site stats
बाह्रखरी :: Baahrakhari
विचार
 कोभिड–१९ मा तनाव र घरेलु हिंसा

भारतको उच्च अदालतले भारतमा बन्दाबन्दी (लकडाउन)को समयमा घरेलु हिंसा बढेको टिप्पणी गरेको छ । विश्वभर हाल विभिन्न हेल्पलाइनको व्यवस्था गरिएको छ । एक अध्ययनअनुसार कोभिड –१९ पछि वेबसाइडमा घरेलु हिंसासँग सम्बन्धित विषय खोज्नेको संख्या बढेको छ । त्यसैले धेरै मानिसहरु घरेलु हिंसाको सिकार भएको हुनसक्ने अनुमान गरिएको छ । 

पर्याप्त समयका कारण तनावका कारण उजागर हुने, विद्यालय बन्द भएकाकाले कामको बोझ बढेर तनाव बढ्ने, दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्नेले आर्थिक हिंसासमेत बेहोर्नु पर्ने हुन्छ । युरोपियन परिषद्का अनुसार घरेलु हिंसा नाटकीय गतिमा बढिरहेको छ । माहिलाविरुद्धको हिंसाका कारण घाउ चोटपटक लाग्ने, शारीरिक, मानसिक, यौन तथा प्रजनन् स्वास्थ्यका समस्या जस्तै, एड्स, अनिच्छित गर्भ रहने हुन्छ भने कतिपय अवस्थामा पीडकले नै रोगका बारेमा गलत हल्ला फैलाउँछन् ।  

घरेलु हिंसाको सिकार भएपछि व्यक्तिले एक्लोपन महसुस गर्छ । भावनात्मक हिंसा पछि गएर मानसिक समस्यामा परिणत हुन्छ । महिला लगातार लामो समय पीडित भइरहेमा हिस्टेरिया, निराशा, चिन्ता तथा सिजोफ्रेनियाका लक्षणहरु देखिन थाल्छन् र हिंसाको चक्र पनि डरलाग्दो बन्छ । हिंसा पीडित महिलाले लागू पदार्थ सेवन गर्ने, आफ्ना बच्चाबच्चीप्रति दुव्र्यवहार गर्ने वा बेवास्ता गर्न सक्छन् । त्यसको सिधा असर व्यक्ति, समाज र राष्ट्रलाई पर्ने हुन्छ । 

Argakhachi Cement Island Ad

घरेलु हिंसा ऐन, २०६६ अनुसार “घरेलु हिंसा भन्नाले कुनै व्याक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्याक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झिनु पर्छ... ।“ विश्व स्वास्थ्य संगठनका अनुसार मानव सृजित तथा प्राकृतिक संकटका बेला महिलाविरुद्धको हिंसा थप चुनौतीपूर्ण हुने गर्छ । बृद्ध तथा अशक्त महिला थप संकटमा पर्छन् र बढी सहयोगको आवश्यकतामा हुन्छन् ।

नेपालमा नेपाल डेमोग्य्राफिक एन्ड हेल्थ सर्भे, २०१६ का अनुसार करिब २३ प्रतिशत महिलाले पुरुषबाट शारीरिक यातना पाएका छन् भने २ प्रतिशत पुरुषमाथि महिलाद्वारा घरेलु हिंसाभएको छ । यस्तै ३४ प्रतिशत महिलामाथि पुरुषले यौन हिंसा गरेका छन् भने ५२ प्रतिशत महिलाको मात्र आफ्नो कमाइमा आफ्नै नियन्त्रण छ । त्यस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५ देखि ७५ प्रतिशत महिला शारीरिक तथा मानसिक हिंसाका सिकार बनेका छन् ।  

तनावका कारणहरु     

भौगोलिक विषमता, सामाजिक दूरी, आर्थिक तनाव, दीर्घरोग, बच्चा हुर्काउने सीपको अपर्याप्तता, गर्भवती, पारिवारिक कलह, छोराछोरीको संख्या, सौतेनी छोराछोरी, पेसा परिवर्तन, लागू पदार्थ दुव्र्यसन, अशिक्षा तथा बेरोजगारी, उमेर, सामाजिक कलंक आदिका कारण परिवारिक तनाव थपिन्छ ।

हिंसा पीडित महिलाका वास्तविकता 

हिंसा पीडित महिलाहरु हिंसायुक्त सम्बन्धमा किन बस्छन् त ? भन्न त सजिलै हुन्छ – “त्यस्तो सम्बन्ध त्यागी दे“, “मलाई कसैले त्यस्तो गर्न सक्तैन र म भए छोडिसक्थेँ“, “ म भए सहन्न थिएँ र प्रहरीलाई फोन गरिसक्थेँ“  । तर, विभिन्न अनुसन्धाताका अनुसार महिलाले हिंसायुक्त सम्बन्ध टिकाइराख्नुका कारणहरु निम्न छन् :

– भित्री कुरा बाहिर निस्किए इज्जत जाला भन्ने डर । साथै थप हिंसा हुनसक्छ भने समाजमा हाँसोको पात्र बन्ने डर हुन्छ । 

–हिंसा सहन योग्य नभए पनि छोराछोरीको खाने, लाउने र बस्ने आवश्यकता हुन्छ । ससाना बच्चाबच्ची हुर्काउनुपर्ने, आफू कम पढेको वा कुनै सीप नसिकेको भएमा सहने बाध्यता हुन्छ । 

– महिलाको धारणा, स्थायी सम्बन्धमा र समाजिक तथा सांस्कृतिक परिवेशले  निर्माण गरेको हुँदा छोड्नु झन घातक हुने ठम्याइ । 

– सुरुका अवस्थाको माया र प्रेम युक्त सम्बन्धका कारण पतिले पुनः माया गर्ने आशा हुन्छ । 

– हिंसाको चक्रीय प्रकृतिका कारण हिंसा २४ सै घन्टा तथा सातामा सातै दिन नहुने हुँदा पीडितले हिंसा बिर्सी राम्रो कुरामात्र सम्झिने कोसिस गर्छ । 

– माहिलालाई सामाजिक, भौतिक, भौगोलिक र आर्थिक रुपमा विमुख गरेमा

– महिला सख्त घाइते भई हिँडडुल गर्न नसकेमा 

– आफूविना लोग्नेको अस्तित्व नदेखेमा वा लोग्नेको बिचल्ली पर्ने ठानेमा 

– अधिकार प्राप्त व्याक्तिहरु जस्तै प्रहरी, पालिकाका अध्यक्षको पहिला गरेको व्यवहार सम्झी विकल्प नदेखेमा

– भाषिक कठिनाइ तथा बसाइँसराइको अवस्थाका कारण सहयोग माग्न कठिनाइ भएमा । 

हिंसाका विविध आयाम 

विभिन्न सिद्धान्तहरुले महिला हिंसा किन हुन्छ भन्ने बारेमा आआफ्नै तर्क प्रस्तुत गरेका छन् । 

सामाजिक तथा सांस्कृतिक पाटो : महिलामाथि हिंसा पुरुष महिलाभन्दा ठूलो हो भन्ने धारणाको उपज हो । लामो कालदेखि चल्दै आएको पुरुष प्रधान समाज र समाजबाट पुरुष रिसालु र महिला शान्त र सहनशील हुनुपर्छ भन्ने मानसिकता समाजले बनाइहेको हुन्छ । पुरुषले कमाउनु पर्छ । पुरुष परिवारको मूली हो  । पुरुष शक्तिमा हुनुपर्छ र नमानेमा कुटेर तह लगाउनु पर्छ भन्ने गलत धारणा समाजमा विद्यमान छ ।

