काठमाडौं । विनोद देउवा ठकुरी राजनीतिमा खासै चासो राख्दैनथे । देश–देशावरमा केही भइरहेको छ, राजनीतिक हिसाबले समाज कत्तिको सचेत, प्रगतिउन्मुख बन्दैछ, परिवर्तनको आलोकमा समाजका मानिस कत्तिको जागरुक बन्दैछन् आदि भन्दा पाठ्यपुस्तक र प्रविधिले सिर्जना गरेका कुराहरू नै प्राथमिकतामा पर्थे ।
पत्रपत्रिका, टेलिभिजनका पर्दामा शासकको अनुहार आक्कलझुक्कल देखे पनि नियतबारे जानकार हुन पाएका थिएनन् । जानकारी राख्ने इच्छा पनि थिएन भन्दा हुन्छ ।
जब कोरोना कहरले सरकारको अनुहार चिनाइदियो, शासकीय चेत, नियतको पर्दाफास भयो, राज्यसत्ताको बेथितिसँग चिनापर्ची भयो, उनको प्राथमिकता, रुचि बदलिएको छ । चासो र चिन्ताको क्षेत्र पनि फेरिएको छ । सडकमा बिरलै निस्कन रुचाउने र नारामा सुनिने विनोद अहिले आफैं आन्दोलनका ‘सर्जक’ बन्न पुगेका छन् । सामाजिक सञ्जाल, फेसबुकमार्फत आन्दोलनको ‘प्रबन्ध’ मिलाइरहेका छन् ।
विश्वलाई कोभिड–१९ ले आक्रान्त तुल्याएको छ । अणु–परमाणु बम सिरानी हालेर सुतेका र सुरक्षित महसुस गरेका देशहरू सुक्ष्माति सुक्ष्म जीवाणुको सामना गर्न नसकेर घरभित्र बन्धक बनिरहेका छन् । कोरोनाभाइरस विश्व मानवजातिको साझा चुनौती बनेको छ । र ओखतिमूलोको खोजपड्तालमा विश्व लागिपरेको छ ।
अरू देशमा मानिसहरू कोरोनाविरूद्ध खोपको आविष्कार गर्न तल्लिन रहेका बेला हाम्रा राजनीतिज्ञ, शासक–प्रशासक भने छिद्र पहिल्याएर कताबाट रकम कुम्लाउन सकिन्छ भनेर दाउ हेरेर बसेका छन् । कोरोना कहरमा पनि भ्रष्टाचार गर्ने रहरले गाँज्न छाडेको छैन । आइसोलेसनमा थन्किँदा र मृत्युशय्यामा पुग्दा पनि भ्रष्टाचारको आनुवंशिक रोगले नछाडेपछि युवा स्वःस्फूर्त सडकमा आएका छन् ।
“कोरोनाविरूद्ध नागरिकसँग हातेमालो गर्नुपर्नेमा सरकार भ्रष्टाचार, अनियमिततासँग अङ्कमाल गर्न थाल्यो,” विनोदले आन्दोलनको तात्पर्य प्रष्ट पार्दै भन्छन्, “सारा नागरिकलाई हप्काइदप्काइ गर्दै घरभित्रै थुनेर आफू भ्रष्टाचार गर्न बाहिर निस्कियो ।” लोकतन्त्रमा जनता सर्वेसर्वा हुन् । जनताको जीवन रक्षा सर्वोपरी हो । तर उपरी संरचनाको आँखा भ्रष्टाचारकै वरिपरि रह्यो ।
र त, विनोद भन्छन्, “हामीले होइन सरकार स्वयम्ले आन्दोलन गर्न उक्साएको हो । विद्रोहको निम्तो दिने सरकार नै हो ।”
कोभिड–१९ को डढेलो मुलुकभित्र पस्दासम्म विनोदलगायत युवाको राज्य, सरकारप्रति भरोसा टुटिसकेको थिएन । मुलुकको प्रणालीमाथिको भर निर्विकल्प बनिरहेको थियो । सरकार स्वयम् आपतमा परिरहेकाले सघाउनु, साथ दिनु नागरिकको कर्तव्य हो भन्ने ठानिरहेका थिए ।
त्यसैले त उनीहरूले स्वःस्फूर्त लकडाउनको माग गरे । सीमा नाका सिल गर्न अनुनय गरे । हवाइमार्गबाट आउनेहरूलाई प्रोटोकलअनुसार क्वारेन्टिन गर्न सकेको भए कोरोना भुसको आगो बन्दैनथ्यो कि भन्ने उनीहरूलाई अझै लागिरहन्छ ।
“हामीले त सुरुमा सरकारलाई सकुञ्जेल सहयोग गर्यौं । लकडाउनको पालना गर्न अभिप्रेरित गरिरह्यौं,” विनोद भन्छन्, “जनस्वास्थ्यको प्रोटोकल पालना गर्न सुझाइरह्यौं ।”
विनोदको निचोड छ– सरकारको आनीबानी फेरिएन । जस्तोसुकै प्रतिकूलता, असहजता, दुःख र कहरलाई भ्रष्टाचारमा बदल्न सिपालुहरूले कोरोनालाई पनि मौका छोप्न छाडेनन् ।
‘भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता’को नारा जप्ने कार्यान्वयन शून्य गर्ने दोहोरो कार्यनीति दोहोर्याइरहे ।
विभिन्न स्वार्थ समूह यो बीचमा सक्रिय बने । कोभिड–१९ विरुद्ध मुकाबिला गर्न गठन गरेको उच्चस्तरीय समिति आफैं अनियमितताको समन्वय गर्न लाग्यो । ओम्नी प्रकरणमार्फत् सरकारको नियतको पर्दाफास भयो । लकडाउनले नागरिकको चुल्हो निभाएको थियो । जेनतेन दुई छाक खान सक्नेहरू एक छाकमा ओर्लिएर सरकारलाई सघाइ रहेका थिए । राहत थाप्न जाँदा आहत हुनेहरूले पनि मुख खोलेका थिएनन् ।
कार्यस्थलमा अलपत्र निमुख श्रमजीवीहरू भोकको लङ मार्च हिँड्न राजी भएका थिए । देशका राजमार्गहरूमा भोकको ताँती लागेको थियो । विरलै देखिने विदारक र दुर्तान्त दृष्यले नागरिकको मन अमिल्लिँदा पनि चुइँक्क नबोली लकडाउनको पालना गरिरहे ।
तर, सरकार यो सबै दृष्यबाट परै रहेर भ्रष्टाचारमा निमग्न बनेपछि विनोदहरूको धैर्यको बाँध भत्कियो ।
“त्यतिबेला पनि हामी आन्दोलन गर्ने निष्कर्षमा पुगिसकेका थिएनौं । सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका थियौं । युवालाई सुसूचित गरिरहेका थियौं,” विनोद भन्छन्, “सरकार युवाको कुरा सुन्ने भन्दा पनि थुन्नेतिर लाग्यो ।”
सहने बानी परेका युवालाई यो पनि सह्य हुन्थ्यो होला । दशगजामा अलपत्र नागरिकको रुवाबासीले उनीहरूलाई बिथोल्नुसम्म बिथोल्यो । प्रताडित तुल्यायो ।
कोरोनाको कहरले छोपेपछि भारतमा रहेका धेरै नेपाली कार्यस्थलबाट लखेटिए । हेपाइ त सहन्थे पनि होला । भोक सहन गाह्रो भयो । मर्ने अवस्था आइलागेपछि देशकै माटोमा प्राण फाल्ने हेतुले उनीहरू सयौं किलोमिटर पैदलै हिँडेर सीमासम्म आइपुगे । देश पस्नै लाग्दा सरकार तगारो बन्यो । नाकामा घारो तेर्स्याइयो ।
सरकारले गाथगादी ताक्न आएझैं कठोर, निर्मम व्यवहार गर्यो । ज्यानको बाजी थापेर महाकालीमा हेलिएर वारि आएका नाङ्गाभुतुङ्गालाई घाँटी अँठ्यायो । ‘दशगजातिरै मर, देश आउने ढिपी नगर’ भनेजस्तो व्यवहार गर्यो ।
त्यसले उनीहरूलाई चिटचिटाहट पैदा गर्यो । देश फर्किइरहेका नागरिकलाई सिमानामा रोक्ने कृत्य लोकतान्त्रिक शासकले सोच्न पनि सक्दैनन् । तर, यहाँ निर्वाध भइरहेको थियो ।
त्यसपछि उनीहरूले आपसमा फोन सम्पर्क बढाए । आन्दोलनको आधारभूमि तयार पार्दै गए ।
“त्यतिबेलासम्म हामीले सरकारविरूद्ध बाहिर निस्किइहाल्नुपर्छ भनेर सोचिसकेका थिएनौं,” आन्दोलनको पृष्ठभूमि तयार पार्दाको क्षण सम्झिन्छन् विनोद, “जब विदेशबाट फर्किएका नागरिकलाई आँसुको आहालमा तैर्यायो, त्यसपछि हामी भित्रभित्रै मर्माहत र आन्दोलित दुवै भयौं ।”
ईशानको सान
२०७३ सालको गृष्ममा ईशान खुब चर्चामा थिए । कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका ईशान अधिकारी प्रशासनको आँखा छलेर सिंहदरबारको द्वारमा रातो पोत्थे । र, नित्य पक्राउ पर्थे ।
सिंहदरबारको पर्खाललाई रक्तरञ्जित बनाउनुको उनको एउटै उद्देश्य थियो, त्यहाँभित्र बस्ने शासकका अपराधलाई उदाङ्गो तुल्याउनु । सधैँ हिरासतको बास भएपछि रातो पोत्ने अभियानबाट एकाएक टाढिएका ईशान त्यसपछि कुनै मञ्चमा देखा परेनन् । बरु ईन्स्टाग्रामतिर भेटिन थाले । घुमफिर र फोटोग्राफीमा औधी रुचि राख्ने ईशान मुलुकको अव्यवस्थाबाट दिक्किएको लख नकाटिएको होइन ।
‘खरानीभित्रको भुङ्ग्रो’ उपमाका सुहाउँदिला पात्र ईशान लकडाउनभित्रको बेथितिविरूद्ध पुनः प्रकट भएका छन् । र, ‘इनफ इज इनफ’ आन्दोलनका सर्जकमध्ये उनी पनि एक हुन् । कोरोना नियन्त्रण गर्ने नाममा सरकारले एकपछि अर्को बदमासी गर्दै गएपछि ईशान चुप रहन सकेनन् । उनीभित्र झाँगिएको विद्रोहले ऐंठनको रूप लियो । आन्दोलनतिर घँचेट्यो ।
“सुरुमा आन्दोलनको उठान गर्ने पात्र उहाँ नै हो,” विनोद ईशानलाई श्रेय दिँदै भन्छन्, “नागरिकको जनस्वास्थ्य प्रधान विषय र आन्दोलन नै जनस्वास्थ्यको रक्षानिम्ति केन्द्रित रहेकाले लकडाउनको अवज्ञा गरिनहालौं भन्ने निष्कर्षमा पुग्यौं ।”
कोरोना सङ्क्रमितको ग्राफ उकालो लागे पनि नागरिक गुमाउनु परेको थिएन । जेठ १ गते सिन्धुपाल्चोक, लिसङ्खुपाखरकी एक महिला सरकारको अव्यवस्थाको सिकार भइन् । लहरमा एकपछि अर्को थपिँदै गए ।
ओखतिमूलो पत्ता नलागिसकेकाले नागरिकको मृत्यु भएकै विषयले उनीहरूलाई सडकमा हुत्याएको भने होइन । हालसम्म कोभिड–१९को प्रकोपले मुलुकमा १५ जनाको प्राण छिनेको छ । तीमध्ये १३ जनाको मृत्युपश्चात मात्रै कोरोना पुष्टि भयो । उनीहरूले के रोग लागेर मर्दैछु भन्नेसमेत थाहा नपाएर मर्न सरकारले नै बाध्य बनायो ।
विश्वकै लागि प्राणघातक बनेको कोभिडबाट शतप्रतिशत नागरिक जोगाउन सकिँदैन । विकसित, चुस्त स्वास्थ्य प्रणाली भएका भनिएका देशले पनि हजारौैं नागरिक गुमाएका छन् ।
तर, हामीकहाँ नागरिकको मृत्युले सरकारको गैरजिम्मेवारी सतहमा ल्याइदियो । “मृत्युपश्चात मात्रै परीक्षण गर्ने सरकारको कार्यशैलीले नै ठूलो आन्दोलनको माग गर्यो,” आन्दोलनमा सरकारले नै घँचेटेको उनी दाबी गर्छन् । आन्दोलन गर्ने निश्चय भएपछि ईशान, विनोदलगायतका युवाले फेसबुकमा ग्रुप बनाए । बेथितिको बसोबास बालुवाटार नै भएकाले आन्दोलन गर्ने ठाउँ पनि त्यहीँ तय भयो ।
आक्रोश ईशान, विनोदमा मात्र सीमित रहेनछ । असीमित युवामा ‘विद्रोह’ जमेर बसेको रहेछ । निकासको विकल्प शान्तिपूर्ण आन्दोलन मात्रै थियो । “हामीले शान्तिपूर्ण आन्दोलन गर्न कसैलाई दबाब दिएका थिएनौं । सरकारको क्रियाकलाप, नागरिकको असन्तुष्टि नसुन्ने प्रवृत्तिले धेरैलाई आक्रोशित तुल्याएको रहेछ,” विनोद छक्क पर्दै सुनाउँछन्, “उनीहरू स्वतः जोडिँदै र रचनात्मक–सिर्जनात्मक बन्दै गए ।”
समूहको मोडरेटरमा २० जना छन् । त्यसमध्ये सेलिब्रिटी अनुहार पनि छन् । शुक्रबार अपराह्नसम्म समूहमा जोडिनेको सङ्ख्या डेढ लाख नाघेको छ । “नायिका निशा अधिकारी, सुरक्षा पन्तलगायत सेलिब्रिटी अनुहार पनि समूहको मोडरेटर छन् । उहाँहरूले स्वःस्फूर्त आह्वान गरिरहनुभएको छ,” विनोद दाबी गर्छन्, “यो आन्दोलन भन्दा पनि मुलुक शुद्धीकरणको थालनी हो ।”
आन्दोलनले ‘आगो’ को रूप यति छिट्टै धारण गर्दैनथ्यो होला । सरकारले नै घ्यू थपिदियो भन्छन् विनोद । गत मङ्गलबार बालुवाटार अगाडि भेला भएका थिए । चेतनशील प्रश्न गरेर नागरिक हुनुको धर्म निभाएका थिए । सामाजिक दूरीको साँधसीमा पनि मिचिएको थिएन । ख्याती प्राप्त भिडियोकर्मी, डकुमेन्ट्री निर्माता, फोटोग्राफर, पत्रकारको स्वःस्फूर्त सहभागिता थियो ।
“तर, प्रहरीले संयम गुमायो,” विनोद भन्छन्, “धकेलाधकेल भइरहेको थियो । पानीको फोहोराले युवाका जागरुक प्रश्न बगाउने र बोली दबाउने काम गर्यो ।” त्यसपछि आन्दोलन विस्फोटक बन्यो । ज्वाला देशभर फैलियो । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्झाएको, बेलायती संसद्मा उठेको ‘इनफ... इनफ...’ को नारा उनैलाई ‘गलपासो’ सावित भएको छ ।
“त्यसदिन हामीले सामान्य प्रश्न गरेका थियौं । तर सरकारको दमनले आन्दोलनको फैलावटलाई अझै फराकिलो बनाइदियो,” विनोद भन्छन् । ईशानको समूहले खडा गरेको ग्रुपको तीन मूल मन्त्र छ । पहिलो, आन्दोलन अहिंसात्मक हुनेछ । दोस्रो, आन्दोलन कोभिड–१९ नियन्त्रणका नाममा भएको भ्रष्टाचार र बेथितिविरूद्ध मात्रै केन्द्रित हुनेछ । तेस्रो, यसमा दलीय सहभागिता निषिद्ध छ ।
“अहिले सुन्दैछौं एमसीसीबारे किन बोल्दैनौ ? लिपुलेकमा तिमीहरूको धारणा के हो ?,” विनोद थप प्रष्ट पार्छन्, “एमसीसीको विरोध गरिरहेका धेरै समूह छन् । मृत्युको निम्तोपत्र बोकेर घरमै आइरहेको कोभिडको रोकथाम, नियन्त्रणमा सरकारले लापरबाही गरेको कसैले बोलेका छैनन् । बोले पनि सुनिने गरी, सरकारलाई सुन्न बाध्य बनाउने गरी बोलेका छैनन् ।”
विनोदकाअनुसार बिहीबार आन्दोलनको कार्यक्रम राखिएको थिएन । मङ्गलबार बालुवाटारमा र शनिबार माइतीघरमा विराट प्रदर्शन गर्ने उनीहरूको लक्षित र घोषित कार्यक्रम थियो । मङ्गलबारको धरपकडले देशैभरका युवालाई जागृत तुल्यायो । अहिले आन्दोलन फैलिएर देशका ४५ जिल्ला ढाकेको छ ।
कोभिडको हिसाबकिताब माग्दा लाठो देखाउने, बङ्कर तेर्स्याउने, पानीको फोहोरा र बन्दुकको मोहोरा देखाउने शासकको विवेकको पर्दाफास भयो । सरकारले हाम्रो ज्यान जोगाउँछ भन्ने आश मर्यो । सबै निराशा सडकमा भेला भयो । आन्दोलनको स्वरूप ग्रहण गर्यो ।
विनोद भन्छन्, अहिले सरकार आफ्नो कर्तुत लुकाउन युवाको आन्दोलनलाई ‘प्रायोजित जमात’ देख्दैछ । उनीहरूको प्रश्न छ, “सरकार स्वयम् राजनीतिक दलको छ । नागरिकको बन्न सकेको छैन । बाटामा निस्किएको भीड कहाँ स्वतन्त्र हुन्छ ? कुनै न कुनै चेतनाबाट ओतप्रोत, लैस हुन्छन् नै । तर, आन्दोलनमा दलीय झण्डा बर्जित गरिएको छ ।”
आन्दोलनमा देशका लब्ध प्रतिष्ठित अनुहारहरूको साथ छ । फोनमार्फत ऐक्यबद्धता जनाइरहेका छन् । धेरै नागरिकले आन्दोलनमा गर्जिएका युवा स्वरमा आफ्नो आवाज मिसिएको पाएका छन् । सरकार सुध्रिने र कुबाटोबाट पाइला हटाउनेमा आशावादी छन् ।सामाजिक सञ्जालमा माहोल बनाउन लागि परेकी प्रगती अमात्य भन्छिन्, “हामीले हिसाब पारदर्शी गर । संविधानले व्यवस्था गरेअनुसार स्वास्थ्य सुविधा देऊ । पीसीआर परीक्षणको दायरा बढाऊ । मरणोपरान्त कोरोना परीक्षण गर्ने लाजमर्दो अव्यवस्था अन्त्य गर त भनेका हौं ।”
तर, सरकार लाजलाई अनैतिकताले ढाकेर बसेको आरोप अमात्य लगाउँछिन् । युवा जागिसकेकाले सरकार सुध्रिन बाध्य हुने उनको बुझाइ छ । “धेरैपछि युवा सशक्त भएर आएका छन् । अन्यायविरूद्ध एकजुट छन् । पानीको फोहोराले तितरवितर बनाउन सक्दैन,” सरकारलाई चेतावनी दिँदै अमात्य युवालाई अझै एकताबद्ध हुन अपिल पनि गर्छिन् ।
सहरमा सल्किएको विद्रोहरूपी आगाको सङ्गीत सुन्दा लाग्छ– सरकार पारदर्शी हुन जरुरी छ । यसकारण कि, उनीहरूले हिसाब मागेका छन्, सत्ता होइन ।