site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपाको चिनिया झुकाब

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक निकटता रहनु स्वाभाविक नै हो । पार्टी र सरकारमा भने राजनीतिक पद्धतिका कारण भिन्नता रहन्छ नै । लोकतान्त्रिक निर्वाचनबाट चुनिएको नेपालको कम्युनिस्ट सरकार र नेकपा छिमेकी चीनसँग शरणापन्न हुनुमा सैद्धान्तिकमात्रै होइन, थप केही बाध्यतासमेत हुनसक्ने देखिएको छ । 

चीनमा एकछत्र कम्युनिस्ट प्रणाली छ । त्यहाँको तन्त्रमा त्यो बाहेक अर्को छनोटको विकल्प छैन । राजनीतिक सर्वेसर्वा कम्युनिस्ट । चीनमा ‘सबै जनता कम्युनिस्ट, सबै कम्युनिस्ट जनता’को मान्यतामा शासकीय सर्वाधिकार छ । नेपालको राजनीतिक पद्धति र शासन प्रणाली चीनको भन्दा नितान्त भिन्न हो । 

चीनको जन गणतन्त्र, यहाँको लोकतन्त्र । शब्दार्थ उस्तै लागे पनि कम्युनिस्ट ‘जनतन्त्र’ नियन्त्रित शासन हो । चीनले पनि स्वीकारेकै छ । राजनीतिक प्रणाली माक्र्स, लेनिन स्टालिन र माओ त्सेतुङ (मिश्रित) विचारधारा अनुप्राणित रहे पनि आर्थिक र व्यापारिक नीति दङ सियाओ पिङले निर्देशित गरेको पुँजीवादी बाटोमा हिँडेको पनि चिनियाँ स्वीकृति नै हो । त्यहाँको आर्थिक प्रणाली प्रचलित कम्युनिस्ट प्रणालीभन्दा भिन्न रहेको विश्वले नै मानेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति सी जिङपिनले दोस्रो कार्यकालको शपथमा आफ्नो मुलुकको आर्थिक पहुँच विश्वव्यापी बनाइनेसँगै  सैनिक सामथ्र्यको जुन चर्चा गरे यसबाट चिनियाँ आकांक्षा र शक्तिको सम्प्रेषण गरेका थिए । नेपालमा प्रजातन्त्र आउनु र चीनमा माओको सेनाले जितेर एकीकृत मुलुकको खाका बनाउनु सँगसँगै जस्तै हो । एक वर्षअघि सन् १९४९ मा चीनलाई माओले आफ्नो नेतृत्वमा लिएका थिए ।  उहापोहबीच चीनको आधुनिक सामथ्र्यको उचाइ देङकै देन हो । 

एक हजार ४१४ किलोमिटर सीमा जोडिएको उत्तरी छिमेकी चीनको शक्ति, सामथ्र्य नेपालको लागि कुन हैसियतमा प्रयुक्त हुने हो भन्न सकिँदैन । नेपालले चिनियाँ सामथ्र्यलाई आफ्नो हित अनुकूल बनाउने कौशल भने अहिलेको सरकारले गुमाउँदै छ । सन्तुलित विदेश नीतिको भूसीमाको आग्रहलाई उपेक्षा गरेर चीनसँगको बढी आश्रय नेपाल अनुकूल हुनेछैन । वर्षाैँअघिदेखि नेपालको छिमेक वा बाह्य विदेशनीतिको निष्कर्ष असंलग्नता नै हो  ।

Global Ime bank

नेपालको विदेश नीति खासमा त्रिकोणीय छ । शक्ति स्पर्धामा रहेका छिमेकी भारत र  चीनबीच उपयुक्त सन्तुलन राख्नसक्नु नेपालको परराष्ट्र नीतिको मुख्य सफलता हो । भौगोलिक दूरीमा रहे पनि महाशक्ति राष्ट्र अमेरिका र त्यसपछि ऊसँग साझेदार लोकतान्त्रिक युरोप वा विश्वव्यापी भाइचारा नेपालको प्राथमिकतामा पर्छ । हाल यो यथार्थ नेपालले कायम गर्न सकेको देखिँदैन ।  

खस्कँदो अर्थतन्त्र, बढ्दो भ्रष्टाचार, सरकारी स्वेच्छाचारिता र खुला सामाजिक मान्यतालाई खुम्च्याउने सरकारी कृत्यले आन्तरिक संकट थपिँदैछ । यही अवस्थामा सरकारले अन्तर्राष्ट्रिय सन्तुलन र समन्वयसमेत राख्न चुक्दा बाह्य संकट पनि बाक्लिँदै गएको देखिएको छ । अहिलेको कम्युनिस्ट सरकारले थपेको र उत्पादन गरेको संकट भावी दिनमा कुनै पनि सरकारलाई समाधान गर्न सहज हुनेछैन भने पुस्तौं नेपाली यही संकटको भूमरीमा पर्ने निश्चित देखिएको छ । सरकार र सत्तारुढ पार्टीले यो यथार्थमा आँखा चिम्लिएर चारैतिर सफलताको आत्मरति लिए पनि सत्य चाहिँ चौतर्फी संकट गहिरिएकै हो । 

