site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिजमाण्डु र नेपाल खबरविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा : बिहीबार फैसलाको तयारी

काठमाडौं । बिजमाण्डु र नेपाल खबर डटकमविरुद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा परेको छ । यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासबाट अल्पकालीन अन्तरिम आदेशमार्फत समाचार हटाउने आदेश भएकोमा बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने निर्णयका लागि दुवै पक्षलाई डाकिएको थियो । 

बुधबार सुरुमा निवेदक पक्षका वकिलहरूले बहस गरेपछि बिजमाण्डु र नेपाल खबर पक्षका वकिलहरूले बहस गरेका थिए । बिजमाण्डुका लागि लिडलयर वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ थिए भने नेपाल खबरका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल थिए । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रकाश मिश्र महासचिव केदार कोइराला, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराईसहितले पनि बहस गरेका छन् । बिहीबार फैसलाको तयारी गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा भएको सुनवाइलाई अन्तिम सुनुवाइ बनाउने गरी अघि बढेको छ । वादी पक्षले लिखित जवाफ आफूले नपाएको भन्दै अन्तिम सुनुवाइ हुन नसक्ने दाबी लिएपछि लिखित जवाफ समेत दिएर पठाइएको छ । 

धितोपत्र बोर्डको कमिसन तथा चलखेलसम्बन्धी समाचारले आफ्नो मानहानि गरेको तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर पुगेको भन्दै समाचार हटाउन माग दाबी लिएर श्रेष्ठले मुद्दा दायर गरेका थिए । उनको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले प्रतिवादी पक्षको भनाइ समेत नसुनी समाचार साइटबाटै हटाउने आदेश जारी गरेपछि अदालतको आदेशको सीमालाई लिएर सार्वजनिक बहस सुरु भएको थियो । 

त्यसैले बुधबार बिजमाण्डु र नेपाल खबरप्रति ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपालसहितका संघ संस्थाका प्रतिनिधिहरू पनि अदालत पुगेका थिए । वकालतनामा लेखाउने वकिलको संख्या पनि ठूलै भएको छ । नेपाल बार एसोसियसन, सर्वोच्च बार एसोसियसन र पत्रकार महासंघले पनि निःशुल्क वकिल उपस्थित गराउँदै मिडियाप्रति ऐक्यबद्धता जनाए ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्