भावनात्मक निकटता र आघातयुक्त सिद्धान्तको व्याख्याअनुसार बाल्यकालमा अत्यधिक डर, पीडा, आफन्तको मृत्यु, बिछोड दुःख र त्रास बेहोरेका बालबालिकामा पछि युवावस्थामा पुग्दासम्म आपसी सम्बन्धप्रति विश्वास टुटिसकेको हुन्छ । बाल्यकालमा बढी क्षति बेहोरेका दम्पतीहरु हिंसामा बढी संलग्न हुन्छन् । 

बदलाको सिद्धान्तअनुसार पिट्नेले पिट्छ किनभने ऊ बढी बलियो छ । र तबसम्म पिटिरहन्छ जबसम्म त्यसप्रति प्रतिक्रिया पाइरहन्छ । ह्यामटनका अनुसार पीडकका विरुद्धका कुराहरु प्रहरी, दण्ड, जेल, इज्जतको अस्तित्व रहुन्जेलसम्म बदलाको रुपमा पिटिरहन्छ । 
नारीवादी व्याख्याअनुसार सामाजिक बनोट लैङ्गिकतामा आधारित छ । पुरुषवादी समाजको संरचनाका कारण बलात्कार, हाडनाताकरणी, वेश्यावृत्ति हुन्छ जसद्वारा महिलालाई पुरुषको सेवकको दर्जा दिइन्छ । 

आत्म व्यक्ति सिद्धान्तअनुसार व्यक्ति आफैँमा मानसिक तथा न्युरोनसँग सम्बन्धित रोग लागेको हुन्छ । जस्तैः व्यक्तित्वमा गढबढी, धैर्य गर्न नसक्ने समस्या, पागलपन, दिमागी चोटपटक, लागू पदार्थ दुव्र्यसनका कारण मान्छे रिसालु बन्छ र हिंसा गर्न उद्यत हुन्छ ।  

त्यस्तै, आर्जित सहयोग विहीनता सिद्धान्तअनुसार पिट्ने र पिटिने कुरा अनुबन्धित छ  । पटकपटक शारीरिक तथा मानसिक हिंसा बेहोर्दै गएकाले विरोधै जनाउँदैनन्  । पटकपटकको अनुबन्धनका कारण आफू अक्षम र केही गर्न नसक्ने सोचको विकास हुन्छ । 

मनोवैज्ञानिक बन्दी सिद्धान्तअनुसार महिलाले हिंसायुक्त सम्बन्ध छोड्दैनन् । किनभने उनलाई यो सम्बन्धसम्म आइपुग्न धेरै समय, पैसा र भावना खर्च भइसकेको अनुभव हुन्छ । अझै पनि कुनै जादू हुने र सम्बन्ध प्रेमपूर्ण हुनेमा आशावादी हुन्छिन्  । 

सामाजिक जीवविज्ञानको व्याख्याअनुसार रिस बाँच्नका लागि आवश्यक तत्त्व हो । त्यसैले आफूमाथि धाबा बोल्नेका विरुद्ध बोल्नु व्यक्तिको अन्तरनिहित प्रकृति हो । 

हिंसाको चक्र 

हिंसाको चक्रीय चरणमा सुरुमा तनाव सुरु हुन्छ । दुव्र्यवहार र कुटपिट हुन्छ र अन्त्यमा पश्चाताप र प्रेम हुन्छ । 

सौहार्द चरण

यस चरणमा लोग्ने र स्वास्नी वा छोराछोरीबीचको सम्बन्ध अशान्त भइसकेको हुँदैन  । 

तनावको चरण

विभिन्न बेमेलका छालहरु उत्पन्न हुन थाल्छन्  । पहिला सम्बन्ध सुधार गर्न गरिएका प्रयासहरुभन्दा तनाव बढी देखिन्छन्  । 

हिंसाको चरण

पीडकले गाली गर्नेदेखि लिएर कुटपिट गर्नेसम्म पुग्छ । कुराकानी बन्द हुन्छ भने अवस्था नियन्त्रण बाहिर हुन्छ  । 

संकटको चरण 

यस चरणमा विभिन्न विकल्पहरु देखापर्छन्  : 

– पीडकले पश्चाताप गर्न थाल्छ र पीडितसँग माफी माग्छ । ढिलो वा चाँडो पीडितले माफी दिन्छ र शान्त हुन्छ, वा

– पीडकले पश्चाताप गर्दैन र परिस्थिति आफ्नो नियन्त्रणमा आएको ठान्छ । पीडितले नियन्त्रण गुमाउँछ र शान्त हुन्छ, वा

–    पीडितले नयाँ कदम चाल्छ । त्यसपछि कि पीडितले पीडकलाई सम्झौतामा ल्याउँछ र शान्ति हुन्छ नभए पीडित मान्दैन र अझ हिंसा दोहोरिन्छ ।  यसरी हिंसा चक्र चलिरहन्छ ।  
मनोवैज्ञानिक तत्त्वहरु :

मनोवैज्ञानिक रुपमा हिंसायुक्त सम्बन्धमा रहेको पुरुषमा निम्न लक्षण देखिन्छन् ।  

– रिसबाहेक अन्य भावना देखाउन अक्षम हुन्छ । भावनात्मक विषय सामाधान गर्न भाषिक सीप हुँदैन । 

– आफ्नी पत्नीबाट उसको क्षमता भन्दाबढी, अयथार्थपरक आशा गर्छ र सम्बन्धलाई काल्पनिक बनाउँछ । 

–आत्म नियन्त्रण हुँदैन र परिवारका लागि पनि कठोर नियम बनाएको हुन्छ ।

– मद्यपान तथा अन्य लागू पदार्थ सेवन गरिरहेको हुनसक्छ । 

– बच्चा अवस्थामा हिंसा पीडित हुन्छ वा आफ्नो आमामाथिको हिंसा देखेको हुन्छ । 

– आफूले गरिरहेको हिंसा खासगरी कुटपिटलाई अस्वीकार गर्छ । 

– घरमा आफ्नो हैकम नचल्दा रिसाहा, विध्वंसक र हैकम चल्दा अनुहारमा कान्ति, पुलकित हुन्छ । 

– ईष्र्या, डाहा, नसोची काम गर्ने, अस्वीकार गर्ने, आत्म क्षति गर्ने, उदासीन, हठी, रिसालु तथा विध्वंसात्मक हुन्छ । 

– पत्नीभन्दा आर्थिक अवस्था, निर्णय लिने क्षमता र कुराकानी गर्ने सीप कम भएको सोच्छ ।

– अत्यधिकरुपमा आफू पत्नीमा निर्भर रहेको वा माया देखाएजस्तो गर्छ । 

हिंसायुक्त सम्बन्धमा रहेका महिलामा निम्न लक्षण देखिन्छन् :

–    बारम्बार मूर्ख, अबुझ, अदक्ष, काम नलाग्ने भनिएकाले आत्मबल कमजोर हुन्छ । 

– वैवाहिक सम्बन्ध सुधारका लागि केही अर्थपूर्ण कदम चाल्न आफ्नो नियन्त्रण नरहेको र साहस कम भएको सोच्छिन् ।

– हिंसा बेहोरेको इतिहास हुन्छ र आफ्नो आमामाथि  भएको हिंसा देखेकोले महिलाको भाग्य सम्झी स्विकार्छिन् । 

–    शारीरिक तथा मनको घाउलाई अरुले देखे सामाजिक तथा भावनात्मकरुपले एक्लिने डर हुन्छ ।

– सम्बन्ध कस्तो हुनुपर्छ भन्ने काल्पनिक सोच हुन्छ । केही हदसम्म पुरुषलाई ठीक पार्ने वा परिवर्तन गर्न सक्ने सोच हुन्छ । 

– कथित समाजिक पितृसत्तात्मक लैङ्गिक भूमिकाको छाप परेको हुन्छ र सो पालना नगर्दा आत्मग्लानि हुन्छ ।

– प्रेम र यौनका बीच फरक छुट्याउन सक्तैन र प्रेम अत्यधिक यौन सम्पर्कद्वारा व्यक्त हुने भ्रम हुन्छ । 

–    आफ्नो भावना र अधिकारका बारेमा बोल्न सक्ने सञ्चार सीपको अभाव हुन्छ ।  

माहिला हिंसा बारेका भ्रमहरु : 

“हिंसा पीडित महिलाले सानो घटनालाई पनि ठूलो बनाउँछिन्“ 

हिंसा हिंसा नै हो  । शारीरिक चोट, नीलडाम, घाउ, हड्डी भाँचिनु ठूलै घटना हुन् सानो घटनालाई ठूलो बनाइएको होइन । 

“पीडित महिलाले कुटिन चाहेको हुन्छ“

माहिलाहरु किचकिच गर्छन् र दिक्क पार्छन् भन्नु गलत हो  । वास्तवमा कुनै कुनै महिला र पुरुष दुवै किचकिच गर्छन् । तर तिनलाई त्यस्तो गर्न पनि कारण त चाहिन्छ । 

“कुटपिट वा हिंसा परिवारको आन्तरिक मामिला हो“

घरेलु हिंसा परिवारभित्रको मामिला हो र यसमा अरुले हस्तक्षेप गर्न पाउँदैन भन्ने सोच गलत हो । हिंसा आन्तरिक होस् या बाह्य त्यो मानवअधिकारविरुद्ध हुन्छ । 

“रक्सी सेवन घरेलु हिंसाको मुख्य कारण हो“

रक्सी सेवन बहना मात्रै हो र रक्सी सेवन नगर्नेहरुपनि हिंसामा उत्तिकै सरिक देखिन्छन् । 

“आयस्रोत कम भएका र दैनिक ज्यालादारी गर्ने परिवारमा मात्र हिंसा हुन्छ“

हिंसाको कुनै सामाजिक स्तर हुँदैन  । प्रहरीमा आएका उजुरीअनुसार मध्यम तथा उच्च वर्गमा पनि हिंसा भएको देखिन्छ । 

“कुटपिट बिरलै हुने घटना हो“

 तत्थ्यअनुसार यो सोचेभन्दा धेरै र भयावह छ । 

“मानसिक समस्या भएकाले मात्र हिंसा गर्छन्“

मानसिक समस्या भएका १० प्रतिशत व्यक्तिमात्र हिंसामा सामेल छन् । 

“हिंसा र प्रेम सँगै बाच्दैन“ 

हिंसायुक्त परिवारका सदस्यले पनि आफ्ना छोराछोरीलाई माया देखाउँछन् । हिंसा र प्रेम बारम्बार दोहोरिँदा बच्चामा पिट्नु भनेको माया गर्नु हो भन्ने भ्रम हुन्छ ।  
अन्त्यमा, 

घरेलु हिंसा एक किसिमको महामारी हो जसका कारण प्रत्येक वर्ष समाजको ठूलो मात्रामा आर्थिक तथा भावनात्मक क्षति हुन्छ । संकटका बेला विभिन्न सहयोग प्रणाली परिवार, साथीभाइ, प्रहरी, हटलाइन, मनोविमर्शकर्ता र स्थानीय जनप्रतिनिधिको मद्दत लिनुपर्छ । सुरक्षा योजना बनाई छिमेकी, साथीभाइ, इष्टमित्रको सहयोग लिने र सुरक्षाका लागि तत्काल घर छोड्नुपर्ने पनि हुनसक्छ । 

( मनोविमर्शकर्ता द्वय )
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ०८:०७
प्रतिक्रिया दिनुहोस्