site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रियताको विनिर्माण

नेपालीलाई सिमाना दुख्न थालेको सायद सुगौली सन्धि यता नै हो । अचेल फेरि एकपल्ट सिमाना दुखेको छ ।  बाबुबाजेले रगत बगाएर फैलाएको सिमाना अरुको बलमिच्याइले धेरै, आफ्नै हेल्चेक्य्राइँले थोरै, केही आफ्ना, केही छिमेकीका स्वार्थले हरेक कालखण्डमा दुखिरहन्छ । 

अहिले महाव्याधिसँगै फेरि सिमाना दुखेको छ । सम्भवतः यो सिमानाको दुखाइ भारत छोडेर जाँदा अंग्रेजले  कश्मीरको काउसो जसरी भिराएर गएको भने होइन । यो सम्भवतः आफ्नो थैलीको मुख गतिलो गरी नबान्ने तर अर्कालाई चोर दोष लगाउने हुस्सु हजुरआमाजस्ता राजा महाराजा वा सो सरहका नेपाली नेताका कारण दुख्ने गरेको हो । रिसाउन, वक्र हुन,  मुड्की उचाल्न त पाइयो नै तथापि हिजो स्वाभिमानका खातिर सुगौली सन्धिपछि गोसाइकुण्डमा जलसमाधि लिन सक्ने अमरसिंह थापा किन जन्मेनन् भनी सोध्न पनि त पाइँदो हो ? कि पाइन्न ? 

कतै पढेको छु – बाँके, बर्दिया, कैलाली, कन्चनपुर भनिने पहिलेको स्युराजसमेत गुमेको थियो रे सुगौली सन्धिपछि ।  सन् १८५७ को हाराहारीमा सुरु भएको ’सिपाही विद्रोह’ समन गर्न जंगबहादुर आफैं र आफ्ना कान्छा भाई धीरशमशेर ( सान्नानी) को नेतृत्वमा लखनउ  पुगेका थिए नेपाली सैनिक लिएर । विद्रोह समन गरेर तत्कालीन मूल्यमै लाखौं पर्ने हीरा, जवाहरात लुटेरसमेत ल्याएका थिए भनेर इतिहासकारहरुले लेखेका छन् । चलनचल्तीको ‘लखनउ लुट’ भन्ने शब्द त्यही समनपछि चलेको भनिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लखनउ लुटसँगै दुईवटा बेजोडका घटना गाँसिएर आउँछन् नेपाली इतिहासमा – एक स्युराजको फिर्ती । तत्कालीन बृटिस राजको विद्रोह समनको स्वार्थ सिद्ध गरिदिएपछि पछि कुनै बेलायती शासकसँग खुसामद गरी तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उब्जाउ जमिनका रुपमा फिर्ता ल्याएका हुन् । 

दोस्रो,  लखनउका नबाब वाजिद अली शाहकी लडाकु पत्नी  बेगम हजरत महलको शरण । बेगम हजरत महललाई शरण दिनु सायद तत्कालीन  सत्ताको अर्को बहादुरी थियो । किनभने उनी राणाका निकट बृटिस सरकारविरुद्ध लडेकी वीराङ्गना थिइन् । मित्रको दुस्मनलाई साथै ल्याएर शरण दिनु र आफ्नो गुमेको भूभाग फिर्ता ल्याउन सक्नु आफैँमा कूटनीतिक चातुर्यको अनुपमेय उदाहरण हो । अंग्रेजविरुद्ध लड्न फ्रान्सेलीसँग नजिकिने भीमसेन थापा त अनेकौं जन्मेकै छन्, अंग्रेजसँगै मिलेर अंग्रेजले हडपेको जग्गा फिर्ता ल्याउने जंगबहादुर किन जन्मेनन् भन्न पाइएला त ? कि पाइन्न ? 

Global Ime bank

अहिले निश्चय नै लिम्पियाधुरा र लिपुलेक दुखेको छ । सिमानाको खाटा उप्केको छ र केही नेपाली अल्पज्ञहरु सुगौली सन्धिको पुनरावृत्तिको वकालत गर्दैछन् । उनीहरु के बुझ्दैनन् वा बुझ्न चाहँदैनन् भने इतिहासमा जङ्गबहादुरपछि थोरैमात्र राष्ट्रप्रेमी शासकहरुको उदय भएको छ ।  जंगबहादुरले थापाथली दरबारबाट र वा उनका वंशजले सिंहदरबारबाट अहिलेको सिमाना जोगाइदिएका हुन् भने खुला सिमाना हुँदाहुँदै ससाना पराले झुपडीमा जीवन गुजार्ने गरिब किसानले पुस्तौँपुस्ता पिल्सिएर, हेपिएर, पेलिएर सिमानालाई अकण्टक मानचित्रमा अड्याइदिएका हुन् । नत्र त माथि भने झैँ राणाखलकपछि  सिंहदरबार र नारायणहिटी दरबारमा बस्नेले आफ्नो थैलीको मुख खुकुलो छोडेकै हुन् । भुइँको टिप्न खोज्दा खोकिलाको खसाएकै हुन् ।  “राजा महेन्द्रले पंचायतसँग मैले जनगणना गराएको कालापानी साँटे“ करिब शतायु भैरव रिसाल चिच्याई चिच्याई भन्दैछन् र केही आफूलाई ‘राष्ट्रवादी’ मान्नेहरु अझै महेन्द्रलाई राष्ट्रनायक नै मानिरहेछन् । मान्न त पाइयो तर विपरीत तथ्यले अन्यथा पुष्टि नगरुन्जेल त भैरव रिसालको तथ्यलाई नै स्वीकार्नु पर्यो । सुगौली सन्धि त यस्तो पेचिलो मुद्दाको रुपमा आउँदै छ जसले नेपालको अहिलेको अस्तित्व समेत धुलिसात हुन सक्नेछ ।

सुगौली सन्धि पुनरावृत्त हुनसक्ने कुनै गुन्जायस छैन । किनभने, त्यसपछि अनेकन सन्धि सम्झौता भएका छन् मञ्च र नेपथ्यमा नेपाल–भारतबीच । अब इस्ट इन्डिया कम्पनी वा बृटिस भारत नभई चाँडै नै विश्व महाशक्ति बन्ने होडमा रहेको भारतमात्र छ सँधियार तीनतिर । संयुक्त अधिराज्यमा टाक्सिएको बेलायत भारतसँग विपरीत माटोमा उभिन आउला? सन्देह छ । कथं सुगौली सन्धि पुनरावृत्त भयो  भने पहिलो  त नयाँ मुलुक नेपालको सिमानाबाट गुम्नेछ । र, हदै भए नेपालले दाबा गरेका हाल भारतीय भूभागअन्तर्गत इतिहासमा नेपालले झन्डा गाडेका क्षेत्रमा जनमत संग्रह होला । के ती भूभागका जनता नेपाली बन्न तयार होलान् ? बाहिर लेन्डुप दोर्जेलाई सराप्ने कति सिक्किमेली जनता भारतबाट अलग भएर नेपाल आउन तयार होलान् ? हालसालै दिल्ली सरकारले प्रकाशित गरेको सूचनामा भुलवश सिक्किमलाई  नेपाल र भुटान सरह भिन्न मुलुक मानिएको प्रकरणमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङ्गको  वक्तव्य मननीय छ ।  उनले त्यो गल्ती भत्र्सनायोग्य भएको र त्यसलाई खारेज गर्न माग गरेका थिए । सिक्किम राज्यका मुख्यसचिवले दिल्ली सरकारलाई लेखेको पत्रमा त स्पष्टसँग १६ मे १९७५ मा भारतको २२ राज्यका रुपमा रहँदै आएका सिक्किमेली जनता महान् भारतको नागरिक हुनुमा गर्व गर्छन् भनी लेखेका  छन् । सिक्किमभित्रबाटै उक्त पत्रको खण्डन नहुन्जेल त्यही त्यहाँका जनताको भावना हो भनी बुझ्न पर्दैन होला र ?   

माटो हो कि भावना ? सिमाना हो या सान्निध्य ? कागजी खोसेल्टो हो या सांस्कृतिक पहिचान ? के हो राष्ट्रीयता? घोत्लिन मन लाग्छ । निश्चय नै २१ औं शताब्दीमा परम्परागतरुपमा परिभाषित राष्ट्रियताको विनिर्माण जरुरी छ । अचेल लाग्न थालेको छ राष्ट्रियता भूगोल होइन, माटो होइन, जनता हुन् र तिनका भावना हुन् भनेर । नेपाली चरम राष्ट्रवादीहरुलाई लाग्दो हो सुगौली सन्धि अघि नेपालले चर्चेका भूभागका जनता नेपालमा गाभिन आउनेछन् । त्यो भन्दा केटौले कुरो के होला र? आफूलाई नेपाली भनिएका कारण प्रताडना भोग्नु नपरोस् भनी आफूलाई ‘गोर्खा’ भनाउने चलन छ उता पहाडी भूभागमा । गंगाले सिंचेको मुख्य उर्बर भूमिका कुरा छोडौँ, उक्त भूमिको उत्तरी किनाराका, सिमानाले वारि पारिदिएका रहलपहल भूमिमा पुस्तौनी बसिआएका उपर जुन व्यंग्य, कटाक्ष र हेय दृष्टिले हेर्छ अहिलेको सिंहदरबारले, साच्चै जनमत संग्रह हुने हो भने नतिजा सिंहदरबारको   विपरीत आएमा आश्चर्य होला र ?  

राष्ट्रियता भावना हो जुन संस्कृतिक, सामाजिक परिवेशसंग घुलिएर आउँछ । त्यो आमाको कोखबाट सुरु त हुन्छ नै काख हुँदै हुर्कंदै गरेको परिवेश अनि स्कुले शिक्षासँगै वज्रलेप बनेर बस्छ । त्यसैले होला, मेरो एकाघरमा ताज्जुब लाग्दो विम्ब छ राष्ट्रियताको । म र मेरी पत्नी करैबलै क्यानेडेली बनेका छौं । हामीले पाएको कोख, काख र स्कुले शिक्षा नेपाली रह्यो । त्यसैले नेपाल दुख्दा हामीलाई दुख्छ ।  चार कक्षा सकेर पाँच पढ्ने बाल्यकालको समाप्तितिरको उमेरमा यता आइपुगेको हाम्रो छोरोलाई अलिअलि दुख्छ, डेढ वर्ष नपुग्दै यहाँ ल्याइएकी हाम्री छोरीलाई पटक्कै दुख्दैन । उसलाई क्यानाडा दुख्दा अचम्म संग दुख्छ, रुने गरी नै दुख्छ मलाई र मेरी पत्नीलाई नेपाल दुखेझैं । उसले कोख र काख त नेपाली आमाको नै पाएकी हो । हामी घरको सिमानाभित्र त नेपाली नै छौँ । परन्तु, उसको हुर्कँदै गरेको परिवेश फरक छ । उसको स्कुले शिक्षा फरक छ र त्यो शिक्षाले क्यानाडा प्रति आभारी बन्न पढाँउछ, सिकाउँछ र क्यानाडालाई चाहिने श्रम शक्तिको रुपमा उसलाई तयार गराउँदै लगेको छ । 

स्कुले शिक्षाको कुरो गर्दा मलाई आफूले पढदाको विद्यालय स्तरको शिक्षाको सम्झना आयो । कक्षा ३–४ पढुन्जेलसम्म अर्थ नबुझेपनि चर्की चर्की ‘गाउँछ गीत नेपाली’, ‘रातो र चन्द्र सूर्य’, ‘हट्ने होइन डटी लड्ने’ आदि ‘राष्ट्रिय’ गीत गाएको सम्झना आउँछ । सायद त्यस बेला जानअन्जानमा भुरुंगे गिदीमा खाँदिएको नेपालप्रेमी भावना कागजी खोसेल्टोसँग नसाँटिने रहेछ ।  गाउँदा गाउँदै देश प्रेमको साटो पंचायती मण्डले शिक्षाले जब किशोरवयका हामीलाई ’चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो’ मार्काका स्तुतिगान गाउन लगायो, त्यसले एकखालको वितृष्णा पैदा भयो र बहुदलकालमा आएर  त्यसरी सामूहिक राष्ट्रिय गान गाउने प्रचलन नै हरायो । सायद पछिल्लो समय फगत औपचारिकतावश प्रातःकालीन प्रार्थनामा ‘सयौं थुङ्गा’ गाउन लगाएका भए कुन्नि नत्र शिक्षामा राष्ट्रियताको सकारात्मक  हस्तक्षेप फर्केर आएन ।