आन्तरिक विरोधले अराजक भएको नेकपा र यसको नेतृत्वको सरकारले संकट सुल्झाउन सक्ने त छैन नै बरु लोकतान्त्रिक पद्धति र मुलुकलाई कुन दलदलमा फसाउने हो, चिन्ता छ । बेथिति र संकटको कारक नेकपाको बाध्यता चीनसँग शरणागत हुनुमा पनि छ । खासगरी नेकपा एमाले र माओवादीबीच भएको एकतामा छिमेकी चीनको राजनीतिक सहयोग मुख्य रहेको धेरैले मानिसकेको विषय भयो । 

नेकपा माओवादीले भारतमा निवेदन दिएर सुरु गरेको दस वर्षे हिंसात्मक द्वन्द्वको दायित्व एकतापछि अहिलेको नेकपा पनि सरेको छ । हिंसा, प्रतिहिंसाले त्यतिबेला १७ हजारभन्दा बढी नेपाली मारिएको तथ्यांक छ ।  हजारौं घाइते र बेपत्तासमेत अर्बौंको विकास संरचना ध्वस्त भएको अभिलेख छ  । यस्तो हिंसा कृत्यमा नेतृत्व गरेका तत्कालीन ‘प्रचण्ड’ पुष्पकमल दाहालको चीनसँग टाँसिनुपर्ने बाध्यता भएको छ । 

अन्तर्राष्ट्रियस्तरमा समेत पश्चिमा र युरोपेली मुलुकको ऐन, कानुनले यस्तो हिंसामा संलग्न नेतृत्वलाई न्यायिक प्रक्रियामा लाने प्रचलन छ । ती मुलुकमा विधिको शासन छ र दाहाललगायत हिंसामा संलग्न नेतृत्वले त्यहाँबाट सजिलै उन्मुक्ति पाउने सम्भावना न्यून छ । यही कारण दाहाललगायत तत्कालीन माओवादी नेतृत्व ती मुलुकको भ्रमणमा जान सकेका छैनन् वा तिनलाई भ्रमण अनुमति दिइएको देखिँदैन । 

यस्तो बाध्यताले नेकपा खासगरी माओवादी हिस्सालाई चीनतिर लहसिनु अनिवार्यजस्तै बनाएको छ । सिंगो नेकपा यही चपेटामा फसेको छ । एकताको सहयोग श्रेय पनि चीनलाई भएको सन्दर्भमा पटकपटकका सत्ता संघर्षले संकटमा परेको केपी शर्मा ओलीको सरकारलाई देखिने गरी चिनियाँ दबाबमा जोगाइएको स्पष्टै छ । गुनको बदलामा ओली सरकार पनि चीनतर्फ झुक्न पुगेको देखिँदै छ । 

चीन सरकारको चाहना र त्यहाँको नीति नियमले हिंसाको नेतृत्व गरेका नेतालाई कानूनी प्रक्रियामा नलाने विश्वास नेकपाको छ । उन्मुक्तिको यस्तै भरोसाले नेकपा,  सरकारमा दरिलो पकट राखेको पूर्व माओवादी र अध्यक्ष दाहाललाई  चीनतिर लाग्दा न्यायो महसुस भएको हुनुपर्छ । 

राष्ट्रपति सीजस्तै सर्वेसर्वा कार्यकारी हुने दाहालको महत्त्वाकांक्षाले पनि चिनियाँ बाटो अख्तियार गरेको कुरा लोकतन्त्र र संसदीय प्रणालीविरुद्ध हिंसात्मक आन्दोलन सुरु गर्दाको उनको घोषणा,दस्ताबेजले नै स्पष्ट गरिसकेको छ । दर्जनौं प्रयोग गर्ने दाहाल मौकामा चौका मार्न खप्पिस र अस्थिर राजनीतिकर्मी हुन् । सरकारमा जाने र नेतृत्व लिने नेकपाभित्रको संघर्षले भएको तीव्र ध्रुवीकरणको परिणाम पुष्पकमल दाहाल यतिबेला प्रभावकारी देखिएका छन् । 

अमेरिकालगायत पश्चिमा मुलुकबाट उन्मुक्ति नपाउने निष्कर्षमा पुगेका दाहाल अमेरिकी अनुदान सहयोग एमसीसीविरुद्ध उभिन पुगेको देखिन्छ । परिणाम नेकपाले पटकपटक चीनबाट प्रत्यक्ष राजनीतिक प्रशिक्षण लिन थालेको छ । चिनियाँ चाहनाविपरीत प्रधानमन्त्री ओली र नेकपा सरकार एमसीसी पार लगाउने पक्षमा छैन भन्ने पनि देखिँदैछ । पक्षमा लागेको अभिव्यक्ति दिएर पनि यसलाई गिजोल्ने भित्री उपाय अपनाइएको सहजै बुझिन्छ ।  

एमसीसीलाई गिजोलेर असफल पार्ने उद्देश्यले नै हुनुपर्छ नेकपाले बनाएको अध्ययन टोलीमा तटस्थ विशेषज्ञ थिएनन् । पहिलेदेखि यसको विरोधमा सार्वजनिक उत्रिएका नेतालाई अध्ययन जिम्मा दिनु नै शंकास्पद थियो । पार्टीभित्रकै तटस्थ अध्येताको टोली पनि बनाइएन । अध्ययन प्रतिवेदन पूर्व नै निष्कर्ष बुझाउने टोलीको संरचना बनाउन अध्यक्ष दाहाल र नेता माधव नेपाल सफल भए वा ‘लिपसर्भिस’ भित्र प्रधानमन्त्री ओली पनि यस्तै निष्कर्षको प्रतीक्षामा थिए भन्ने खुलेको छैन । 

एमसीसीबारे नेकपा स्थायी समितिको जारी बैठकले दिने निष्कर्षसमेत संसद्को अनुमोदनका लागि गरिने सरकारी रबैयाले केही दिनभित्रै तथ्य उजागर हुने नै छ । सञ्चार माध्यममा सप्रमाण आएको खबरअनुसार एमसीसीलाई संसद्बाट अनुमोदन गराउने प्रस्ताव यही सरकारले गरेको हो । यसअघि सम्झौता गर्ने सरकारी पक्षले यस्तो प्रस्ताव मानेको थिएन । अर्थमन्त्री युवराज खतिवडाको नेतृत्वको अर्थ मन्त्रालय र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको मन्त्रालयबीच भएको पत्राचारमा संसदीय अनुमोदन प्रस्ताव स्वीकृत गरेको ‘फोटोकपी’ छापामाध्यममा देखियो । 

परराष्ट्र नीतिमा अहिले देखिएको असन्तुलनप्रति व्यापक चिन्ता प्रकट हुँदैछ । पार्टी राजनीतिले प्रभावित कथित विज्ञबाहेक तटस्थ परराष्ट्र नीतिका विषयविज्ञले प्रतिदिन असन्तुलित बनेको नीतिप्रति सार्वजनिक चिन्ता र खबरदारी गरिरहेको सुनिन्छ र पढिन्छ पनि । नेपालले  विदेशनीतिमा औचित्यपूर्ण सन्तुलन र समन्वय गुमाउँदै, भावावेशमा चालिएको कदमले बढ्ने जोखिम र आउने चुनौतीको  सन्देश पनि विज्ञहरुले दिएका छन् । 

आन्तरिक वा वाह्य नीतिको प्रमुख सञ्चालक सरकार नै हो । सरकारी नीतिलाई सन्तुलित र विधिसम्मत बनाउन प्रतिपक्षी दलहरुले भित्रि दबाब सिर्जना गर्ने हो तर प्रमुख विपक्षसहित प्रतिपक्षीहरु यस विषयमा न ‘हाँसको चाल न कुखुराको’ भन्ने अवस्थामा देखिँदैछन् । छिमेकी मित्रराष्ट्रबारे टिप्पणी गरिहाल्न कसैलाई पनि सहज लाग्दैन तर यथार्थ लुक्दैन र विज्ञहरु बोली रहेका पनि छन् । 

चीनको राजनीतिक, आर्थिक वा सामरिक शक्ति स्पर्धाको जमीन नेपाल बनाइनु हुँदैन । यस्तो स्पर्धा नेपालको हितमा छैन र अन्ततः चीनको हितमा पनि हुनेछैन । माओ र चाउ एन लाइले नेपालको छिमेकी नीति औचित्यपूर्ण सन्तुलन र समन्वयमा आधारित हुनुपर्ने निर्देश गरेका थिए । वर्तमान चीन सरकारले पनि सार्वजनिक गरेको विकास सहयोग नेपालले सबै मुलुकबाट लिनसक्ने विचार र माओको पालामा निर्देशित सुझावलाई यथार्थमा अनुवाद गरे सानो छिमेकीको हित सम्वर्धित हुनेछ । अन्यथा सानो छिमेकी मुलुक नेपालमा बढ्ने जोखिमको लपेटा आसपास पनि फैलिने नै छ ।   
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC