पहिलो चुनावमा हार्दा भट्टराई दुखी थिएनन् । तर, दोस्रो पटक दरबार र आफ्नै पार्टीका प्रधानमन्त्रीसमेतले हराउन षड्यन्त्र गरेको थाहा पाएपछि उनी मर्माहत भए । त्यसपछिका दिनमा उनले ‘नियमित सेवन गर्नुपर्ने औषधि खान छोडेर मध्यपान बढाएका थिए ।’

‘भट्टराईलाई हराउन प्रधानमन्त्री कोइरालाले ‘अन्तर्घात’ गरेको आरोप लाग्यो । पार्टी कार्यालयबाट कोइरालाको तस्बिर झिकेर सडकमा ल्याई नेविसंघकै केही विद्यार्थीले जुत्ताको माला लगाएर, कालो मोसो दली सडकमा जिन्दावाद मुर्दावादको नारा लगाए ।’ 

‘भट्टराई र कोइराला समर्थकहरु एक अर्काको विरोधमा दिनहुँ नारावाजी गर्न थाले ।’ आफ्नै पार्टी कार्यालय आउनसमेत प्रधानमन्त्रीले पुलिसको घेरा राख्नुपर्ने अवस्था बन्यो । 

उपचुनावपछि कोइराला पक्षलाई कांग्रेस कार्यालय जान प्रतिबन्धजस्तै भयो । पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सुनाए ‘कोइराला पक्ष त्यहाँ पुग्दा या त शारीरिक आक्रमणको सामना गर्नुपर्थ्यो वा आमाचकारी गाली सुन्नुपर्थ्यो ।’ यस्तैमा एक दिन घिमिरे (तत्कालीन जलस्रोत राज्यमन्त्री) र सभापति भट्टराईबीच शंकर होटलको एउटा कार्यक्रममा भेटभयो ।

भट्टराई : लक्ष्मणबाबु तपाइँ आजभोलि किन अफिस नआउनु भएको ? 

घिमिरे : त्यहाँ जानसक्ने वातावरण नै छैन । नचिनेका मानिस बसेका हुन्छन् । आमा चकारी गाली गर्छन् । 

भट्टराई : ल ल भोलि २ बजे म आउँछु । त्यसै बेला तपाइँ पनि आउनुस् ।

ठीक दुई बजे घिमिरे कांग्रेस कार्यालय पुगे । भट्टराई सहमहामन्त्री वासु रिसालसँग कुरा गर्दै थिए । रिसाल आफ्नो कार्यकक्षतिर लागेपछि भट्टराईले ढोकाको चुकुल लगाए । दुई जनाबीच झन्डै डेढ घन्टा कुराकानी भयो ।  

भट्टराई : लक्ष्मणबाबु ल भन्नुस् त म कसरी चुनाव हारेँ ? 

घिमिरे : चुनाव प्रचारका क्रममा गिरिजाबाबुलाई प्रधानमन्त्रीबाट हटाउन तपाईँको उम्मेदवारी भन्ने प्रकारले जसरी प्रचारप्रसार गरियो त्यो नै हारको मुख्य कारण हो । 

भट्टराई : ‘हो मबाट पनि केही कमजोरी भए । मलाई चुनाव जिताउने नाममा करोडौं रुपैयाँ उठाइयो । त्यो रकम चुनावमा समेत खर्च भएन । पार्टीभित्र र बाहिरबाट मलाई हराउने खेल भयो ।’ 

भट्टराई निकट कांग्रेस नेता राजेन्द्र खरेलले लेखकलाई भने ‘उठ्दिन भनेर बसेका किसुन जीले अचानक उम्मेदवारी घोषणा गरेपछि धेरैको मनमा चिसो पसिसकेको थियो । खरेलले सुनाए ‘किसुन जीलाई उठ्नु पर्छ भनेर उकास्नेहरुमा दरबार र भारतको घुसपैठ रहेछ भन्ने हामीलाई पछिमात्र थाहा भयो । जसरी पनि हराउने डिजाइन रहेछ ।’

‘रक्सीका सौखिन भट्टराई बेनीबहादुर कार्की, कुवेर शर्मा, शिवराम प्रसाईलगायतका घरमा नियमितजसो भेला हुन्थे । भट्टराईका लागि ‘सन डाउनर्स पार्टी’ अर्थात सा“झमा ग्लास लिएर बस्ने बैठक परम्पराजस्तै थियो ।’

रमाइलोसँगै राजनीतिलगायत अनेकौं विषयमा छलफल हुन्थ्यो । ‘सर्वोच्च नेता सिंह पनि सातामा तीन चार पटक त्यस्ता बैठकमा सहभागी हुन्थे । चुनावमा धोखा खाएपछि भट्टराई त्यस्ता क्लब जान छोडे । अनि शर्मा र भरतशमशेरलाई एक शब्द नसोधी केन्द्रीय समितिबाट हटाई दिए ।’ 

निष्कासनमा परेको दिन बिहानै कुवेर शर्माले कुपन्डोल पुगेर भट्टराईलाई भेटेका थिए । घर फर्किएपछि कसैले फोनमा भन्यो — ‘अहिले रेडियो नेपालको समाचार सुन्नुहोला ।’ शर्मा लेख्छन् — ‘लगत्तै रेडियो नेपालको समाचारबाट हामी निष्कासित भएको खवर सुने ।’  

नेताहरुलाई भिडाएर दुनो सोझ्याउनेहरुको कांग्रेसमा कमी थिएन । सभापति भट्टराईले अपमानको विष पिएर भए पनि पार्टी एकतामा जोड दिइरहेकालेमात्र कांग्रेस फुट्नबाट जोगिएको थियो । 
 

प्रतिकृया दिनुहोस
ad