समकालीन नेपाली राजनीतिमा विचार बोल्ने मान्छे कमै छन् । गफाडी धेरै छन् । विचार बोल्ने र गफाडीमा अन्तर छ । विचार बोल्नेले अघि बोलेको कुरामा थप्दै लैजान्छ र त्यो श्रुतिप्रिय हुन्छ । गफाडीले अघि बोलेको कुरो अहिले बिर्सन्छ र नयाँ हाँकीहाल्छ जुन कर्कश र भद्दा सुनिन्छ । त्यसरी विचार बोल्ने श्रुतिप्रिय एक राजनीतिज्ञ छन् प्रदीप गिरी । उनी बोल्छन र बोल्नु नै उनको काम हो । एउटा अन्तर्वार्तामा उनी भन्छन् “पचास लाख युवा विदेशमा छन्, हिजो विप्रेषण पठाउँथे, आज कोरोनाको महामारीका कारण दुःख पाएर स्वदेश आउन चाहन्छन् । राष्ट्रले उनीहरुलाई फर्किने उचित वातावरण बनाउन सकेको छैन । म चिन्तित छु, मलाई रुन मन लागेको छ ।’ थप्दै भन्छन् “विगत ३० वर्ष हामीले उनीहरुलाई राष्ट्रभित्रै रोजगारी दिने उपाय खोजेनछौँ, यसमा राजनीतिमा सक्रिय हामी सबै दोषी छौँ ।’’ यो जति कटु सत्य अरु हुनै सक्दैन । आदरणीय प्रदीप गिरीले यो लेख पढ्नु भएछ भने एउटा तथ्य म स्मरणार्थ लेख्दैछु – शिक्षामा राष्ट्रियताको सकारात्मक हस्तक्षेप नहुन्जेल युवा विदेशिन रोकिँदैनन् । मैले चिनेका हरेक परिवारका एक न एक युवा कि युरोप, अमेरिका, अस्ट्रेलिया या त अरबका खाडीमा छन् । त्यसको कारण इलम बेच्ने ठाउँ नभएर मात्र होइन नेपाली स्कुले शिक्षामा, पाठ्यक्रममा र सामाजिक परिवेशमा नेपालप्रेम आक्रामक रुपमा प्रस्तुत नभएर पनि हो । कुनै राजनीतिक दलको अजेण्डा जस्तोमात्र छ । त्यसभन्दा पनि चित्त कुँडिने तथ्य त के पनि हो भने राष्ट्रियता कुनै दल, गुट वा व्यक्ति विशेषको पेवा जस्तो बनेको छ ।

गिरीको गणनाका पचास लाख युवामा काला पहाड पसेका वा भारतका विभिन्न सहरमा इलम बेचिरहेका परे वा परेनन् त्यो विचारणीय रह्यो । किनभने, हालसालै मेरा एक विद्वान् सहपाठी डा. विश्वास गौचनले गरेको अध्ययनले बर्सेनि १ अर्ब डलर नेपालको ढुकुटीमा भित्र्याउने तिनै युवा हुन् जसलाई अहिले सरकारले चिन्न आनाकानी गरिरहेको छ । ती तिनै युवा हुन् जसले सर्वसाधारण भारतीयको नेपालीप्रतिको दृष्टिकोण बनाइरहेका छन् । इमानदार, कर्तव्यनिष्ट र सस्तो श्रमिकको छवि छ नेपालीको भारतीय श्रम बजारमा । घरपायक नै त्यति नै मूल्यमा श्रम बेच्न पाउने अवस्था नबनाइउन्जेल भारततिर फर्केर जोर जोरले चिच्याउने राष्ट्रियता ’पोगटा’ बाहेक के हुन सक्छ ? हेर्दा भरिलो भित्र खोक्रो ! कम्तीमा नेता गिरीबाट घरपायक नै श्रम बेच्न पाउने अवस्था सिर्जना गर्न एक प्रकारको ‘लबिङ’को अपेक्षा राख्नु अनर्थ नहोला ।

सन् १९९० को प्रजातान्त्रिक लहरले अन्ततः विश्वलाई बजारमुखी र उपभोक्तामुखी बनाएरै छाड्यो । यो ध्रुवसत्य हो । र त्यसले परम्परागतरुपमा परिभाषित सिमानाहरु भत्काइदियो । प्रतिस्पर्धात्मक बजारमा आफ्नो उत्पादन अब्बल बनाउन, चाँडो बेच्न र धनी हुन तेजस्वी र बलिष्ट जनशक्तिको आवश्यक भयो । हेर्दाहेर्दै नेपालजस्ता सुस्तरी विकासको बाटोमा हिँडिरहेका मुलुकहरुमा भएका उद्योग बौरिनुअघि वा नयाँ उद्योग धन्दा फस्टाउनु अघि नै उत्पादक श्रमशक्ति क्षमता र रुचिअनुरुप कुम्लो कसेर अर्कै मुलुकमा श्रम बेच्न हिँडिसकेका थिए । त्यसमाथि, विभिन्न वादका वादविवादमा करिब डेढ दशक आफैं मारकाटमा रुमल्लिएर जर्जर भएको समाजले यथाशक्य युवा निर्यात नै रुचायो । सायद दुई कारणले – एक, श्रमबजारको स्वदेशी अनुपलब्धतामा विदेशी भूमिमा इलम बेच्न सक्दा  थोरै भए पनि रकम आर्जन हुने  देखियो । दुई,  आफ्नो सन्तान टाढै भए पनि जिउँदो रहने प्रचुर सम्भावना देखियो । समाजले त्यसैले जोखिम त लियो नै त्यसले अझ बढी खेत बाँझो पल्टिए । रहर वा बाध्यता जेले  भने पनि युवा विदेशिने क्रम त रोकिएन नै दक्ष जनशक्ति फर्की आउने सम्भावना पनि रोकियो । किनभने, विनाकुनै प्रत्यक्ष लगानी विकसित मुलुकले विकासशील मुलुकले हाडछाला एक गरेर तयार गरेको जनशक्तिलाई निरन्तर आकर्षित गरिरह्यो । त्यसैको उदाहरण हो – क्यानाडामा नेपाली मूलका दक्ष जनशक्तिको उपस्थिति । तथ्यांकअनुसार पुगनपुग ४० हजार नेपाली दक्ष जनशक्ति क्यानाडामा श्रम बेचिरहेछन् । अरुको त भन्न सकिएन, व्यक्तिगतरुपमा म आफैँ पूर्णरुपेण सन्तुष्ट नहुँला तैपनि यहाँको स्तरको श्रम बजारको अनुपलब्धताका कारण फर्किने सम्भावना निकै न्यून देख्छु । त्यसैमाथि, सामाजिक राजनीतिक स्तरबाट पटकपटक लगाइने राष्ट्रघाती, भगौडा आदि इत्यादिका कारण समेत ठूलो श्रमशक्ति नेपालले विकर्षित गरिरहेको छ भन्ने ठान्छु ।

समय सापेक्ष राष्ट्रियताको विनिर्माण गरिनुपर्छ भन्ने विचारका साथ एउटा लेख लेख्न कस्सिएपछि केही अनौठा घटना देखिए । पहिलो घटना त मनिषा कोइराला र सांसद मिनेन्द्र रिजालउपर प्रेम र सम्मानजनक टिप्पणीले सामाजिक संजाल भरिनु थियो । निश्चय नै दुवै वाहवाहीका भागिदार थिए । किनभने तिनले सामान्य नेपालीको भावना  बोलिरहेका थिए । त्यसमा हामीजस्ता प्रवासीलाई आनन्दित हुन पाउने हक छ? छ भने किन ? र छैन भने कसरी? निकै बेरपछि आफैँले जवाफ भेटेँ “घर छाडेर गएकी चेली पनि त माइती सम्झेर गर्व गर्छे । उतै छोडेर हिँडेका आमाबा, दाजुभाइ, नसनाताको भलाइ सोच्छे, चियो गर्छे ।’’ मनिषा कोइरालाले माया गर्न पाउने, हामीले माया गर्न नपाउने ? र  उत्तर पैल्याएँ – छ, हक छ किनभने राष्ट्रियता भावना हो । त्यसैले हामीले आफूलाई नेपाली मानुन्जेल कागजका खोसेल्टा गौण हुन्, भावना प्रधान हो । 

राष्ट्रियताकै कुरा गर्दा यौटा सत्य लेख्नै पर्छ । नेपाली कहिल्यै कसैको दलाल हुँदैन । उसले नोकरी गर्छ, श्रम बेच्छ तर स्वाभिमान बेच्दैन । प्रथम र द्वितीय विश्वयुद्धपछि ‘गुर्खा’का रुपमा मलायामा, वर्मामा, विश्वको अनकन्टार फिजीमा लगेर थचारिदिएको नेपाली फर्केर त आएन तर दलाली गरेन, इमान बेचेन, स्वाभिमान बेचेन । माटो खोस्रियो, पसिनाले सिँच्यो र बांगेटिङ्गे सपना फलायो, त्यही खायो, अघायो । मादल बजायो, मारुनी नाच्यो, दसैं तिहार मनायो, कसैसँग झुकेन । सन् १९९०को उदारवाद र श्रमको ब्यापारमा आएको बढोत्तरीले अर्को हुल प्रवासियो । त्यो भिडले पनि स्वाभिमान बेचेन, दलाली गरेन, इमान बेचेन । कतै ढुङ्गा फोरेर सहर उमार्यो, कतै  उँट दोएर आमालाई ओखती, प्यारीलाई फरिया र छोरीलाई पापा किनिदियो । कतै विश्वविद्यालयमा पढायो र सगर्व भन्यो – “नेपाल सगरमाथाको देश हो, बुद्धको जन्मभूमि हो ।’’ भौगोलिक, सामाजिक सांस्कृतिक समानताका  कारण फैलिएको वा निहितार्थ साथ फैलाइएको हरेक भ्रान्ति चिर्दै भन्यो – “नेपाल कबै उपनिवेश नभएको अलग स्वाभिमानी राष्ट्र हो ।’’ गोपाल योञ्जनको गीतमा भने झैँ बनेको छ छहराले, पहराले नेपाली । त्यसैले आफैँले आफ्नो कुरोमा विमति राख्नासाथ आफ्नैलाई दलाल भन्नुको तात्पर्य के होला? विश्वभर छरिएर नेपाल चिनाइरहेकालाई राष्ट्रघाती भनेर फाइदा पो के होला ? राष्ट्रियता त सांस्कृतिक सामाजिक पहिचानमा छ ।

सूचना प्रविधिले समाज कति साँगुरिइसकेको छ भने यो महाव्याधिको समयमा एकैसाथ हामीले चार महादेशमा रहेका विद्यालयकालीन साथीहरुसँग मिटिङ गर्यौँ । नेपाललाई यो महाव्याधिपछि बौरिन कसरी आफ्नो गच्छे र क्षमताअनुरुप सहयोग गर्न सकिन्छ भनेर अझै पनि घन्टौं छलफल गर्दैछौँ । यो त्यस्तो घटना थियो जसले एकपल्ट फेरि घोत्लिन बाध्य बनायो – के हो राष्ट्रियता भनेको ? किनभने क्यानेडियन, अमेरिकन, नर्वेजियन, बेलायती, अस्ट्रेलियन र नेपाली बसेर शिक्षामा लगानी उचित कि कृषिमा, ऊर्जामा कि कर्जामा ? भनेर जोतिई रहेछन् ? किन नेपालमा रहेका साथीहरुसँग सुझाव आदानप्रदान गरिरहेछन् ? यहाँनेर कसरी परिभाषित होला राष्ट्रियता? के सिमाना हो त राष्ट्रियता? वा कागजी खोसेल्टो?

निश्चय नै, बदलिँदो परिवेश, २१ औँ  शताब्दी, सूचना प्रविधिको अधिकतम् प्रयोगले भौतिक सिमानामा बाँधेर बाँध्न नसक्ने गरी राष्ट्रियतालाई अब असीमित बनाइदिएको छ । कसले  कहाँ के बोलिरहेछ, चियो सहज भएको छ । त्यसैले राष्ट्रियताका बारेका अघिल्ला शताव्दीका राग अलापेर मान्छे बटुल्नु  अनि भिड उराल्नु व्यर्थ छ । हेरिरहेछ विश्वले त्यसैले धीर, गम्भीर, कूटनीतिक हुन अझ जरुरी छ । 

 इतिहासदेखिका  सिमानाहरुमा बसेका खाटा घरी बस्छन्, घरी उप्किन्छन् । अहिले नेपाली सिमानाका खाटा उप्किएको छ । र, त्यतिखेरै बलात् राष्ट्रियतालाई राजनीतिक सुतीखेतीमा नारिएको छ । समाजले एउटा यस्तो  नेता  नामक जमात तयार गरेको छ जुन पटकपटक यो घाउ निको पार्न अकर्मण्य र हुस्सु प्रमाणित भएको छ । इतिहास सम्झियौँ त? लिम्पियाधुरावाला चुच्चे नक्सा २०३२ साल आसपासबाट किन र कसरी गायब भयो? कसको सक्रिय नेतृत्व थियो त्यो बेलामा? सिक्किमको विलय, हिन्द चीन युद्ध आदिले प्रभावित थिएन त्यो? त्यो भेगका जनतालाई सोधौँ त कोही आएको थियो सन्चो बिसन्चो सोध्न सिंहदरबारको प्रतिनिधि हालसालै? निश्चयनै धेरै कुरा छन् जुन  हुस्सुपनाका कारण गुमेका छन् । केही अडेको छ भने राष्ट्रियता अझै अडेको छ । तर त्यसको परिभाषा समयानूकुल परिवर्तन भइसकेको छ ।

रह्यो कुरा हडपिएको लिम्पियाधुरालगायतका भूभाग, त्यो फिर्ता ल्याउन सकिए उत्तम, नसकिएको अवस्थामा प्लान बी केही छ? कि फेरि एकबाजी हुस्सु प्रमाणित हुने हो? बेगम हसरत महललाई शरण पनि दिने र नयाँ मुलुक पनि फिर्ता ल्याउने कुटनीतिक चातुर्य नेपाली राष्ट्रियताको उत्कृष्ट नमुना हो । नेपाली माटोको उपज हो । फ्रान्सेली शक्तिसँग मिलेर अंग्रेज तह लगाउँछु भन्ने भीमसेन थापा नीति ठीक कि अंग्रेजसँग मिलेर आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्ने नीति ठीक? यसको विहंगम विवेचना नहुन्जेल नेपाली  राष्ट्रियता  केही हुस्सु राजनीतिक पेसेवरहरुको हातमा कैद हुनेछ । ती हल्ला गरिरहनेछन्, भाइरल भैरहनेछन् । भारतले खनेको बाटोबाट  ’हिन्दी– चीनी भाइभाइ’को नारासहित कैलाश दर्शन सुलभ भइरहनेछ । त्यसभन्दा पनि दुःखद पक्ष त हालका राजनीतिक अदुरदर्शिताका कारण उक्त भूभाग कालान्तरसम्म काउसो बनेर चिलाइरहनेछ र भावी पुस्ता रगतपच्छे हुन्जेल कन्याइरहन बाध्य हुनेछ ।
राष्ट्रियताको विनिर्माण तसर्थ जरुरी छ ।
 
(टोरोन्टो, क्यानाडा )

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC