site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुटतन्त्रमा ओलीको सट्टा जो प्रधानमन्त्री भए पनि जनतालाई फरक पर्दैन

अंग्रेजीमा एउटा शब्द छ –‘क्लेप्टोक्रेसी’ । त्यसलाई नेपालीमा लुटतन्त्र भन्न मिल्छ । हामीले जतिवटा संविधान बनाए पनि र संविधानमा जेसुकै लेखेको भए पनि यो देशमा स्पष्टरुपमा कुनै व्यवस्था संस्थागत भएको छ भने त्यो लुटतन्त्रमात्रै हो । यही लुटतन्त्रलाई कसैले लोकतान्त्रिक समाजवादको जामा पहिर्‍याउँछन्, कोही समाजवादउन्मुख भन्छन् कोही पुँजीवाद भन्छन् । तर, दलअनुसार व्यवस्थाको नाम जे दिए पनि र संविधानमा जे लेखिएको भए पनि हामी लुटतन्त्रमा छौँ र यसको समाप्ति नहुने हो भने देशमा सरकार परिवर्तनसँगै चोरहरूमात्र परिवर्तन हुन्छन्, जनतालाई कुनै ठोस उपलब्धि हुँदैन । 

राणाकालका हाकाहाकी हुने लुटतन्त्रको विधिवत् सुरु पञ्चायतकालबाटै भयो, गिरिजाबाबुले गोडमेल गरे, शेरबहादुरले बलियो बनाए र बीचका सबैले निरन्तरता दिए भने अहिले ओलीजी त्यसैको जरा फैलाउँदैछन् । प्रजातन्त्र आएदेखि चोरी गर्नेको संख्यामा बढोत्तरी भयो, लोकतन्त्रमा नचोर्नेको संख्या न्यून । कुनै एक समूहमा लागेर आफूले सकेको चोरी गर्ने र आफ्नो समूहलाई बलियो बनाउन कुनै पनि अनैतिक कार्य गर्नसक्ने व्यक्ति नै यहाँ उपल्लो पदमा पुग्छन् र लुटतन्त्रलाई सम्बर्द्धन गर्छन् । केही अपवाद छन्, तर तिनले पनि लुटतन्त्र रोक्न सकेनन् । आफू प्रत्यक्ष साझेदार बनिन भनेर आत्मसन्तोषसम्म लिनसक्छन् ।

अहिलेका सन्दर्भमा लुटतन्त्रको कुरा किन आयो भन्ने पाठकलाई खुल्दुली होला । प्रधानमन्त्री फेरिने हल्ला चलेको हुनाले अबको परिवर्तनबाट पनि धेरै आशा गर्नु बेकार हुनेछ भनेर जनतालाई समयमै सचेत गराउन यो विषयको उठान गरिएको हो । सँगसँगै, लुटतन्त्रको संरक्षण गर्न जो सुकै आए पनि तिनका विरुद्धमा संघर्षको बिगुल बजाउन जरुरी भएकाले अहिल्यै चेतावनी दिनु पनि एउटा उद्देश्य हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुराना लुटतन्त्रका संरक्षकको उदाहरण दिएर लेखलाई लामो बनाउन जरुरी छैन, पाठक आफैँ जानकार छन् । अहिलेको सरकारको विषयमा केही छलफल गरौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाग्दो हो उनले गएको दुई वर्षमा ठूला ठूला कुरा गरेर जनताको मन जितेका छन् । जनता सबै उनको पक्षमा छन् । केही पत्रकार र उनकै राजनीतिक सहकर्मीले वितण्डा मच्चाएरमात्र उनी अहिलेको राजनीतिक उथलपुथलको सिकार हुने अवस्थामा पुगेका हुन् । तर, सुपर जिल्ला निवासी, सुपर प्रधानमन्त्री ओलीले बुझ्नुपर्ने के हो भने उनको सरकार भयानक ढंगले लुटतन्त्रमा संलग्न भएको कारणले उनका राजनीतिक विरोधी आफ्नो प्रभाव फैलाउन सफल भएका हुन् । अन्यथा, दुई तिहाइ नजिकको बहुमत पाएको सरकार दुई वर्ष नपुग्दै आफ्नो लंगोटी बचाउन नसक्ने अवस्थामा पुग्ने थिएन । 

अन्य सरकार र यो सरकारमा एउटा मूलभूत भिन्नता भने रह्यो । पुराना चोरीतन्त्रका संरक्षकहरूले जनताको मौलिक हक र अधिकारमा धेरै प्रहार गर्ने आँट गर्न सकेनन् तर ओलीको सरकारले भने पहिलो सशक्त कदमनै आफ्ना आलोचकको मुख थुन्नमा केन्द्रित गर्‍यो । संसारमा अधिनायकवादको ज्वरो महामारीको रुपमा फैलिएको समयमा ओली नेतृत्वको सरकारलाई पनि नेपालमा अधिनायकत्व परीक्षण गर्ने हुटहुटी देखियो । संचार माध्यमलाई नियमन गर्ने नाममा एकपछि अर्को नियन्त्रणमुखी ऐन, कानुन बनाएर यो सरकारले सबैभन्दा पहिले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कोसिस गरेको थियो । 

Global Ime bank

जनताको जान्न पाउने र अभिव्यक्ति गर्न पाउने मूलभूत संवैधानिक हकमा नै प्रहार गरेपछि अरिङ्गाल टोलीमा समावेश नभएका जनसंचारका माध्यम स्वतः नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको मुख ताक्न पुगे । पत्रकारिता गर्ने संस्थाले सबैभन्दा मूलभूत संरक्षण गर्ने विषयमा नै ओली सरकारले आघात पुर्‍यायो । तर, ओलीका चाटुकारले यस विषयलाई दाहाल र नेपालले ती मिडिया खरिद गरिसकेको अर्थमा गलत ढंगले रंगाइदिए । 

त्यसपछि ओली सरकारले एयरपोर्टबाट हराएको ३३ किलो सुनको खोजबिनमा आफूलाई व्यस्त देखायो जुन सुन कहिल्यै फेला परेन । लुटतन्त्रको एउटा उदाहरण अर्को पनि छ । सरकारले नेपाली ठेकेदारहरूले ठूला आयोजनामा काम गर्न नसक्ने कानुन बनायो र ठेकेदारहरूलाई रुवाबासी गरायो । उनीहरूले सरकारको संकेत बुझे र तिनको अरण्य रोदन मौद्रिक दोहनपश्चात सामसुम भयो । 

त्यसपछि ओलीको शासनकालमा नेपाल ट्रस्टको सम्पत्तिको उत्तराधिकारीको रुपमा यती समूहलाई अघि बढाइयो । कुनै पनि देशको शासक कुनै एउटा व्यापारी घरानासँग यति आशक्त देखिनुलाई पक्कै पनि लुटतन्त्रको एउटा बलियो उदाहरणको रुपमा हेर्न सकिन्छ । 

ओली शासनमा उनका ‘धर्मपुत्र’ समान गोकुल बाँस्कोटाको रजाइँ उच्चतम अवस्थामा पुग्यो । सेक्युरिटी प्रिन्टिङ नेपालमा ल्याउने क्रममा उनले कुम्ल्याउन खोजेको अर्बौँ रकमको अडियो रेकर्डिङ सार्वजनिक भएपछि लुटतन्त्रमा पनि नैतिकता देखाउन बाध्य भएको ओली सरकारले बाँस्कोटाको बलिदान दियो । कोरोना संक्रमणपछि हतारहतार गुणस्तरहीन स्वास्थ्य सामग्री मगाएर उपप्रधानमन्त्री तथा प्रमुख सल्लाहकारका पुत्रलाई करोडौं कमाउने वातावरण बनाइयो । ईश्वर पोखरेल र विष्णु रिमालको संलग्नता भएको कारणले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने यस विषयमा बली चढ्नु परेन । 

यस्ता घटनाको फेहरिस्त धेरै लामो छ । तर, सबैभन्दा लज्जास्पद घटना अध्यादेशबाट राजनीतिक दल फुटाउने प्रयासलाई लिन सकिन्छ । पूर्वआईजीपी सर्वेन्द्र खनाललाई प्रयोग गरेर राजपाका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याएर लुकाएर राख्न खोजियो । संघीय समाजवादीलाई फुटाउन खोज्दा समाजवादी र राजपाको एकीकरण भएर सरकार झनै समस्यामा पर्‍यो । साथै, यस घटनाले सर्वेन्द्र खनालको चरित्र पनि सबैमा स्पष्ट भयो । 

नेपालमा जब जब कुनै व्यक्ति आफूलाई सर्वशक्तिमान भएको ठान्न सुरु गर्छ सोहीदिनदेखि उसको भाग्य बिस्तारै सुस्ताउन थाल्छ । राजा ज्ञानेन्द्र, लोकमानसिंह कार्की, शेरबहादुर देउवाजस्ता अनेकौं उदाहरण छन् । जब पदासीन व्यक्ति पद जोगाउन अनेक प्रकारको अनैतिक गतिविधिमा संलग्न हुन्छ तब उसको पतन अवश्यम्भावी हुन्छ ।

यति सबै अब भइसक्दा ओलीको बहिर्गमन पनि अवश्यम्भावी देखिएको छ । तर, ओलीको विकल्पमा अहिले देखिएका माधव नेपाल पनि लुटतन्त्रका दलालहरूको प्रभावमा नआउलान् भन्न सकिने आधार देखिँदैन । त्यसैले आजैका दिनबाट तिनलाई खबरदारी गर्न जरुरी भएको छ । जनताको तहबाट पनि र मिडियाबाट पनि ।

प्रधानमन्त्री ओली कानुन बनाएर शासन गर्ने धृष्टतामा लागे । अब बन्ने प्रधानमन्त्रीले त्यो गल्ती नगरुन् । जनताको अधिकारमा कुनै प्रकारको सम्झौता नहोस् । माधव नेपाल प्रधानमन्त्री भएको अवस्थामा ओलीको पालामा खान नपाएका नेकपाका नेताको हालीमुहाली हुने र दाहाल प्रधानमन्त्री भए उनैका आफन्त र पूर्वमाओवादीमात्र पोषित हुने अवस्था आउनु हुँदैन । त्यसैले अब हुने प्रधानमन्त्रीको चुनौती यो देशबाट लुटतन्त्रको समाप्तिका लागि सशक्त ढंगले कदम चलाउनु हो । कुनै पनि काममा सुशासन, कानुनी शासन र जनहितको विषयले प्राथमिकता पाउनु पर्छ । अन्यथा, फेरि पनि व्यावसायिक आमसंचारका माध्यमसँग सरकारको विपक्षमा कलम चलाउनुको विकल्प हुँदैन । लुटतन्त्रको संरक्षक नेपाल, दाहाल वा देउवा जो भए पनि पत्रकारिताको धर्मले तिनलाई संरक्षण र समर्थन गर्न दिँदैन । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC