काठमाडौं । भैंसेपाटिस्थित होमस्टेको माथिल्लो कौसीसँगैको कोठामा निदाइरहेका थिए । मन्दिरमा घण्टी बजेको आवाजसँगै दीपक वज्राचार्य बिउँझिए । पर्दा उघारेर हेर्दा बिहानको करिब ५ बजेको झिसमिसे उज्यालो थियो । उनी उठेर कौसीमा गए ।
ओहो, चराचुरुङ्गीको चिरबिर, क्वारेन्टाइनमा बसिरहेको काठमाडौंको स्वच्छ चिसो हावा, शान्त बिहानीले उनको मन लोभ्यायो । काठमाडौंको धूलोधुवाँ, बिहानैदेखि मानिस र गाडीको कोलाहलमा बसिरहेका दीपकलाई क्वारेन्टाइनको पहिलो बिहानी सधैंको भन्दा अलग र ऊर्जावान् बनाएको छ ।
झिँसमिसे बिहानी सायद दीपकको धेरै वर्षपछिको बिहानी थियो । किनभने घरमा हुँदा उनको लागि ढिला रात हुन्थ्यो भने बिहानी पनि ढिलै हुन्थ्यो । “म घरमा हुँदा बेलुका १२, १ बजेसम्म सुत्दैन थिएँ भने बिहान ९ बजेअघि कहिल्यै आँखा खुल्दैनथ्यो,” उनले आफ्नो विगत सुनाए ।
उनी जति नै महत्त्वपूर्ण काम भए पनि बिहान ९ बजेपछिको समय मिलाउँछन् । तर क्वारेन्टाइनको १४ दिनको बसाइले उनको वर्षौंदेखिको बानीमा परिवर्तन ल्याएको छ । जसलाई उनले सकारात्मक परिवर्तनका रूपमा लिएका छन् ।
बिहान चाँडै उठ्दा शरीरमा दिनभर ऊर्जा प्रदान भइराख्ने उनले यो १४ दिनको क्वारेन्टाइन बसाइमा अनुभव गरे । “बिहान चाँडै उठ्दा हामी अलि क्रियटिभ पनि हुन्छौं जस्तो लाग्यो । किनभने साथीहरूले कति गीत लेखेर पठाउँथे र म एक बसाइँमै सबैको संगीत भर्न सक्थेँ ।”
आज (मंगलबार) दीपक र रिदम ब्यान्डका सबै सदस्य १४ दिनको क्वारेन्टाइन बसाइपछि घर गइसकेका छन् । यो बसाइमा उनले साथीहरूसँगको बसाइको मीठो सम्झनाका साथै सकारात्मक परिवर्तन पनि लिएर गएका छन् ।
अस्ट्रेलियामा सांगीतिक टुरका लागि गएका उनीहरू कोरोनाका कारण कार्यक्रम बीचमै रद्द गरेर नेपाल फर्किएर क्वारेन्टाइनमा बस्न थालेका थिए । आज करिब एक महिनापछि परिवार र सन्तानसँग भेट्न र सँगै बस्न पाएकामा दीपक पुलकित पनि थिए ।