डा. मिनेन्द्र रिजाल सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । कांग्रेसका प्रभावशाली नेता रिजाल भारतले नेपालको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछिको अवस्थामा खरोरुपमा उत्रिएका एकजना नेता हुन् । नेपाल स्वतन्त्र राष्ट्र भएकाले यहाँको हरेक निर्णय नेपालीले नै स्वतन्त्ररुपले गर्दा कसैले चित्त दुखाउन नहुने उनको स्पष्ट धारणा छ ।
पछिल्लो समयमा सरकारका गतिविधि पनि चित्तबुझ्दो नभएको उनको निष्कर्ष छ । प्रमुख प्रतिपक्ष कमजोर र सरकारका गलत निर्णय र व्यवहारका कारण मुलुक अप्ठेरो अवस्थामा फस्न सक्ने उनको चिन्ता छ । नेपाल–भारत सम्बन्ध, कांग्रेस–सरकारबीचको सम्बन्ध, सरकारका गतिविधिलगायतका विषयमा बाह्रखरीका बलराम पाण्डेले कांग्रेस नेता डा. रिजालसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपाल–भारतबीचको सम्बन्धबाटै कुरा सुरु गरौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी भयो, संविधान संशोधन पनि भयो । यसले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना देखिएको छ, अब निकासका लागि नेपालको बाटो के हुन सक्छ ?
त्योभन्दा पहिला के भन्नैपर्छ भने आज हामी नेपालीले एकैपल्ट थाहा पाएर नेपाल र नेपाली जनता ज्वालमुखीको रुपमा प्र्रस्तुत भएका होइनन् । १९९७ मा भारतका प्रधानमन्त्री इन्दरकुमारको नेपाल भ्रमणका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो भनेका थियौं । २०१८ सालसम्म हाम्रो भोगचलन थियो । २०१८ सालको जनगणना भयो । तिरो हामीले तिरेका छौं । २०–२१ पछि हाम्रो भूमि गुमेको छ ।
भारतका तत्कालीन प्रधानमन्त्री इन्दरकुमारको भ्रमणका बेला यो विवादित भूमि हो भनिएको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला पनि उक्त भूमि हाम्रो हो भनेर हाम्रातर्फबाट कुरा उठाइयो ।
नेपाल र भारतबीच टुंगो लगाउन बाँकी विषय भनेको हो । २३ वर्षदेखि लगातार यो विषय उठेको छ । भारतले जति ठाउँमा सीमा टुंगो लागेको छ हस्ताक्षर गरौं भन्दा पनि हामीले सबै लागेपछि हस्ताक्षर गर्ने भन्यौं । हामी शालिन भएर प्रस्तुत भएका छौं । चीन र भारतबीच लिपुलेकमा सम्झौता हुँदा त्यो भूमि हाम्रो हो भन्यौँ । भारतका प्रधानमन्त्रीलाई त्यसबेलाका प्रधानमन्त्री सुशील कोइरालाले त्यो भूमि हाम्रो भनेर स्पष्टरुपमा जानकारी गराउनुभयो ।
हामीले एकाएक अहिले आएर भनेको होइन । भारतले नक्सा सार्वजनिक गरेपछि हामीले त्यसो मिल्दैन भन्यौं । हामीले सरकारलाई तत्काल नेपालले पनि नक्सा सार्वजनिक गर्नुपर्छ भनेर भन्यौं । सरकारले आफ्नो काम अघि बढाउँदै थियो होला भारतसँग वार्ताको प्रयास पनि भएको थियो । त्यो बीचमा भारतका रक्षामन्त्रीले उक्त ठाउँमा बनेको सडक भर्चुअल रुपमा उद्घाटन गर्नुभयो । प्रधानसेनापति बोल्नुभयो । भारतका ९५ प्रतिशत जनता नेपालप्रति सहिष्णु छन् । राम्रो व्यवहार गर्छन् तर पाँच प्रतिशतले नेपालप्रति हेपाहा प्रवृत्ति राखेको पाइन्छ ।
नेपालको संविधान बनिसकेपछि आफुले भनेजस्तो भएन भनेर भारतले नाकाबन्दी नै गरिसकेपछि नेपाली जनतालाई हामीले हाम्रो निर्णय पनि गर्न नपाउने ? भन्ने भयो । भारतलाई चित्त बुझ्नु र नबुझ्नु आफ्नो कुरा हो । तर घाँटी नै अट्याउने काम त गर्नुभएन नि ! भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेपछि हामीले उक्त भूभाग हाम्रो हो भनेर नक्सा जारी गरेका हौं । हामीले हाम्रो संविधानमा उल्लेख गरिएको निशान छाप संशोधनका लागि संविधान पनि संशोधन गर्यौं । यसमा भारतले रिसराग देखाउनुपर्ने कारण छैन ।
अब कसरी अघि बढ्ने होला त ? एउटा तहसम्मको काम त सकियो ?
मैले सार्वजनिक रुपमा पनि भनेको छु । परराष्ट्र नीतिको सञ्चालन कुनै सत्तारुढ पार्टीले होइन सरकारले गर्ने हो । न त प्रतिपक्ष दलले गर्ने हो, न त सत्तारुढ दलले नै । सरकारले यहाँनेर सहयोग चाहियो भनेर प्रतिपक्षलाई भन्न सक्नुपर्छ ।
हाम्रो परराष्ट्र नीतिमा हामी प्रतिपक्षले पनि जुनखाले सहयोग सरकारले चाहन्छ त्यो गरिदिनुपर्छ । भारतले जति चर्को कुरा गरे पनि आफ्नो वक्तव्यमा एउटा वाक्य उल्लेख गरेको छ, मैले त्यसलाई मात्रै हेर्ने गरेको छु । कूटनैतिक माध्यमबाट यो समस्याको समाधान खोज्ने हो भनेको छ । मैले अहिले त्यो मात्रै बुझेको छु । प्रधानमन्त्रीले पनि कूटनीतिक तरिकाले समाधान गर्ने भन्नुभएको छ । कांग्रेसको सहयोग चाहियो भने भन्नुहोला भनेर मैले प्रधानमन्त्रीलाई पनि भनेको छु । उत्तेजनाबाट धैर्य गुमाएर कुनै पनि काम गर्नुहुँदैन ।
भारतीय टीभीमा लगातार कुरा उठेको छ । भारतको निशान छाप र कोरोनाभाइरसका बारेमा उनीहरुले कुरा उठाइरहेका छन् । हाम्रो निशान छापको बारेमा कसैले नराम्रो भनिदियो भने हाम्रो रगत उम्लेर आउँछ । राजनीतिक रुपमा बिम्ब प्रयोग गर्दा पनि नराम्रो सन्देश जान सक्छ त्यसमा ध्यान दिनुपर्छ । दृढ अठोटसाथ भारतलाई उत्तेजित नगरी हामीले हाम्रो भूमि फिर्ता गर्नुपर्छ । हामी अघि बढ्नुपर्छ । मैले यो संसदमा पनि कुरा उठाएको छु ।
चीन अमेरिकालाई पछ्याउँदै अघि बढेको छ । चीनलाई पछ्याउँदै भारत अघि बढेको छ हामी बीचमा छौं । उनीहरु विश्वमा प्रतिष्ठा आर्जन गर्ने क्रममा छन् । त्यो कुरा हामीले उनीहरुलाई पनि बुझाउन सक्नुपर्छ । ज्ञान, विज्ञान र समाजका बारेमा हामीले उनीहरुलाई बुझाउन त सक्छौं नि ।
नेपाल चीन र भारतको गतिमा हिँड्न नसके पनि अहिलेको नेपाल हिजो २०–२५ वर्षअघिको जस्तो नेपाल छैन । त्यो बेला शासकले थाहा पाउँदा पाउँदै पनि बोल्न नसक्ने अवस्थामा थिए होलान् तर अहिले नेपाली त्यो अवस्थामा छैनन् । अन्तर्राष्ट्रिय मञ्चमा हामीले हाम्रा कुरा उठाउन सक्छौं । भारतले बंगलादेशसँगको सीमा विवाद मिलाएको छ भने नेपालसँगको पनि मिलायो भने भारतको पनि त उचाइ बढ्छ । भारतलाई नै राम्रो हुन्छ, यो कुरा भारतले बुझ्नुपर्छ ।
अहिले भारतीय मिडियाले खोजी गरेका नेतामध्ये तपाइँ एक हुनुहुन्छ, भारतीयहरुमा त्यो नेपाली भूमि हामीले मिचेका रहेछौं भन्ने परेको छ कि छैन होला ?
म धेरै मिडियामा होइन । भारतका प्रमुख तीनवटा मिडियामा मैले आफ्ना कुरा राखेको छु ।
पहिलो मेरो अन्तर्वार्ता भारतको रिपब्लिक टीभीमा भएको हो । तपाइँलाई भन्ने हो भने भारतीय मिडियाका बारेमा मलाई धेरै ज्ञान छैन । मलाई यहाँका एकजना सम्पादकले भन्नुभयो भारतको एउटा टीभीले कुरा गर्न खोजेको छ ।
राम्रो फलोइङ छ भनेपछि बोल्न तयार भएको हुँ । मैले कुरा गर्नुभन्दाअघि गुगल गरेर हेरेँ पनि । तर पहिला नै कस्तो व्यक्तिसँग परियो भने ‘ए तिमीहरुले आफ्नो हित हेर्न सक्दैनौं ? चीनले उचालेर उचालिने ? तिमीहरु अब सकिँदै छौ, तिम्रो के भविष्य छ ? चीन विश्वबाट एक्लिँदैछ’ भन्ने खालका कुराबाट सुरु भए ।
मैले त्यहाँ नेपालको बारेमा प्रष्टसँग आफ्ना धारणा राखेँ । नेपाल आफ्नो निर्णय आफैँ गर्न सक्षम छ भन्ने कुरा राखेँ ।
केहीदिनपछि भारतको एनडीटीभीले समय माग्यो । त्यहाँबाट विष्णु सोमले कुरा गर्नुभयो । उहाँले शालिन तरिकाले कुरा सोध्नुभयो । उहाँले सीमा हो कि सम्मानको कुरा हो ? भनेर सोध्नुभयो । मैले भनेँ–दुईवटै हो । उहाँको धारणा कस्तो थियो भने भूभागभन्दा पनि आत्मसम्मानमा चोट पुगेको हो कि जस्तो थियो । तर त्यस्तो मात्रै होइन । अनि अर्को टीभीमा पनि कुरा भयो । मलाई अन्तर्वार्ता लिने व्यक्ति सानो क्युबिकलमा बस्नुभएको छ । मलाई प्रश्नभन्दा पनि यो इस्युमा तपाइँको धारणा भनिदिनुस् भन्नुभयो ।
मसँग २० मिनेट कुरा गर्नुभयो तर प्रशारण गर्दा फरक थियो । उहाँले प्रस्तुत गर्दा चीनले उचालेकोजस्तो देखाउनुभयो । जुन मैले पाँचप्रतिशत भनेको थिएँ नि उनीहरुसँग आत्मसम्मानका लागि लड्नैपर्छ । नेपालले आँखा जुधाउने ? भन्नेहरुसँग आत्मसम्मानका लागि लड्ने हो । बाँकी ९५ प्रतिशत भारतीय छन् जसलाई कुनै पनि टेलिभिजनले कथा बेच्न सक्दैनन् । नेपाल आफैँले निहुँ खोजेको होइन भन्नेमा त्यहाँका जनता देखिन्छन् ।
त्यसैले ती ९५ प्रतिशतलाई बेच्नका लागि केही सञ्चारमाध्यमले नेपाललाई चीनले उक्साएको भनेर बेचिरहेका छन् ।
लिपुलेकमा भारत र चीनबीच पनि सम्झौता भएको हो । अब नेपालले चीनलाई पनि जानकारी गराउन पर्दैन ? यसैमा के जोड्न खोजेको हो भने भारत र चीनबीच पनि विवाद देखिएको छ । यसलाई कसरी लिनुभएको छ ?
सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । म त्यसबेला सरकारको प्रवक्ता थिएँ । चीन र भारतबीचको सम्झौतापछि चीनको धारणा आएको थिएन । अहिले चीनका तर्फबाट आएको वक्तव्य एक्लै निर्णय गर्न हुँदैन भन्ने देखिन्छ । चीनमा नेपालको अधिकारलाई ख्याल गरिएनछ भन्ने देखिएको छ । त्यो भूभाग हाम्रो हो तर त्यो भूमिले चीन र भारतलाई महत्व राख्छ ।
भारत र चीनका बीचको विवादका बारेमा मलाई धेरै ज्ञान छैन तर मलाई मन परेको देशको पक्षमा वा कसको पक्षमा बोल्दा जनसमर्थन हुन्छ भनेर हामी बोल्नुहुँदैन । हामी दुइवटै मुलुकसँगको सम्बन्ध राखेर अघि बढ्नुपर्छ । बकबक गर्न जरुरी छैन ।
कांग्रेस र सरकारको सम्बन्ध
अहिले नेपाली कांग्रेस र सरकारबीचको सम्बन्ध कस्तो छ ?
खासै राम्रो छैन ।
किन ?
प्रधानमन्त्रीलाई हामीले पटक–पटक भन्यौं । सम्बन्ध राम्रो हुने कारण हाम्रो कारणले मात्रै होइन । हामीसँग मात्रै होइन प्रधानमन्त्रीको सम्बन्ध अहिले नेपाली जनतासँग कस्तो छ त्यो पनि हेरौं न । चुनावका बेला केपी ओलीको भिजन छ, विकासका बारेमा भिजन छ, केही गर्न सक्छन् भनेर जनताले भोट हालेका हुन् ।
सचेत मनले निर्णय गरेका हुन् । असाध्यै ठूलो मान्छेको समूहले यो मान्छे त भएन भनेर अहिले भनेका छन् ।
निराशामा कसरी पुग्यो त ?
नेपाली जनता आजित भएका छन् । जनताको मनोविज्ञान बुझ्नुसट्टा जनतालाई नै अपमानित गर्ने काम भइरहेको छ ।
कोरोना लागे बेसार खाऊ भन्नुहुन्छ । कोरोना नियन्त्रणका लागि भएका काममा अनियमितता भएका समाचार सार्वजनिक भएका छन् । त्यो बीचमा राष्ट्रपतिलाई प्रयोग गरेर सरकारले भ्रष्टाचार गरेको छैन भन्न लगाउनुभयो । राष्ट्रपति प्रधानमन्त्री या सरकारको मात्रै नभएर जनताको अभिभावक हुनुपर्छ । बेलायतको महारानीको सन्देश हेर्ने हो भने त्यो देखिन्छ । त्यस्तै अभिभावक हुनुप¥यो । पछि प्रधानमन्त्री संसदमा बोलेका कुरालाई जनताले अपमानित भएको ठानेका छन् । उहाँले डाक्टरी कुरा गर्नुहुन्छ । त्यसले जनतालाई आजित भएको छ ।
आजित हुनुपर्ने कारण यति नै हो त ?
यो मात्रै होइन, विकासका कुरा गरौँ न । दुईवर्षमा रेल र पानीजहाजका कुरा भएको होइन र ? संविधानपछि बलियो धरातल निर्माण भएका बेला झन्डै दुई तिहाइको सरकार, ६ वटा प्रदेशमा सरकार, एउटा बाँकी पनि उहाँहरुको समर्थनमा बनेको सरकार, स्थानीय तहमा दुई तिहाइ ल्याएको सरकारका यो बीचका काम हेरौं त ? के काम भए ? जनताले मलाई दुःख लागेको छ भनेर पीडा सुनाइरहेका बेला प्रधानमन्त्रीले उनीहरुको चित्त दुख्ने कुरा गर्नुहुन्छ । मभन्दा ४० वर्षमुनिका युवा अहिले सडकमा अति भयो भनेर निस्किएका छन् ।
युवाको तागत देखिन थालेको छ । प्रधानमन्त्रीले त्यसलाई थोरै सम्बोधन गर्न लागेको भए पनि उनीहरुको मागको खास सम्बोधन भएको छैन । प्रधानमन्त्रीलाई गाली गर्ने मेरो जिम्मेवारी होइन । प्रधानमन्त्रीले गलत गर्न थाल्नुभयो भने सच्चिन मद्दत पुग्नेगरी सुझाव दिने हो ।
प्रधानमन्त्री आफैंमा दुईवटा कुरा गर्नुहुन्छ ।
अहिलेको सडकमा निस्किएको पुस्ताले दिन खोजेको सन्देशलाई तपाइँले कसरी लिनुभएको छ ? कतिपयले यसलाई यो व्यवस्था नै परिवर्तन गर्न खोजिएको अर्थमा बुझेका छन् । त्यस्तो हुन सक्ला र ?
मैले केही महिनाअघि नै प्रधानमन्त्रीलाई भनेको थिएँ प्रधानमन्त्रीज्यू निराशा छ । त्यो निराशासँगै लामो समयको मेहनतपछि बनेको संविधान जोखिममा छ भनेको थिएँ ।
चार पुस्ताको दुःखबाट बनेको संविधान हो । यो युवाको धारणा बुझ्नैपर्छ । यी व्यवस्था परिवर्तन गर्न आएका होइनन् । कोरोनाबाट मुलुक र जनतालाई बचाओस् भनेका छन् । ती युवाको सेन्टिमेन्ट बुझ्नैपर्छ । सरकार भनेको जनताप्रति उत्तरदायी हुनुपर्छ । एकैचोटी उनीहरुलाई जवाफ दिएको छ–कोरोनामा दश अर्ब खर्च भयो भनेर । अनि ती युवाले त्यो कुरालाई स्वीकार गर्छन् ? अहिलेका क्वारेन्टिन हेर्नु त, जनताले यस्तो क्वारेन्टिन नबनाऊ भन्न पनि नपाउने ? जनताले दश अर्ब कहाँ खर्च भयो ? भनेर सोधेका त हुन् । सरकार त्यतातर्फ नफर्किने तर अन्त खनिएको जस्तो देखियो ।
विदेशबाट मान्छे ल्याउने चरणमा प्याकेज बनाएर ठेक्कामा लगाउन मिल्छ ? सबै चरणमा बेग्लाबेग्लै निकायले गर्नुपर्दैन ? एकैठाउँबाट खान पाइन्छ भनेर त्यसो गरिएको छ । अहिले जनता दुःखमा छन् त्यसमाथि सरकारले अपमानित गरेको छ ।
भारतीय मिडियाले ओलीको विरोधमा आएका जनता भनेर देखाए । त्यो प्रयोग गरियो । यसरी प्रयोग गर्न दिनुभएन । त्यो काम सरकारको हो ।
सुधार्ने कि विकल्प खोज्ने त ?
हामीले विकल्प खोज्न कसरी सकिएला र ? हामीले प्रधानमन्त्रीको विकल्प खोज्ने होइन । दुःखमा परेका जनताको अपमान नगरिदिनुहोस् भनेर भन्ने हो हामीले ।
कमाउ धन्दा गर्नेहरु बालुवाटार र सिंहदरबार वरिपरी घुम्न थालेका छन् । अहिले सरकारले कोरोना परीक्षणको किटलाई प्रत्येक वडामा पुर्याउनुपर्यो । कन्ट्याक ट्रेसिङ गर्नुपर्यो । सरकारले गर्छु भन्दा नसक्ने छैन । सरकारले तल सबै बिर्सेर आदेश दिएको भरमा काम हुन्छ भनेर बसेको छ ।
तपाइँले सरकारसँग राम्रो छैन भन्नुहुन्छ तर बाहिरबाट बुझ्दा कांग्रेस सरकारको भाइजस्तो भएको छ । जस्तो एमसीसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस सभापतिले लगातार पारित गर्नुपर्छ भन्नुभएको छ । संवैधानिक निकायमा कांग्रेसले भाग खोज्छ, यस्तो हुँदाहुँदै कसरी राम्रो छैन भन्न सकिन्छ र ?
पहिले संवैधानिक निकायका बारेमा प्रष्ट पारौँ । सरकारले चाहेको मान्छेलाई अन्य ठाउँमा नियुक्त गर्न सकिएला । तर संवैधानिक परिषद फरक छ । त्यहाँ प्रधानमन्त्री, न्यायपालिका प्रमुख, संसद्को दुईवटै सदनका प्रमुख हुनुहुन्छ । तल्लो सदनको उपप्रमुख पनि हुनुहुन्छ । किनकि फरक दलको हुने भएर । यतिले नपुगेर प्रतिपक्ष पनि हुन्छ । यो संविधानमै लेखिएको विषय हो । त्यहाँ भाग खोजेको होइन संविधानअनुसार चलौं भन्ने हो । यसमा जनताको पनि समर्थन छ ।
अर्को सरकारका विकल्पका रुपमा किन उभिन सकेनौं भने हामीसँग २२ प्रतिशत मात्रै छ । कांग्रेसका प्रति अलि बढी आशा हो कि जस्तो लाग्छ । कांग्रेसले उभिएर भनेपछि हुन्छ भन्ने देखिन्छ । तर संसदको तागत त्यस्तो छैन । संसद्मा हाम्रो सानो उपस्थिति छ । सरकारसँग धेरै पत्याएको मान्छेले कम्युनिष्ट पार्टीलाई पत्याएर हालेको होइन । केपी ओलीबाट केही आशा गर्न सकिन्छ भनेर भोट दिएका हुन् । अहिले सरकारसँग या भनौं प्रधानमन्त्रीसँग निराशा हुँदा प्रतिपक्षको खोजी भएको हो । हामी केही सांसद संसद्मा बोल्छौं नै । जनताले अहिले प्रतिपक्ष दलको नेता खोज्दो रहेछ । जनताको भाषा उहाँबाट आओस् भन्ने चाहना हुनु स्वाभाविक हो । त्यो कुरा मैले सभापतिलाई पनि जनताको धारणा यस्तो भनेर जानकारी गराउनुपर्छ ।
एमसीसीका बारेमा हामीले धेरै छलफल गर्दै छैनौं । यो नेपालको लागि आवश्यक हो कि होइन, तपाइँको धारणा के हो ?
अघिकै प्रश्नबाट उत्तर दिउँ । सभापतिको पोलिटिकल आइडियोलोजीले पनि त्यहाँ काम गरेको होला । त्यसैले उहाँले हरेक सम्बोधनमा एमसीसी पारित गरौँ भन्नुभएको होला । उहाँले बोलिरहँदा किन बोलिरहनुभएको होला भनेर शंका र भ्रम सिर्जना गर्न कोशिस भएको छ । खेल्ने मान्छेको कमि छैन । हामी गुफाको युगमा जाने त होइन होला । हाम्रा दुवैतर्फका छिमेकी पनि हेर्नुपर्छ । यो नेपालको हित र विकासको लागि कसरी लिन सकिन्छ भनेर हेर्नुपर्छ । अभिरुचि देशको स्वार्थमा प्रयोग गर्नुपर्छ । कुनै पनि देशले सहयोग गर्न देखाएको चाहनालाई हामीले कसरी प्रयोग गर्ने भन्ने निर्णय हामीले नै गर्ने हो ।
म त एमसीसी पारित होस् भन्ने पक्षमै छु । तर मैले एक्लै या कांग्रेसले भनेर हुँदैन । यो त सत्तारुढ दलले निर्णय गर्ने हो । अहिले मैले चिच्याएर मात्रै पारित हुने होइन । एमसीसी ठिक कि बेठिक भन्ने बहस पुग्नेगरी भइरहेको छ । आजको दिनमा एमसीसी नेपालको हितमा छ । त्यो बुझ्नुपर्छ । जनताको विश्वास पनि आर्जन गर्नुपर्यो ।
सरकारको कामकारवाहीको तपाइँहरुले आलोचना गरिरहँदा कांग्रेसले नेतृत्व गरेको पछिल्ला या कुनै पनि सरकारभन्दा कुनरुपमा सरकार गलत छ ? भनेर सत्तारुढ दलकै नेताले प्रश्न गरे भने तपाइँको जवाफ के हुन्छ ?
जनताले दुख पायो भने सरकारलाई अभिभावक ठान्छ । तर दुःख पाएको जनतालाई यहाँ अपमानित गर्ने काम भएको छ ।
ल कोरोना पनि बिर्सौं । सरकारले राम्रो काम गरेको थियो अहिले गर्न नसकेको भए पनि हुन्थ्यो । जनताले कुरा उठाए भने हामीलाई जिस्क्याउने ? हेप्ने ? भनेर जनतालाई जवाफ फर्काइन्छ । अनि सरकार कहाँनेर राम्रो छ त ? सरकारको दुई तिहाइ होइन । जितेर आएको मत दुई तिहाइ नजिक हो । तर जनताको मत दुईतिहाइ होइन । त्यसले निराशा बढ्दै गएर उग्रता बढ्छ कि भन्ने चिन्ता हो ।
हामी उल्टो बाटोमा जान्छौं कि भन्ने चिन्ता छ । कोरोनाको संकटमा गलत बाटोमा गइन्छ कि भन्ने चिन्ता छ । हामीले सरकारको आलोचना गरेको नै उल्टो बाटोमा नआउ है भनेर हो ।
हामी अन्तिमतिर छौं
लकडाउन छ । कांग्रेसको महाधिवेशन प्रभावित हुने देखिन्छ । अब कांग्रेस महाधिवेशन प्रभावित हुने पक्का भएको हो ?
हामी लामो समय लकडाउनमा रह्यौं । यो समयमा म मा केही परिवर्तन भएको छ कि जस्तो लागेको छ । सेल्फ आइसोलेसनमा बस्दा पनि त्यो भएको हुनुपर्छ । मैले आशा गर्ने के हो भने मभन्दा पहिले राजनीति गर्ने नेताहरुमा पनि केही परिवर्तन आयो होला नि । कांग्रेसको नेतृत्व पंक्ति एकठाउँमा उभिएर कोरोनापछिको परिवर्तन हेर्ने हो भने समुद्रजस्तै परिवर्तन आउँछ कि जस्तो लाग्छ । नेताहरुलाई पनि भित्रैदेखि अबको निकास, अबको नेतृत्व र संरचनाका विषयमा पनि केही नयाँ कुरा लागेको होला ।